नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जस्ता दलका लागि राष्ट्रिय राजनीतिमा निर्णायक स्थान बनाउने नेताहरु उत्पादन गर्ने लुम्बिनी प्रदेशमा यसपटक यी दलका समितिबाहेक सबै नेतालाई पछार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ सिटमा विजय प्राप्त गरेको छ । यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने ठूला पार्टिहरुका पदाधिकारी, मन्त्री, संसदहरु यस पटक भर्खर राजनीतिमा उदाउँदै गरेका रास्वपाका नेताहरुबाट पराजित भएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महाचिव शंकर पोखरेल, प्रदिप ज्ञवाली तथा नेपाली कांग्रेसका नेताहरु किशोरसिंह राठौर, चन्द्र भण्डारी, बालकृष्ण खाँण, भरतकुमार शाह, दिपकुमार उपाध्याय, दीपक गिरी, तत्कालिन माओबादीका टोपबहादुर रायमाझि, वर्षमान पुन लगायतका नेताहरु यहि प्रदेशका हुन् । यी मध्ये यस पटक वर्षमान पुनले मात्र विजयी भएका छन्।
अघिल्लो निर्वाचन अर्थात २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले १० क्षेत्रमा जित निकाल्दै प्रदेशमा पहिलो भएको थियो भने कांग्रेसले ९, माओबादी केन्द्रले ५, राप्रपा र नागरिक उन्मुक्तिले १/१ सिट जितेका थिए । त्यतिबेला लुम्बिनी प्रदेशका कुनैपनि क्षेत्रबाट जित निकाल्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टि(रास्वपा) यतिबेला पहिलो दल बनेको छ।
रास्वपाको वर्चस्व
रास्वपाले २१ स्थानमा जित्तै आफ्नो वर्चस्व बनाएको छ । अघिल्लो पटक निकै कमजोर रहेको रास्वपाले यो पटक १० जिल्लाका २१ क्षेत्रमा जित तिकालेको हो । रास्वपाले गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्यूठान, दाङ, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न क्षेत्रमा जित हासिल गरेको छ। यी विजयी उम्मेद्वारहरुसंग एमाले कांग्रेसका उम्मेद्वारहरुको ५ देखी ५० हजार मतान्तर रहेको थियो।
गुल्मी क्षेत्र नं. १ मा सागर ढकाल २९ हजार ६४२ मतसहित विजयी भए भने गुल्मी क्षेत्र नं. २ मा गोविन्द पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दै जीत निकाले। पाल्पा क्षेत्र नं. २ मा माधव बहादुर थापा २६ हजार ७३६ मतसहित विजयी भए। अर्घाखाँची क्षेत्र नं. १ मा हरी प्रसाद भुसालले ३५ हजार २३ मत ल्याएर जीत हासिल गरे।
रूपन्देहीका पाँचै क्षेत्र रास्वपाले जितेको छ। रूपन्देही क्षेत्र नं. १ मा सुनिल लम्साल (५४ हजार ८४५), क्षेत्र नं. २ मा सुलभ खरेल (५६ हजार ५५०), क्षेत्र नं. ३ मा डा. लेखजंग थापा (५८ हजार ८१४), क्षेत्र नं. ४ मा कन्हैया बनियाँ (२८ हजार ०६६) र क्षेत्र नं. ५ मा तौफिक अहमद खान (३८ हजार ८०६) मतसहित विजयी भएका छन्।
कपिलवस्तु क्षेत्र नं. १ मा मोहनलाल आचार्य ३४ हजार १४८ मतसहित र क्षेत्र नं. २ मा विक्रम थापा २७ हजार ६३५ मतसहित विजयी भए। प्यूठान क्षेत्र नं. १ मा सुशान्त वैदिक २७ हजार ४६९ मतसहित विजयी भए।
दाङका तीनै क्षेत्रमा रास्वपाले जित निकालेको छ। क्षेत्र नं. १ मा देवराज पाठक (४२ हजार ६०२), क्षेत्र नं. २ मा विपिन कुमार आचार्य (४३ हजार ५५९) र क्षेत्र नं. ३ मा कमल सुबेदी (४४ हजार २४८) मतसहित विजयी भए।
बाँके क्षेत्र नं. १ मा सुरेश कुमार चौधरी ३२ हजार ७९२ मतसहित तथा क्षेत्र नं. ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित विजयी भएका छन्। बर्दिया क्षेत्र नं. १ मा ठाकुर सिंह थारुले ४९ हजार ६३१ मत ल्याएर जीत हासिल गरे।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ मा विक्रम खनाल ४५ हजार २४१ मतसहित तथा क्षेत्र नं. २ मा नरेन्द्र कुमार गुप्ताले ४४ हजार १३८ मतसहित विजय हासिल गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहम्मद इश्तियाक राई बाँके क्षेत्र नं. २ बाट २४ हजार ६२८ मतसहित विजयी भएका छन्। एमालेबाट विजयी हुने उनी मात्रै हुन् ।
२०७९ सालको निर्वाचनमा ९ क्षेत्रमा जित निकाल्दै प्रदेशमा दोस्रो दलको हैसियतमा रहेको नेपाली कांग्रेसले यो पटक २ क्षेत्रमा मात्रै जित निकाल्न सक्यो । नेपाली कांग्रेसले पाल्पा क्षेत्र नं. १ र कपिलबस्तु क्षेत्र नं. ३ मा जीत हासिल गरेको छ। पाल्पा क्षेत्र नं. १ मा सन्दीप रानाले १८ हजार ३३६ मत प्राप्त गरेका छन् भने कपिलवस्तु क्षेत्र नं. ३ मा अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी भएका छन्।
नेकपाको दुई क्षेत्रमा जीत
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम (पूर्वी भाग) क्षेत्र नं. १ बाट १० हजार २४० मतसहित विजयी भएका छन्। त्यसैगरी रोल्पा क्षेत्र नं. १ बाट बर्षमान पुन २७ हजार ४६० मतसहित विजयी भएका छन्।
Shares

प्रतिक्रिया