धनुषाको बटेश्वर गाउँपालिकाको एक विद्यालयमा शिक्षकको अभाव रहेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्।
बटेश्वर गाउँपालिका वडा नम्बर १ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षक अभावका कारण पढाई नै प्रभावित हुन पुगेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
गत साउन महिनादेखि शिक्षक नहुँदा ३ वटा विषयको पढाई नै नभएको भन्दै विद्यार्थीले वडा कार्यालय घेराउ गरे।
शिक्षकको माग गर्दै वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीहरुले कार्यालयमा तोडफोडसमेत गरेका छन्।
उनीहरूले स्थानीय जनप्रतिनिधि विरुद्ध नाराबाजी गर्दै वडा कार्यालय अगाडि सडक अवरुद्ध गरेर केहीबेर टायर बालेर प्रदर्शन समेत गरेका थिए।
प्रधानाध्यापक श्याम सिंहले आफू शिक्षक व्यवस्थापन गर्न नसक्ने जवाफ दिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीहरु बताउँछन्।
लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, सामाजिक र विज्ञान विषयको शिक्षकको माग गर्दै आइरहेको एक विद्यार्थीले बताए।
एसईई परीक्षा हुन ढेढ महिना मात्रै बाँकी रहेको समयमा पनि ती विषयहरुको पढाई नहुँदा आफूहरुको भविष्य नै अँध्यारोमा पुग्ने विद्यार्थीहरुको चिन्ता छ।
गाउँपालिकाले शिक्षक पठाएपनि विपक्षी दलका स्थानीय नेताले विद्यालयमा हाजिर नै हुन नदिएको वडाध्यक्ष अशोककुमार महतोले बताए।
प्रतिक्रिया