ad ad

लुम्बिनी


पाल्पा-२ मा सोमप्रसादको निरन्तरता कि ठाकुरको डेब्यु?

पाल्पा-२ मा सोमप्रसादको निरन्तरता कि ठाकुरको डेब्यु?

सुदीप भण्डारी
भदौ २०, २०७९ सोमबार १०:२१, बुटवल

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी चहलपहल पाल्पामा पनि तीब्र बन्दै गएको छ। जिल्लाका ठाउँ ठाउँमा चुनाव लक्षित कार्यक्रमहरु पनि भइरहेका छन्। विशेष गरि पाल्पा क्षेत्र नम्बर २ को चासो जिल्लाभित्र मात्र नभई बाहिर पनि उत्तिकै छ।

जिल्ला सदरमुकाम तानसेन र आसपासको क्षेत्र समेटिएको यो क्षेत्रमा हालका सांसद सोमप्रसाद पाण्डेले लगातार जसो चुनाव जितिरहेका छन्। २०५१, २०५६, २०७० र २०७४ मा गरि ४ पटक उनले नेकपा एमालेको तर्फबाट चुनाव जितेर सांसद बनेका हुन्। २०६४ को चुनावमा मात्र उनी पराजित भएका थिए।

तर अहिले पाण्डे एमालेमा नभई एमालेबाट विभाजन भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा छन्। माधव नेपालका सम्धीसमेत रहेका सोमप्रसाद पाण्डे सो पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन्। 

एकीकृत समाजवादीले नेपाली कांग्रेससँग गठबन्धन गर्ने निर्णय गरिसकेको छ। त्यसैले पाण्डे गठबन्धनको तर्फबाट पाल्पा क्षेत्र नम्बर २ मा उम्मेद्वार बन्ने सम्भावना बलियो छ। 

पाण्डे एकीकृत समाजवादीमा गएपछि केन्द्रीय सदस्य ठाकुर गैरेलाई एमालेबाट टिकट पाउन सहज देखिएको छ। अनेरास्ववियूका पूर्वअध्यक्ष गैरे हाल एमालेको केन्द्रीय सदस्य छन्। विद्यार्थी संगठनमा आफू पछिका अध्यक्ष रामकुमारी झाँक्री, नविना लामा सांसद बनिसके पनि उनी संसद भवन छिर्न पाएका छैनन्।

पाल्पाको आफ्नो क्षेत्रमा सोमप्रसाद पाण्डे उम्मेद्वार बनिरहेका कारण गैरेले टिकट हात पार्न सकेका थिएनन्। यो पटक भने एमालेबाट गैरेले नै टिकट पाउने चर्चा पाल्पामा छ। 

त्यसो भएमा विगतमा एउटै पार्टी अनि पार्टीभित्र पनि समान गुटमा रहेका सोमप्रसाद पाण्डे र ठाकुर गैरेका बीचमा पाल्पामा रोचक भिडन्त हुनसक्छ। पार्टी विभाजन अघिसम्म गैरे पनि माधव नेपाल समूहमा नै थिए।

पाण्डे माधव नेपालसँग एकीकृत समाजवादीमा लागेपनि गैरे एमालेमै बसेका थिए। 

सोमप्रसाद रहेको एकीकृत समाजवादी पार्टी एमाले जस्तो बलियो छैन। आफ्नै पार्टीको बलमा चुनाव जित्न असम्भव जस्तै छ। त्यो उनको लागि चुनौति हो। तर गठबन्धन भएमा उनलाई कांग्रेस र माओवादी केन्द्रको साथ रहने छ।

एमाले पाेलिट्ब्युराे सदस्य ठाकुर गैरे

गत स्थानीय चुनावमा एकीकृत समाजवादी पाल्पामा कमजोर देखिएको थियो। चुनावपछि तानसेनका पूर्वमेयर अशोक शाही र उपमेयर  लक्ष्मीदेवी पाठक एकीकृत समाजवादीमा प्रवेश गर्दा पाण्डेलाई चुनाव जित्नेमा केही आशाबादी बनाएको छ। 

ठाकुर गैरेले एमालेबाट टिकट पाएमा उनी नयाँ तर परिचित अनुहार हुने छन्। विद्यार्थी राजनीतिमा विगतमा देखाएको सशक्त भूमिकाका कारण उनले युवा मतदाताहरुलाई आकर्षित गर्न सक्ने सम्भावना छ। मतदाताहरुले भइरहेको अनुहार भन्दा नयाँ अनुहार खोजेमा पाल्पा २ गैरेको लागि अनुकुल हुन सक्छ। 

तर गैरेको लागि पनि केही चुनौति छन्। ५ वर्षअघि सोमप्रसादसँगको जस्तो सिंगो एमाले उनीसँग हुने छैन। त्यसबाहेक लगातार सांसद भइसकेका पाण्डेसँग तानसेन र आसपास क्षेत्रमा बढी नै नेटवर्क र सम्पर्क छ। त्यो सम्पर्कका कारण एमालेतर्फको केही भोट पनि तान्न सक्ने अनुमान गरिन्छ। जुन नेटवर्क र सम्पर्क गैरेसँग नहुन सक्छ। 

२०७४ को चुनावमा पाल्पा क्षेत्र नम्बर २ मा सोमप्रसाद पाण्डेले ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी हरि नेपालले २४ हजार ५५४ मत ल्याएका थिए। 

गत वैशाखमा भएको स्थानीय चुनावमा पाल्पा क्षेत्र नम्बर २ मा एमालेका वडाध्यक्षहरूले कुल ३० हजार ५३६ मत ल्याएका थिए। त्यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले २९ हजार ३९ मत, माओवादीले ४३१३ मत र नेकपा एकीकृत समाजवादीले ४३३ मत पाएका छन्।  

स्थानीय चुनावको मत हेर्दा पाल्पामा एकीकृत समाजवादी कमजोर देखिन्छ। तर सो पार्टीका जिल्ला अध्यक्ष कमल पाण्डेले स्थानीय चुनावमा पाएको भन्दा धेरै मत एकीकृत समाजवादीसँग रहेको भन्दै गठबन्धनको तर्फबाट पाण्डे उम्मेद्वार भएमा जित सुनिश्चित भएको दाबी गरे। 

‘पाल्पामा सबै ठाउँमा गठबन्धन भएको हो। एकीकृत समाजवादीको गठबन्धनमा परको सबै मत त्यहाँ छैन। केही नमिलेको ठाउँमा पार्टीका साथीहरुले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो। त्यहीको मत मात्र छ’ उनले भने, ‘चुनावमा एकल प्रतिस्पर्धा भए पनि १२–१५ हजार मत हाम्रो देखिन्थ्यो। गठबन्धन भएपनि नभएपनि अबको चुनावमा उहाँ (सोमप्रसाद) उम्मेदवार बन्ने निश्चित छ।’ 

तानसेनका मेयर र उपमेयर आफ्नो पार्टीमा आएका कारण क्षेत्रमा चुनाव जित्न थप सहज भएको जिल्ला अध्यक्ष पाण्डेले बताए। 

उता एमालेका जिल्ला अध्यक्ष धनेश्वर घिमिरेले गठबन्धनका बाबजुत पनि पाल्पामा चुनाव जित्ने दाबी गरे। 

‘गठबन्धन नै हुँदा स्थानीय चुनावमा पाल्पाका १० पालिका मध्ये ६ वटा पालिका हामीले जितेका छौं। चुनावपछि तीब्र रुपमा सांगठनिक अभियान सञ्चालन गरेका छौँ’ उनले भने, ‘हाम्रोमा उम्मेदवार समस्या छैन। गठबन्धनभित्र धेरै अलमल र संकट देखा परेको छ। त्यसैले पाल्पा २ सहित जिल्लाका सबै क्षेत्रमा एमालेले जित्ने आधार बलियो बन्दै गएको छ।’ 

पाल्पा क्षेत्र नम्बर २ मा गठबन्धनबाट एकीकृत समाजवादीका सोमप्रसाद उम्मेद्वार बन्ने सम्भावना बढी छ। तर कांग्रेसले पनि उम्मेद्वारी सिफारिस गरेको छ। क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रत्यक्षतर्फ नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चीरन्जीवि नेपाल, हाल प्रदेश सरकारमा मन्त्री रहेका वीरबहादुर राना र हरि नेपालको नाम सिफारिस भएको छ। 

एकीकृत समाजवादीका नेता साेमप्रसाद पाण्डे

कांग्रेस पाल्पा २ का क्षेत्रीय सभापति माधव जिसीले प्रतिनिधिसभाको क्षेत्र कांग्रेसले अरुलाई छोड्दा गठबन्धनले जित्न गाह्रो हुने हो कि भन्ने आशंका गर्छन्। 

‘संघमा कांग्रेसले पायो र मिलेर गइयो भने प्रदेशसभामा गठबन्धनका अरु दलको पनि जित सहज हुन्छ। पाल्पामा धेरैले नयाँ नेतृत्व त्यसमा पनि कांग्रेस नै खोजेका छन्’ उनले भने, ‘कांग्रेसको साढे २९ हजार मत छ, एमालेसँग चार पाँच सयको मात्र फरक हो।समाजवादीको धेरै कम छ। धेरै मत भएको पार्टीबाट कम मत भएको पार्टीलाई भर्न गाह्रो हुन्छ कि जस्तो लाग्छ। कार्यकर्ता भन्दा पनि जनमानसको कुरा हो।’ 

उता जिल्लाको पूर्वी भेग पर्ने पाल्पा क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल विस्तारै तात्दै छ। यो क्षेत्रमा एमालेका दलबहादुर राना प्रतिनिधि सभामा छन्। अबको चुनावमा पनि एमालेबाट राना दोहोरिने प्रयासमा छन्।

यस्तै, एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल र प्रदेश सभा सदस्य नारायण आचार्य पनि उम्मेद्वार हुने आकांक्षा व्यक्त गरेका छन्। क्षेत्र नम्बर १ मा एमाले र गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने सम्भावना छ।  

नेपाली कांग्रेसबाट पाल्पा १ को प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ज्ञान बहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दीप रानाको नाम सिफारिस भएको छ। 

२०७४ को चुनावमा एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर यो क्षेत्रमा विजयी भएका थिए। प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९९३  मत ल्याएका थिए। 

गत स्थानीय चुनावमा क्षेत्र नम्बर १ का वडामा एमालेका वडाध्यक्षहरुको कुल मत ३४ हजार ७७१ मत आएको थियो। नेपाली कांग्रेसका वडा अध्यक्षहरूले २७ हजार १५० मत पाएका थिए। माओवादीले १ हजार १६४ मत ल्याएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .