NepalKhabar NepalKhabar

म्यागेजिन


सरस्वती ज्ञवालीको मातृत्व अनुभव: डाक्टरले १२ वर्ष आयु दिएकी छोरी ३४ वर्षकी बनाएँ

सरस्वती ज्ञवालीको मातृत्व अनुभव: डाक्टरले १२ वर्ष आयु दिएकी छोरी ३४ वर्षकी बनाएँ

अपाङ्गता भएकी छोरी र दुई छोरा हुर्काउँदै गर्दा भोगेका तितामिठा अनुभवको लामो फेहरिस्त छ सरस्वतीसँग (तस्बिरः विक्रम राई)


राधिका अधिकारी
बैशाख ११ , काठमाडौँ

–आमा हाम्रो नानुको विवाह गरिदिऊँ। मेरो सबै साथीका दिदीको बिहे भइसक्यो। 

–कस्ले गर्छ र बाबु यस्तो मान्छेलाई विवाह?

–उहीजस्तै मान्छेसँग गरिदिनु पर्छ।

एकदिन स्कुलबाट आउनासाथ उनका कान्छा छोराले झोला भुइँमा फाल्दै भने। कयौँ पटक आफूमाथि खसेको सगर थामेकी सरस्वती ज्ञवालीलाई यसपटक गाह्रो भयो। उनी छोराका आँखा छलेर निकै बेर रोइन्।

सरस्वतीलाई लाग्यो, ‘दिदीसँग गाँसिएर आउने छोराहरुका सबै खुसी तिनले देख्न नपाउने रहेछन्।’ 

सरस्वतीले हरेक दिन यस्तै नमिठा पलसँग ठोक्किएर बाँच्न थालेको ३४ वर्ष बितिसक्यो। 

कुटुम्ब खोज्न सजिलो हुन्छ भनेर छोरी पढाउने बेलामा सरस्वतीले आफू पढेर स्वावलम्बी बन्नुपर्छ भन्ने चेत पाइसकेकी थिइन्। उनका दावँली धेरै आमा बनिसक्दा पनि सरस्वतीको विवाह भएको थिएन। ‘छोरीले चाँडै विवाह गरोस्’ भन्ने बुबाको चाहनाविपरीत सरस्वती सक्रिय राजनीतिमा लागिन्। शिक्षण पेसा अँगालिन्। उमेर बढ्दै जाँदा विवाहका लागि आउने दबाब भनिसाध्य थिएन। उनी आफ्नो संगठनमा त्यो दबाबबारे सुनाइरहन्थिन्।

एकदिन संगठनकै एक जना दाइले दुइटा प्रस्ताव लिएर आए। पहिलो प्रस्ताव थियो, ‘एउटा सम्पन्न केटा छ। उसँग विवाह गर्यौ भने दुःख गर्नु पर्दैन।’

अर्को प्रस्ताव थियो, ‘अर्को इमान्दार केटा छ। उसँग विवाह गर्दा दुःख गर्नुपर्छ।’ 

सरस्वतीले दाइलाई जवाफ दिइन्, ‘मलाई इमान्दार मान्छे चाहिन्छ, दुःख जति पनि गर्न तयार छु।’ 

सरस्वतीले रोजेका इमान्दार पात्र थिए प्रदीप ज्ञवाली। 

२०३६ सालमै वामपन्थी आन्दोलनमा होमिएर भूमिगत भएका प्रदीपसँग सरस्वतीको २०४१ सालमा भूमिगत अवस्थामै विवाह भयो।  

भूमिगत राजनीतिमा लागेका प्रदीपलाई भेट्न लामो समय प्रतीक्षा गर्नुपर्थ्यो। भेट भएर छुट्टिँदै गर्दा ‘फेरि भेट हुन्छ कि हुँदैन, यही भेट अन्तिम हुन पनि सक्छ’ भन्ने भावले विदा गर्नु पथ्र्यो। पीडाको गाँठो फुकाएर रुने काँध हुन्थेन। 

विवाहपछि उनले शिक्षण र राजनीति छाडेकी थिइनन्। विवाहको तीन वर्ष बित्नै लाग्दा वरपरकाले ‘अब ढिला भएन’ भनेर प्रश्न गर्न सुरु गरिसकेका थिए। महिनावारी भएर पधेँरोमा नुहाउन जाँदा साथीहरु भन्थे, ‘ल अहिले पनि!’

त्यहीँ अर्को आवाज सुनिन्थ्यो, ‘कान्छा घरै आउन्नन् अनि कहाँबाट हुन्छ त!’

सरस्वती लाजले निलो हुन्थिन्।

एक दिन उनकी सासूले निकै मलिन स्वरमा भनिन्, ‘तिमीहरुको सन्तान हेरेर मर्न पाए हुन्थ्यो। कान्छो पनि कता हो कता।’ 

यसो भन्दै गर्दा उनले सासूको अनुहारमा ठूलो पीडा दौडिएको देखिन्। त्यो पीडा उनको मनमा बिझिरह्यो। उनलाई लाग्यो, ‘राजनीतिमा हामीलाई केही भइहाले पनि हाम्रो सन्तान त रहन्छ।’ 

बिहान आँटो खाएर निस्किएकी सरस्वती स्कुल पुगेपछि बिरामी परिन्। उनलाई बान्ता भयो। झलमल्ल घाम लागेको समय पनि उनले अँध्यारो देखिन्। कमजोरी महसुस भयो। त्यही कमजोरीले उनको जिन्दगीमा खुसी बोकेर ल्यायो। २०४४ सालमा सरस्वती दुई जिउकी भइन्।

घर गएर सासूलाई ‘म गर्भवती भएँ’ भन्न सक्ने जमाना थिएन त्यो। नजिकै अस्पताल थिएनन्। गर्भावस्थामा जँचाउने चलन थिएन। गर्भवती भएपछि सरस्वतीलाई खुसी कम डर धेरै लाग्यो। गर्भवती महिलाले गर्भ छ भनेर घरमा बस्ने छुट पाउँदैनथे। नियमित गर्दै आएका सबै काम गर्नै पथ्र्यो। उनले पनि गरिन्। गर्भावस्थामा मन लागेका खानेकुरा खान पाइनन्। अहिले फर्केर ती भोगाइ सम्झिँदा उनलाई दन्त्य कथानजस्तै लाग्छ। 

गर्भावस्थामा आएका शारीरिक र भावनात्मक परिवर्तन सुनाउने श्रीमान् साथमा थिएनन्। सहयात्री भएर पनि जिन्दगीका कठिन क्षण एक्लै गुजारेकी सरस्वतीले समयसँग गुनासो भने गरिनन्।

उनी गर्भवती भएपछिको एक साँझ प्रदीप घरमा आए। उनीहरुले रातभर कुरा गरे। दुवैलाई आफ्नो पहिलो सन्तान छोरी भइदियोस् भन्ने थियो। त्यही रात गर्भमा भएको बच्चाको नाम उनीहरुले राखे– क्षितिज। त्यतिबेला प्रदीपले भनेका थिए ‘म आकाश, तिमी धर्तीजस्तो भएका छौँ। यी दुईको मिल्ने बिन्दु क्षितिज हो। हाम्रो मिलन पनि सन्तानको कारण दोहोरिरहने छ।’ 

सरस्वती र प्रदीपले कल्पना गरेको जस्तो सुन्दर हुन सकेन क्षितिजको पेट भित्रको हुर्काइ। सरस्वतीको गर्भ सात महिनाको हुँदै थियो। एक साँझ उनको घरमा छापा मार्न प्रहरी गाउँ पसेको खबर आयो। सरस्वती आफ्ना श्रीमानले पठाएका चिठी, पार्टीका कागजपत्र लुकाउन गोठमा गइन्। गोठबाट उनी निस्कने बेलासम्म उनको आँगनमा प्रहरीले बुट बजारिसकेको थियो। गोठमा उक्लिँदा भर दिएको लिस्नोले झर्दा दिएन। उनी लिस्नो सहित खसिन्। त्यो चोटको असर गर्भमा हुर्किंदै गरेको क्षितिजमा पर्यो। 

प्रदीपको कानमा केही दिनपछि यो खबर पुग्यो। उनी आधारातमा घर आए र राति नै सरस्वतीलाई लिएर पाल्पा गए। डाक्टरले भनेका थिए, ‘बच्चा नजन्मिँदासम्म अस्पताल भर्ना भएर बस्नुहोस्।’

अस्पताल बस्न सक्ने अवस्था थिएन। उनलाई लाग्यो, ‘बाहिर चोट लागेको छैन, भित्र बच्चा स्वस्थै होला।’

औषधि बोकेर उनी घर फर्किन्।

सुत्केरी हुने दिन नजिकिँदै थियो। प्रदीप देखिनेगरी घर आउन मिल्दैनथ्यो। आएनन् भनेर गुनासो गर्ने ठाउँ थिएन। उनलाई त्यो समय लाग्थ्यो, ‘उहाँ आएर भन्दा नआएर सुरक्षित हुनुहुन्छ। म त परिवारसँग छु।’

२०४४ साल चैतको शुक्रबार सरस्वती स्कुल पढाएर साँझ फर्किन्। एक घण्टाको ओरालो बाटो बेसी झरिन्। दाउराको भारी बोकेर अबेर घरमा पसिन्। खाना आफैँले बनाइन्। खाना खाइसक्दा पेट दुखेको जस्तो भयो। उनले सुत्केरीपछि चाहिने सामग्री नजिकै राखिन्। त्यसपछि आफ्नो बिछ्यौनामा पल्टिन्। त्यो रातभर उनी निदाउन सकिनन्। व्यथा लाग्ने छोड्ने क्रम चलिरह्यो। मझेरीमा उचालिने पछारिने गरिरहिन्। बिहान २ बज्न लागेपछि सासूले थाहा पाइन्। उतिबेला ‘बाँचे सुत्केरी मरे काल’ भनिन्थ्यो। सरस्वतीले पनि आफ्नो जीवनको माया मारेकी थिइन्। बिहानको ३ बजे सरस्वतीले छोरी क्षितिजलाई जन्म दिइन्।

सरस्वती पहिलो पटक आमा बनिन्। सासूले कान्छा छोराको सन्तान देखिन्। लामो समय व्यथा लागेपछि सरस्वतीलाई लागेको थियो, ‘मेरो बच्चा ठूलो रहेछ सजिलै जन्मिन सकेन।’ छोरी जन्मिएको लामो समय रोइनन्। अरु बच्चा जस्तो सामान्य थिइनन् क्षितिज। समय नपुग्दै जन्मिएकी उनी असाध्यै सानी थिइन्।

क्षितिजको जन्मपछि घरमा एकाएक सन्नाटा छायो। उनकी छोरी कसैले समाउन सकेनन्। आफैँले छोरी समातेर नाल काटिन्। सासूले आँखाभरि आँसु पारेर हेरिरहिन्। धुँदा पनि उनकी छोरी रोइनन्। त्यसपछि सबैजना झन् आत्तिए। सरस्वतीले टाउको तल पारेर थपथप गरिरहिन्। आधा घण्टापछि उनकी छोरीले ‘अहँ...’ गरिन्। 

उनकी छोरीले ११ दिनसम्म दूध चुस्न सकिनन्। चलमलाउन सकिनन्। भेट्न आउने साथीहरुले भने, ‘सरस्वती मिसले दुःख पाउनु भयो, बच्चा बाँच्दैन।’

साथीको बचनले सरस्वतीको मुटु चिरा पार्यो। प्रदीपले नभेटी छोरीको मृत्यु हुने हो कि भन्ने पीरले उनलाई निकै सतायो। उनलाई लाग्यो, ‘कम्तीमा छोरी जिउँदै हुँदा उहाँ एक पटक आइपुगे हुन्थ्यो।’ तर न खबर पठाउने माध्यम थियो, न चिठी पठाउने ठेगाना। आफैँभित्र पिल्सिएर बस्नुको विकल्प थिएन। 

नातिनीको छैठीमा राम्रो लेखियोस् भनेर छोरी जन्मिएको छैटौँ दिन उनकी सासू रातभरि दियो बालेर बसिन्। सरस्वतीले भनिन्, ‘यो बाँच्ने त हो कि होइन, के को भाग्य लेखिनु हो।’ सासू बुहारी रातभरि रोए। सरस्वतीकी सासूले गहभरी आँसु पार्दै भनिन्, ‘यसको सास हुँदै कान्छो आएर ढोका ढक् ढक् गरे पनि हुने।’ 

छोरी जन्मिएको नवौँ दिनको मध्यराति प्रदीप ढोका ढकढक्याउन आइपुगे। उनले आफ्नी छोरीको अवस्थाका बारेमा पहिल्यै थाहा पाइसकेका थिए। उनले छोरी र श्रीमती दुवैलाई हेर्न सकेनन्। एकोहोरो अगेनामा बलेको आगो हेरेर टोलाइरहे। उनी आमासँग पनि बोल्न सकेनन्। जिन्दगीमा थुप्रै उतारचढाव देखेकी सरस्वतीलाई त्यो भन्दा भयानक दृश्य अरु लागेका छैन्। 

एक त जन्मिँदै सानी, त्यसमाथि पनि ५/६ महिनासम्म क्षितिजले कुनै प्रतिक्रिया जनाइनन्। उनी आँखा पनि चलाउन सक्दिनथिन्। शारीरिक हुर्काइ पनि निकै कम थियो। सरस्वती दम्पतीलाई छोरीको पीरले सताउन थाल्यो। उनीहरु छोरीको उपचारका लागि बुटवल आए। आँखाका डाक्टरलाई देखाए। उनीहरूले आँखाको समस्या नभएको बताए।

त्यसपछि उनीहरु छोरी बोकेर काठमाडौँ आए। डा. रामेश्वर श्रेष्ठलाई देखाए। डाक्टरले भने, ‘चोटका कारण उनको मस्तिष्क पक्षघात भएको छ, यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन।’ 

त्यसपछिका कयौँ वर्ष उनले अनिँदो रात काटिन्। हलचल नगर्ने छोरीलाई बेलाबेला छामिरहन्थिन्। छोरीको शरीरमा तातो भेटिएपछि सोच्थिन्, ‘अहिलेसम्म त जिउँदै रहिछ।’ 

कहिलेकाहीँ घर आउँदा प्रदीप छोरीको पीडा हेर्थे र भन्थे, ‘मलाई छोरीको बारेमा केही खबर नपठाएस्, म खप्न सक्दिनँ।’ 

आमालाई त सन्तानको पीडा देख्न नसकेर भाग्ने छुट पनि नहुने रहेछ। उनले पनि पाइनन्।

बिरामी छोरी बोकेर पनि सरस्वतीले संगठन छाडिनन्। त्यतिबेला संगठन बिस्तार गर्न जाँदा उनकी सासूले सिकाएकी थिइन्, ‘पहेँलो अक्षता र थोरै मास पोको पारेर झोलामा बोकेर हिँड्नू। प्रहरीले भेटिहाल्यो भने छोरीको उपचारमा गएर फर्किएको भन्नू।’

प्रहरीलाई छक्याउन उनलाई सजिलो भयो।

छोरी हुर्काउन उनले गरेको संघर्ष भनिसाध्यै छैन। कयौँ पटक छोरीलाई केही होला कि भनेर अस्पताल लान्थिन्। तर, आश मारेर फर्किनुपर्थ्यो। छोरी ८ वर्षकी भएपछि सरस्वतीले डाक्टरलाई भनिन्, ‘मेरो छोरीको अवस्था के हो अन्तिम निष्कर्ष दिनुस्।’ 

डाक्टरले भने, ‘एउटा फुल फुट्यो भन्ने सम्झिनुस्। उसको उपचार संसारको कुनै पनि कुनामा सम्भव छैन। कोपिला लागेको सबै फूल फक्रिँदैनन्। अब अर्को बच्चाको बारेमा सोच्नुस्।’

सरस्वतीले आफ्नी छोरी वैद्यलाई पनि देखाइन्। वैद्य तरणराज पण्डितले ६ महिनापछि उपचार नगर्न भनेका थिए। सरस्वतीको मन मानेन। उनले लामो समय वैद्यको औषधि खुवाइन्। डाक्टरले १२ वर्ष, वैद्यले ६ महिनाभन्दा बाँच्दिनन् भनेकी सरस्वतीकी छोरी अहिले ३४ वर्षकी भइन्। 

हिजोआज उनलाई लाग्छ, ‘डाक्टर, वैद्यभन्दा ठूलो सन्तानको लागि आमा रहेछ। डाक्टरले १२ वर्षको आयु दिएकी मेरी छोरी ३४ वर्षकी बनाएँ।’ 
***

२०४७ सालमा सरस्वती दोस्रो पटक गर्भवती भइन्। छोरी गर्भमा हुँदा उनले राम्रोसँग खाना खाइनन्। दोस्रो पटक उनलाई सबैले गाली गरे। खानेकुरामा जोड दिए। देशमा बहुदल आइसकेको थियो। एक दिन गुल्मीको रिडीमा ठूलो कार्यक्रम थियो। त्यो कार्यक्रममा जाँदा उनले सुटुक्क जँचाइन्। नर्सले भनिन्, ‘तपाईंको पेटमा बच्चा छ।’ सरस्वतीले एउटा सानो चिर्कटोमा आफ्ना श्रीमानलाई लेखिन्, ‘तपाईंलाई समय मिल्यो भने डाक्टरले यो दिनको डेट दिएको छ। त्यो दिन घर आइपुग्नुहोला।’ 

सरस्वतीले आफ्ना श्रीमानसँग राखेको पहिलो माग यही थियो। 

सरस्वती सुत्केरी हुने अघिल्लो दिन प्रदीप घर आइपुगे। प्रदीप त्यही दिन फर्किन चाहन्थे। सरस्वतीले भनिन्, ‘भोलिको दिन बस्नुस्।’ त्यही साँझ खाना खाइनसक्दै सरस्वतीलाई व्यथा सुरु भयो। जुठोभाँडो गर्न गाह्रो भएको थियो। फेरि उनलाई लाग्यो, ‘म मरिहालेँ भने जुठो भाँडा छोडेर मरी भन्छन्।’

उनले सकिनसकी भाँडा माझिन्, चुलो लोटाइन र आफ्नो कोठामा पसिन्।  

सरस्वती सुत्न सकिनन्। व्यथाले च्याप्दै लगेपछि सरस्वतीले श्रीमानलाई भनिन्, ‘तपाईं यहीँ सुत्नु हुन्छ कि माथि कोठामा जानुहुन्छ?’ 

‘किन?’ प्रदीपले प्रश्न गरे।

उनले भनिन् ‘अब मलाई सुत्केरी व्यथा सुरु भयो। तपाईंलाई डर लाग्छ भने माथि जानुस्। डर लाग्दैन भने तपाईं लेखक मान्छे हो, अनुभूत गर्नु हुन्छ भने बस्नुहोस्।’

प्रदीप कालोनिलो भए। सोधे, ‘म के गरौँ।’ सरस्वतीले भनिन् ‘पानी बसाल्नुस्।’ सरस्वतीलाई व्यथाले च्याप्यो। प्रदीपले न आमालाई थाहा दिए, न त छिमेकीलाई नै। श्रीमतीलाई आफैँले सघाए। रातको ११ बजे सरस्वतीले छोरो जन्माइन्। आफैँले नाल काटिन्। प्रदीपले पानी हालिदिए। उनले छोरो पखालिन्। छोरो रोएपछि सरस्वतीकी सासू तल झरिन्। प्रदीपले बल्ल थाहा पाए ‘कति दुःख सहेपछि म बा बन्ने रैछु।’ 

दोस्रो सन्तानका रुपमा प्रशान्त जन्मिएपछि घरमा खुशीयाली छायो। 

छोरो जन्मिएको भोलिपल्ट सबैले प्रदीपलाई बधाई दिए, अबिर लगाइदिए। सरस्वतीलाई लाग्यो, ‘रगत आहालमा डुबेर, जीवन मरणको संघर्ष गरेर छोरो जन्माएको त मैले हो। यो समाजले बधाईको त्यो रातो टीका आमालाई लगाइदिन किन सकेन?’ 

क्षितिज जन्मिँदा तर्किएर हिँडेकाहरु छोरो जन्मिएपछि छैठी मनाउन आए। सरस्वतीलाई मन परेन। उनले बाहिर निस्किएर भनिन्, ‘किन आउनु भएको होला?’ 

उनीहरुले भने, ‘बाबु जन्मिएको छैठी मनाउन।’ 

उनले भनिन्, ‘सन्तान त मेरो पहिला पनि जन्मिएको हो। तपाईंहरुलाई महसुस भएन, आउनु भएन। मेरी छोरी जन्मिँदा आउनु भएको भए आज पनि ठिक थियो। मेरा लागि दुवै सन्तान बराबरी हुन्। मन नदुखाइ फर्किनु होला।’ 

छैठी मनाउन आएका सबै फर्किए। 

प्रशान्त जन्मिएको ३ वर्षपछि कान्छो छोरा स्वागत जन्मिए। अहिले दुवै छोरा तन्नेरी भइसके। भाइहरु दिदीलाई नानी भन्छन्। भाइहरुको आवाज सुन्दा खुसी हुन्छिन् क्षितिज। छोरी मुस्कुराएपछि उज्यालो हुन्छ सरस्वतीको क्षितिज। 
***

एउटी अपाङ्गता भएकी छोरी र दुई छोरा हुर्काउँदै गर्दा भोगेका तितामिठा अनुभवको लामो फेहरिस्त छ सरस्वतीसँग। अरुका दिदीजस्तै आफ्नी दिदीसँग घुम्न नपाएर छोराहरुले मन दुखाएको देख्दा उनले कति आँसु बगाइन्, हिसाब छैन। उनले सक्रिय राजनीति छाडिन्। गर्दागर्दैको जागिर छाडिन्। सम्पूर्ण समय सन्तानको लालनपालनमा लगाइन्। 

छोराहरु हुर्किंदैछन्। आफ्नो उमेर घर्किंदै छ। क्षितिजलाई लिएर सरस्वतीको मन पोल्न छाडेको छैन। छोराहरुको बिहेवारीपछि बुहारीले छोरीलाई कस्तो व्यवहार गर्ने हुन् भनेर उनी पिरोलिइरहन्छिन्।

छोरी भएर पनि छोरीको अभाव महसुस गरिरहेकी सरस्वतीलाई आशा त लाग्छ, ‘बुहारीको रुपमा एकदिन छोरी भित्रनेछिन् मेरो घरमा। मैले जिन्दगीभर भोगेको छोरीको अभाव पुरा गर्नेछिन्।’

फेरि सम्झिन्छिन् ‘सोचेको जस्तो कहाँ होला र!’

कहिलेकाहीँ नचाहेरै कामना गर्न पुग्छिन्, ‘हामीभन्दा अगाडि गइदिए हुन्थ्यो।’

सोचिसक्दा उनका आँखा टिलपिल हुन्छन्। भरिएका आँखाले छोरीको टाउको मुसार्छिन्। क्षितिज आमाको काखमा टाउको राखेर ताली बजाउँछिन्। सरस्वती सारा पीडा भुलेर छोरीसँगै मुस्कुराउँछिन्। 
 

बैशाख ११, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.