ad ad

म्यागेजिन


तीन ‘अवरोध’ छिचोल्दै ७१ वर्षअघि ज्ञानेन्द्र यसरी बनेछन् ‘बेबी किङ’

तीन ‘अवरोध’ छिचोल्दै ७१ वर्षअघि ज्ञानेन्द्र यसरी बनेछन् ‘बेबी किङ’

सीताराम बराल
कात्तिक २२, २०७८ सोमबार १६:३९, काठमाडौँ

त्यस दिन बिहानैदेखि प्रधानमन्त्री श्री ३ मोहनशमशेरको अनुहार अँध्यारो थियो। हतास र आक्रोशित पनि देखिन्थे।  

उर्दीअनुसार भाइ–भारदारहरू सिंहदरबार पटाङ्गिनीको पहिलो चोकमा आयोजित ‘भारदारी सभा’का लागि जम्मा भइसकेका थिए। 

श्री ३ मोहन सिंहदरबारको तेस्रो तलामा कोटरीको बैठकबाट निस्के। र, उपस्थित भारदारहरूलाई सम्बोधन गर्दै सोधे, ‘पटकपटक श्री ५ त्रिभुवन र मौसुफका उत्तराधिकारीहरूलाई भारतीय दूतावासबाट फर्किबक्सन अनुरोध गर्दा सुनुवाई भएन। शाह वंशलाई मान्ने हाम्रो परम्परा भएकाले मौसुफकै वंशजका माहिला शाहज्यादा श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राख्ने कुरामा तिमीहरूको के विचार छ?’ 

श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राख्ने निर्णय सर्वशक्तिमान श्री ३ मोहनले सुनाइसकेपछि कसैले विरोध गर्न सक्ने कुरा थिएन। खाद्य विभागका प्रमुख गयाप्रसाद शाहले ‘श्री ५ त्रिभुवनसँग कुराकानी गर्ने हो कि’ भन्नेबाहेक कसैले विमति जनाएनन्। 

सबैले ‘हो मा हो’ मिलाएपछि युवराज श्री ५ महेन्द्रका माहिला छोरा शाहज्यादा ज्ञानेन्द्रलाई राजाका रूपमा गद्दीमा राख्ने प्रक्रियाले वैधानिकता पायो। 

अघिल्लै दिन मामाघर बागदबारबाट सिंहदरबार ल्याइएका शाहज्यादा ज्ञानेन्द्रलाई दिउँसो हनुमानढोका दरबार पुर्याइयो। त्यहाँ माहिला बडागुरुज्यू हेमराज पाण्डेले श्री ३ मोहनको उपस्थितिमा साढे ३ वर्षीय ज्ञानेन्द्रलाई श्रीपेच पहिर्याए। 

त्यो दिन थियो– २२ कात्तिक २००७। 

आजभन्दा ७१ वर्षअघि। 

ज्ञानेन्द्र शाह

 

नाबालक ज्ञानेन्द्र शाह आफ्ना पिता युवराज महेन्द्र र दाजु नवयुवराज वीरेन्द्रलाई समेत उछिन्दै राजा बने। १९ जेठ २०५८ मा भएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशै नास भएपछि उनलाई दोस्रोपटक राजा बन्ने अवसर जुर्यो। जेठ २२ गते दीपेन्द्रको अचेत अवस्थामा नै मृत्यु भएपछि राज्य सहायक ज्ञानेन्द्रलाई राजा घोषणा गरियो। 

धेरै मानिसलाई लाग्छ– राजा त्रिभुवनले सपरिवार भारतीय राजदूतावासमा शरण लिएकाले साढे ३ वर्षीय बालक ज्ञानेन्द्र शाहलाई सहजै राजा बन्ने मौका मिल्यो। निश्चय पनि त्रिभुवनले शरण लिएकै कारण उनी ‘बेबी किङ’ बनेका हुन्। 

तर सोचेजस्तै उनी ‘सहजै’ राजा बनेका होइनन्। फेरि यसको अर्थ के होइन भने ज्ञानेन्द्रले हजुरबुबा (त्रिभुवन) भारतीय दूतावासको शरणमा गएपछि आइपरेका चुनौती आफ्नै बलबुतामा सामना गरेर राजगद्दीसम्मको यात्रा तय गरेका थिए। 

राणा शासनविरुद्ध हजुरबुबा श्री ५ त्रिभुवनले भारतीय राजदूतावासमा शरण लिँदा बाल्यकालमै राजा बन्ने सौभाग्य पाएका ज्ञानेन्द्रलाई दाजु राजा वीरेन्द्रको वंशै नास भएपछि दोस्रोपटक राजा बन्ने अवसर प्राप्त भयो। 

तीन ‘अवरोध’ छिचोलेर चम्कियो ज्ञानेन्द्रको ‘भाग्य’ 
राजनीतिक शरणका लागि राजा त्रिभुवनले २१ कात्तिक (२००७) सपरिवार भारतीय राजदूतावासमा शरण लिए पनि श्री ३ मोहनलगायत सत्तासीन राणाहरू ज्ञानेन्द्रलाई तत्काल गद्दीमा बसाइहाल्ने पक्षमा थिएनन्। उनीहरूको प्रयास त्रिभुवनलाई नै फर्काएर ल्याउने थियो।   

राजा त्रिभुवन नफर्के उनका उत्तराधिकारी जेठा छोरा युवराज महेन्द्रलाई ल्याएर गद्दीमा बसाल्ने राणाहरूको योजना थियो। यो पनि सफल नभए युवराज महेन्द्रका जेठा छोरा श्री ५ वीरेन्द्रलाई ल्याउने योजना राणाहरूले बनाएका थिए।   

त्यसैले नाबालक ज्ञानेन्द्र राजा बन्नमा तीन ‘बाधक’ हजुरबुबा, बुबा र दाजु वीरेन्द्र थिए। राणाहरूका तीनवटै योजना असफल भएपछि मात्र ज्ञानेन्द्रलाई राजा बन्ने अवसर जुरेको थियो। 

‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग १)’ मा इतिहासकार डा. राजेश गौतमले उल्लेख गरेअनुसार राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएको जानकारी प्राप्त भएपछि उनलाई फर्काउन राजाका भानिज मे.ज. (मेजर जनरल) अर्जुनशमशेर र मे.ज. विजयशमशेर (श्री ३ मोहनका छोरा) लाई २१ कात्तिककै दिन भारतीय राजदूतावास (शीतल निवास) पठाइएको थियो। 

तर त्रिभुवन फर्किन मानेनन्। त्यसपछि आवश्यक निर्णय गर्न २२ कात्तिक बिहान भारदारी सभा बोलाइयो। सभाले त्रिभुवन, युवराज महेन्द्र वा जेठा शाहज्यादा वीरेन्द्रलाई ल्याएर भए पनि गद्दीमा राख्ने निर्णय गर्यो। जसअनुसार विजयशमशेर फेरि भारतीय राजदूतावास पुगे। यो प्रयासमा पनि राणाहरूलाई सफलता हात लागेन। 

यो पनिः
राजदूतले काठमाडौँमा सेना उतार्ने धम्की दिएपछि राजा त्रिभुवन शरणमा जाने बाटो खुल्यो

त्रिभुवनले सँगै भारतीय दूतावास लिएर गएका युवराज महेन्द्र वा जेठा शाहज्यादा वीरेन्द्रलाई फर्काउन सकेको भए ज्ञानेन्द्रले गद्दीमा बस्ने अवसर पाउँथेनन्।

ज्ञानेन्द्रको गद्दी आरोहणमा दोस्रो अवरोध सत्तासीन राणा भाइ–भारदार थिए। राणा भाइ–भारदार तीन समूहमा बाँडिएको थियो। श्री ३ मोहनका भाइ प्रधानसेनापति ‘मिनिस्टर’ बबरशमशेर राजतन्त्रै अन्त्य गरेर अघि बढ्नुपर्ने पक्षमा थिए। सपरिवार भारतीय राजदूतावासको शरणमा जाने राजा त्रिभुवनको निर्णयपछि उनले ‘बढारेर फाल्नुपर्ने कसिङ्गर हावाले उडाएर लगिदियो’ भनेका थिए। 

तर श्री ३ मोहन बबरशमशेरको ‘गणतान्त्रिक लाइन’सँग सहमत भएनन्।

झण्डै यस्तै विचार राख्ने राणा भाइ–भारदारको अर्काे समूह थियो। यो समूहले श्री ५ को जिम्मेवारी श्री ३ मोहनशमशेर आफैंले सम्हाल्नुपर्छ भन्ने सोच राख्थ्यो। २१ कात्तिकमा भएको भारदारहरूको अनौपचारिक बैठकमा कर्णेल चन्द्रजंग थापा र माहिला गुरुज्यू हेमराज पाण्डेले श्री ३ मोहनशमशेरलाई नै श्री ५ को श्रीपेच पनि आफैं लगाउन सुझाव दिएका थिए। 

नेपालका लागि बेलायती राजदूत जर्ज फल्कोनरले दिएको सुझाव राणा शासकहरूले स्वीकार गरेको भए पनि बालक ज्ञानेन्द्र राजा बन्न पाउने थिएनन्। 

‘त्यस बखतको नेपाल (भाग–४)’ मा सरदार भीमबहादुर पाँडेले उल्लेख गरेअनुसार राजदूत फाल्कोनरले श्री ३ मोहनका छोरा मेज विजय शमशेरमार्फत रिजेन्सी काउन्सिल (नायबी परिषद्) गठन गरेर राजकाज चलाउन सुझाव दिएका थिए।

बेलायती राजदूतको यो सुझाव स्वीकार गरिएको भए राजा त्रिभुवनको अनुपस्थितिमा शासन चलाउन एउटा परिषद् गठन हुने थियो। जसले राजा त्रिभुवनको प्रतिनिधि (अर्थात् नायब) का रूपमा शासन चलाउने थियो। यो स्थितिमा गद्दीमा नरहे पनि राजा, त्रिभुवन नै रहन्थे। 

तर श्री ३ मोहनमाथि हावी उनका छोरा विजयशमशेर आफैं यस्तो ‘नायबी परिषद्’का पक्षमा रहेनन्। सायद जनरल विजयले श्री ३ मोहनभन्दा ‘नायबी परिषद्’ शक्तिशाली हुने ठाने। त्यसैले उनले यो प्रस्ताव स्वीकार गरेनन्। 

‘रिजेन्सी काउन्सिल’ गठन गरिएको भए पनि ज्ञानेन्द्रलाई राजा बन्ने अवसर जुर्ने थिएन।

कतिपय भारदारले त श्री ५ त्रिभुवनको परिवारबाहिरका शाह वंशबाट राजा बनाउनुपर्ने विकल्पसमेत प्रस्तुत गरेका थिए। यो सुझावअन्तर्गत कमलपोखरीका साहेबज्यू रणविक्रम शाहलाई नयाँ राजाका रूपमा सुझाव दिइएको थियो। 

पाँडेले लेखेका छन्, ‘साहेबज्यू रणविक्रम शाह वयोवृद्ध थिए। श्री ३ मोहनकै छाँटको कोट र टोपी लगाउँथे। फोकटमै राजा हुन पाइन्छ कि भनी उनी पनि अघि सरे।’

तर ‘भाग्य’ ज्ञानेन्द्रकै बलियो रहेछ। बाबु र दाजुलाई समेत उछिन्दै उनी साढे ३ वर्षकै उमेरमा राजा बने।  

राजा बनेपछिको ठाँट 
राजा त्रिभुवन भारतीय दूतावास पुगे पनि खोजतलासकै क्रममा पत्ता  लाग्यो– श्री ३ त्रिभुवनका माहिला र कान्छा नातिद्वय ज्ञानेन्द्र र धीरेन्द्र बागदरबारस्थित मामाघर (जनरल हरि शमशेरको निवास) मा छन्। 

त्यसैले ज्ञानेन्द्रलाई मामाघरबाट २१ कात्तिक साँझ सिंहदरबार पुर्याइयो।  

२२ कात्तिक दिउँसो २ बजे हनुमानढोका दरबारको नासलचोकमा राज्यारोहण कार्यक्रम गरी ज्ञानेन्द्रलाई गद्दीमा बसालियो। माहिला गुरुज्यू हेमराज पाण्डेमार्फत श्री ३ मोहनले नाबालक ज्ञानेन्द्रलाई श्रीपेच लगाइदिए। 

त्यो बेला सिंहदरबारमा सुब्बा पदमा कार्यरत लक्ष्मणप्रसाद रिमाल (पूर्वसचिव, हाल ९७ वर्ष) का अनुसार पाटनका सूचीकारमार्फत नाबालक शाहज्यादा ज्ञानेन्द्रका लागि रातारात नयाँ पोसाक तयार पारियो। 

त्यही पोसाक लगाइदिएर ज्ञानेन्द्रलाई आफैंले डोर्याउँदै २२ कात्तिक बिहान श्री ३ मोहन सिंहदरबारको चोक निस्केका थिए। बग्गीमा चढेका मोहनले ज्ञानेन्द्रलाई काखमा राखी श्रीपेच पहिर्याउन हनुमानढोका दरबार पुर्याएका थिए। 

‘हनुमानढोका पुगेपछि शाहज्यादा ज्ञानेन्द्रलाई हतारमा तयार गरिएको मञ्चमा भएको सिंहासनमा राखियो’, संस्मरणात्मक पुस्तक ‘बितेका ती दिनहरू’मा रिमालले लेखेका छन्, ‘नाबालक भए पनि ज्ञानेन्द्र पहिल्यैदेखि एकदम चलाख, तर गम्भीर प्रकृतिका थिए। स्वाभाविक रूपमा बालकमा हुने चञ्चलता त्यहाँ देखिएन।’

नासलचोक (हनुमानढोका दरबार) मा भएको ज्ञानेन्द्रको त्यो राज्यारोहणका ५ तस्बिर उपलब्ध छन्। तीमध्ये दुइटामा ज्ञानेन्द्र श्री ३ मोहनका साथमा देखिन्छन्– एउटामा दाहिने हातले मोहनशमशेरको देब्रे हात समाएर अघि बढिरहेको र अर्काे तस्बिरमा श्री ३ मोहनका साथ उभिएर सलामी फर्काइरहेको। 

बाँकी तीन तस्बिरमा उनलाई श्रीपेच लगाइँदै छ। यीमध्ये एउटामा उनी आफ्नो शिरभन्दा ठूलो श्रीपेच लगाइँदै गर्दा शान्तसँग बसिरहेका छन् भने अर्काेमा पनि उनलाई श्रीपेच पहिर्याइँदै छ। तेस्रो तस्बिरमा भने उनी आफूलाई राणा र सैनिक अधिकारीले गरेको सलामी फर्काइरहेका छन्। 

पाँचवटै तस्बिरमा उनको अनुहारमा पूर्ण आत्मविश्वास देखिन्छ।

राजा बने पनि सम्भवतः ४ फागुन (२००७) मा राजा त्रिभुवन भारत प्रवासबाट स्वदेश नफर्कुन्जेल ज्ञानेन्द्र सिंहदरबारमै राखिएका थिए। 

सिंहदरबारमा मोहनशमशेरका साथमा रहँदा ज्ञानेन्द्रको ठाँट दुई जना विदेशी पत्रकारले देख्न पाएका थिए। उनीहरू थिए– युनाइटेड प्रेस अफ अमेरिका (यूपीआई) का ल्याभचेक र अब्जरभर (बेलायत) का पत्रकार नक्स। 

२६ कात्तिक (२००७) मा नेपाली कांग्रेसले राणा शासनविरुद्ध थालेको सशस्त्र संघर्षको रिपोर्टिङका लागि नेपाल आएका ल्याभचेक र नक्सलाई पक्राउ गरी नेपाली सेनाले काठमाडौं ल्याएको थियो। 

त्यो बेला मुन्सीखाना (परराष्ट्र विभाग) का हाकिम नरेन्द्रमणि आचार्य दीक्षित थिए। कलकत्तामा सँगै पत्रकारिता तालिम लिएकाले नरेन्द्रमणिका छोरा कुमारमणिसँग ल्याभचेकको चिनजान थियो। हिरासतमै रहेका ल्याभचेकले कुमारमणिसँग भेट्ने इच्छा गरे। श्री ३ मोहनले मुन्सीखानामा भेट्न अनुमति दिए। 

‘फाटफुट सम्झना’ मा कुमारमणिले उल्लेख गरेअनुसार त्यो भेटमा ल्याभचेकले ‘बच्चा राजा (ज्ञानेन्द्र शाह) लाई हेर्न पाइन्छ कि’ भनेपछि विजय शमशेरमार्फत ज्ञानेन्द्रसँग भेटघाटको प्रबन्ध मिलाइएको थियो। 

ल्याभचेक र नक्स बिहान साढे ९ बजेतिर बालक राजा ज्ञानेन्द्र हेर्न सिंहदरबार पुगेका थिए।  

‘बच्चा राजालाई मोटर चढ्ने खुब रहर रहेछ, जुन बखत पनि मोटरमा चढाउनु भन्ने हुन्छ भनी आठपहरियाहरू भन्थे’, कुमारमणिले ‘फाटफुट सम्झना’मा भनेका छन्, ‘महाराज (श्री ३) को पछाडिबाट खोल्न मिल्ने मर्सिडिज बेन्ज मोटरमा राम्रा साना बालक राजालाई सिंहदरबार मूलढोका भित्रका सडकहरूमा चार/पाँच चक्कर लगाई भित्र लगेपछि हामीहरू फर्केका थियौं।’

निकै पछि वीरेन्द्र राजा भैसकेपछि आफू पहिले राजा भएको भन्दै ज्ञानेन्द्रले वीरेन्द्रलाई छेडखानी गर्न थालेपछि दाजुभाइबीच झगडा भएको कुरा ऋषिकेश शाहले आफ्नो आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’मा लेखेका छन्। 

‘मलाई रानी रत्नले भन्नुभएको– वीरेन्द्रले ज्ञानेन्द्रको घाँटी समातेर झण्डै मारेका थिए रे,’ शाहले लेखेका छन्, ‘के फूर्ति गर्छाै, तिमीभन्दा अगाडि म राजा भएको भनेर ज्ञानेन्द्रले भनेकाले झगडा परेको रहेछ।’

पाकिस्तानको मात्र मान्यता
‘रिजेन्सी काउन्सिल’मार्फत शासन चलाउने आफ्नो प्रस्ताव अस्वीकार भए पनि बेलायती राजदूत फाल्कोनरले ‘राणा सरकारले जसलाई राजा बनाउँछ, त्यसैलाई ब्रिटिस सरकारले तत्काल मान्यता दिनेछ’ भनेर वचन दिएका थिए। 

उनको यही भनाइपछि बालक ज्ञानेन्द्रलाई मामाघरबाट ल्याएर राजा बनाइएको थियो। तर राजदूत फाल्कोनरले दिएको यो ‘वचन’ पूरा भएन। 

ज्ञानेन्द्रलाई राजा बनाउने र बेलायतबाट मान्यता दिलाउने श्री ३ मोहनको योजनामा राजा त्रिभुवनलाई शरण दिएको भारत नै भाँजो हाल्न अघि सर्यो। 

‘अंग्रेज (बेलायत) र अमेरिकाले नयाँ राजालाई रिकक्नाइज (मान्यता दिने) मितिसमेत तोकिसकेका थिए’, कुमारमणिले लेखेका छन्, ‘तर नयाँ राजालाई मान्यता दिने काम गरिए त्यो ‘अनफ्रेन्डली एक्ट’ (मित्रताप्रतिकूल गतिविधि) हुने चेतावनी भारतका तर्फबाट दिइएपछि मान्यता दिनबाट पछि हटे।’ 

त्यसअघि नै राजा त्रिभुवनलाई भारतमा शरणका लागि जान दिने/नदिने विषयमा काठमाडौंस्थित बेलायती र भारतीय राजदूतबीच भनाभन भइसकेको थियो। त्रिभुवनलाई भारत जान नदिइए भारतीय सेना काठमाडौंमा ओराल्ने भारतीय राजदूतको चेतावनीपछि बेलायती राजदूत फाल्कोनरले भारतीय सेना काठमाडौं आएको भोलिपल्टै बेलायती सेना पनि काठमाडौंमा ओराल्ने चेतावनी दिएका थिए। 

भारत ज्ञानेन्द्रलाई राजा बनाउने निर्णयका विपक्षमा छँदै थियो, बेलायत र अमेरिका पनि उनलाई मान्यता दिने निर्णयबाट पछि हटे। त्यो बेला नेपालको कूटनीतिक सम्बन्ध कायम भएका फ्रान्ससहित चार मुलुकमध्ये यिनै तीन देश थिए। 

पाकिस्तानले भने तुरुन्तै नयाँ राजालाई मान्यता दिएको ‘फाटफुट सम्झना’मा कुमारमणिले उल्लेख गरेका छन्। ‘त्यस बखतको नेपाल’मा पाँडेले यसबारे अलि विस्तृतमा बताएका छन्। 

पाँडेका अनुसार पाकिस्तानले मान्यतासहितको पत्र त पठायो, तर भारतीय डरका कारण राणा शासकले त्यो ‘मान्यता पत्र’ सार्वजनिक गर्ने हिम्मत गर्न सकेनन्। 

पाकिस्तानले राजा ज्ञानेन्द्रलाई मान्यता दिनुको कारण भारतसँग उसको शत्रुता थियो। राजा त्रिभुवनले भारतीय दूतावासमा लिएको शरणलाई समेत पाकिस्तानले नकारात्मक रूपमा प्रस्तुत गरेको थियो। 

डा. गौतमका भनाइमा– राजा त्रिभुवनले भारतीय राजदूतावासमा शरण लिएको पर्सिपल्ट (२३ कात्तिक) मा पाकिस्तानी रेडियोले ‘नेपालका लागि भारतीय राजदूतले राजा त्रिभुवनलाई अपहरण गरी राजदूतावासमा लगे’ भन्ने आरोप लगाएको थियो। ​

प्रतिवादस्वरूप काठमाडौंस्थित भारतीय राजदूतावासले राजा त्रिभुवन आफैं शरण लिन आएको जवाफ दिएको थियो। त्यसलगत्तै पाकिस्तानले नयाँ राजालाई मान्यता दिँदै नेपाललाई पत्राचार गरेको हो। 

‘पाकिस्तान सरकारले श्री ५ ज्ञानेन्द्रलाई मान्यता दिने निर्णय गरी दिल्लीस्थित पाकिस्तानी हाइकमिस्नरमार्फत नेपाली राजदूत उ.क.ज (उत्तर कमान्डिङ जनरल) लाई चिठी पठायो’, पाँडेले लेखेका छन्, ‘नेपालले भनेको दिन त्यो मान्यता प्रदान गरेको खबर पाकिस्तान रेडियोले कराँचीबाट प्रसार गर्ने कुरा चिठीमा उल्लेख थियो।’

तर पाकिस्तानले दिएको त्यो मान्यता सार्वजनिक गर्न श्री ३ मोहनले चाहेनन्। पाँडेका भनाइमा– पाकिस्तानले दिएको मान्यता प्रचार गर्दा भारतलाई झन् चिढ्याएजस्तो हुने भएकाले नेपाल सरकार त्यस पत्रबारे मौन रह्यो। 

‘ब्रिटिस सरकार श्री ५ ज्ञानेन्द्रलाई मान्यता दिन अनकनाएपछि श्री ३ मोहनले पनि बिस्तारै चेत पाउन थाले’, पाँडेले लेखेका छन्, ‘पाकिस्तानको मान्यता नेपालले गुपचुप राख्नुको खास कारण हो– ब्रिटेनले मान्यता दिन गरेको ढिलासुस्ती।’ 

ब्रिटेनले ज्ञानेन्द्रलाई तुरुन्त मान्यता दिन​ हिच्किचाएपछि अमेरिका पनि यस विषयमा हच्केको पाँडेले उल्लेख गरेका छन्। त्यो बेला अमेरिकाले नेपालसम्बन्धी निर्णय बेलायती नीतिप्रतिकूल नहुनेगरी गर्ने गरेको थियो। 

यसरी नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका चारमध्ये तीन मुलुक– भारत, बेलायत र अमेरिकाबाट ज्ञानेन्द्रलाई गद्दीमा राख्ने निर्णयमा समर्थन नपाएपछि मोहनशमशेर अप्ठेरोमा परे। अन्तर्राष्ट्रिय मान्यताको अभावमा ‘बालक राजा’ ज्ञानेन्द्रको ‘शासन अवधि’ छोट्टिने संकेत देखिन थाल्यो। 

२ महिना २ दिन राजा 
भारतीय दूतावासमा शरण लिइरहेका त्रिभुवन नयाँदिल्ली प्रस्थान गरेकै दिन २६ कात्तिक (२००७) मा नेपाली कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र संघर्ष घोषणा गर्यो। यसको ३ दिनअघि मात्र कांग्रेस नेता बीपी कोइरालाले ज्ञानेन्द्रको राज्यारोहणलाई असंवैधानिक र गैरकानुनी भनेका थिए।

राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा अप्ठेरोमा पर्दै गएका श्री ३ मोहनशमशेरले भारत सरकारसँग वार्ताका लागि छोरा विजयशमशेरको नेतृत्वमा टोली नयाँदिल्ली पठाए। वार्ताका क्रममा राणा पक्षले ‘राजनीतिक सुधार’मा सहमति जनायो। तर राजाका रूपमा मान्यता ज्ञानेन्द्रलाई नै दिनुपर्ने अडान लिइरह्यो। यो सर्त नयाँदिल्लीले मान्दै मानेन। नयाँदिल्ली टसको मस नभएपछि पुस अन्तिम हप्ता श्री ३ मोहन ‘अपदस्थ राजा’ श्री ५ त्रिभुवनलाई नै राजा स्वीकार्न बाध्य भए। 

२००७ को क्रान्तिबारेको पुस्तक ‘नेपालको नोभेम्बर क्रान्ति’मा कांग्रेस नेता रामहरि जोशीले उल्लेख गरेअनुसार २४ पुस साँझ श्री ३ मोहनले राजनीतिक सुधारको घोषणा गरी त्रिभुवनलाई नै राजा मान्न आफू तयार भएको जनाउ दिएका थिए।

‘घोषणामा नेपाल सरकारको निश्चयानुसार श्री ५ त्रिभुवन नै नेपालका श्री ५ महाराजधिराज होइबक्सने भयो’, जोशीले लेखेका छन्, ‘मौसुफ तत्कालै काठमाडौं सवारी हुनमा असमर्थ होइबक्सन्छ भने कुनै पनि व्यक्तिलाई रिजेन्ट (नायब) नियुक्त गरी कार्य सञ्चालनका लागि पठाउन सकिबक्सन्छ भन्ने उल्लेख थियो।’

भारदारी सभाबाट निर्णय गराएर नै श्री ३ मोहनले यो घोषणा गरेका थिए। योसँगै त्रिभुवन पुनः गद्दीमा विराजमान भए। दुई महिना २ दिनअघि ‘राजा’ बनेका ज्ञानेन्द्र गद्दीबाट हटे। त्रिभुवन थप डेढ महिना नयाँदिल्लीमै बसे। तर ‘नायब’का रूपमा कसैलाई तोकेनन्।

गद्दीमा राखेपछि बालक ज्ञानेन्द्रलाई मोहनशमशेरले सामाजिक–सांस्कृतिक, राजनीतिक र कूटनीतिक रूपमा स्थापित गराउन प्रयास गरेका थिए। तर तीनवटै प्रयास सफल भएनन्। 

जस्तो : भारतीय दूतावासमा शरण लिनुअघि नै काठमाडौंमा हुने सम्यक् पुजाका लागि राजा त्रिभुवनलाई निमन्त्रणा दिइएको थियो। त्यो पुजामा राजाका रूपमा ज्ञानेन्द्रलाई उपस्थित गराउने प्रयास श्री ३ मोहनले गरेका थिए। तर स्थानीय नेवार समुदायले ज्ञानेन्द्रलाई प्रमुख अतिथि बनाउने कुरामा सहमति जनाएन।  

यति हुँदाहुँदै पनि २ महिना मात्र गद्दीमा रहेका ज्ञानेन्द्रको नाममा टक छाप्न भने मोहनले भ्याए। श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राखेलगत्तै श्री ३ मोहनले उनको नाममा टक छाप्ने घोषणा गरेका थिए। ज्ञानेन्द्र पहिलोपटक राजा बन्दाको चिनोका रूपमा त्यो बेला खिचिएका तस्बिरबाहेक त्यही टक मात्रै हो। 

यसबाहेक श्री ३ मोहनले श्री ५ ज्ञानेन्द्र र आफ्नो नाममा ‘ज्ञानेन्द्र–मोहन होमियोप्याथिक डिस्पेन्सरी’ अस्पताल स्थापना गरेका थिए। धरहरानजिकै स्थापना गरिएको त्यो अस्पताल पनि अहिले अस्तित्वमा छैन।

१५ पुस (२००७) मा उद्घाटन गरिएको त्यो अस्पतालमा रोगको निदान, उपचार, रोग फैलिन नदिन ज्ञानको प्रचार, एम्बुलेन्स, अस्पताल आउन नसक्ने बिरामीका लागि घरमै डाक्टर जाने, गरिबका लागि निःशुल्क औषधि व्यवस्था गरिएको सूचना तत्कालीन ‘मेडिकल डिपार्टमेन्ट’ले गोर्खापत्रमा प्रकाशन गराएको थियो। 

राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिनुअघि ज्ञानेन्द्र नारायणहिटीबाट बागदरबारस्थित मामाघर कहिले गए, प्रस्ट छैन। तर राजा त्रिभुवन परिवारसहित काठमाडौं फर्केकै दिन ४ फागुनमा ज्ञानेन्द्र पनि भाइ धीरेन्द्रका साथ मामाघरबाट नारायणहिटी आइपुगे। 

‘शाहज्यादा’बाट ‘राजा’मा उक्लेर फेरि ‘शाहज्यादा’मै झरेका ज्ञानेन्द्रको नारायणहिटी प्रवेशबारे ५ फागुन (२००७) को गोर्खापत्रले लेखेको थियो, ‘श्री ५ त्रिभुवनको सवारी नारायणहिटीमा भित्रिएपछि श्री ५ बडामहारानी, श्री ५ शाहज्यादी, श्री ५ माहिला र कान्छा महारानी, श्री ५ युवराजधिराज, श्री ५ माहिला (ज्ञानेन्द्र) र कान्छा (धीरेन्द्र) शाहज्यादाहरूको सवारी पनि ४ बजेका समयमा नारायणहिटी दरबार भित्रियो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .