आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसार तीव्र बनिरहेको बेला धनुषामा आचारसंहिता विपरीत टाँसिएका तथा झुण्डाइका २० हजार बढी प्रचार सामग्री प्रशासनले हटाएको छ।
जनकपुरधाम बजारसहितका नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका तथा झुण्डयाएका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर जिल्ला प्रशासन कार्यालय धनुषाबाट खटिएका अनुगमन टोलीले हटाएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले सार्वजनिक स्थल, विद्युतका पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइएको बताएका छन्।
निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो।
तर, तोकिएको समयभित्र सामग्री तिनीहरूले नहटाएपछि शुक्रबार प्रशासन आफैं खटेर २० हजार बढी प्रचार सामग्री हटाएको उनले बताए।
जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले शहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै कारबाहीस्वरूप हटाइएको उनको भनाई छ। उनले अब पुनः यस्ता सामग्री टाँसे वा झुण्डयाए कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन्।
पछिल्ला दिनमा उम्मेदवारहरूले प्रचार प्रसारलाई तीव्र बनाउने क्रममा धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो। खासगरी बजारका प्रमुख क्षेत्र, चोक चौरहा, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिता विपरीत सामग्री टाँसिएको पाइएको उनको भनाई छ।
निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन र शहरलाई सफा राख्न प्रशासनले निगरानी बढाएको छ र स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको समन्वयमा अनुगमन जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा दल र उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा सभामार्फत प्रचारमा सक्रिय हुन स्वभाविक प्रक्रिया हो, तर प्रचार प्रसार सामग्रीमा उम्मेदवारलाई आचार संहिता पालना गरिदिन उनले आग्रह गरेका छ्न्।
चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न प्रशासनले अबदेखि नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने र सम्बन्धित उम्मेदवार तथा दललाई कानुन बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत उनले दिएका छन्।
Shares

प्रतिक्रिया