बागमती


बागमतीमा कांग्रेस एमाले दुवै दलका मन्त्रीले राजीनामा दिने

बागमतीमा कांग्रेस एमाले दुवै दलका मन्त्रीले राजीनामा दिने

नेपालखबर
असार ३२, २०८३ बिहिबार १५:०, हेटौँडा

बागमती प्रदेश सरकारबाट १३ जना मन्त्रीले राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन रहेको बागमती सरकारबाट दुवै दलका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्। 

बागमतीमा साउन १ अर्थात् भोलिबाट मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ८ रहने यसअघि नै निर्णय भैसकेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्न तथा अन्य प्रदेशमा देखिएको राजनीतिक घटनाक्रम अनुसार बागमती सरकारबाट दुवै दलका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्। 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक पुकार महर्जनका अनुसार केन्द्रले प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिए अनुसार नै प्रदेश सरकारबाट आज कांग्रेसका ७ मन्त्री फिर्ता हुन लागेका हुन्। ‘कुन दलसँग सत्ता समीकरण गर्ने वा प्रतिपक्षीमा रहने भन्ने एकीन नभए पनि सरकारबाट बाहिरिन निर्देशन आएको छ,’ महर्जनले भने, ‘सोही अनुरुप ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक पश्चात् कांग्रेसका ७ जना मन्त्रीज्यूहरूले राजीनामा बुझाउनुहुन्छ।’

यता, एमालेका ६ मन्त्रीहरूले पनि आजै राजीनामा बुझाउने तयारी छ। भोलिबाट हुने ८ मन्त्रालयको लागि मिलाउन र सत्ता समीकरणमा आएको विवादका कारण राजीनामा दिन लागेको हो। एमालेका मन्त्री किरण थापाका अनुसार आजै एमालेका सबै मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने छन्।

‘सरकारबाट आज एमालेका हामी ६ जना नै मन्त्रीहरुले राजीनामा दिन्छौँ,’ मन्त्री थापाले भने, ‘विश्वासको मत फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल चलिरहेकै अवस्था छ।’ 

उनका अनुसार अब बन्ने नयाँ सत्ता समीकरण अनुसार एमालेले सरकारको निर्णय गर्ने बताइएको छ। ‘पार्टीका शीर्षस्थ तहका नेताहरूले जुन दलसँग गठबन्धन गर्नुहुन्छ, सोही अनुसार एमाले सरकारमा सहभागी हुने कि नहुने भन्ने एकीन हुन्छ। शीर्ष तहमा यस विषयमा छलफल भैरहेको छ,’ उनले थपे।

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज बस्ने मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरूले राजीनामा दिए कुनै अचम्म मान्न नपर्ने बताउँछन्। उनका अनुसार अन्य प्रदेशमा सत्ता गठबन्धन भत्किएपछि बागमतीमा पनि त्यसको असर परे पनि १३ मन्त्रीको राजीनामा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनकै लागि हुनेछ।

यद्यपि, केन्द्रकै निर्देशनमा सत्ता समीकरण फेरबदल भए बागमतीमा पनि सोही अनुरुपको सरकार बन्ने बानियाँको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad