NepalKhabar NepalKhabar

साहित्य


कथा : ठेलागाडा र जनप्रतिनिधि

कथा : ठेलागाडा र जनप्रतिनिधि

सीमा बन
साउन २८ , काठमाडौँ

झिसमिस साँझमा घर फर्कंर्दै गर्दा साँघुरो गल्लीमा मेरो ठेलागाडाका अगाडि–पछाडिबाट आएका मोटरसाइकल र गाडीको हर्नले घरीघरी मन झस्काइरहन्छ। आज अलि बढी नै व्यस्त भएर हो कि बीच सडकमा रोकिएको ठेलालेसाँघुरो सडकमा कुदिरहेको गाडीको ओहोर दोहोरलाई नै बन्द गरिदियो। गाडीका ऐनाबाट चिहाइरहेका एक हुल तिखा आँखाले मलाई नै घुरिरहेका थिए।

अवगालबाट बच्न मैले ठेलागाडालाई अरु बल गरेर घँचेटेर किनार लगाएँ।

यतिबेला सधैंजस्तो मेरो आँखामा चञ्चलता थिएन। ओठमा मुस्कान र अनुहारमा हाँसो थिएन। भिडको कोलाहल पनि मलाई एकान्त लागेको थियो। गोडा अलि छिटोछिटो गरी ठेलागाडाको पाङग्रासँगै चुपचाप अघिल्तिर धकेलिरहेको छु।

ठेलागाडाले मेरा पाइताला लतारिरहेको छ। मेरा आँखा भने अघिल्तिरको सुकुमबासी बस्तीतिर छन्, जहाँ मेरो ओत लाग्ने बास छ। सुत्केरी श्रीमती छ। पेट भर्नलाई बाटो हेरेका चराका बचेराजस्ता छोराछोरी छन्।

दिनभर चर्को गर्मी र छिनछिनमा दर्किने पानीले व्यापार गर्न नसकेको म। कहिले गुडाउँदै उता, कहिले गुडाउँदै यता। चुर्लुम्म डुबेका सडकपेटी। जहाँतहाँ मलाई जान अनुमति पनि छैन। यसो मान्छेको भिडभाड देख्छु, पुलिस दाइका आँखा छल्दै व्यापार गर्न खोज्छु। दगुर्दा दगुर्दै थकित शरीर साँझमा गरुङ्गो ठेला घर फर्काउनुपर्दा मन अझै भारी हुन्छ।

हुन त सधैं एकै ठाउँमा एउटा सटरमा व्यापार गर्ने रहर पनि नभएको कहाँ हो र। तर कसरी तिर्नु सटरको भाडा? अनि त्यो सटरभरि सामान भर्नलाई मसँग पैसा पनि त छैन। हामी गरीवका लागि ईच्छा होइन, आवश्यकता पूरा गर्नु ठूलो कुरा हो।

रहर गरेर मात्रै कहाँ भयो र, मनमनै सोच्छु, चित्त बुझाउँछु आफंै। जसोतसो दिन काटेकै छु। परिवारको पेट पालेकै छु।

मनमा अनेकन सोच्दै घर पुग्दैथिएँ। सधैंजसो छोरी बाबा भन्दै बाहिर आइनन्। मन कताकता झसङ्ग भयो। कतै केही भयो कि? हत्तपत्त भित्र पसें। सुत्केरी श्रीमतीले काखको बच्चासमेत सम्हालेकी थिइनन्। आमा धेरैबेरदेखि सुतिरहनुभएको छ बाबा। छोरीको मासुम उत्तर। मन अत्तालियो। सानु सानु, अहँ उनी बोलिनन्।

कहाँ कसलाई डाकौं? अस्ति भर्खर चुनावमा भोट माग्दै गर्दा नजिकैका जनप्रतिनिधिको फोन नम्बर सुरक्षित गरेको थिएँ। मनमा वहाँको त्यो हँसिलो अनुहार र दिएको बचन सम्झेर ढुक्क हुँदै फोन डायल गरें। एकै रिङ्गमा फोन उठ्यो।

अहो कस्तो हिम्मत आयो। अब त मेरी श्रीमतीलाई जसरी पनि बचाउँछु। सबै वृतान्त सुनाउँदै थिएँ, वहाँ त ठूलो मान्छे पो हुनुभाको रहेछ। एकैछिनमा फोन गर्छु म मिटिङ्गमा छु भन्दै फोन काट्नुभयो। वहाँ बोलिरहँदा पछाडिबाट हाँसोका खित्काहरु चलिरहेका थिए। साँझको डिनर मिटिङ होला। झुक्किएर पो हो कि, फेरी एकपटक फोन प्रयास गरें। योपटक त वहाँले नम्बर चिन्नुभयो क्यारे, फोन उठाउनुभएन।

मैले ठेलागाडाको एकदिनको व्यापार बन्द गरेर त्यही ठेलामा गर्भवती श्रीमतीलाई बोकेर चुनावका दिन वहाँको चुनावचिन्हमा मतदान गरेको झल्यास्स सम्झें। आफैंलाई धिक्कारें।

मेरो ठेलागाडाले वहाँलाई गरेको सहयोगको सट्टामा एउटा एम्बुलेन्स व्यवस्था गरिदिनुहुन्छ कि भन्ने मात्र थियो। श्रीमती त मेरी पो हो, वहाँलाई पीर पनि किन पर्नुपर्यो? पाँचवर्षे जागिरबाट अब कसैले पनि त वहाँलाई हटाउन सक्दैन। यति ठूलो मान्छेबाट मैले अपेक्षा गर्नु नै गलत पो भयो कि?

मेरो सुख–दुःखको सारथी, मेरो ठेलागाडामा हालेर खाल्डा र खुल्डी मात्रै भेटिने शहरको पक्की सडकमा जसोतसो गुडाउँदै श्रीमतीलाई अस्पताल पुर्याएँ।

अस्पतालमा भर्ना गर्न पनि त मजस्तो सुकुमबासीलाई कहाँ सजिलो छ र। डाक्टर साबहरुलाई भेट्न त मैले पनि सजिलै कहाँ पाउँछु र। भोलि बिहान डाक्टर आएर हेर्नुहुन्छ, अहिले भर्ना गरिदिन्छम, बेड खाली छैन, भुइँमा सुताएर उपचार गराउुपर्छ भन्दै अस्पतालका कर्मचारीले बिरामीको नाम नामेसी माग्न लागे।

म बबुरो सुकुमबासी त्यहाँ दोहोरो बार्ता त कसरी गर्न सक्छु। २२ दिनकी सुत्केरी श्रीमती, प्रशस्त खानेकुरा पुर्याउन नसके पनि भुइँमा त सुताएको थिइनँ। तर, विकल्प रहेन।

भुईमै लडाएर भए पनि उपलव्ध स्वास्थ्यकर्मीले चेकजाँच गर्दा तत्काल रगत चढाउनुपर्ने देखियो। उनले एक–दुई दिन अगाडिदेखि नै आफूलाई असहज भएको त भनेकि थिइन् तर तिमीलाई ज्वरो आएको छ भनेर छाम्ने फुर्सद पनि मलाई कहाँं भयो र।

तिमीहरुको छाक टार्नमै मेरो जिन्दगी सकिने भयो। मेरो थकान पनि तिमीले देखेर महशुस गर्दथ्यौ, तर तिम्रो शरीरमा आएको राप मैले बुझ्न सकिनँ।

यता बिरामीका लागि तुरुन्त रगत चाहियो, वहाको अवस्था गम्भीर छ भन्दै एकजना नर्सले मलाई बोलाइरहेकी थिइन्। अब कता जाने? कोसँग माग्ने रगत?

‘मैले दिन मिल्दैन सिस्टर?’

‘तपाईको ब्लड ग्रुप कुन हो?’

म बबुरोलाई के थाहा रातो त छ, अरु थाहा छैन। अनि थाहा नभए किन सोधेको त? ब्लड बैंकमा गएर लिएर आउनुस् नर्सको स्वर पनि चर्कै थियो मजस्तालाई देख्दादेख्दै दिक्क थिइन् सायद उनी। फेरि, मलाई अलि झुत्रो देखेर पनि होला।

मलाई थाहा छ हरेक ठाउँमा मेरा शरीरका लुगा हेरिन्छन्। मैले लगाएको चप्पल हेरिन्छ। मेरा फुटेका हातगोडा हेरिन्छन्। यस्तो अपहेलित महसुस गर्नुपरेका थुप्रै घटना आँखामा ताजै छन मसँग।

अझै पनि आशा छ मलाई उनै जनप्रतिनिधिको। सायद उनी सामाजिक व्यक्ति पनि हुन् क्यारे। त्यस्तै बेला परेर होला, रगतको व्यवस्था गर्न उनैलाई फोन गर्छु भन्ने ठानें। मनले उनीबाट अझै पनि आशा राख्यो। फोन डायल गरें। उठाउनुभयो। मन फेरि हलुङ्गो भयो।

मैले मेरो समस्या सुनाएँ। वहाँ अझै कार्यक्रममा हुनुहुँदो रहेछ। कुन्नि कुन जाति क्लबको स्थापना दिवस रे। बिहान पनि कता बिरुवा रोप्न जानुभएको थियो रे। दिउँसो वहाँको पार्टीको मिटिङ्ग। अघि साँझ आगामी चुनावका लागि तयारी डिनर मिटिङ रे। बिचरा वहाँलाई पनि त फुर्सद त छैन रहेछ।

यस्तोे रातिमा कसलाई भन्नु, भोलि बिहान कतै व्यवस्था गरिदिउँला अहिलेलाई बिरामीलाई सान्त्वना देऊ भन्दै फोन राख्नुभयो। यता बिरामीले तत्काल रगत नपाए मृत्युको मुखमा जाने डर छ, केका लागि सान्त्वना दिनु, कसलाई दिनु सान्त्वना?

यति सान्त्वना शब्दका लागि तपाईलाई धन्यवाद जनप्रतिनिधिज्यू। तपाई जनताको प्रतिनिधि होइनरहेछ यो ‘जन’ शब्द हटाइदिनुस्। हामीलाई भ्रममा नपार्नुस यति भन्ने हिम्मत जुटाएंँ यो पालि। अनि भुइँमा ढलाइएकी श्रीमतीको घाँटीमा लगाइदिएको सानो तिलहरी मेरो मायाको चिनो मेरी मायालाई बचाउनकै लागि फुकालेर हिँडे। व्यवस्था गरें रगत अनि औषधिको जोहो। बचाएँ जसोतसो र फर्काएँ सानो छाप्रोमा।

लोग्ने हुनुको दायित्व  र बाबु हुनुको कर्तव्य छ मेरासामु। आखिर यही ठेलागाडा नै त हो मेरो जहान पाल्ने औजार। यही ठेलागाडाको गति छ र मेरो परिवारको गति चलेको छ। जीवनको निर्वाह चलेको छ। छाक चलेको छ। यही छाक चलाउने भाँडोलाई मैले मिल्काउन हुन्न। मैले मन चञ्चल बनाउन हुन्न।

बर्सौं बर्षदेखि आफ्नो रगत र पसिनाले अलिअलि गर्दै साँचेर बनाएका यी सुकुमबासी झुप्राहरु कहिले कल्पनै नगरिकन भत्कन पनि त सक्छन्। सपनाहरु क्षणभरमा टुट्न पनि सक्छन्। तर, यो ठेलाले मलाई साथ दिइरहनेछ।

निरीह हामी र हामीमाथि मौलाएको राजनीति सम्झिएर आज मेरो अनुहारको उज्यालो क्षणभरमै दर्किहाल्ने मुसलधारे पानी बोकेको बादलजस्तोे गरी हराएको छ। आशंकै आशंकाले जेलिएका मेरा जवाफ खोज्ने सबै प्रयत्नहरु यतिबेला असफल भएका छन्।

बिजुलीजस्तै प्रश्न मेरो मष्तिष्कबाट चम्किन्छन् र हराउँछन्। हाम्रो पीडामा कसैको राजनीति बाँचेको छ यहाँ। सुकुमबासी बस्तीका नाममा राज गर्ने उनै शासकहरु सम्झेर एउटा ऐठनबाट मुक्त हुन खोज्दा जोडले चिच्याएझैं आवाज निकाल्न मन लाग्यो– आखिर जनतालाई झूठको ललिपप कहिलेसम्म खुवाउने?

साउन २८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.