म्यागेजिन


झरना थापाको मातृत्व अनुभवः छोरी हुर्किंदा मिठो अनुभूति सँगाल्न पाइनँ, पछुतो लाग्छ

झरना थापाको मातृत्व अनुभवः छोरी हुर्किंदा मिठो अनुभूति सँगाल्न पाइनँ, पछुतो लाग्छ

छोरीको सफलता देखेर मुस्कुराइरहेकी झरना भन्छिन् ‘अब फिल्म उद्योगमा नै राम्रो गर्न सकोस्।’


राधिका अधिकारी
चैत २६, २०७८ शनिबार १४:२०, काठमाडौँ

उनका सानीमा र माइजु बैंकमा जागिर खान्थे। घरका सबै काम सकेर मात्र काममा निस्किन्थे। उनीहरुले पुरा गरेको दोहोरो जिम्मेवारी हेर्दै अभिनेत्री झरना थापा हुर्किइन्। र, उनले एक समय बैंकमा जागिर खाने योजना बुनेकी थिइन्।

प्युठानमा जन्मिएकी झरनाको बाल्यकाल दाङमा बित्यो। आर्थिक हिसाबले ठिकठाकको परिवार। दाङमै एसएलसीसम्मको अध्ययन पुरा गरेकी झरना त्यसपछिको अध्ययनका लागि काठमाडौं आइन्। पद्मकन्या क्याम्पसमा आईए पढ्न थालेपछि बिस्तारै झरनाका सपना परिवर्तन हुँदै गए। क्याम्पसमा नृत्य विषय लिएर पढ्न थालिन् र थाहा पाइन्, नृत्यमा आफूलाई लगाव रहेछ।

क्याम्पसका हरेक कार्यक्रममा नृत्य प्रस्तुत गर्न थालिन्। सबैजसो कार्यक्रममा प्रथम हुने झरनालाई उनका साथी र गुरुले भन्थे, ‘तिमी मान्छे पनि राम्री छौँ, नृत्य पनि राम्रो छ हिरोइन बन।’ घरनजिकै सिनेमा हल भएकाले सानामा थुप्रै फिल्म हेरेकी झरनालाई हिरोइन बन्न के गर्नु पर्छ, थाहा थिएन। तर साथीहरुले भन्दै गर्दा झरनालाई पनि लागिसकेको थियो ‘म हिरोइन बन्नै जन्मिएकी हुँ।’​

पहिलो फिल्ममा भाउजूको भूमिका
त्यसपछि झरनाले फिल्मको पर्दासम्म पुग्ने बाटो खोज्न थालिन्। उनले चिनेजानेका आफन्तलाई आफ्नो चाहना सुनाउन थालिन्। झरनाका सानोबुबाले एकदिन निर्देशक दयाराम पाण्डेसँग भेट गराए। दयाराम त्यतिबेला दाइजो फिल्म बनाउने तयारीमा थिए। झरनाले दाइजो फिल्मबाटै नेपाली रजतपटमा डेब्यु गरिन्। पहिलो फिल्ममा झरनाले भाउजूको भूमिका निर्वाह गरेकी थिइन्। यही फिल्ममा काम गर्ने सिलसिलामा भेटिए निर्माता सुनिलकुमार थापा। 

सुनिल पनि त्यतिबेला आफ्नो प्रोजेक्टका लागि अभिनेत्रीको खोजीमा थिए। त्यसबेला बागबजारमा बेटी बज्राचार्यको डान्स सेन्टर थियो। झरना बेटीसँग डान्स सिक्थिन्। फुर्सदको समयमा डान्स सेन्टरमा आफू पनि केटाकेटीलाई सिकाउँथिन्। उनको डान्स र रुपलाई लिएर पीके कलेजवरिपरि चर्चा सुरु भैसकेको थियो। त्यहीबेला हिरोइनको खोजीमा पुगेका सुनिललाई बेटी बज्राचार्यले झरनासँग परिचय गराउँदै भनेकी थिइन्, ‘यो झरनाको रुप पनि राम्रो छ, डान्स पनि राम्रो छ। तिम्रो फिल्मको हिरोइन बन्न लायक छ।’ पहिलो भेटमै सुनिलले झरनालाई मन पराइसकेका थिए। झरनालाई भेट्न उनी क्याम्पस गइरहन्थे। झरना पनि साथीसँग हुल बाँधेर काठमाडौंका बजारमा कहिले तितौरा, कहिले आइसक्रिम खान जान्थिन्।​​​​

साथीका लागि प्रपोज
बिस्तारै झरनाका साथी पनि सुनिलसँग नजिकिदै गए। सुनिल झरनालाई मन पराउँथे, झरनाकी साथी सुनिललाई। झरना सुनिलसँग साथीकै माया बसोस् भन्ने चाहन्थिन्। एकदिन कलेजको नम्बरबाट सुनिललाई फोन गरेर झरनाले भनिन्, ‘तपाईंलाई मेरो साथीले मन पराउँछिन्।’ सुनिलले फोनमै जवाफ फर्काए, ‘कसैले कसैलाई मन पराउने बित्तिकै पाउने भए कति सजिलो हुन्थ्यो। म पनि त तपाईंलाई मन पराउँछु।’ झरना झस्किन्। फोन ठ्याक्क राखिन् र साथीहरुलाई भनिन्, ‘सुनिलजीले त मलाई पो मन पराउँछु भन्नुभयो।’ साथीहरुले हाँस्दै भने, ‘थाहा थियो उसले तँलाई मन पराउँछ भन्ने।’ सुनिललाई मन पराउने साथी ठुस्स परिन्। झरनाको मन अमिलो भयो। 

त्यसको केही दिनपछि सुनिललाई मन पराउने झरनाकी साथीले पनि ‘केटा राम्रो छ, तँ  बिहे गर’ भन्न थालिन्। साथीले मन पराएको केटा भएकाले सुरुमा सुनिलप्रति झरनाको मन बस्नै गाह्रो भयो। सधैँ भेट्न आउने सुनिल, साथीहरुले दिने दबाबले झरनाको मन पग्लिन समय लागेन। एकदिन सुनिल र झरना एकअर्कासँग विवाह गर्ने निर्णयमा पुगे। झरना सुनिललाई लिएर घरमा पुगिन्। आफ्ना बुबाआमालाई चिनाइन्। सुनिल आफन्त लिएर झरनाको हात माग्न पुगे। 

त्यो समय अहिलेको जस्तो उदार भैसकेको थिएन। झरना नेवारकी छोरी, सुनिल थापा क्षेत्री। झरनाका बुबा आफ्नी छोरीको विवाह आफ्नै जातको केटासँग गराउन चाहन्थे। ज्वाइँ सैनिक पेसाको हुनुपर्छ भन्थे। उनी सुनिललाई ज्वाइँ मान्न तयार भएनन्। त्यसैले दुवैले सहमतिमा भागी विवाह गरे। गुहेश्वरी मन्दिरमा उनीहरुको विवाह भयो। विवाहमा बुबाआमा थिएनन्, झरनाको मन नराम्रोसँग दुख्यो। 

सुनिलसँगको चिनजान त्यत्ति लामो थिएन। वैशाखमा भेटिएका उनीहरु असारमा विवाह गर्दै थिए। छोटो चिनजान, १७ वर्षको कच्चा उमेर विवाहपछिका केही दिन उनलाई निक्कै डर लाग्थ्यो। बुबाआमा सम्झिएर रुन्थिन्। सोच्थिन्, ‘यहाँ त मेरो कोही छैन्। मैले गल्ती पो गरेँ कि।’ विवाह भएको चार महिनापछि बल्ल बुबाआमाले बोलाए र उनको खुसी फर्कियो।​

विवाहको डेढ वर्षपछि आमा
विवाह गरेको डेढ वर्षपछि झरना आमा बन्ने भइन्। उनकी सासूले भनेकी थिइन्, ‘तिमी बच्चै छौ। अहिले बच्चा जन्माउनु हुँदैन।’ उनलाई सासूले गर्भनिरोधक चक्की पनि दिएकी थिइन्। तर झरना औषधि खान बिर्सिरहन्थिन्। त्यो समय महिनावारी रोकिएको दुई महिना हुन लागेको थियो। झरनाले नन्दलाई भनिन्। जाँच गराउँदा पोजिटिभ आयो। घरमा सबैजना खुसी भए।

कच्चा उमेरका कारण उनलाई आफ्नो ख्याल गर्नुपर्छ भन्ने लाग्दैनथ्यो। अस्पतालबाट दिएका औषधि समेत ठिकसँग खाइनन्। भान्सामा मासु र अण्डा पाक्यो भने उनलाई वाक्वाकी सुरु हुन्थ्यो। तर, आफूले नजाने पनि ख्याल गर्ने परिवारका सदस्य भएकाले उनलाई गर्भावस्थाको समय त्यति जटिल लागेन।

वैशाखको महिना थियो। डाक्टरले दिएको डेलिभरी डेट नजिकै आएको थियो। ३ बजे राति झरनाको पेट किटिक्क दुख्यो। यसप्रकारको दुखाइ उनले कहिल्यै महसुस गरेकी थिइनन्। त्यसैले डराइन् पनि। त्यो दुख्ने हराउने भइरह्यो। त्यसपछि उनलाई लाग्यो ‘आज म बच्चा पाउँछु।’ बिहान चाँडै उठिन्, नुहाइन्, पूजा गरिन्। सुत्केरी हुने बिहान उनलाई आफैँले बनाएको खाना खान मन लाग्यो। सबेरै किचनमा पसेकी बुहारी देखेर ससुराले भने, ‘आज किन यति छिट्टै भान्सामा पसेको?’ उनी हाँसिरहिन्, केही भनिनन्। 

पेट दुख्ने क्रम बढ्दै गएको थियो। बिहानको साढे ८ बजेको थियो उनले सासूलाई भनिन्, ‘ममी मलाई पेट दुख्न थाल्यो। बिहान ३ बजेबाट दुख्न थालेको। अहिले अलि धेरै गाह्रो भयो।’ सासूले गाली गरिन्, ‘व्यथा लागिसकेछ उभिएर यत्रो काम किन गरेको? बिहानै भन्नु पर्दैन?’ उनलाई सासूले मिश्रीको काढा तताएर खान दिइन्। अनि अस्पताल लगियो।

आफैँ मरौँ भनेर गरेको त्यो कामना
सुरुवाती महिनादेखि हिमालयन अस्पतालमा डा. जुनु थापालाई उनले देखाएकी थिइन्। तर, सुत्केरी हुनेबेला जुनु सेमिनारका लागि दिल्ली गएकी थिइन्। आफूलाई हेरिरहेको डाक्टर नहुँदा झरनालाई अरु डाक्टरमाथि विश्वास नै लागेन। झरनालाई कहाँ लगेर सुत्केरी गराउने भन्ने ठूलै छलफल भयो। त्यतिबेला सुनिलकी दिदी सुलोचना प्रसुतिगृहमा काम गर्थिन्। सुलोचनाले भनिन्, ‘सरकारी अस्पाताल भए पनि असाध्यै राम्रो छ, यहीँ ल्याउनू।’ झरना थापाथली अस्पताल भर्ना भइन्। 

अस्पतालको प्रसूति वार्डमा थुप्रै महिला आमा बन्ने तयारीमा थिए। कोही आमा बनेर आफ्ना बच्चासँग मुस्कुराइरहेका थिए। झरना भने चिच्याइरहेकी थिइन्। दुखाइ सहन नसकेर उनी कामना गर्थिन्, ‘हे भगवान मलाई मृत्यु देऊ, यो बच्चा चाहिँदैन। म जन्माउन सक्दिनँ।’ 

त्यो क्षण उनले आफ्नी आमालाई मात्रै सम्झिइन्। श्रीमान, सासू, ससुरा कसैको याद आएन। झरनालाई लाग्यो, ‘आमाभन्दा नजिक कोही हुन्न रहेछ।’ उनी आमाको हात समातेर रुन्थिन्। आमा उनलाई हेरेर रुन्थिन्। टाउकोबाट निस्किएको पसिनाले बेड लछप्पै भिजेको थियो।

लामो प्रसव व्याथापछि झरनाले छोरी जन्माइन्। तत्काल उनले बाचा गरिन्, ‘मलाई बच्चा पुग्यो। म यो सब अर्को पटक सहन तयार छैन।’ छोरीलाई देखेपछि उनले पीडा बिस्तारै बिर्सँदै गइन्। वरिपरि बसेर आफन्तले जिस्काउँथे, ‘अर्को बच्चा पाउने कि नपाउने?’ उनी भन्थिन् ‘नपाउने।’ उनकै अडानले जित्यो। झरनाले दोस्रो बच्चा जन्माइनन्। 

सबैले झरनाको पेट हेरेर भनिदिएका थिए, ‘छोरो जन्मिन्छ।’ सुनिलको मनमा त्यही छाप परेको रहेछ। छोरी जन्मिएपछि डा. सुलोचनाले (सुनिलकी दिदी) तिम्री छोरी भनेर हातमा दिइन्। त्यतिबेला सुनिल झस्किए। सुलोचनाले प्रसूति वार्डमै झरनालाई सुनाइन्, ‘तिम्रो बुढा त छोरी भन्दा झस्कियो, छोरा सोचिरहेको रहेछ क्यारे!’ झरनाले लामो समय सुनिललाई जिस्काउने बाटो पाइन्। 

सुत्केरी भएको तीन दिनपछि घर फर्किएकी झरना बिरामी भइन्। उनका स्तन गानिए। उच्च ज्वरो आयो। घरका सबै आत्तिए। उनलाई पुनः अस्पताल भर्ना गरियो। अस्पतालमा दूध निचोरेर फाल्नु पर्यो। छोरीलाई बोतलको दूध खुवाउनु पर्यो। उनको अवस्था हेरेर आफन्तले भन्थे, ‘यो त मर्छे कि क्या हो?’ छेउमा बसेर भाइ र आमा रुन्थे। अब भने झरनालाई बाँच्न मन थियो। उनले जीवनको कामना गरिन्। भन्छिन्, ‘आमा हुनु भनेको सानो कुरा होइन रहेछ।’

बिस्तारै उनी निको हुँदै गइन्। केही समय माइतीमा बसिन्। छोरीलाई केही हुँदा झरना निक्कै आतिन्थिन्। आमालाई फोन गर्थिन्। कहिले अस्पताल, कहिले धामीकहाँ लैजान्थिन्। झरनालाई छोरी जन्मिनुअघिसम्म धामीझाँक्रीको विश्वास लाग्दैनथ्यो। छोरी जन्मिएपछि त्यो अन्धविश्वास पनि विश्वासमा परिणत भयो। भन्छिन्, ‘मान्छेलाई जब दुःख पर्छ तब मान्छेले हरेक उपाय प्रयोग गर्दो रहेछ।​

समय दिन पाइनन् छोरीलाई
दाइजोपछि झरनाले अर्को फिल्ममा काम गरेकी थिइनन्। सुनिल ‘धर्मसंकट’ बनाउने तयारीमा थिए। सुहाना ७ महिनाकी हुँदै थिइन्। झरना छोरी छाडेर फिल्मको सुटिङमा निस्किइन्। धर्मसंकटमा उनको छोटो भूमिका थियो। १०/१२ दिनमा उनको सुटिङ सकिएको थियो। तैपनि उनलाई निकै गाह्रो भयो। धर्मसंकटमा झरना ‘मलाई नेपाली माया चाहिन्छ’ बोलको गीतमा नाचिन्। यो गीतको दृश्यमा झरनाले २२ जोर लुगा फेरेकी थिइन्। हरेक पटक लुगा फेर्दा दूध रसाएर उनको कपडा भिजेको हुन्थ्यो। अनि उनलाई लाग्थ्यो, ‘यहाँ मेरो दूध खेर गयो, घरमा छोरी भोकै छ।’ दौडिएर घर जान्थिन्। छोरीलाई दूध ख्वाउँथिन्। छोरी आँखा चिम्लिएर दूध तान्थिन्। झरना आँखा चिम्लिएरै शान्तिको श्वास फेर्थिन्। 

छोरी हुर्कने समय र झरनाको करिअर सुरु हुने समय एकै पर्यो। छोरीको हुर्काइमा आफ्नो सम्पूर्ण समय दिन पाइनन्। अहिले पछाडि फर्किएर हेर्दा उनलाई दुःख लाग्छ। 

‘आमाले दिनुपर्ने माया, समय, स्याहार दिन पाइनँ। अहिले सानो बच्चा खेलिरहेको देख्दा रहर लाग्छ। आमाहरुले आफ्ना साना नानीहरुलाई माया गरेको देख्दा लोभ लाग्छ र पछुतो पनि,’ उनी भन्छिन्, ‘मैले छोरीलाई बचपनमा माया दिनै पाइनँ। छोरीले टुकुटुक हिँड्दाको सम्झना छैन। उसले तोतेबोली बोल्दाको मिठो स्मृति मसँग छैन। मेरो जिन्दगीबाट छुटेको र सम्झँदा नमिठो लाग्ने कुरा हो यो।’​​

छोरी छोडेर फर्किंदा 
आमा भएपछि झरनाले कयौँ हिट फिल्ममा काम गरिन्। कालान्तरमा छोरी पढाउनका लागि विदेश जाने भइन्। सुहानाले ‘प्लस टु’ सकेपछि उनलाई दिल्ली पढाउन पठाएकी झरनालाई दिल्लीमा छाडेर आउन त्यत्ति गाह्रो भएन। दिल्ली मन लाग्दा जान सक्ने ठाउँ थियो। जब सुहाना अमेरिका पढ्न गइन्, झरनालाई छोरी छोडेर फर्किन निक्कै गाह्रो भयो। बाटोभरी रुँदै नेपाल फर्किन्। सुनिल पनि उनीसँगै रोए। झरनालाई लाग्यो, ‘सन्तान छोड्न सानो मनले नसकिने रहेछ।’

आमाबाबुको फिल्मी यात्रा हेर्दै हुर्किएकी सुहानाले फिल्मकै सपना देखिनन्। उनको सपना थियो प्रोडक्सन होम खोल्ने। झरनाले पनि छोरीलाई हिरोइन बनाउँछु भन्ने सोचेकै थिइनन्। झरनाले ‘ए मेरो हजुर ३’को स्क्रिप्ट सकिएर अनमोललाई फाइनल गर्न गएको दिन भुवन केसीले भने ‘यो फिल्ममा तिम्रो छोरीलाई खेलाऊ।’ झरनालाई पनि ‘हो क्या हो’ भन्ने भयो। त्यही फिल्मबाट सुरु भएको सुहानाको फिल्मी यात्राले लामो सम्भावना देखाएको छ। उनी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनको तयारीमा छ।

छोरीको सफलता देखेर मुस्कुराइरहेकी झरना भन्छिन् ‘अब फिल्म उद्योगमा नै राम्रो गर्न सकोस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .