ad ad

बागमती


बागमती प्रदेश सभाको वार्षिक उत्सवमा किन उपस्थित भएनन् तीन दल?

बागमती प्रदेश सभाको वार्षिक उत्सवमा किन उपस्थित भएनन् तीन दल?

सुनिता विष्ट
माघ १८, २०७९ बुधबार २१:१९, हेटाैँडा

बागमती प्रदेश सभाको पाँचौ वार्षिक उत्सव बुधबार विशेष कार्यक्रम गरेर सम्पन्न भएको छ। २०७४ साल आजकै दिन प्रदेश सभा स्थापना भएको सम्झनामा हरेक माघ १८ गते प्रदेश सभा सचिवालयले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने गर्दछ। 

यसै सन्दर्भमा प्रदेश सभाको प्राङ्गणमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा सत्ता गठबन्धनमा रहेका केही सांसद र मन्त्रीहरु तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केही सांसदहरुको उपस्थिती थियो। 

तर सरकारलाई नै समर्थन गरेका नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बसेको नेपाल मजदुर किसान पार्टीका सांसदहरुले भने उपस्थिती नै देखाएनन्। प्रदेश सभामा एकीकृत समाजवादीका ७, हानेपाको २ र नेमकिपाका ३ सांसद छन्। 

किन उपस्थित भएनन् तीन दल?
दलका नेताहरुको प्रतिक्रिया अनुसार सांसदहरुले सभाको कार्यक्रमलाई भन्दा पनि अन्य कामलाई प्राथमिकतामा राखेको पाइएको छ।

हाम्रो नेपाली पार्टी बागमतीका संसदीय दलका नेता शैलेन्द्रमान बर्जाचार्य प्रदेश सभा सचिवालयले मंगलबार मात्रै खबर गरेको कारण उपस्थित हुन नपाएको बताए। 

‘मेरो अन्त ४ ठाउँको कार्यक्रम फिक्स भैसकेको थियो। मैले मुख्यमन्त्रीज्यूलाई पनि सोधेको थिएँ, यस्तो छ आउनै पर्ने हो र भनेर। उहाँले सकेसम्म मिलाएर आउनु भन्नुभएको थियो। तर मिलाउनै नसकेपछि म र हाम्रा अर्की सांसद पनि आउन पाएनौं,’ उनले नेपालखबरसँग भने।

हानेपाले एक मन्त्रालयको दाबी गरेको थियो, कि यहि झोकले नआउनु भएको त होइन? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तो केही होइन। पूर्व निर्धारित कार्यक्रमको सेडुअल मिलाउन नसकेर मात्रै हो।’ 

यता एकीकृत समाजवादीका पनि सातै जना सांसदको अनुपस्थिती रह्यो। सरकारलाई समर्थन गरेर विश्वासको मत दिएको एकीकृत समाजवादीले पनि प्रदेश सभा सचिवालयको कार्यक्रमलाई प्राथमिकतामा राखेन।

सदन चल्ने दिन प्रायः सबै सांसदहरु अनिवार्य जस्तै उपस्थित भए पनि यो प्राथमिकताको कार्यक्रम नभएकै कारण उपस्थित नभएको सांसद कृष्ण शर्मा खनालले बताए।

‘पार्टीको निर्णयले कार्यक्रममा उपस्थित नहुने भनेर नआएका त होइनौं, तर सहभागी हुनै पर्ने प्राथमिकताको कार्यक्रम पनि त होइन नि। अरु प्रदेशले कहिल्यै वार्षिक उत्सव मनाएको तपाइँले देख्नु भएको छ र?’ उनले भने, ‘ हामीले अघिल्लो वर्ष पनि मुख्यमन्त्री बाहेक अरुले सहभागीता जनाएनौं। यो पटक पनि यसलाई प्राथमिकतामा राखेनौं। तर सरकारमा जान नपाएर सुनियोजित तरिकाले यस्तो गरेको भन्ने चाहिँ होइन।’

यता, लोकतान्त्रिक पद्दतीको आफ्नो अधिकार उपयोग गर्ने भन्दै सभामुख, उपसभामुखको निर्वाचनमा समेत सहभागी भएको नेमकिपाले पनि प्रदेश सभाको वार्षिक उत्सवको निमन्त्रणालाई प्राथमिकता नदिएको पाइयो।

तीन सांसद रहेको नेमकिपा प्रतिपक्षको भूमिकामा छ। सरकारलाई विश्वासको मत पनि नदिएको नेमकिपाले सत्तामा जाने इच्छा देखाएन।

तर विधि र पद्दतीलाई राम्रोसँग मान्ने नेमकिपा आफ्नै सचिवालयको वार्षिक उत्सवमा किन सहभागी भएन? हाम्रो यो प्रश्नमा नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँले आफूहरुलाई प्रमुख प्रतिपक्ष दलको हैसियतमा निम्तो नआएको कारण उपस्थिती नजनाएको बताए। 

‘सरकारलाई समर्थन नगरेको हिसाबले पनि हामी एक दल मात्रै प्रमुख प्रतिपक्ष दल हौं। जसका कारण पनि हामीलाई प्रतिपक्षको मात्रै नभएर प्रमुख प्रतिपक्ष चाहिन्छ भनेर दाबी पेश गरेका छौं। त्यही कुराको सुनुवाई नभएकै कारण हाम्रा तीनै सांसद अनुपस्थित भएका हौं,’ नेता गोसाईँले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .