लुम्बिनी


शान्त हुँदै बुटवलका सडक: ‘अपरेसन साइलेन्ट स्टेट’को प्रभाव देखिन थाल्यो

शान्त हुँदै बुटवलका सडक: ‘अपरेसन साइलेन्ट स्टेट’को प्रभाव देखिन थाल्यो

प्रदीप आचार्य
चैत २३, २०८२ सोमबार १५:२७, बुटवल

साँझ पर्नासाथ ‘प्रयाङ–प्रयाङ’ आवाजले गुञ्जिने कालिकापथ, ट्राफिक चोक र आसपासका सडकहरू अहिले क्रमशः शान्त हुँदै गएका छन्।

अनावश्यक आवाज निकाल्दै हुइँकिने मोटरसाइकलको भीड घटेको छ। यसको मुख्य कारण बनेको छ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तव नेतृत्वमा सञ्चालनमा आएको विशेष अभियान ‘अपरेसन साइलेन्ट स्टेट’।

प्रहरीले यो अभियानलाई सामान्य ट्राफिक कारबाहीभन्दा फरक, समाजमा दीर्घकालीन शान्ति र सुरक्षा स्थापना गर्ने रणनीतिक पहलका रूपमा अघि बढाएको जनाएको छ ।

‘साइलेन्ट स्टेट भनेको शान्त सडक हो, जहाँ नागरिक बिना डर र तनाव सहज रूपमा हिँडडुल गर्न सकून्,’ डीएसपी श्रीवास्तव भन्छन्, ‘हामी युवाहरूलाई सन्देश दिन चाहन्छौ,सडक सबैको साझा ठाउँ हो, केवल एडभेन्चरका लागि होइन।’

‘एडभेन्चर’ कि ‘आतंक’?
बुटवलका व्यस्त सडकहरू साँझतिर किनमेल, भेटघाट र खानपानका लागि निस्किएका मानिसहरूले भरिन्छन्। यही समयमा केही युवाहरूले मोटरसाइकलबाट अनावश्यक ठूलो आवाज निकाल्ने, ‘स्टन्ट’ गर्ने र टायर उठाएर देखाउने प्रवृत्ति बढ्दै गएको थियो।

प्रहरीका अनुसार यस्तो गतिविधि केवल होहल्ला मात्र होइन, दुर्घटनाको उच्च जोखिम बोकेको समस्या पनि हो। 

‘केही युवाहरूका लागि यो रमाइलो होला, तर आम नागरिकका लागि यो त्रासको कारण बनेको छ,’ श्रीवास्तव भन्छन्’, ‘बालबालिका, वृद्धवृद्धा र महिलाहरू यस्ता गतिविधिबाट मानसिक रूपमा प्रभावित हुने गरेका छन्। एक जनाको लापरबाहीले पूरै परिवारमा पीडा ल्याउन सक्छ।’

कारबाहीभन्दा बढी ‘सोच परिवर्तन’
अभियानअन्तर्गत हालसम्म ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर प्रहरीको ध्यान केवल जरिवाना वा नियन्त्रणमै सीमित छैन।

‘हामी ‘मेन्टालिटी ब्रेक’ गर्न चाहन्छौँ,’ डीएसपी श्रीवास्तव भन्छन्। 

उनका अनुसार आर्थिक रूपमा सक्षम केही युवाहरूले जरिवाना तिरेर पुनः उही गल्ती दोहोर्याउने प्रवृत्ति देखिएकाले यसपटक कडाइका साथ अधिकतम जरिवाना गर्नुका साथै सवारीसाधन तत्काल नछोड्ने रणनीति अपनाइएको छ। यसले व्यवहार परिवर्तनमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ। 

प्रहरीले यो अभियान अल्पकालीन ‘एक्सन’ नभई दीर्घकालीन रूपमा सञ्चालन गरिने स्पष्ट पारेको छ। 

‘यो दुई–चार दिनका लागि होइन, वर्षभरि चल्ने अभियान हो,’ श्रीवास्तवको भनाइ छ।

के–के छन् निगरानीमा?
‘अपरेसन साइलेन्ट स्टेट’ विशेषगरी ठूलो आवाज निकाल्ने तथा मोडिफाई गरिएका मोटरसाइकल लक्षित छ। यस्ता बाइकहरू युवाबीच ‘स्टाइल’को रूपमा लोकप्रिय भए पनि सार्वजनिक शान्तिमा प्रत्यक्ष असर पार्ने देखिएको प्रहरीको निष्कर्ष छ।

त्यसका अतिरिक्त तीन जना चढ्ने, मापसे गरेर सवारी चलाउने, हेल्मेट नलगाउनेजस्ता जोखिमपूर्ण गतिविधि पनि अभियानको निगरानीमा छन्।

समुदायको साथ
अभियानप्रति स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया आएको छ। बुटवल–९ का रामकुमार पोखरेल रातिको होहल्ला नियन्त्रण हुनु सकारात्मक भएको बताउँदै यस्ता पहल निरन्तर हुनुपर्नेमा जोड दिन्छन्।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली ले पनि आम नागरिकलाई समस्या पार्ने बाइक स्टन्ट र ठूलो आवाज नियन्त्रण गर्नु स्वागतयोग्य कदम भएको बताए।

बुटवललाई सुरक्षित र बस्नयोग्य शहर बनाउने प्रयास भइरहेका बेला ‘अपरेसन साइलेन्ट स्टेट’ले थप प्रभाव पार्ने अपेक्षा गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय ले पनि सडक अनुशासन र नागरिक सुरक्षामा यस्तो पहलले सकारात्मक योगदान दिने विश्वास व्यक्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad