साहित्य


काठमाडौँमा गुञ्जिए कवि तीर्थ श्रेष्ठ- मनमा पहिलोपटक बास बस्नेको आस छ अझै

काठमाडौँमा गुञ्जिए कवि तीर्थ श्रेष्ठ- मनमा पहिलोपटक बास बस्नेको आस छ अझै

कविता वाचन गर्दै कवि तीर्थ श्रेष्ठ। तस्बिर: सरोज नेपाल


लक्ष्मी बलायर
चैत ९, २०८१ शनिबार २०:२९, काठमाडौँ

शनिबार दिउँसो। काठमाडौंको मौसम चिसिँदै थियो। तर, गैरीधारास्थित एलिस रिसेप्सनमा भने कविताले न्यानो माहोल बनाइदियो, जहाँ कवि तीर्थ श्रेष्ठ दर्जन बढी कविताका साथ गुञ्जिँदै थिए।   

हल भरिभराउ थियो। कविप्रेमीहरू पनि श्रेष्ठको कविता सुन्न आतुर थिए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जसै आगमन भयो, अनि सुरू भयो, स्वेत शार्दूलः एक यात्रा कविताको शिविरमा।

श्वेत शार्दूल मदन भण्डारीको साहित्यिक नाम थियो। उनकी धर्मपत्नी एवं पूर्वराष्ट्रपति विद्या भण्डारीले कवि श्रेष्ठलाई माला लगाउँदै एकल कविता वाचनको उद्घाटन गरिन्। र, अनि श्रेष्ठ आफ्ना कविता सुनाउन मञ्चमा उक्लिए।  

कार्यक्रम मदन भण्डारी फाउन्डेसनको कला तथा साहित्य प्रतिष्ठानले आयोजना गरेको थियो। मदन भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले यस कार्यक्रमलाई महत्त्वपूर्ण क्षणको रूपमा व्याख्या गरे। साथै पूर्वराष्ट्रपतिले लगाइदिएको मालाले जिम्मेवारीबोध भएको बताए।

चर्चित कवि भए तापनि उनी आफैँबारे भनिरहेका थिए, ‘म आफूलाई एकदम ठूलो र महान् कविको रूपमा सोच्दिनँ। कविता लेख्न मन पराउने एउटा मान्छे हुँ। कविता जति लेख्दै गयो, त्यति नजानेको अनुभव हुने विधा हो। सुरूमा लेख्दा त केके न लेखेजस्तो लाग्थ्यो। तर, लेख्दै जाँदा लेख्न अझ बाँकी छ भन्ने अनुभूति हुँदोरहेछ।’

अनि श्रेष्ठले जीवनबारे सोच्ने चारवटा पंक्ति सुनाए:
म जहाँ बास बस्छु, त्यो मेरो घर होइन
म जहाँ अडिन्छु, त्यो मेरो कर्तव्य होइन
धेरै टाढा जानु छ मलाई
किनु मेरो जीवन होइन

त्यसपछि साथीको रोचक प्रसंग ल्याए उनले।

श्रेष्ठका क्यानडामा बस्ने साथी नेपाल आएछन्। नेपाल आएपछि दुवैजनाको भेटघाट भयो। जहाँ कवि श्रेष्ठले आफ्ना साथीलाई एक मुक्तक सुनाएछन्। जुन सुनेपछि उनी मन्त्रमुग्ध भए। र, आफूलाई त्यो मुक्तक कागतमा लेखेर दिन आग्रह गरे।

श्रेष्ठले पनि हातले लेखेर मुक्तक दिए। पछि थाहा भयो, उनका साथीले त मुक्तकलाई राखेर चाँदीको जन्तर बनाएर लगाएछन्।

हुन पनि त्यो मुक्तक उनको जीवनसँग निकै जोडिएको थियो। तिनै साथीले आज फोन गरेर उक्त मुक्तक वाचन गर्न भनेछन्। तिनै साथीको फर्माइसमा श्रेष्ठले सुनाए–

जिन्दगीको गोधुलीमा
एउटा प्यास छ अझै
सबै गुमाए पनि रात काट्न
उटा बास छ अझै
निराशाको बादलले
जति ढाके पनि
मनमा पहिलोपटक बास बस्नेको
आस छ अझै

जीवन प्रेममय छ भन्नेमा विश्वास राख्ने उनले पहिलो कविताको रूपमा प्रेमको पुस्तक वाचन गरे। प्रेम मात्रै होइन, उनले जीवनका अरू आयामलाई पनि कविताबाट बिस्कुनझैँ फुकाए। केही काठमाडौंलाई सम्बोधन गरेर लेखिएका कविता पनि उनले सुनाए।

चर्चित कविता आमादेखि म मरेको रात, लयमा, प्रेमचाहिँ कत्तिको गर्छौं?, चराहरू, बोन्साई, म मुक्तिनाथ, तिमीसँग भेटिएको दिन, बाघ लगायतका कविता वाचन गरे।

लगातार एक घण्टा बढी श्रेष्ठले कविता वाचन गरेका थिए। तर, कार्यक्रम यतिमै सकिएन।

तीर्थ श्रेष्ठ भएपछि गजल छुट्ने कुरै भएन। युवा गजलकार संगीता थापाले कवि श्रेष्ठका पुराना गजल दर्शकमाझ सुनाइन्।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले कवि श्रेष्ठका रचनाले साहित्यिक क्षेत्रमा इँट थप्ने काम गरेको धारणा राखिन्। साथै यस्ता साहित्यिक कार्यक्रमले राष्ट्रिय चिन्तनलाई भावी पुस्तामा पनि हस्तारण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। 

पोखरामा जन्मिएका श्रेष्ठ ३० को दशकदेखि कविता लेखनमा सक्रिय छन्। उनले लेखेका जिन्दगीको कुरूक्षेत्रबाट, पाइलाका नीबहरूले र धर्सैधर्साको चक्रव्यूह, महाभारतका गीतहरू, मेरै हिमालजस्तो, जिन्दगीको गोधूलीमा कृतिहरू प्रकाशित छन्।

पोखरामा बसेर साहित्य र संस्कृतिको सेवामा निरन्तर लागिरहेका श्रेष्ठ नेपाल लेखक संघका अध्यक्ष पनि हुन्। उनको कृति ‘हिउँमा लेखिएका नामहरू’ छिट्टै बुकहिल पब्लिकेसनबाट प्रकाशन हुँदै छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad