जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं प्रदेश सांसद उपेन्द्र महतोले मधेस सरकार संघीयता खारेज गर्न लागिपरेको आरोप लगाएका छन्।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेटमा छलफल गर्न बोलाइएको प्रदेश सभाको बैठकमा सांसद महतोले यो सरकारका प्रमुख मुख्यमन्त्री कृष्णप्रसाद यादव र मन्त्रीहरूले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरिरहेको भन्दै आपत्ति जनाए।
प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा ‘२०८३ असार १५ गते रौतहट पूर्वाधार विकास कार्यालय मार्फत ३० करोड ८ लाखको पाँचवटा योजना असार १७ गते १ अर्ब ३५ करोड बराबरको १० वटा कार्यक्रम सहित कुल एक अर्ब ६५ करोडको गरिएको टेण्डरको प्रसँगमा उनले यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू त संघीयता समाप्त पार्ने रोडम्याप नै तयार गरिरहेका छन्। रेडबुकमै कहिं कतै उल्लेख नभएको योजना मुख्यमन्त्री कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीर लगायतका मन्त्रीहरूले आफ्नो एउटै गृहजिल्ला रौतहटका लागि विभिन्न मितिमा गरी आर्थिक वर्षको अन्त्यमा एक अर्ब ६५ करोडको योजनाको टेण्डर गरेको छ। प्रदेशले थेग्नै नसक्ने गरी दायित्व बढाइएको छ।’
महतोले प्रदेश सरकारका सत्तारुढ दल कांग्रेसका सभापति गगन थापा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भने, ‘मधेस प्रदेश सरकारमा रहेका तपाईंका पार्टीका नेताहरू संघीयता डुबाउन तपाईंको पार्टीलाई दास र लाश बनाउन लागेका छन्। कृपया आफ्नो पार्टीलाई दास र लाश बन्नबाट जोगाउनुस्।’
Shares

प्रतिक्रिया