जेनजी आन्दोलनको घाइते भएका दुर्गावती, रौतहटका १६ वर्षीय शिवमकुमार झालाई एनआरएनए बेल्जियमले आर्थिक सहयोग गरेको छ।
बेल्जियममा बस्दै आएका ओम शर्माको पहलमा एनआरएनए बेल्जियमले ५० हजार रुपैँया सहयोग प्रदान गरेको हो।
शिवमलाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि ऋण गरेर घर फर्किनुपरेको समाचार नेपालखबरमा प्रकाशित भएपछि सहयोग रकम पठाएको शर्माले जानकारी दिए।
शिवमले औषधि र अरू सबै अस्पतालमा लागेको खर्च जोड्दा लगभग ४० हजार रूपैयाँ ऋण लिनुपरेको थियो। कतैबाट पनि सहयोग नपाएपछि ऋण गरेर अस्पतालबाट डिस्चार्ज गर्नुपरेको उनका छिमेकी दाइ सञ्जीव झाले बताएका थिए। उनका अनुसार, शिवमका बुवाआमा ज्याला मजदुरीबाट गुजारा गर्दै आएका छन्।
साथै शिवमका बुवाआमाको काँधमा ५ जना छोराछोरीको जिम्मेवारी छ। एउटा सामान्य ज्याला मजदुरी गरेर खाने परिवारमाथि एकैपटक ४० हजार रुपैयाँको बोझ थपिएपछि निकै गाह्रो परेको सञ्जीवले बताएका थिए।
उक्त रकम प्राप्त भएपछि शिवमकी आमा अनिता देवीले यसबाट केही राहत भएको भन्दै सहयोगदाताप्रति आभार प्रकट गरिन्।
जेनजी आन्दोलनका घाइते शिवमलाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि…
शिवमले भर्खरै एसईई गरेर घरपरिवारले पढाउन नसक्ने भनेपछि मामाघर चन्द्रनिगाहपुरमा बसिरहेका थिए। उनी ११ कक्षामा भर्ना हुन पनि सकिरहेका छैनन्।
काठमाडौँको माइतीघरमा जेन्जी आन्दोलन हुँदै गर्दा त्यस्तै जोस देशका अन्य भूभागमा बस्ने युवामा पनि आएको थियो। आन्दोलनको पहिलो दिन भदौ २३ गते साथीहरूलाई प्रहरीले कुटपिट गरेर टाउको फुटाइदिएपछि भोलिपल्ट त्यसको विरोध गर्न शिवम पनि आन्दोलनमा गएका थिए। करिब साढे ४ बजेतिर शिवम घाइते भएका थिए।
Shares

प्रतिक्रिया