ad ad

म्यागेजिन


पढाइ र आन्दोलन दुवैमा सफल विद्यार्थी नेता : जसले भौतिकशास्त्रमा राखे कीर्तिमान

पढाइ र आन्दोलन दुवैमा सफल विद्यार्थी नेता : जसले भौतिकशास्त्रमा राखे कीर्तिमान

टीकाराम भण्डारी (तस्बिरः विजय सिंह)


मीना खड्का
माघ ५, २०७८ बुधबार १८:४०, काठमाडौँ

राजनीति गर्नेहरु पढाइमा तीक्ष्ण हुँदैनन् भन्ने लाग्छ धेरैलाई। पढाइमा सफल भएका थुप्रै विद्यार्थीलाई राजनीतिमा चासो हुँदैन पनि। 

दुवैलाई सँगसँगै अघि बढाउन खोज्नेहरु पनि हुन्छन्, तर सफल हुने कमै भेटिन्छन्। तिनै कममध्येका हुन्, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय स्थायी कमिटी सदस्य टीकाराम भण्डारी। 

विद्यालयमा हुँदा उनी सधैँ प्रथम हुन्थे। सबै विद्यार्थीलाई उछिनेर पहिलो हुँदा गर्व सँगै खुसी महसुस हुन्थ्यो। त्यो खुसीले अझै पछ्याइरहेको छ।

‘विस्तारै पढाइमा सफल भएर मात्रै हुँदैन, समाजिक कार्यमा पनि सहभागी हुनुपर्छ भन्ने लाग्न थाल्यो,’ उनले भने, ‘पढ्दै राजनीति गर्न सकिन्छ जस्तो लागेर विद्यार्थी संगठनमा आबद्ध भएँ।’ 

त्रिवि केन्द्रीय क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थी टीकाले एक हप्ताअघि प्रकाशित मास्टर्सको नतिजामा चारै सेमेस्टरमा ४.० जीपीए ल्याए। यससँगै उनी थुप्रैले कठिन मान्ने विषय भौतिकशास्त्रमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी बनेका छन्।

भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. नारायण अधिकारीको साथमा टीकाराम भण्डारी

‘यही विभागमा यसअघिका उत्कृष्ट विद्यार्थीले ३.९६ सम्म ल्याएका थिए,’ भौतिकशास्त्रका प्राध्यापक नारायणप्रसाद अधिकारीले भने, ‘भौतिकशास्त्रमा ४ जीपीए ल्याउने पहिलो विद्यार्थी टीका हो।’

राम्रो नतिजा ल्याएपछि टीकाले कक्षा ११ र १२ काठमाडौँस्थित सगरमाथा कलेजमा छात्रवृत्तिमा पढ्न पाए। कलेज पढ्दा जीवविज्ञान मुख्य विषय थियो तर अतिरिक्त गाणितमा नै बढी अंक प्राप्त भयो। त्यसले उनी भौतिकशास्त्रतर्फ आकर्षित भए।

‘साथीहरु पनि प्रायः भौतिकशास्त्रमै रुचि भएका थिए,’ उनले भने, ‘पढ्दा सधैँ प्रतिस्पर्धा हुन्थ्यो, कुन पब्लिकेसनले प्रकाशन गरेको पुस्तक कसले पढेको छ भनेर छलफल गर्दथ्यौं।’  

विद्यालय तहदेखि नै विज्ञानका किताबहरु खोजीखोजी पढ्थे उनी। 

‘विद्यालय तहमा पढेका धेरै कुरा १२ पढ्दा काम लागे, अहिले पनि महत्वपूर्ण लाग्छन्,’ उनले भने, ‘मैले धेरै कुरा कक्षा १० मा नै पढेको रहेछु।’

त्रिचन्द्रबाट बीएस्सी गरेका उनी विज्ञान संकायका सर्वोत्कृष्ट विद्यार्थी बने।

प्राध्यापक अधिकारीका अनुसार राजनीतिक आन्दोलन र कार्यक्रममा जाँदा पनि टीकाले कक्षा कहिल्यै छुटाएनन्। 

‘मेरो कक्षा कहिल्यै छोडेको देखिनँ, सधैं उत्साहजनक सहभागिता हुन्थ्यो। मेरो विषयका मात्रै होइन। सबै शिक्षक र साथीहरूसँग कक्षा नछुटाएकै कारण पनि सम्बन्ध राम्रो छ,’ प्राध्यापक अधिकारीले भने।​

राजनीतिमा पनि सफल
दाङका टीकाराम भण्डारी​को राजनीतिप्रतिको चिन्ता र चासो विद्यालय पढ्दादेखिकै हो। २६ वर्षका टीका अहिले अनेरास्ववियूका केन्द्रीय कमिटी सदस्य छन्।

‘विद्यार्थी राजनीति गर्नेहरु पढाइमा असफल हुन्छन् भन्ने सन्देश दिन म चाहन्नँ,’ उनले भने, कुन काम कतिबेला गर्ने, समयमै सही निर्णय लिन सक्नुपर्छ। सफलता टाढा छैन।’

कसैले हेपेको नसहने र समाजमा केही फरक गर्नुपर्छ भन्ने स्वभाव थियो उनको।

‘राजनीति बुझ्ने भएदेखि नै वाम विचारधारा मन पथ्र्यो’, उनले भने, ‘त्रिचन्द्र पढ्दा राजनीतिलाई अझ नजिकबाट नियाल्ने अवसर मिल्यो।’

टीकाको भनाइमा राजनीतिमा उनको आर्कषण बढ्नुको कारण त्रिचन्द्र पढ्दाको संगत, र सहकार्य थियो।  

‘अनेरास्ववियूका सिनियर दाजुहरुसँगै घुलमिल हुने अवसर मिल्यो,’ उनले भने, ‘राजनीतिबाट नै धेरै कुरा परिवर्तन गर्न सम्भव छ भन्ने लाग्यो, अनि म पनि विद्यार्थी संगठनमा सक्रिय भएँ।’

मास्टर्स पढ्न केन्द्रीय क्याम्पस कीर्तिपुर आइसकेपछि राजनीतिसँगै पढाइको दौड भयो।  

‘नारा जुलुस र कार्यक्रममा हिँडे पनि पहिलो प्राथामिकता भने सधैं पढाइ नै थियो,’ उनले भने, ‘कार्यक्रम र आन्दोलनका लागि भनेर कहिल्यै कक्षा छाडेर हिँडिन।’

अहिले पनि उनलाई विद्यार्थी आन्दोलनबाट खासै चित्त बुझेको छैन।

‘विद्यार्थी आन्दोलनले धेरै विकृत रुप लिएको छ,’ टीका भन्छन्, ‘यसलाई सही ट्रयाकमा ल्याउन आवश्यक छ।’

त्रिवि सभाको करार अध्यापकलाई स्वतः स्थायी गर्ने निर्णयविरुद्ध भएको संयुक्त विद्यार्थी आन्दोलनमा अनेरास्ववियूको तर्फबाट उनैले मोर्चा सम्हालेका थिए। करिब १० वर्षपछि यति धेरै विद्यार्थी संगठनहरुको संयुक्त आन्दोलन भएको हो। 

‘हाम्रो आन्दोलनले त्रिविलाई एक महिनापछि घुँडा टेकाउन बाध्य बनायो,’ उनले भने, ‘यसलाई सफल आन्दोलनको उदाहरणका रुपमा लिन्छु।’ 

त्रिविको करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयविरुद्ध नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले विरोध जनाएका थिए। 

‘यो आन्दोलन सफल र असली विद्यार्थी आन्दोलन हो भन्ने पनि सुनिन्छ,’ उनले भने, ‘यो सुन्दा चाहिँ धेरै नै खुसी लाग्छ।’ 

राजनीतिमा पनि अरु भन्दा फरक विचार छ उनको।

‘मन्त्री र सांसद बन्ने योजना छैन,’ उनले भने, ‘तर देशको नीतिगत सुधार गर्ने हुटहुटी छ।’ 

यो सपना पुरा गर्न गाह्रो छ जस्तो लाग्दैन उनलाई।

‘विभिन्न समयमा हुने अनेरास्ववियूका आन्दोलन र कार्यक्रमले मेरो पढाइमा कुनै असर गरेको महसुस भएको छैन,’ उनले भने, ‘समय व्यवस्थापन गरेर मेरा सपना पुरा गर्नेमा म ढुक्क छु।’ 

शिक्षक र परिवारको चाहना राजनीतिभन्दा टाढै रहोस् भन्ने छ। 

‘पढाइलाई ध्यान देओस् भन्ने छ परिवारमा। शिक्षकहरु पनि अनुसन्धानमा ​लाग्न सुझाव दिनुहुन्छ। तर सबै क्षेत्रसँग राजनीति जोडिएको छ,’ उनले भने, ‘त्यसैले पनि म शिक्षा क्षेत्रको नीतिगत सुधारका लागि राजनीति गर्न चाहन्छु।’​​

रिकाष्टका पूर्व कार्यकारी निर्देशक तथा रसायनशास्त्रका प्रोफेसर डा. रामेश्वर अधिकारीसँग टीकाराम भण्डारी

सफलताको जस बुबा र गुरुहरुलाई
आफ्नो अध्ययनमा त्रिविका रसायनशास्त्रका प्राध्यापक रामेश्वर अधिकारी, प्रा.डा. मुकुन्दमणि अर्याल, हरि लामिछाने र नारायणप्रसाद अधिकारी लगायत गुरुहरुको साथ तथा सहयोग रहेको उनी बताउँछन्।

‘प्रा.डा. मुकुन्दमणि अर्याल र हरि लामिछानेको साथ र भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘मेरो शोधपत्र सुपरभाइजर भएकोले नारायण सरसँग म अझ बढी प्रभावित छु।’ 

उनका साथी र अन्य शिक्षकहरुसँग पनि सम्बन्ध राम्रो छ। 

‘सफलताको श्रेय बुबापछि शिक्षकलाई जान्छ, सफलता मेरो मेहनतले भए पनि आदर्श र असल विचारको लगानी उहाँहरुको छ,’ उनले भने, ‘विद्यालय तहदेखि अहिलेसम्म मलाई परिश्रमी बने संसार जितिन्छ भन्ने पाठ सिकाउनु भयो, परिवार र साथी सफलतासँगै जोडिनुभएको छ।’

हँसिलो मिजासका उनी तत्काल कसैसँग रिसाउँदैनन्।​

आर्थिक जटिलताले समयको व्यवस्थापन सिकायो  
केही वर्षअघिसम्म उनको परिवार दाङमा खेतीकिसानी गर्थ्यो। पर्याप्त जग्गा थिएन। बुवा फर्सुराम भण्डारीले विस्तारै पेसा परिर्वतन गरे र जडिबुटी खेती र व्यवसायमा लागे। 

टीका कक्षा ९ मा पढिरहेका थिए। परीक्षा नजिकिँदै थियो। परीक्षाको चटारोले पढ्ने चाहना थप बढेको थियो। त्यतिबेला नै एउटा नमिठो घटना घट्यो। २०६७ साल तिर हो। १ करोड बराबरको व्यापार घाटामा गयो। उठ्नै नसक्नेगरी थिचिदियो ऋणको भारीले। 

‘साहुहरुको झर्को आवाज दिनानुदिन बढेको थियो,’ भावुक हुँदै उनले भने, ‘१० हजार सापटी माग्दा पनि छिमेकी कसैले पत्याउँथेनन्, सिधै दिँदैनौ भन्थे। त्यसैले बुबाले घर छाड्नुभयो।’ 

त्यसपछिको नौ वर्ष उनको परिवारका लागि निकै कठिन थियो।

‘कलिलो मस्तिष्क थियो। सिकाइ धेरै भयो,’ उनले भने, ‘त्यही जटिलताले समयको व्यवस्थापन कसरी गर्ने भन्ने सिकायो।’ 

आईएस्सीको अन्तिम वर्ष चलिरहेको थियो। उनका बुबाले बुटवलमा व्यापार थालेका थिए।

‘१ वर्ष बुबासँगै रहेर व्यापारमा सहयोग गरेँ,’ उनले भने, ‘तर बुबाले व्यापार म सम्हाल्छु पढाइलाई निरन्तरता देऊ भन्नुभयो।’   

त्यतिबेला उनले एउटा जोखिम लिए। व्यापारलाई थप बढाउने। 

‘आँट गरौँ, एक पटक जे पर्छ भनेर ऋण खोज्यौँ, ऋणमाथि ऋण थपियो,’ उनले भने, ‘व्यापार डुबे म विदेश जान्छु भनेको थिएँ, तर व्यापार राम्रो भयो।’

उनी भन्छन् ‘त्यतिबेला ऋणको पिँजडाबाट बाहिर निकालेर बुबालाई खुल्ला आकासमा उडाउन सक्नु मेरो जीवनको ठूलो उपलब्धि हुनेछ भन्ने लाग्थ्यो, र हामी सफल भयौँ, अहिले परिवारमा आर्थिक अवस्था पनि राम्रो छ।’​

पढाइ र राजनीति दुवैमा सफल हुन कसरी सम्भव भयो?
शिक्षा क्षेत्रको भद्रगोल अवस्था सुधार्नकै लागि पनि राजनीति गरिरहेको टीकाराम भण्डारीको भनाइ छ।

‘विश्वविद्यालयकै धेरै कुरा सुधार्नुपर्ने छ, शिक्षा क्षेत्रकै धेरै कुरामा सुधार ल्याउन आवश्यक छ,’ उनी भन्छन्, ‘पढाइ पुरा गरेर प्रोफेसर र रिसर्चर बन्छु।’  

उनी पढाइमा सफल छन्। राजनीतिक यात्रा पनि राम्रो छ। उनको सहयोगले नै बुबाको व्यापारमा सफलता प्राप्त भएको छ।

‘यो सफलताले मलाई त गर्व महसुस हुन्छ नै,’ उनले भने, ‘धेरै मान्छेले बुबालाई पनि स्याबासी दिन्छन्।’ 

आजभोलि उनी बिहान ७ बजे नै विश्वविद्यालयको रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलोजीमा पुग्छन्। करिब ५ वर्ष भयो उनी यो ल्याबमा जोडिएको। जसले उनलाई अनुसन्धानमा पर्याप्त सहयोग गरेको छ। केही समययता भने उनी थेसिसको काममा व्यस्त छन्।

‘यही महिनामा थेसिस सकेर बुझाउने तयारी छ,’ उनले भने। 

टीकारामले स्वदेशी तथा विदेशी जर्नलमा आधा दर्जन लेख समेत प्रकाशित गरेका छन्। विद्यावारिधिपछि देशमा नीतिगत सुधार ल्याउने क्षेत्रमा काम गर्ने चाहना छ। तर, विद्यावारिधि कहाँ गर्ने टुंगो छैन।

‘कुन देशमा विद्यावारिधि गर्छु, अझै फिक्स छैन,’ उनले भने, ‘तर राम्रो ठाउँमा गर्छु।’ 

त्यो समय राजनीतिलाई पनि निरन्तरता दिन सक्नेगरी योजना बनाएका छन् उनले।

‘जहाँ रहेर पनि म काम गर्न सक्छु,’ उनले भने, ‘संगठनहरु छन्, प्रवासमा पनि काम गर्ने वातावरण राम्रो छ।’ 

धेरैले उनलाई सोध्छन्, ‘पढाइ र राजनीति दुवैमा सफल हुन कसरी सम्भव भयो?’ 

उनीसँग यसको खास जवाफ छैन। 

‘दृढ इच्छाशक्ति, आत्मविश्वास, समय व्यवस्थापन, मेहनत र प्राथामिकता नै मुख्य कुरा हुन्’, उनले भने, ‘पढाइसँगै समय व्यवस्थापन गरे धेरै गर्न सकिन्छ, सबै आफनो संकल्पमा भर पर्ने हो।’

उनको लगनशीलता देखेर साथी र परिवार मात्रै होइन, शिक्षक पनि प्रभावित छन्। 

‘सफलताको त्यस्तो कुनै टिप्स छैन मसँग,’ उनले भने, ‘पढ्ने बेलामा पढ्छु, काम गर्ने बेलामा मन लगाएर काम गर्छु।’

पढ्दा रटेर होइन, बुझेर पढ्ने गरेको उनको भनाइ छ।

‘रटेर भन्दा पनि बुझेर पढ्छु,’ उनले भने, ‘राम्रो नतिजा नआउँदासम्म संघर्ष गरेपछि सफल चाहिँ भइँदोरहेछ।’ 

विद्यालय तहदेखि अहिलेसम्म पनि उनले कहिल्यै छुट्टै कक्षा लिनु परेन। न त प्राइभेट ट्युसन नै पढ्नुपरेको छ।

‘म सधैँ आफैँ पढ्नुपर्छ, मेहनत गर्नुपर्छ भन्ने सोच्थेँ,’ उनले भने, ‘कहिल्यै ट्युसन पढिँन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .