लुम्बिनी


झाँकी र तामझामका साथ देउखुरीबाट प्रदेश राजधानीको कामकाज सुरु

झाँकी र तामझामका साथ देउखुरीबाट प्रदेश राजधानीको कामकाज सुरु

नेपालखबर
मंसिर २८, २०७९ बुधबार २०:३४, भालुबाङ

लुम्बिनी प्रदेश सरकार आजबाट औपचारिक रुपमा दाङको देउखुरीबाट सञ्चालन भएको छ। देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आज उद्घाटन गरिएसँगै २ वर्षअघि घोषणा गरिएको स्थायी राजधानी कार्यान्वयनमा आएको हो।

२०७७ साल असोज २० गते प्रदेश सभाले दाङको राप्ती उपत्यका देउखुरीलाई स्थायी राजधानी तोक्ने प्रस्ताव पारित गरेको थियो।

बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कार्यालयको उद्घाटन र झण्डोत्तलन गर्दै देउखुरीलाई आधुनिक र व्यवस्थित शहर बनाउने अवसर आएको बताए।

‘अस्थायी राजधानी बुटवलमा पनि पुराना संरचना निर्माण भइसकेको थियो। आधुनिक तरिकाले आवास बनाउने अवस्था थिएन’ उनले भने, ‘काठमाडौँमा हेर्दा साँघुरा गल्ली पाउनुहुन्छ। त्यस्तोमा परिवर्तन गर्न गाह्रो छ। यहाँ पुराना संरचना न्यून भएकाले यसको भविष्य उज्यालो छ। अब यसलाई आधुनिक र व्यवस्थित रुपले शहरीकरण गर्नुपर्छ।’ 

शेरचनले व्यवस्थित शहर निर्माणको लागि दातृसंस्थाबाट पनि अनुदान आउन सक्ने बताए। उनले शहर निर्माणका लागि तत्कालको फाइदा नहेरी दीर्घकालिन रुपमा सोच्न देउखुरीबासीलाई आग्रह गरे।

मुख्यमन्त्री कुलप्रसाद केसीले देउखुरी प्रदेशको राजधानी भएको घोषणा गर्दै संघीयता कार्यान्वयनमा लुम्बिनीले जित निकालेको बताए।

‘इतिहासमा जित्ने भनेको एक पटक एक दिन र एक सेकेन्डमा मात्र हो। त्यसैले लुम्बिनीले संघीयता कार्यान्वयनमा जितेको छ’ उनले भने,‘आजका मितिबाट पहिलो प्रदेशसभाबाट पारित गरेको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट प्रदेश सरकारको कार्य सञ्चालन भएको सगर्व घोषणा गर्दछु।’ 

केसीले अब आउने दोस्रो कार्यकालको प्रदेश सभा र सरकारले प्रदेशलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको बताए।

प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्तीले शून्यबाट सुरु भएको प्रदेश सभा अहिले आफ्नै संरचनाबाट सुरु हुनु सुखद भएको उल्लेख गरे। स्थानीय र प्रदेश सरकारबीचको समन्वयका आधारमा राजधानी कार्यान्वयनलाई उत्सवमय बनाइएको थियो।

उद्घाटन समारोहमा विभिन्न जातजाती र समुदायले झाँकी देखाएका थिए। राजधानी कार्यान्वयनले देउखुरीमा उत्साह छाएको छ।

राजधानीको स्वागतको लागि केही दिन अघिबाटै देउखुरीको सरसफाइ र सजावट गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .