उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा आयोजना हुने भएको छ। आज पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले माघ २१ र २२ गते उपमहानगर सम्मेलन गर्ने जनाएको हो।
सम्मेलनमा उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी हुने बुटवलका मेयर खेलराज पाण्डेले जानकारी दिए।
समान समस्या, समान मुद्दा र समान संरचना भएकाहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको पाण्डेले जानकारी दिए।
‘उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदानबारे छलफल गर्ने छौं’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा निष्कर्ष निकालिनेछ।’
उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने पाण्डेले बताए। सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुने छ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्यको उदेश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताइन्। उनले स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने उल्लेख गरिन्।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको बताए। उनले सम्मेलनमा सहभागी हुने उपमहानगरपालिका र अन्य प्रतिनिधिहरुलाई पत्राचार गरिसकिएको र आन्तरिक व्यवस्थापनको काम जारी रहेको जानकारी दिए।
प्रतिक्रिया