ad ad

मधेस


महिन्द्र यादव र राजेन्द्र महतो- पुराना प्रतिस्पर्धीको कडा टक्कर

महिन्द्र यादव र राजेन्द्र महतो- पुराना प्रतिस्पर्धीको कडा टक्कर

जनार्दन पोखरेल
कात्तिक २८, २०७९ सोमबार १६:११, सर्लाही

मधेस प्रदेशका दुईजना प्रभावशाली नेता बीचको प्रतिस्पर्धाले सर्लाही–२ को निर्वाचन रोचक बनेको छ। 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का नेता महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोबीच सर्लाही–२ मा मुख्य प्रतिस्पर्धा हुँदैछ। यादव माओवादी केन्द्रको चुनाव चिह्न हँसियाहथौडामा निर्वाचन लड्दैछन्। 

एमाले–जसपा गठबन्धनबाट यो क्षेत्रमा एमालेका सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। तर, सर्लाही २ मा राय र महतोबीचको प्रतिस्पर्धाले एमाले नेता साहको उम्मेदवारी नै गौण बनेको छ।

केन्द्रमा महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सत्तारुढ गठबन्धनमा छ। तर, सर्लाही २ मा भने गठबन्धनमा आवद्ध दलका दुई नेताहरुबीच नै मुख्य प्रतिपर्धा हुँदैछ। दुवै पक्षले यसलाई मित्रवत प्रतिपर्धाको संज्ञा दिएका छन्। 

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले यादवलाई आफ्नो आधिकारीक उम्मेदवार मानेका छन्। महतो भने लोसपाका मात्रै उम्मेदवार हुन्। गठबन्धनमा आवद्ध ती दलका शीर्ष नेताले रायलाई गठबन्धन दलको आधिकारिक उम्मेदवार भन्दै विज्ञप्ति जारी गरेपछि महतो पक्ष चिडिएको छ।

यादव र महतो दुवै पटक–पटक सांसद र मन्त्री बनिसकेका नेता हुन्। दुवै नेता सर्लाहीमा चर्चित र प्रभावशाली मानिन्छन्। त्यसैले पनि सर्लाही २ मा उनीहरुबीच भइरहेको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। 

सर्लाही २ मा मलंगवा र हरिपुर्वा नगरपालिका, कैडेना, ब्रम्हपुरी र पर्सा गाउँपालिकाका पूरै वडा पर्छन्। त्यसैगरी इश्वरपुर नगरपालिकाको १५, कविलासी नगरपालिकाको ८, ९ र १० तथा विष्णुपुर गाउँपालिकाको ६, ७ र ८ नम्बर वडा पनि यही क्षेत्रमा पर्छन्। 

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सर्लाही २ का सबै पालिकामा नेपाली कांग्रेसले प्रमुख जितेको छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस नै सबैभन्दा बलियो शक्ति हो। 

स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका वडाध्यक्षले यो क्षेत्रमा ३४ हजार ११८ प्राप्त गरेका छन्। एमाले–जसपा गठबन्धनको मत २७ हजार ३०४ छ भने लोसपाको मत १२ हजार ३५६ मात्रै छ। 

स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई मात्रै हेर्ने हो भने यो क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय बलिया देखिन्छन्। दोस्रो स्थानमा एमाले–जसपा गठबन्धनका राजनारायण साह छन् भने लोसपाका राजेन्द्र महतो तेस्रो ‘पोजिसन’मा देखिन्छन्। 

तर, ६ महिनाअघि सम्पन्न स्थानीय तहको मत परिणामलाई अहिले निर्वाचन जित्ने आधार मान्न नसकिने तर्क राजेन्द्र महतो पक्षको छ।

‘स्थानीय तह निर्वाचन परिणामले अहिले यहाँ कुनै अर्थ राख्दैन,’ स्थानीय बासीसमेत रहेका महतो निकटका पत्रकार विश्वनाथ ठाकुर भन्छन्, ‘त्यतिबेलाको दलीय समीकरण भत्किएर यो क्षेत्रमा नयाँ समीकरण निर्माण भएको छ। राजेन्द्र महतोको पक्षमा प्रतिस्पर्धी उम्मेदवारको भन्दा राम्रो माहोल निर्माण हुँदै छ।’

तर महेन्द्र राय निकटका पत्रकार सत्यप्रकाश यादव भने त्यसलाई मान्ने पक्षमा छैनन्। रायले निरन्तर आफ्नै क्षेत्रमा बसेर विकास निर्माणका धेरै काम गरेका कारण राजेन्द्र महतोसँग महेन्द्र रायको तुलनै हुन नसक्ने दाबी उनले गरे। 

‘०७० सालमा यही क्षेत्रमा महेन्द्र रायसँग पराजित भएपछि राजेन्द्र महतो ०७४ मा चुनाव लड्न धनुषा जानु भयो। अहिले फेरि उहाँ सर्लाही फर्किंदा यहाँका नागरिकले निको मानेका छैनन,’  उनले भने, ‘यो क्षेत्रको लागि उहाँ टुरिस्ट उम्मेदवार हो। उहाँको घर पनि आफू निर्वाचन लडेको क्षेत्रमा पर्दैन।’

महतो सर्लाही १ को चन्द्रनगर गाउँपालिकास्थित बबरगञ्जका स्थायी बासिन्दा हुन्।

धनुषामा हार्ने भएपछि महतो फेरि निर्वाचन लड्न सर्लाही फर्किएको भनेर आलोचना हुने गरेको छ।

‘यो क्षेत्रमा लोसपाको अवस्था राम्रो छैन,’ यादवले भने, ‘महेन्द्र रायको प्रतिस्पर्धी एमालेका राजनारायण साह हुन्। राजेन्द्र महतो त महेन्द्र रायको प्रतिस्पर्धीसमेत होइनन्। उनी धनुषामा निर्वाचन जित्न नसकिने भयले सर्लाही फर्किएका हुन्।’ 

यादव पक्षले प्रतिस्पर्धी नै नमाने पनि महतो पक्ष भने सर्लाही २ मा निर्वाचन जित्नेमा ढुक्क जस्तै देखिएको छ। आफ्नो पार्टीबाट उम्मेदवार नहुँदा राजपाका धेरै नेता कार्यकर्ता राजेन्द्र महतोको पक्षमा खुल्न थालेको दाबी पत्रकार ठाकुरले गरे।

कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार जंगिलाल राय, एमाले नेता कौशल यादव, राजिन्दन चौधरी, वीरेन्द्र यादव, सञ्जय यादव लगायतका एमाले र जसापाका नेताहरु पछिल्लो समय महतोतिर लागेका छन्। यसले राजेन्द्र महतो पक्ष हौसिएको छ।

प्रतिनिधिसभाका तीनैजना उम्मेदवार सर्लाही २ मा यादव र मुस्लिमको मत तान्न लागि परेका छन्। मुस्लिमको मत तान्ने उद्देश्यले लोसपाले नजमा खातुन, बसिर बैठा, अन्जु बैठा, गौरी नारायण साह लगायतलाई प्रेदशसभाको समानुपातिक सूचीमासमेत राखेको छ।

पाँच पटक मन्त्री बनिसकेका यादवले सर्लाहीबाट पाँचपटक निर्वाचन जितिसकेका छन्। पहिलोपटक २०४८ सालमा मात्रै उनी पराजित बनेका थिए। त्यतिबेला यादव नेपाल मानन्धर पार्टीबाट निर्वाचन लडेका थिए। २०५१ र २०५६ सालमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए। २०६४ मा यादवले एमाले छाडेर मधेश केन्द्रित राजनीति सुरु गरे। त्यतिबेला उनी तमलोपाबाट समानुपातिक कोटामा सांसद बने। 

०७० सालमा सर्लाही २ बाटै उनले राजेन्द्र महतोलाई पराजित गरेका थिए। ०७४ मा रायले कांग्रेसका जंगिलाल रायलाई पराजत गरेका थिए। 

०४८ सालमा नेपाल सद्भावना पार्टीबाट महतोले पहिलोपटक चुनाव लडेका थिए। पहिलो निर्वाचनमा पराजित बनेका महतो २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा पनि पराजित बने। २०५६ सालमा भने उनी सर्लाही २ बाट पहिलोपटक विजयी बनेका थिए। त्यतिबेला पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई उनले पराजित गरेका थिए।

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा उनी सद्भावना पार्टीबाट चुनाव लडे। त्यतिबेला उनी सर्लाही ४ बाट निर्वाचित बनेका थिए। 

०७० सालमा उनले महेन्द्र रायसँगै सर्लाही २ मा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला २७ सय भन्दा धेरै मतान्तरसहित उनी रायसँग पराजित बनेका थिए। 

२०७४ सालमा धनुषाबाट चुनाव लडेका उनले कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .