ad ad

मधेस


बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै कुटपिट

बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै कुटपिट

शैलेन्द्र महतो
असार २९, २०७९ बुधबार २०:५८, जनकपुरधाम

धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि कार्यालयमै कुटपिट भएको छ। 

गाउँपालिकाकै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई सोमबार कार्यकक्षमै कुटपिट गरेका हुन्। 

अभद्र गाली गरेपछि कार्यालयकै केही कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले प्रशासकीय अधिकृत जोमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 
 

ती कर्मचारीका अनुसार श्रम तथा रोजगार मन्त्रालयबाट आएको पत्रमा तोक लगाउन पुगेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत जोशीले गालीगलौज गर्दै हातपात गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा कार्यरत करारका कर्मचारीले उनलाई कुटेका हुन्। सम्पन्न योजनाको भुक्तानीको लागि आलटाल गरेको भन्दै उनलाई आज घेर्न पुगेका उपभोक्ता समितिका प्रतिनिधिले पनि सोही बेला उनलाई कुटपिट गरेका छन्। 

‘कमिसन लिएर धेरै पार्टीहरुसँग प्रशासकीय अधिकृत सरले काम गराएका छन्। ती योजनाको कागजमा जबर्जस्ती कर्मचारीलाई सहीछाप गर्न दबाब दिइराखेका छन्। नियम विपरित उनको आदेश अनुसार काम गर्न नमान्ने कर्मचारीलाई गालीगलौज गर्ने, धाकधम्की दिने गर्नुहुन्थ्यो,’ कुटपिट देखेका एक प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘रामजी सरले आज पनि त्यस्तै गालीगलौज गरेर हातपात गर्न थालेपछि कर्मचारीले प्रतिवाद गरेका थिए।’ 

कर्मचारीबीच कुटाकुट भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए। 

एक वर्षअघि बटेश्वरमा प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका जोशी आठ लाख घुस काण्डमा मुछिएका यस अघिका निवर्तमान गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीसमेत प्रभावमा लिएर मोटो कमिसनको सेटिङमा रौतहटका एउटै निर्माण कम्पनीलाई एक दर्जन बढी योजना दिएको खुलासा भएको थियो।

बर्दिबासमा डेरा गरी बसेर उनले अघोषित कार्यालय संचालन गरेको र बिना कमिसन कुनै पनि काम नगर्ने जोशीमाथि स्थानीयको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .