मधेस


अख्तियारको छापापछि मधेसमा योजना अनियमितता छानबिन गर्न संसदीय समिति गठन

अख्तियारको छापापछि मधेसमा योजना अनियमितता छानबिन गर्न संसदीय समिति गठन

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १९:४४, धनुषा

मधेस प्रदेश सरकारका विकास योजनामा भएको अनियमितता छानबिन गर्न मधेस प्रदेशसभाले संसदीय छानबिन विशेष समिति गठन गरेको छ।

प्रदेश सभाको आज बसेको बैठकले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा विशेष समिति गठन गरेको हो। 

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले छानबिन समितिमा प्रदेश सभा सदस्यहरू केशव राय, कुमारकान्त झा, किरणकुमारी साह, शम्भुकुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष पटेल, उर्मिला देवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी रहेको घोषण गरे।

प्रतिपक्षी दलहरूले चालु आर्थिक वर्षका योजनामा मधेस सरकारले अनियमितता गरेको आरोप लगाउँदै आएका छन्। 

अख्तियारले यसै प्रकरणमा मधेस प्रदेश सभाका सदस्य सरोजकुमार सिंहको घरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ भने उनका स्वकीय सचिव विनोद कुमारलाई पक्राउ गरी हिरासतमा राखेको छ।

सांसद सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उक्त उपभोक्ता समितिको खातामा दाखिला भएको रकम ‍स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई झिक्न लगाई उक्त रकम श्रीमतीको खातामा ल्याएको भेटिएको छ।  

‘मधेस प्रदेश सभा सदस्य सरोजकुमार सिंहसमेतले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गर्न लगाई साथै निजको निजी सचिव विनोद कुमार लाल कायस्थसमेतको खातामा रकम जम्मा गरी सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्ने समेत व्यहोराको उजुरीको आधारमा जिल्ला महोत्तरी, जलेश्वर-१० हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ९ सरस्वती टोल बस्ने विष्णुदेव लालको नाति बलिभद्र लालको छोरा महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) प्रदेश सभा सदस्य माननीय सरोज कुमार सिंहको स्वकीय सचिव वर्ष ६५ को विनोद कुमार लाल कायस्थलाई मिति २०८२।०२।१२ गते अपरान्ह १:०० बजेको समयमा जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारले भनेको छ।

साथै, प्रदेश सभा सदस्य सरोज कुमार सिंहको मोबाइलसहितका विद्युतीय उपकरण पनि नियन्त्रणमा लिई अनुन्धान गरिरहेको अख्तियारले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad