साहित्यतर्फ नोबेल पुरस्कार जितेका जापानी उपन्यासकार केन्जाबुरो ओएको निधन भएको छ। उनी ८८ वर्षका थिए।
१९९४ मा नोबेल पुरस्कार जितको ओएको मार्च ३ का दिन निधन भएको उनको प्रकाशकले सोमबार बताएको हो। उनको अन्तिम संस्कार भइसकेको बताइएको छ।
उनी लेखनका अलावा शान्तिवादी अभियन्ताका रुपमा पनि परिचित थिए। उनले जापानको संविधान शान्तिवादी हुनुपर्ने र आणविक हतियारविरुद्धको अभियान सञ्चालन गरेका थिए।
दोस्रो विश्वयुद्धपछिका जापानका सबैभन्दा प्रिय लेखकमध्ये एक थिए उनी। १९३५ मा जन्मेका उनले १९५७ देखि लेखन यात्रा सुरु गरेका थिए।
१९९४ मा साहित्यमा नोबेल पुरस्कार जित्ने उनी दोस्रो जापानी लेखक बने। तर सोही वर्ष उनले जापान सरकारले दिने अर्डर अफ कल्चर भने अस्वीकार गरेका थिए। उनले कुनै पनि राज्यले दिने पुरस्कार नलिने घोषणा गरेका थिए।
उनका द साइलेन्ट क्राइ, अ पर्सनल म्याटरजस्ता उपन्यास चर्चित छन्। एजेन्सी
प्रतिक्रिया