ad ad

म्यागेजिन


मधु शमशेरले किन राखिरहेका छन् उनकै बराजुले बनाएको पड्किने तोप?

मधु शमशेरले किन राखिरहेका छन् उनकै बराजुले बनाएको पड्किने तोप?

मधु शमशेर राणा, गेहेन्द्र शमशेरका पनाति हुन्। सबै तस्बिरहरु: विक्रम राई/नेपालखबर


यज्ञराज जोशी
असोज १६, २०७८ शनिबार १४:११, काठमाडौँ

कुपन्डोलको हिमालय होटलसँगै जोडिएको घरको बैठक कोठा। ८१ वर्षीय मधु शमशेर राणा भित्तामा ठुल्ठूला फ्रेममा सजाइएका आफ्ना पूर्वजहरुको तस्बिर नियाल्दै छन्।

वीर शमशेर, गेहेन्द्र शमशेर, भैरव शमशेर, भरत शमशेरसँगै मधुको परिवारको तस्बिर पनि छ। वीर शमशेर नेपालका ११ औं प्रधानमन्त्री। उनका छोरा गेहेन्द्र आविष्कारक तथा हतियार डिजाइनर थिए। उनै गेहेन्द्रका पनाति हुन् मधु। उनी एथ्लेटिक्सका राष्ट्रिय प्रशिक्षक थिए।

वीर शमशेरका जेठा छोरा गेहेन्द्र नेपाली सेनाका जर्नेल थिए। श्री ३ हुँदा वीरले गेहेन्द्रलाई सेनाको खरखजाना विभागको मुखिया बनाएका थिए। उनले सेनालाई चाहिने सर–सामान तथा हात–हतियार विदेशबाट आयात गर्नुको सट्टा यहीँ बनाउने जमर्को गरे।

सोही क्रममा गेहेन्द्र राइफल, वीरगन, धीरगन, तोप, मेसिनगन, गोली र गोला बनाएका थिए। जमलमा रहेको सेतो दरबार गेहेन्द्रको प्रयोगशाला थियो। सेतो दरबार वीर शमशेरले गेहेन्द्रका त्यही प्रयोगका लागि बनाउन लगाएका थिए। १९९० को भूकम्प र आगलागीको चपेटामा परेपछि उक्त दरबारको नामोनिसान मेटिएको छ। अहिले त्यहाँ दर्जनौँ अन्य घरहरु बनिसकेका छन्। ​

मधुका अनुसार वीर शमशेका सन्ततिबीच भागबण्डा गर्ने धेरै सम्पत्ति थिएन। गेहेन्द्रले रुचाउने फलामका मालसामान ज्यादा थिए। त्यही फलामको माल उनका बाबुबाजेले सेतो दरबारबाट ल्याएर चौरंगी दरबार (अहिलेको हिमालय होटल)मा राखेका थिए। त्यहीँबाट उनीहरुले व्यवसाय सुरु गरे।

‘वीर शमशेरले धनमाल राखेको भए अहिले हाम्रो स्थिति यस्तो हुँदैनथ्यो। मैले ओपन हार्ट सर्जरी गर्दा पनि ऋण काढ्नुपर्यो,’ मधु भन्छन्, ‘वीर शमशेरसँग केही न केही सम्पत्ति त थियो होला तर बँटवारी गर्दा खास केही परेन। वीर शमशेरका सन्तान अरु पनि थिए। भाग लाउँदालाउँदा सकियो।’ 

गेहेन्द्रका त्यही फलामका सामानमध्ये एक मिनी तोप मधुसँग अझै छ। गेहेन्द्रले हातले बनाएको मिनी तोपलाई पुर्खाको नासो मानेर उनले सम्हालेर राखेका छन्। 

‘यो गेहेन्द्रले बनाउनुभएको मिनी तोप हो। गेहेन्द्र शमशेरले मेरो बाजे भैरव शमसेरलाई ल तेरो नातिहरुलाई खोलाउन चाहिन्छ भनेर दिएर गएको,’ मधुले तोप देखाउँदै भने, ‘बाजेले बालाई हुँदै बाबाट मकहाँ सुरक्षित छ।’

४–५ केजी तौलको तोपमा अझै पनि पड्काउन मिल्छ। नालबाट बारुद हालेर, कपडा वा अरु केही कोच्दै पछाडिको छुसीबाट आगो लगाउँदा ड्याम्म आवाजसहित तोप पड्किने मधुले बताए।

‘मैले थुप्रै पटक पड्काएको छु। अहिलेपनि यो ठिकठाक छ, पड्किन्छ। तर, घनाबस्ती भएसँगै मैले पड्काउन छाडेको ८–१० वर्षै भयो,’ मधुले भने। 

हाल पुल्चोक इन्जिनियरिङ क्याम्पस रहेको जमिनमा मधुको बुबाको पालामा खेत थियो। त्यहाँ पनि त्यो तोप पड्काउने सम्झना उनलाई छ। 

‘धान काटेपछि परेवाहरु चर्न आउँथे। अनि पर्खालको प्वालमा राखेर परेवालाई ताकेर तोप तेर्साउँथेँ,’ उनी सम्झिन्छन्, ‘बारुद हाल्यो भित्रबाट आगो हाल्यो। डुम्म पड्किन्थ्यो। २–४ वटा परेवा मरेका भेटिन्थे।’  

त्यो जमिन पछि सरकारले अधिग्रहण गर्यो।

त्यसबेला दसैँको बढाइँ गर्ने बेला राणाहरुलाई एकदुई माना बारुद दिइन्थ्यो। मधु त्यही बारुद पड्काउँथे। 

गेहेन्द्र शमशेरले बनाएका यस्तै विभिन्न सामग्री थुप्रै राणाहरुका घरघरमा छन्। मधुले एक पटक ती सबैलाई संकलन गर्ने र संग्रहालयमा राख्ने योजना बनाए। आफन्तहरुसँग कुरा पनि गरे। तर, उनको कुरामा कसैले चासो नदेखाएपछि संग्रहालयको काम अघि बढ्न सकेन। 

‘मैले एउटा संग्रहालय खोलौँ। आफन्तहरुसँग भएका महत्वपूर्ण चिजहरु राखौँ। मसँग भएको चिज पनि राख्छु भनेको थिएँ,’ उनले भने, ‘कसैले रुचि देखाएन। न राज्यले नै जगेर्नामा कुनै चासो देखाएको छ।’

अहिले काम नलाग्ने भनेर राणा परिवारले नै थुप्रै गेहेन्द्र शमशेरले बनाएका सामाग्रीहरु कवाडीमा बेचिसकेको उनको भनाई छ।

पहिलो पदक दिलाउने प्रशिक्षक
खासमा मधु राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा एथ्लेटिक्सका राष्ट्रिय प्रशिक्षक हुन्। नेपाली एथलेटिक्सका दुई महान् खेलाडी जीतबहादुर केसी र बैकुण्ठ मानन्धर मधुकै छत्रछायामा हुर्केका हुन्।

केसीले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएका थिए। मानन्धरले सागमा लगातार तीन पटक म्याराथनमा स्वर्ण जित्दै कीर्तिमान राखेका थिए।

मधुलाई लाग्थ्यो, नेपाली खेलाडीसँग क्षमता छ, तर, त्यसको पहिचान भएको छैन।सोहीकारण उनले तत्कालीन सदस्यसचिव कुमार खड्गविक्रम शाहसँग सेनामा भर्ती हुन आउनेबाट उत्कृष्ट दौड्नेलाई राष्ट्रिय टोलीमा राख्न अनुमति मागे। 

सदस्यसचिवले त्यसको व्यवस्था गरिदिए। त्यसबेला सेनामा भर्ती हुन ५ पाउन्ड तौल बोकेर भक्तपुरदेखि नगरकोटसम्म दौड्नुपथ्र्यो। सोही दौडमा मधुको नजरमा सबैभन्दा पहिले केसीमा पर्‍यो।

केसीको दौड देखेपछि उनलाई तिखार्न सकिने भन्दै मधुले सेनाको जागिरसँगै राष्ट्रिय टोलीमा पनि बोलाए। केसीको प्रशिक्षण कहिले रंगशाला, कहिले चोभार नजिको बागमती खोलाको पानी अनि कहिले बालुवामा गराइन्थ्यो।

लगातारको प्रशिक्षणपछि सन् १९७२ को म्युनिख ओलम्पिकका लागि मधुले केसीलाई तयार गरे। केसी कम्तीमा शीर्ष ६ भित्र रहन्छन् भन्ने विश्वास मधुलाई थियो। तर, २१ किलोमिटर दुरी पार गरिसकेपछि खुट्टाको मांसपेशी फर्किएर केसीलाई अस्पताल पुर्याउनुपर्यो। अनि नेपालको पदक जित्ने सपना समाप्त भयो।

अर्को वर्ष फिलिपन्समा आयोजित एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा भने नेपाली टोलीको प्रमुख भएर मधु आफैँ गए। केसीसँगै नेपालबाट बैकुण्ठ मानन्धर र भक्तबहादुर थापा सहभागी थिए।

उक्त म्याराथनमा केसीले तेस्रो स्थान हासिल गरे। यो नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको पहिलो पदक थियो। आफ्नो शिष्यले इतिहास कायम राख्दा गुरु अत्याधिक खुसी हुनु स्वभाविक थियो। 

‘म आश्चर्यमा परे। दौडिँदा दौडिँदै जीतबहादुरको खुट्टामा चोट लागेको थियो। उसले म्याराथन पुरा गर्न नसक्ने भयो भन्ने लागेको थियो,’ उनी सम्झन्छन्, ‘औँलाबाट रगत आइरहेको बेला पनि उसले हिम्मत हारेन। त्यो मेरो जीवनको सबैभन्दा स्मरणीय पल हो। देशका लागि हामीले पहिलो पदक ल्याएका थियौँ। त्यो जति खुसी मलाई जीवनमा कहिलै लागेको थिएन।’

त्यसबेला फिलिपिन्सको राष्ट्रपतिले उनलाई रात्री भोजमा बोलाउँदै भनेका थिए, ‘मिस्टर राणा, मेरो देशबाट तपाईंले आफ्नो देशका लागि पहिलो पदक लिएर जानु हुँदैछ। हामी धेरै खुसी छौं। तपाईंलाई धेरैधेरै बधाई छ।’

फिलिपिन्सका राष्ट्रपतिसँगको त्यो भेटको तस्बिर पनि मधुको बैठक कक्षको भित्तामा सजिएको छ।

फर्किंदा राखेपका संरक्षक वसुन्धरा शाह, तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टजस्ता विशिष्ट व्यक्तिहरुले विमानस्थलमै उनीहरुलाई स्वागत गरेर नगर परिक्रमा गराएका थिए।

यसका लागि मधुले राज्यबाट गोरखा दक्षिणबाहु र त्रिशक्तिपट्ट जस्ता राष्ट्रलाई विशिष्ट योगदान पुर्याउनेहरुले पाउने पदक पनि प्राप्त गरे।

बैकुण्ठ मानन्धर स्कुलबाट दौडिन रंगशाला आएका बेला मधुको नजरमा परेका थिए। बैकुण्ठ लामो रेसको घोडा भएको बुझेपछि मधुले उनलाई राष्ट्रिय टोलीमा छनौट गर्दै नियमित प्रशिक्षण गराए। 

पछि बैकुण्ठले सागको लगातार तीन संस्करणमा स्वर्ण जिते। १९८७ मा भारतको कोलकातामा भएको तेश्रो सागमा बैकुण्ठले स्वर्ण जित्ने क्रममा राखेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि तोडिएको छैन। ओलम्पिकमा सर्वाधिक खेल्ने नेपाली खेलाडीको सूचीमा पनि मानन्धर सबैभन्दा अगाडि छन्। उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन्।

त्यसपछि सदस्यसचिव भएर आएका शरदचन्द्र शाहको कार्यशैलीप्रति चित्त नबुझेपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामा दिए। त्यसपछि बोलाएका बेला एथ्लेटिक्सका कार्यक्रममा पुग्ने उनले बढी समय परिवारसँगै बिताउँने गरेका छन्।

बनारस र सेन्ट जेभियर्सबाट सुरु भएको खेलकुद
मधुको जन्म चौरंगी दरबारमै भएको हो। त्यहीँ पण्डितले सिलोटमा कखरा पढाउँदै उनलाई अक्षारम्भ गराए। 

बगैँचामा भोगेटेको बोट थियो। झरेका भोगेटे गोडाले हानेर साथीहरुसँग खेल्दाखेल्दै उनको रुचि खेलकुदतर्फ सोझियो।

उनका बुबा सेनामा थिए, एकदम अनुशासित। उनका एक्लो छोरा थिए मधु। घरमा एक्लै हुँदा छोरो बिग्रिन्छ भनेर बुबाले उनलाई गोरखपुरको स्कुलमा भर्ना गरिदिए। 

‘त्यो स्कुलमा दलित पनि पढ्ने रहेछन् भनेर हो कि के हो, पछि मलाई बनारसमा पढ्न पठाउनुभयो,’ उनी सम्झन्छन्। 

बनारसमा होस्टेलमा उनी एक्लो नेपाली थिए। एक दिन कक्षा सकेर होस्टेलतर्फ जाँदै गर्दा खेलकुद शिक्षकले बोलाए, ‘ए पहाडी, तुम दौडोगे?’

संख्या पुर्याउन शिक्षकले उनलाई दौडाउन लगाउने भए। खेलकुदमा रुचि भएकाले उनले पनि मञ्जुरी दिए।

त्यस दिन उनी दौडेनन् मात्रै, जिते पनि। दुई तीन पटक जितेपछि शिक्षकले उनलाई खेलाडीका रुपमा प्रशिक्षण गराउने निधो गरे। 

उनको सम्मान बढ्न थाल्यो। खाना पनि दुई चम्चाको ठाउँमा चार चम्चा दिन थालियो। उनलाई छुट्टै प्रशिक्षणको व्यवस्था पनि गराउँदै स्कुलस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराइयो। त्यहाँ पनि उनले दौडमा पदक ल्याए।

होस्टेलमा बिहान प्रार्थना गर्नुपथ्र्यो। तर, उनले बिगारेपछि सजायस्वरुप नदीमा हात घुमाएर ढुंगा फाल्न लगाइयो।

‘मलाई कम्तीमा तीनचार सय ढुंगा फाल्न लगाइयो होला। त्यसबेला असह्य हात दुखेको थियो। तर, पछि त्यसले मलाई क्रिकेटको बलर बनायो,’ मधु सम्झिन्छन्। 

टुँडिखेलमा खरीको बोट थियो। त्यसबेलाका न्यायाधीश पृथ्वीबहादुर सिंह, जयकुमार नाथ सिंह (नेपाल क्रिकेट संघका संस्थापक अध्यक्ष), श्याम शाहलगायत घरानियाँहरु क्रिकेट खेल्थे। मधु पनि उनीहरुसँगै खेल्न थाले।

बनारसबाट ५ कक्षा पढेर मधु नेपाल फर्किए र सेन्ट जेभियर्स स्कुलमा पढ्न थाले। जहाँबाट उनको खेलाडीको करिअर सुरु भयो। स्कुल, जिल्ला, क्षेत्र, अञ्चलका एथलेटिक्समा उनी सहभागी हुन्थे। कयौं दौडमा भाग लिए। उनले जितेका पदकहरुले उनको बैठक कोठा भरिभराउ छ।

स्कुले शिक्षा सकिएपछि बुबाले उनलाई सेनामा भर्ती हुन भने। अफिसरको छोरो भएकाले उनलाई भर्ना हुन केही सहज पनि थियो। उनी तयार पनि भए। तर, त्यही बेला उनका साथी दीलिपविक्रम शाहको केही सैनिकहरुसँग झगडा पर्‍यो। त्यसपछि उनले आफू सेनामा भर्ती नहुने निर्णय बुबालाई सुनाए। 

सुरुमा त बुबाले निकै जोड गरे। तर उनले अडान छाडेनन्। त्यसपछि उनी त्रिचन्द्रमा राजनीतिशास्त्र पढ्न भर्ना भए।

२०२६ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एथलेटिक्स र फुटबलको प्रशिक्षक मागेको थियो। कुमार खड्गविक्रम शाह राखेपका सदस्यसचिव थिए। सेन्ट जेभियर्समा पढ्दा कुमार मधुका सिनियर थिए। त्यति बेलादेखि नै उनीहरुबीच चिनजान थियो। पञ्चायत कालमा शक्तिमा बसेको मान्छेले जे भन्यो, त्यही हुन्थ्यो। चिनजानका आधारमा उनी खड्गलाई भेट्न गए र साथीका नाताले प्रशिक्षकमा नियुक्ति मागे। 

बनारसमा पनि दौडिएका र नेपालमा पनि दौडलाई निरन्तरता दिएका मधुलाई नाई भन्ने विकल्प खड्गसँग थिएन। तर, उनले संघको पत्र खोजे। मधुले पनि संघबाट प्रशिक्षकको नियुक्ति गरे हुने पत्र ल्याएपछि खड्ग शम्शेरले मधुलाई एथलेटिक्स प्रशिक्षकमा नियुक्त गरे। 

लगत्तै उनलाई ६ महिनाको प्रशिक्षणका लागि भारतको पटियाला पठाइयो। भारतको खेलकुद मन्त्रालयले विभिन्न देशका प्रशिक्षकलाई प्रशिक्षण गराउँथ्यो। भारतमा धेरै कडा प्रशिक्षण हुन्थ्यो। त्यसले उनको खेल मात्रै उकासिएन, बैकुण्ठ र जीतबहादुर जस्ता कीर्तिमानी खेलाडी जन्माउने प्रशिक्षक पनि बने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .