ad ad

मधेस


‘बाँके जंगल’मा किन हुन्छ पटक–पटक दुर्घटना?

‘बाँके जंगल’मा किन हुन्छ पटक–पटक दुर्घटना?

केही दिनअघि महोत्तरीको बर्दिबास १० 'बाँके जंगल'मा पल्टिएको बस।


जनार्दन पोखरेल
पुस १६, २०७९ शनिबार १६:२४, सर्लाही

सर्लाही र महोत्तरीको सीमा भएर बाँके खोला बग्छ। पूर्वपश्चिम राजमार्गमा पर्ने यही बाँके खोलाकै नामले यस क्षेत्रको जंगललाई पनि ‘बाँके जंगल’ भन्ने गरिएको छ।

पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा सर्लाहीको फूलजोरदेखि महोत्तरीको बर्दिबास पुग्न २४ किलोमिटर घना जंगल छिचोल्नुपर्छ। त्यसमध्ये करिब १५ किलोमिटर वन क्षेत्र बाँके जंगलको रुपमा परिचित छ। यो घना जंगल क्षेत्रमा पटक पटक सवारी दुर्घटना हुने गर्छ।

शुक्रबार राति पनि बाँके जंगलमै भएको मोटरसाइकल दुर्घटनामा एकजना सव इन्जिनियरले ज्यान गुमाएका छन्। 

गएराति करिब १० बजे सरकारी नम्बर प्लेट भएको ना १ ब २५५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको लालबन्दी नगरपालिकामा कार्यरत सव इन्जिनियर ३० वर्षीय रोशन यादवको मृत्यु भएको छ।

लालबन्दीमा डेरा गरी बस्दै आएका यादव सवार मोटरसाइकल ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगल क्षेत्रमा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

शुक्रबार राति बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने सव–इन्जिनियर रोशन यादव।

धनुषाको धनुषाधाम नगरपालिका-३ स्थायी घर भएका ३० वर्षीय यादव राति पौने १० बजे डेराबाट जनकपुर जान्छु भनि हिँडेका प्रहरी अनुसन्धानबाट खुलेको छ। यो चिसोमा त्यतिराति उनी किन जनकपुरतर्फ हिँडेका थिए खुलिसकेको छैन। 

यादवले गत वर्षमात्रै विवाह गरेका थिए। उनकी पत्नी सासुससुरासँग धनुषाधामस्थित आफ्नै घरमा बस्दै आएकी छन्। 

‘लालबन्दीस्थित डेराबाट राति करिब पौने १० बजे उहाँ जनकपुर जान्छु भनेर हिँड्नु भएको रहेछ,’ यादवसँगै डेरामा बस्ने लालबन्दी नगरपालिकाकै एक कर्मचारीको भनाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बयलबास केशरजञ्जका प्रहरी निरीक्षक रोशन थापाले भने, ‘जनकपुर जानै पर्ने भएपनि बेलैमा नगएर यो चिसोमा त्यति राति उहाँ किन हिँड्नु भयो खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।’ 

विगत केही दिनदेखि तराई मधेशका जिल्लामा बाक्लो हुस्सुसहित शितलहर चलिरहेको छ। दिउँसो सामान्य घाम लाग्ने गरेपनि साँझ बिहान भने हुस्सु कुहिरोले सडक पनि राम्ररी देखिँदैन। यो अवस्थामा सवारी दुर्घटनाको जोखिम अझ धेरै हुन्छ। 

सामान्य मौसममा पनि बाँके जंगल धेरै दुर्घटना हुने क्षेत्रमा पर्छ। सर्लाही र महोत्तरीमा सवारी दुर्घटना हुँदा बाँके जंगलको नाम धेरै आउँछ। यस क्षेत्रमा भएका सवारी दुर्घटनामा धेरैले ज्यान गुमाइसकेका छन्। बाँकेमा साना ठूला दर्जनौँ दुर्घटना भइसकेका छन्।

एक दशक अघिसम्म बाँके जंगल क्षेत्रमा लुटपाटका घटनापनि धेरै हुन्थे। ०६९ सालको दशैँको बेला काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको रात्री बसलाई यात्रु बनेर चढेका लुटेरा समूहले नाटकीय शैलीमा लुटपाट गरे। चालकमाथि गोलीसमेत प्रहार गरेर भएको त्यो लुटपाटको घटनापछि भने बाँके जंगल क्षेत्रमा सशस्त्र प्रहरी युनिट राखिएको छ। 

सर्लाहीको बाँके चोक र महोत्तरीको लक्ष्मीनियामा सशस्त्र प्रहरी बस्न थालेपछि भने यात्रुमाथि हुने लुटपाटका घटना रोकिएका छन्। यस बीचमा सवारी साधन लुटपाटका घटनामा सलग्न धेरै लुटेरा पक्राउ पनि परेका छन्। यसले पनि लुटपाटका घटना नियन्त्रणमा सहयोग मिलेको प्रहरीको बुझाई छ।

रातको समयमा सुनसान जंगल क्षेत्रको फाइदा उठाउँदै हुने गरेका लुटपाटका घटना रोकिए पनि बाँके जंगल क्षेत्रमा हुने सवारी दुर्घटनामा भने कमी आएको छैन। यहीँ जंगलमा भएका दुर्घटनामा परेर धेरै यात्रु अंगभंगसमेत भइसकेका छन्। 

किन हुन्छ बाँके जंगलमा धेरै दुर्घटना?
इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक रोशन थापाका अनुसार विगत नौ महिनायता बाँके जंगल क्षेत्रमा एक दर्जनभन्दा धेरै सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा परेर पाँच जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ यात्रु घाइते भएका छन्।

बाँकेमा किन हुन्छ पटक-पटक सवारी दुर्घटना भन्ने जिज्ञासामा थापाले भने, ‘फूलजोरबाट पूर्व र बर्दिबासबाट पश्चिम लागेपछि जंगल क्षेत्र सुरु हुन्छ। मानव बस्ती नभएको कारण सडक खुला छ। खुला सडकमा चालकले गति तीव्र बनाउँदा यस क्षेत्रमा धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका हामीले पाएका छौँ।’

मानिसको भिडभाड हुने महोत्तरीको बर्दिबास, सर्लाहीको हरिवन, लालबन्दी, रानीगञ्ज जस्ता बजार क्षेत्रमा चालकले सचेत भएर सवारी गुडाउँछन्। सवारी साधनको गति पनि कम हुने भएकाले धेरै दुर्घटना हुन पाउँदैन। 

‘तर, बाँके जंगल क्षेत्रमा सडक फराकिलो र सिधा छ। सडक धेरै बिग्रे भत्केको पनि छैन,’ प्रहरी निरीक्षक थापाले नेपालखबरसँग भने, ‘मानव बस्तीमा सवारीको स्पिड नियन्त्रण गरेका चालक जंगल क्षेत्र सुरु भएपछि गति तीव्र बनाउँछन्। जसले गर्दा सवारी साधन चालकेको नियन्त्रण बाहिर जाने गरेको हाम्रो अनुसन्धानले देखाएको छ।’

जंगल क्षेत्र भएकाले सवारी साधन दुर्घटनामा पर्दा पनि उद्धारको काम ढिलो हुन्छ। त्यसले पनि दुर्घटनामा परेका यात्रुको ज्यान बढी जोखिममा पर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .