ad ad

म्यागेजिन


माओले बेइजिङमा दिएको जुन कलम जलाए, त्यसैले लेखेको कृतिमा ‘जगदम्बाश्री’ पाए

माओले बेइजिङमा दिएको जुन कलम जलाए, त्यसैले लेखेको कृतिमा ‘जगदम्बाश्री’ पाए

सीताराम बराल
असोज ९, २०७८ शनिबार ११:२२, काठमाडौँ

मदन पुरस्कार गुठीले (असोज ७ गते) गरेको पुरस्कारसम्बन्धी निर्णयसँगै चीनका कम्युनिस्ट नेता माओत्सेतुङसँग नेपालीको सम्बन्ध फेरि एक पटक सन्दर्भमा आएको छ। किनभने गुठीले २०७७ को जगदम्बाश्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई दिने निर्णय गर्यो।   

मदन पुरस्कारसरह ४ लाख रुपियाँ राशिको पुरस्कार पाएका भैरवबहादुरले माओ जीवित छँदै उनैले उपहार दिएको कलमले २०१३ असोजमा ‘नृत्याक्षर विज्ञान’​ रचना​ लेख्न सुरु गरेका थिए।  

नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना (१७ साउन २०१२ मा) भएपछि नेपालले शिक्षामन्त्री बालचन्द्र शर्माको नेतृत्वमा सांस्कृतिक प्रतिनिधिमण्डल चीन पठाएको थियो। चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि नेपालका तर्फबाट चीन जाने यो नै पहिलो औपचारिक सरकारी टोली थियो। 

यो प्रतिनिधिमण्डल कति महत्त्वपूर्ण थियो, यसमा सहभागी सदस्यहरूको नामबाटै थाहा पाइन्छ। यो प्रतिनिधिमण्डलको सेक्रेटरी तीर्थराज तुलाधर थिए। सदस्यका रूपमा नाटककार–कवि बालकृष्ण सम, इतिहासकार काशीप्रसाद श्रीवास्तव, शिक्षाविद् अंगुरबाबा जोशी, कवि चित्तधर हृदय, कवि–गीतकार धर्मराज थापा थिए।

यसैगरी राजनीतिकर्मी धर्मप्रसाद ढकाल (झापालीहरूद्वारा हत्या गरिएका पूर्वराष्ट्रिय पञ्चायत सदस्य), यादवप्रसाद पन्त, दयारामभक्त माथेमा (दरबारका सचिव), भीमदर्शन रोका, प्रो. हितनारायण झा, मधुसूदन राजभण्डारी, कुमारी भुवन शाह, केवल चौधरी पनि प्रतिनिधिमण्डलमा सहभागी थिए।

विभिन्न विधाका बौद्धिकहरूको जमघट रहेको प्रतिनिधिमण्डलमा पाँच जना कलाकारलाई समेटिएको थियो। जसमा भैरवबहादुर थापाका साथै तोपमान गुरुङ, खिमबहादुर, मायादेवी र गुनादेवी थिए। 

माओ र चाउ एन लाइको त्यो सम्मान
काठमाडौंबाट कलकत्ता–हङकङ–क्यान्टन (चीन) हुँदै नेपाली प्रतिनिधिमण्डल ३१ असार (२०१३) मा राजधानी बेइजिङ पुग्यो, जहाँ उनीहरूलाई चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङले स्वागत गरे।

भोलिपल्ट प्रधानमन्त्री चाउ एन लाइले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा समारोह नै आयोजना गरेका थिए। त्यस कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलले माओ र प्रम चाउ एन लाइलाई भादगाउँले कालोटोपी लगाइदिएको थियो र उपहार स्वरूप पशुपतिनाथ मन्दिरको प्रतिमा प्रदान गरेको थियो।

माओलाई पशुपतिनाथ मन्दिरको नमूना उपहार दिँदै नेपाली टोली, साथमा चाउ एन लाइ (भैरवबहादुर थापा सबैभन्दा बायाँ) 

माओलाई पशुपतिनाथ मन्दिरको नमुना उपहार 
कार्यक्रममा नेपाली र चिनियाँ दुवै पक्षका कलाकारले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरे, जहाँ माओ लगायतका नेता सहभागी थिए। जसअन्तर्गत भैरवबहादुरले ‘किसान’ शीर्षकमा ‘भाव नृत्य’ देखाउने कार्यक्रम थियो। चिनियाँहरूले त्यसलाई ‘स्ट्रगल फर एक्जिस्टेन्स’ (अस्तित्वका लागि संघर्ष) नामकरण गरिदिएका थिए। 

भैरवबहादुरले प्रस्तुत गरेको करिब १२ मिनेटको नृत्य सकिनासाथ माओ उठे र भैरवबहादुरतर्फ अघि बढे। माओलाई पछ्याउँदै प्रधानमन्त्री चाउ एन लाइ पनि भैरवबहादुरछेउ पुगे।

भैरवबहादुरका भनाइमा– उनको नाचबाट माओ निकै प्रभावित भएछन्। त्यसैले नाच सकिनेबित्तिकै माओ उनलाई भेट्न मञ्चमै पुगेका थिए।

‘मञ्चमै माओले मलाई एउटा कलम उपहार दिए’, भैरवबहादुरले सम्झे, ‘माओले कलम उपहार दिएपछि प्रधानमन्त्री चाउ एन लाइ पनि छक्क परे।’

प्रधानमन्त्री चाउ एन लाइले भैरवबहादुरलाई निकै स्नेहका साथ सुमसुम्याए। 

चीन जाने टोलीमा भैरवबहादुर अन्तिम समयमा परेका थिए। त्यही कारण कपाल राम्रोसँग काट्नसमेत पाएका थिएनन्। कपाल अलिक लामो थियो। त्यसैले प्रम चाउ एन लाइले एक जना खटाइदिँदै भैरवबहादुरलाई भने ‘हजामकहाँ गएर कपाल काट्नू, यति राम्रो नाच्ने मान्छे अलिक छरितो देखिनुपर्यो।’    

भैरवबहादुलाई लाग्छ– यो केटो अझ हिस्सी परेको देखियो भने यसले नाचबाट अरू चिनियाँहरूलाई पनि प्रभावित पार्न सक्छ भनेर प्रधानमन्त्री चाउ एन लाइले कपाल काट्ने व्यवस्था मिलाइदिएका होलान्।   

त्यसपछि चाउ एन लाइले नेपाली प्रतिनिधिमण्डलसामु घोषणा गरे– ‘तपाईंहरूलाई हामीले तीन हप्ताको भ्रमणमा निम्त्याएका थियौं। अब तपाईंहरू थप तीन हप्ता चीनको भ्रमण गर्नु हुनेछ।’

‘भैरबबहादुर थापाजीको नाच स्ट्रगल फर एक्जिस्टेन्स पेकिङका जनताले मात्र हेरेर हुँदैन’, चिनियाँ प्रधानमन्त्रीले थपे, ‘अन्य प्रान्तका जनताले पनि हेर्न पाउनुपर्छ।’  

भैरबहादुर छोटा–छोटा कथा ‘कम्पोज’ गरेर नेपाली लोकनृत्यकै आधारमा भावनृत्य तयार गर्थे। नेपाली लोकनाचकै शैलीमा कथा पस्किएकाले त्यो प्रभावकारी र बेजोड हुने गर्थ्यो। सायद यही शैली र नाचको भावले माओलाई छोयो र बसिरहेको सिटबाट उठेर भैरवबहादुलाई कलम उपहार दिन गए।   

‘माओत्सेतुङलाई लाग्यो होला– क्रान्तिका लागि यस्तो भावनृत्य उपयोगी हुन्छ। यस्ता थुप्रै भावनृत्य कम्पोज गरोस् भनेर पो उनले दिएका हुन कि’, उनी भन्छन्, ‘माओले त्यसरी कलम दिनुको अर्थ आजकल यसैगरी लगाउँदै छु।’

माओसँग भैरवबहादुर थापा 

लेखक, कवि र विद्वानले भरिभराउ थियो– नेपाली प्रतिनिधिमण्डल। तर भैरवबहादुरले नाच्दानाच्दै माओबाट विशेष कलम प्राप्त गरे। यसले गर्दा नेपाली प्रतिनिधिमण्डलमा हल्लाखल्ला मच्चियो।  

‘नाच्ने मान्छेले विभिन्न खालका साजबाज– नाच्ने विषयका चिज पाउनुपर्ने, तर यसलाई अध्यक्ष माओले किन कलमै उपहार दिए भनेर हाम्रो टोलीमा विभिन्न अड्कल हुन थाल्यो’, भैरवबहादुरले सम्झे, ‘प्रतिनिधिमण्डलका केही सदस्यले भैरवबहादुरलाई कलम उपहार दिएर माओत्सेतुङले राजनीतिक षडयन्त्रको खेल खेले भन्ने अनुमान पनि गरे।’

माओबाट कलम उपहार पाउँदा भैरवबहादुर स्वाभाविक रूपमा खुसी थिए। तर माओले किन आफूलाई कलम नै उपहार दिएका होलान् भन्ने कुराले २२ वर्षे भैरवबहादुरको मथिङ्गल घुमिरह्यो। 

नेपाली प्रतिनिधिमण्डललाई चीनका नानकिङ, साङघाई प्रान्तका अतिरिक्त अन्य विभिन्न ठाउँको पनि भ्रमण गराइएको थियो। चीनले कसरी किसानको जीवनस्तर माथि उठाउन सक्यो भन्ने कुरा पनि उनीहरूलाई देखाइएको थियो।

नेपाली प्रतिनिधिमण्डल युन्नान प्रान्तको कुन्मिङमा पनि पुगेको थियो। त्यहाँ पनि भैरवबहादुरले त्यही भाव नृत्य प्रस्तुत गर्ने कार्यक्रम थियो। चिनियाँहरूले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा नाच देखाएका थिए।  

चिनियाँ सांस्कृतिक टोलीले प्रदर्शन गरेको एउटा नाचबाट भैरवबहादुर निकै प्रभावित भए। तर त्यो नाच खिच्न भैरवबहादुरसँग सामान्य क्यामरा पनि थिएन। उनलाई त्यो नाचबारे थप जान्न र सिक्न मन लाग्यो।

उनी नाच निर्देशन गरिरहेका ‘डाइरेक्टर’ छेउ गए। र, सोधे– ‘तपाईंहरूले अहिले हामीलाई जुन नाच देखाउनुभयो, मलाई निकै राम्रो लाग्यो। यो नाचबारे तपाईंसँग कुनै ‘डिस्क्रिप्सन’ छ कि? छैन भने कुनै ‘नोटेसन’ (ताल) त होला। छ भने मलाई दिनुस् न। म पनि यो नाच सिक्न चाहन्छु।’

डाइरेक्टरले जवाफ दिए– ‘डान्सको नोटेसेन (ताल) संसारमा कहीँ पनि लेखिएको हुँदैन। नाचको ‘स्क्रिप्ट’ पनि छैन। यो नाच सिक्न त तपाईं यहीँ बस्नुपर्छ। अनि मात्र सिक्न सक्नुहुन्छ।’ 

चीनका नृत्य निर्देशकसँग नाच्दै भैरवबहादुर थापा 

त्यसपछि भैरवबहादुरको दिमागले पल्टा खायो। माओले किन आफूलाई कलम उपहार दिएका रहेछन्– बल्ल अनुमान लगाए। 

‘कुन्मिङ पुग्दा पनि मेरो दिमागमा माओले कलम उपहार दिएको दृश्य नाचिरहेको थियो’, उनले सम्झे, ‘ती डाइरेक्टरले डान्सको नोटेसन लेखिएको हुँदैन भनेपछि मलाई लाग्यो– पक्कै पनि माओले डान्सको नोटेसनको सिर्जना गर भनेर कलम उपहार दिएका हुन्।’    

चीनमा जनवादी क्रान्ति सम्पन्न भएको भर्खर ७ वर्ष पुगेको थियो। माओ संसारभरका क्रान्तिकारीका लागि प्रेरणाको स्रोत थिए। ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओको प्रसिद्ध भनाइ आलै थियो।

त्यसो भन्ने माओले भैरवबहादुरलाई भने उपहारका रूपमा कलम दिए! 

‘कलम उपहार पाएपछि हतियार उठाउने कुरा भएन’, उनले भने, ‘कुन्मिङको त्यो कार्यक्रमपछि ममा अब नृत्यबारे केही लेख्नैपर्छ, यसैका लागि माओले कलम दिएका हुन् भन्ने भावना जागृत भयो।’ 

असार अन्तिम हप्ता (२०१३) बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डल भदौ अन्तिम हप्ता काठमाडौं आइपुगेको थियो। यसपछि भैरवबहादुरले माओले दिएको त्यही कलममा मसी भरेर नृत्य विधासँग सम्बन्धित पुस्तक लेख्न सुरु गरे। 

‘प्लास्टिकले बनेको, अहिले बजारमा पाइने कलमभन्दा अलिक मोटो कलम थियो त्यो’, उनले भने, ‘आकार अलिक ठूलो भएकाले मसी चाँडै सकिँदैनथ्यो। खासमा क्रान्तिकालमा हतपती बजारमा गएर कलम किन्न नसकिने हुनाले अलिक मसी खप्ने गरी बनाइएको होला।’   

चीनबाट फर्किनासाथ लेखन सुरु गरे पनि भैरवबहादुरले त्यसलाई निरन्तरता दिन सकेनन्। यसले ‘नृत्याक्षर विज्ञान’को लेखन टुंग्याउन उनलाई झण्डै ६५ वर्ष लाग्यो। यसको एउटा कारण सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिने पुस्तक बजारमा उपलब्ध नहुनु पनि थियो। 

चिनियाँ हवाई अड्डामा नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलको स्वागत

उनी पुस्तक लेखनमा यति गढेर लागे कि त्यसले स्वास्थ्यमै समस्या पार्ला भनेर साथीसंगी चिन्ता व्यक्त गर्थे। 

भैरवबहादुरको कमलपोखरीस्थित निवास– भूपि शेरचन, धच गोतामे, शंकर लामिछाने, बालकृष्ण सम, बटुकप्रसाद भट्टराईजस्ता दिग्गज साहित्यकारहरूको नियमित जमघट हुने अखडा थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि जमघटनमा सामेल हुन्थे।   

खाईपिईवरी साहित्यकारहरू साहित्यका विभिन्न आयाममा छलफल सुरु गर्थे। नृत्यविज्ञानबारे केही फुरिहाल्यो भने भैरवबहादुर लेख्न सुरु गरिहाल्थे। हात, शरीर, खुट्टा र पाइतालाका चित्र कोर्दै नाचका नोटेसन (ताल) लेख्थे। 

उनले यस्तो विधामा हात हालेका थिए, जसबारे अन्य साहित्यकारलाई खासै जानकारी थिएन। त्यसैले धच गोतामे बेलाबेला भन्ने गर्थे, ‘यो भैरव जहिले पनि यस्तै बेताल–बेतालका पेन्टिङ गरिरहन्छ, यसले गरेको पेन्टिङ न ‘एब्स्ट्रक्ट’ पेन्टिङ हो, न अरू कुनै खालको। यस्तो पाराले त यो पागल हुन सक्छ है!’ 

‘हो, म पागलजस्तै भइसकेको थिएँ। नृत्यबारे कसैले केही लेखेकै थिएन। पुस्तकका लागि कुनै सन्दर्भ सामग्री उपलब्ध थिएनन्। जमघटमा बसेका बेला भन्न खोजेको चिज झ्वाट्ट मनमा आउँथ्यो’, उनले सम्झे, ‘तर रेखाचित्रमा त्यसलाई प्रकट गर्न सक्दैनथेँ। यसले गर्दा मेरो दिमाग बौलाएको मान्छे जस्तै भइसकेको थियो।’  

त्यसैले बीचबीचमा उनले लेख्न छाडिदिन्थे। यो क्रम दुई/तीन वर्षसम्म पनि लम्बिन्थ्यो। अनि मुड चलेपछि वा फुर्सद भएपछि फेरि लेख्न सुरु गर्थे। 

यस्तै यस्तै गरेर ‘नृत्याक्षर विज्ञान’ लेखन २०७१ मा टुंगोमा पुग्यो। यो त विज्ञान न थियो, जसको परीक्षण पनि गर्नुपर्थ्यो। त्यसैले परीक्षणमार्फत यो विज्ञानलाई अझ परिस्कृत गर्न उनले गीतकार चेतन कार्कीको साथ लिए। ‘नृत्य विज्ञान’बारे आफूले लेखेका विषयलाई साँच्चिकै स्टेजमा उतार्न उनले कार्कीको सहयोगमा अन्य केही युवा शिष्यका साथ व्यावहारिक परीक्षण गरे। 

चिनियाँ उपहार बाजाका साथ भैरवबहादुर थापा (तस्बिरः बालकृष्ण सम) 

‘त्यो परीक्षण सफल भएपछि मात्र मैले यो पुस्तक प्रकाशित गरेको हुँ’, उनले भने, ‘त्यसैले नृत्याक्षर विज्ञान ६५ वर्षको प्रयासको फल हो। यसमा मेरो मात्र होइन, चेतन कार्कीलगायत मेरा केही शिष्यको पनि ठूलो योगदान छ।’

‘चेतन कार्की अहिले यो संसारमा छैनन्। यो पुस्तक देख्न पाएको भए उनी साँच्चिकै खुसी हुने थिए’, स्व. कार्कीप्रति उनले आभार प्रकट गरे, ‘लेख्ने काम मात्र मैले गरेको हुँ। यसलाई परीक्षण गरेर व्यावहारिक बनाउने काममा चेतनको ठूलो योगदान छ।’​

‘नृत्य विज्ञान’ लेखन सुरुवात माओले दिएको कलमबाट गरिए पनि पुस्तकलाई ‘फाइनल टच’ दिने बेलासम्म त्यो कलम अस्तित्वमा थिएन। त्यति महत्त्वपूर्ण कलम २०२२–२४ सालताका जलेर खरानी भइसकेको थियो।  

‘यति महत्त्वपूर्ण कलम कसरी जलेर खरानीमा मिसियो?’ 

उत्तर दिन उनी धकाए। 

‘यो कुरा अहिले भन्न त्यति राम्रो पर्दैन कि’, उनले भने, ‘त्यो कथा सुन्दा कसैकसैलाई नराम्रो पो लाग्छ कि?’ 

खासमा माओको उपहार त्यो ऐतिहासिक कलम उनी आफैँले जलाइदिएका थिए। 

चीनमा जनवादी क्रान्ति सम्पन्न भएको १० वर्ष पुग्दानपुग्दै माओलाई फेरि अर्काे क्रान्ति गर्न मन लाग्यो। समाजवादी व्यवस्था स्थापनाका लागि उनले राज्यको व्यापक पुनर्संरचना आवश्यक देखे। र, सन् १९५८ मा ‘महान अग्रगामी छलाङ’ अभियान सुरु गरे। 

यसअन्तर्गत देशव्यापी रूपमा कृषि उत्पादन वृद्धिको योजना अघि सारियो। 

माओको निष्कर्ष के रह्यो भने ‘यसै त परम्परागत कृषि प्रणालीका कारण चीनमा कृषि उत्पादन कम हुने गरेको छ। झन् भँगेराले खाइदिने भएकाले उत्पादित बालीनाली सखाप भएको छ। त्यसैले कृषि उत्पादन वृद्धिका लागि भँगेरा निर्मूल पार्ने अभियान सञ्चालन गर्नुपर्छ।’

माओले कृषि उत्पादन वृद्धिका लागि दिएको सूत्र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले लागू गर्ने भइहाल्यो। भँगेरा मार्न देशभर गुलेलीसहितका टुकडी गठन गरिए। व्यापक मात्रामा पासो र विषादीको प्रयोग पनि भयो।  

भँगेरा सखाप पार्न माओ सफल भए। तर भँगेरा सखाप हुँदा पनि खाद्यान्न उत्पादन वृद्धि हुनुको साटो झन् घट्यो। भँगेरा निर्मूल भएपछि किरा–फट्यांग्राको वृद्धि हुँदा यस्तो स्थिति सिर्जना भएको थियो। पर्यावरणमा समेत नकारात्मक असर गर्यो।

भँगेराले भन्दा किरा–फट्यांग्राले अझ धेरै बालीनाली सखाप पार्न थालेपछि चीन ठूलो भोकमरीको चपेटामा पर्यो, लाखौं नागरिकले भोकमरीबाट ज्यान गुमाए।   

त्यो अभियानका कारण माओ विश्वव्यापी रूपमै आलोचनाको पात्र बने। उनकै नेतृत्वमा चीनले फेरि भँगेरा वृद्धि अभियान थाल्यो। 

चीनबाट फर्केपछि भैरवबहादुर माओको नेतृत्वमा के के भइरहेको छ, समाचार पढेर/सुनेर चीनबारे ‘अपडेट’ भइरहन्थे। माओ उनका लागि आस्थाको केन्द्र जो थिए। 

तर सांस्कृतिक क्रान्तिका नाममा चीनमा बढिरहेका ज्यादती उनलाई मन परिरहेको थिएन। आफ्नो घरवरपर आएर चिरबिराउने भँगेराहरू पनि जीवनको भिख माग्न चीनबाटै आइपुगेका हुन् कि जस्तो लाग्थ्यो, उनलाई।  

बेइजिङमा नेपाली प्रतिनिधिमण्डल (सबैभन्दा दायाँ भैरवबहादुर थापा) चीनका राष्ट्रपिता डा सन यात सेनकी श्रीमतीका साथ  

‘भँगेरो–फिस्टोजस्ता निर्दोष पंक्षी नै निर्मूल पार्ने अभियान अमानवीय थियो’, उनले भने, ‘यस्तो अमानवीय निर्णयका कारण माओप्रतिको मेरो मोहभंग भयो।’ 

उनले सम्झे, ‘म माओको सम्झना हृदयबाटै मेटाउन चाहन्थेँ। त्यसैले माओको चिनोका रूपमा रहेको त्यो कलम जलाउने निर्णय गरेँ।’

आफ्नो निवासमा भइरहने साहित्यकारहरूको नियमित जमघटमाझ उनले त्यो कलम जलाउने कार्यक्रम बनाए। तर उनीहरूलाई कुनै सुइँको दिएनन्।

कमलपोखरीस्थित उनको निवासमा त्यस दिन बालकृष्ण सम, शंकर लामिछाने, भूपि शेरचन, धनुषचन्द्र गौतम, गोपालप्रसाद भट्टराई थिए। महाकवि लक्ष्मीप्रसाद देवकोटा भने केही वर्षअघि नै बितिसकेका थिए। 

भैरवबहादुरको भनाइमा– कलम जलाउन उनले सानो यज्ञ होम आयोजना गरेका थिए।

‘यसको मतलब यो होइन कि माओको अपमान र घृणाका लागि मैले त्यसो गरेको थिएँ’, उनले भने, ‘मलाई लेखनको प्रेरणा दिने माओप्रति म नमकहराम हुन सक्दैनथेँ।’

होमको आगो दन्किन थाल्यो। त्यही मौकामा उनले त्यो कलम आगोमा हाले। प्लास्टिकले बनेको कलम एकैछिनमा गलेर लल्याकलुलुक भयो र खरानीमा मिसियो। 

कलम अग्निहोममा हालेपछि उनले माओलाई स्मरण गर्दै भने, ‘यो कलमले गर्दा तिम्रो सम्झना मलाई आइरहने भयो। तिम्रो अमानवीय, प्राणीविरोधी नियत बदलियोस् भनेर मैले यो कार्यक्रम गरेको हुँ।’  

के प्रयोजनका लागि उनले त्यो कार्यक्रम आयोजना गरेका हुन्, उपस्थित साहित्यकारहरूले तत्काल जानकारी नै पाएनन्। 

‘मैले यसो गर्दैछु भनेर कसैलाई भनेको थिइनँ’, उनले सम्झे, ‘पण्डितलाई भने उद्देश्य बताएको थिएँ। मैले भनेअनुसार नै उनले ‘माओत्सेतुङसेस्य लेखनी यज्ञ होमेस्य स्वाहा’ भनेर वाचन गरे, त्यही बेला मैले कलम आगोमा हालेको थिएँ।’  

त्यसपछि मात्र साहित्यकारहरूले त्यो कार्यक्रमको उद्देश्यबारे जानकारी पाए।

‘त्यो कलमको यसरी दाहसंस्कार गरेपछि उनीहरूलाई दही चिउरा र मिठाई खुवाएर पठाएँ’, उनले भने, ‘श्राद्धको बेलाजस्तो खिरचाहिँ खुवाइनँ।’​

जगदम्बाश्री पुरस्कार प्राप्त ‘नृत्याक्षर विज्ञान’ का साथ भैरवबहादुर थापा 

पुस्तक लेखनका लागि उनले त्यो कलम प्रयोग गरेको १० वर्ष भइसकेको थियो।

‘त्यसबेलासम्म अंग वर्णनका व्यञ्जन तयार भइसकेका थिए’, उनले सम्झे, ‘तर आफैंलाई चित्त बुझ्नेगरी वर्णन गर्न सकेको थिइनँ।’  

त्यो कलम जलाएकामा अहिले उनलाई ठूलो पश्चाताप छ। 

‘मेरो अन्तर्वार्ता लिन आउनेहरूले माओले दिएको कलमसँगै तस्बिर खिचौँ न भन्छन्’, आफैंप्रति खेद प्रकट गर्दै उनी भन्छन्, ‘एक जनाले त त्यस्तै नक्कली तयार पारौँ न। अनि तपाईंले त्यही कलमले लेख्दै गरेको तस्बिर खिचौँला भनेका थिए।’ 

‘त्यो (कलम) रहेको भए मूल्य नै करोडौं डलर पर्थ्यो होला। थाहा पाउनेहरूले ‘कलम जलाएर भैरबहादुरले गोर्खे काम गर्यो भन्छन्’, उनले पछुतो माने, ‘गोर्खे बुद्धिकै कारण त्यति महत्त्वपूर्ण कलम आफैंले जलाएँ। अहिले पश्चातापबाहेक के नै पो गर्न सक्छु र!’ 

यो पनिः
६५ वर्ष लगाएर भैरवबहादुरले आर्जेको ‘नृत्याक्षर विज्ञान’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .