बाह्रखरी मिडिया प्रा.लि.ले चौथो बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा गरेको छ।
आइतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाह्रखरी मिडिया प्रा.लि.अन्तर्गतको बाह्रखरी बुक्सले ‘चौथो बाह्रखरी कथा लेखन प्रतियोगिता –२०७९’ घोषणा गरेको हो।
नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरुको सम्मान र नवप्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।
प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो कथा आइतवारदेखि भदौ १४ गतेभित्र पठाइसक्नुपर्ने बाह्रखरी डटकमका कार्यकारी सम्पादक तथा बाह्रखरी कथाका आन्तरिक निर्णायक समितिका संयोजक गोविन्द अधिकारीले जानकारी दिए।
प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक मण्डलले ५० कथा छनौट गरेर निर्णायक मण्डललाई पठाउने र निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा कथा छनौट गर्ने उनले बताए। उनले त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने बताए।
प्रथम कथालाई एक लाख रुपैयाँ, द्वितीयलाई ६० हजार रुपैयाँ र तृतीयलाई ४० हजार रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्र दिइने जनाइएको छ। त्यस्तै अन्य २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने भएको छ।
प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोईरालाको संयोजकत्वमा साहित्यकारहरु सगुना शाह र उमा सुवेदी रहेको कार्यकारी सम्पादक अधिकारीले जानकारी दिए।
कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते सार्वजनिक गरिने बताइएको छ। प्रतियोगितामा भाग लिन कम्तिमा १ हजार पाँच सय शब्ददेखि बढीमा ४ हजार शब्दसम्मको कथा बाह्रखरीडटकममा पठाउनका लागि आह्वान गरिएको छ।
प्रतिक्रिया