मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले वन सँगसँगै वन्यजन्तुको संरक्षणको प्राथमिकतामा जोड दिनुपर्ने बताएका छन्।
डिभिजन वन कार्यालय धनुषाद्वारा आयोजित वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले वन र वन्यजन्तु एकअर्काका परिपूरक भएकाले वन बचाएर मात्र दिगो वातावरण संरक्षण सम्भव नहुने भएकाले वन्यजन्तुलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले प्रदेश सरकारले वन तथा वातावरण संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै सीमित स्रोत साधन भए पनि संरक्षण अभियानलाई निरन्तरता दिदै आएको बताए।
हरियो वनको संरक्षण तथा चुरे क्षेत्र जोगाउने अभियानमा बजेट अभाव ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले उपलब्ध स्रोतको अधिकतम उपयोग गरेर काम भइरहेको दाबी समेत गरे।
वन विनाश, चुरे क्षेत्रको बढ्दो दोहन, वन्यजन्तुको वनसस्थानमा परेको असर तथा सीमित बजेटका कारण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन चुनौती रहेको निष्कर्ष निकाल्दै वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी आयोजना गरिएको वन डिभिजन कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया