बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झार्दै मन्त्रीहरूको नयाँ कार्यविभाजन गरिएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार मन्त्रीहरूको नयाँ कार्यविभाजन स्वीकृत गरेका हुन्।
नयाँ कार्यविभाजनअनुसार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेलले पाएका छन् भने आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारीले सम्हाल्ने भएका छन्।
यसैगरी स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चनचन्द्र वादे, भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तमाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्णकुमार तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठले पाएका छन्।
किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल भने बिनाविभागीय मन्त्री बनेका छन्।
८ मन्त्रालयमध्ये कांग्रेसको भागमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित ५ र सत्ता साझेदार दल नेकपा एमालेले भौतिकसहित ३ मन्त्रालय पाएको छ।
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर प्रशासनिक संरचना चुस्त बनाउने नीति लिएको भए पनि सबै मन्त्रीलाई तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्थाका कारण केही मन्त्रीलाई हालका लागि बिना विभागीय राखिएको हो।
मन्त्रालय अन्तर्गतका कार्यालय, कर्मचारी तथा संगठन तथा व्यवस्थापन ९ओएन्डएम० सर्वेक्षणको प्रक्रिया पूरा भएपछि उनीहरूलाई आवश्यकताअनुसार जिम्मेवारी दिने सरकारको तयारी छ।
Shares

प्रतिक्रिया