ad ad

मधेस


मधेशका मन्त्रीहरू काम छोडेर चुनाव प्रचारमा

मधेशका मन्त्रीहरू काम छोडेर चुनाव प्रचारमा

जयन्त ठाकुर
बैशाख ७, २०८० बिहिबार १९:११, जनकपुरधाम

देशको विभिन्न तीन निर्वाचन क्षेत्रमा यही वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ। मधेश प्रदेशको बारा निर्वाचन क्षेत्र नम्बर २ मा समेत उपनिर्वाचन हुन लागेको छ।

बारा २ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा रहेकाले देशकै ध्यान यहाँ केन्द्रित छ। 

बारा २ मा उपनिर्वाचनलाई लिएर उम्मेदवारी दिएका दलहरु प्रचार प्रसारमा पूरै शक्ति लगाई रहेका छन्। त्यसमाथि मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु समेत मन्त्रालयको काम छाडेर चुनावी प्रचार प्रसार अभियानमा सरिक हुँदै आइरहेका छन्।

मुख्यमन्त्री तथा अधिकांश मन्त्रीहरु मन्त्रालयको काम छोडेर जसपा अध्यक्ष यादवको पक्षमा प्रचार प्रसारका लागि बारा पुगेपछि अधिकांश मन्त्रालयहरू अहिले खाली देखिन्छन्।

मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री संजय यादवसहितका मन्त्रीहरू बाराको निर्वाचन क्षेत्र २ मा केन्द्रित भएका देखिन्छन्। उनीहरू विगत लामो समयदेखि मन्त्रालयमा हाजिर नै भएका छैनन्।

मुख्यमन्त्री यादव गत वैशाख ३ गतेदेखि कार्यालयमा हाजिर नै नभएको त्यहाँका एक कर्मचारीले बताए। मुख्यमन्त्री यादव अहिले बारामा छन्।

त्यहाँ उनी दर्जनबढी चुनावी सभामा सहभागिता जनाई सकेका छन्। जसपाको तर्फबाट मुख्यमन्त्री यादव अहिले बारा–२ मा चुनाव प्रचारप्रसारको मुख्य कमान्डर नै बनेका छन्।

मधेशका अर्थमन्त्री संजय यादव पनि केही दिन यता मन्त्रालयमा उपस्थित भएका छैनन्। मन्त्री यादव आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा प्रचार प्रसारका लागि अहिले बारामै छन्। 

मधेश सरकारको मन्त्रिपरिषद्‌मा जसपाका ४ मन्त्री र एक राज्यमन्त्री, जनमतका २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका १ मन्त्री र १ राज्यमन्त्री छन्। अन्य मन्त्रालयहरू मुख्यमन्त्री यादवले आफैंसँग राखेका छन्।

यता, सामाजिक विकासमन्त्री सुरिता कुमारी साह र राज्यमन्त्री शेख अबुल कलाम आजाद पनि मन्त्रालयमा हाजिर भइरहेका छैनन्।

मन्त्री साह ३ दिन यता मन्त्रालय नपुगेको मन्त्रालयको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए। राज्यमन्त्री आजाद भने अहिलेसम्म मन्त्रालय नै नपुगेको उनले बताए। 

त्यस्तै, खानेपानी तथा उर्जा विकासमन्त्री सिंगासन सा कलवार भने मन्त्री बनेदेखि एक दिन पनि मन्त्रालय पुगेका छैनन्।

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले मुख्यमनत्रीबारे सामाजिक सञ्जालमा पोस्ट लेखेका छन्। उनले मुख्यमन्त्रीलाई प्रश्न गरेका छन्, ‘के मुख्यमन्त्री जनकपुरधाममा बस्नुभएको छ? मुख्यमन्त्रीले आफ्नो मन्त्रिपरिषदको बैठक राख्नुभएको छ? मुख्यमन्त्री बारामा दिनरात सरकारी गाडीमा घुमिरहेका छन्। उनका मन्त्रीहरू यहीँ छन्। अर्थमन्त्री यहीँ घुमिरहेका छन्। प्रहरीको संरक्षणमा सरकारी गाडी लिएर उनीहरू घुमिरहेका छन्।’ 

राउतले उपनिर्वाचनमा सरकारी संयन्त्रको व्यापक दुरुपयोग भइरहेको दाबी पनि गरेका छन्। 

जसपाका मन्त्रीहरु बारा २मा प्रचार प्रसारमा व्यस्त रहेपनि जनमतबाट सहभागी मन्त्रीहरु भने बिदाका दिन मात्रै बारा पुगे र अन्य दिन मन्त्रालयमा निरन्तर उपस्थित हुँदै आएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वस्न्त कुश्वाहाले दाबी गरे।

उनले निर्वाचनमा सरकारी संयन्त्रको दुरुपयोग गर्न नहुनेप्रति आफूहरु सचेत रहेको बताए। 

उनले भने,  ‘मेरो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु निरन्तर मन्त्रालय उपस्थित भइरहेका छन्, यद्यपि जसपाका मन्त्रीदेखि सम्पूर्ण शक्ति अहिले जनताको काम छोडेर बारामा केन्द्रित भएको छ।’

यता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिव हेमन्तराज निरौलाले मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित नभएपनि प्रदेश सरकारका कामकारबाही नरोकिएको दाबी गरेका छन्।

उनले भने, ‘उहाँहरू सरकारको राजनीतिक नेतृत्वकर्ता हुनुहुन्छ, उहाँहरूले नीतिगत र राजनीतिक रुपमा सरकारलाई नेतृत्व गर्ने मात्रै हो त्यसैले मन्त्रालयबाट दैनिक हुने कुनै पनि काम कारबाही रोकिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .