ad ad

म्यागेजिन


लोकगायिका टीका पुनको मातृत्व अनुभव : छोरो बोलेको दिन मन्दिरमा रोएँ

लोकगायिका टीका पुनको मातृत्व अनुभव : छोरो बोलेको दिन मन्दिरमा रोएँ

राधिका अधिकारी
असोज १०, २०७९ सोमबार ८:२९, काठमाडौँ

मध्यमवर्गीय किसान परिवार। तीन दिदी र दुई दाइकी कान्छी बहिनी टीका पुनले सानैबाट जिम्मेवारीको भारी उठाउनुपर्यो। सानैमा बुवाको मृत्यु भयो। बाल्यकालमै दिदीहरूले घरजम गरे। घरमा भएका दाजु बोल्न सक्दैनथे। बोल्नसक्ने दाजुले बालखैमा घर छोडेर हिँडिदिए। आमा र दाजुको सारथी भएर टीकाको बाल्यकाल बित्यो। 

जिम्मेवार मान्छेले जिन्दगीको कैयौं बाटो एक्लै हिँड्नुपर्छ भनेर बुझ्न टीकाले हुर्किनु परेन। गाईवस्तु हेर्ने, घाँस काट्ने, घरका थुप्रै जिम्मेवारी काँधमा बोकेर हिँड्दै गर्दा उनका साथीभाइ उतिसाह्रो भएनन्। त्यहीताका उनको साथी बन्यो रेडियो। रेडियोमा बजेका गीत गुनगुनाउँदै उनले घर भित्र–बाहिरका काम गरिरहिन्। 

घरको आर्थिक अवस्था कमजोर थियो। अभाव थियो। तर बुवा हुँदासम्म उनलाई दुःख थाहा थिएन। उनको पढाइ राम्रै थियो। विभिन्न स्वास्थ्य तालिम लिएकी टीका गाउँकी नर्सजस्तै भएकी थिइन्। सबैले डाक्टर्नी भन्थे। टीकालाई भने डाक्टर्नी बन्नु थिएन। उनी मनभरि कलाकार बन्ने सपना देख्दै हुर्किएकी हुन्। उनले गाएको गीत सुनेर गुरुहरूले भन्थे, ‘तिमी त भोलि ठूलो कलाकार बन्छ्यौ।’ 

स्कुलमा हुने गायनका हरेक प्रतियोगितामा टीका सधैं प्रथम हुन्थिन्। उनको यो स्थानले उनकै साथीले कतिपटक मन दुखाए भनिसाध्यै छैन। समय बित्दै जाँदा मन दुखाउने साथीले नै भन्न थाले, ‘तिम्रो स्वर राम्रो छ, तिमीले राम्रो गायिका बन्नुपर्छ।’ 

टीकाको सपनाप्रति भरोसा थपिँदै गयो। तर जीवनकै बलियो भर छुट्यो। बुवाको देहान्त भयो। आमाको एकांकी जीवनको भरथेग गर्ने जिम्मा उनको भागमा पर्यो।

प्रहरी जवानले मन पराएपछि... 
सुर्खेतमा रहेको बागिना समूहमार्फत टीका गीत गाउन थुप्रैपटक काठमाडौं आइन्। त्यतिबेला काठमाडौंमा नारायण रायमाझीको रिमा रेकर्डिङ स्टुडिओ थियो। रायमाझीले त्यही बेला टीकाको स्वरमा लामो सम्भवाना देखेका थिए।

उनले भनेका थिए, ‘बहिनी तपाईंको स्वरमा सम्भावना छ, मिल्छ भने काठमाडौं बस्नू।’

टीकाका बुवा भर्खर बितेका थिए। घरमा एक्ली आमालाई छाडेर करिअर अगाडि बढाउने हिम्मत उनलाई आएन। उनी घर फर्किन्। 

छोरीको फक्रिँदै गएको जीवन, आमाको आत्मविश्वास कमजोर बनाउँदै आएको बुढ्यौली, त्यही बुढ्यौलीले टीकाकी आमालाई पिरोलिरहन्थ्यो। उनकी आमालाई छोरीको विवाहको चिन्ता थियो। उनी छोरीको विवाह गरेर आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्थिन्। त्यही समय घरनजिकैको ब्यारेकमा रहेका एक प्रहरी जवानले टीकालाई मन पराए। उनी टीकाको हात माग्न आमाकहाँ पुगे। टीकाले सर्त राखिन्, ‘मैले कलाकार बन्न पाउनुपर्छ।’ त्यसपछि टीकाको विवाह भयो। 

लाज मान्दै आमा बनिन्
विवाह गर्दा टीकाको उमेर १७ वर्ष पुग्दै थियो। भर्खर एसएलसी सकेकी टीकाको सपना देशको ठूलो कलाकार बन्ने थियो। आमाको सपना देख्ने उमेर नै भएको थिएन सायद। तर सपना नदेखी नै उनी आमा बन्ने भइन्। महिनावारी रोकिएको ३ महिनासम्म टीकाले थाहै पाइनन्– के भइरहेको छ भन्ने कुरा? महिनावारी रोकिएपछि पेटमा बच्चा आउँछ थाहा थियो, तर बच्चा पेटमा आएपछि देखिने लक्षण भनेर आमाले सुनाएका केही लक्षण उनमा देखिएका थिएनन्। उनले दिदी र आमालाई आफ्नो महिनावारी रोकिएको सुनाउन सकिनन्। दुईजिउकी भएको चार महिनापछि बल्ल उनलाई बान्ता हुन सुरु भयो। एकदिन उनकी दिदीले बान्ता गर्दै गरेको देखिन्। दिदी आफैंले शंका गरिन्। टीकाले त्यसपछि बल्ल श्रीमानलाई आफू गर्भवती भएको कुरा सुनाइन्। उनका श्रीमानले चेकअप गराउन अस्पताल लगे। टीक लजाउँदै डाक्टरकहाँ गइन्।

गर्भावस्थाको पूरै समय टीकाले आफ्नो पेट पछ्यौरीले ढाकेर हिँडिन्। उनलाई आफ्नो उक्सिएको पेटसँग निक्कै संकोच थियो। देशमा संकटकाल लागेको थियो। टीकाका श्रीमानले संकटकालकै कारण उनलाई माइतीमै छोडेका थिए। घरखेतको काम गर्दै उनले आफ्नो गर्भावस्था गुजारिन्। सुत्केरी व्यथा लागेको दिन आमाले थुप्रैपटक अस्पताल जाऊँ भनेकी थिइन्। तर टीकाले लाजका कारण अस्पताल जान मानिनन्। उनले ढिपी गरिन्, ‘म घरमै बच्चा जन्माउँछु।’

लामो सुत्केरी व्यथा लाग्यो। टीका आफ्नै रगतको आहालमा डुबिन् तर बच्चा जन्मिएन। त्यसपछि उनकी आमाले उनलाई अस्पताल लगिन्। आकस्मिक शल्यक्रिया गरेर बच्चा निकालियो। डाक्टरले भने, ‘तपाईंकी छोरीको जिन्दगी ५ मिनेटले बाँचेको जिन्दगी हो। ५ मिनेट ढिला भएको भए हामीले पनि बचाउन सक्ने थिएनौं।’

उनकी आमा भर्खर जन्मिएको नातिनी हातमा लिएर बरर...रोइन्। आमाको आँसुले टीकालाई अस्पताल नजान जोड गरेकामा पछुतो भयो। आमा हुँदाको खुसीले भन्दा अब आमा छाड्नुपर्ने हो कि भन्ने भयले टीकालाई सतायो। उनले छोरीको अनुहार हेर्दै सोचिन्, ‘अब त मेरो छोरी भइन, आमालाई छाडेर श्रीमानको घर जानुपर्छ होला। मेरी एक्ली आमालाई कसले हेर्देला?’

आमाले झैं उनले पनि आँसु खसालिन, उनले आमाका आँसु देखिन् तर आमाका अगाडि आफ्नो आँसु लुकाइन्। 

तीनमहिने छोरी बोकेर काठमाडौं
संकटकालमै टीकाका श्रीमान् भिडन्तमा परे। त्यसपछि उनले जागिर छाडिदिए। छोरी जन्मनुअघि नै टीकाले ‘यानी माया’ बोलको गीत गाएकी थिइन्। स्थानीय भाकाको उक्त गीत त्यही भेगमा लोकप्रिय पनि भएको थियो। छोरी जन्मिएपछि टीकालाई लाग्यो– ‘म यहीँ बसिरहेँ भने मेरो प्रतिभा यत्तिकै खुम्चिन्छ कि? सपना त्यसै हराएर जान्छ कि?’

उनलाई सपनाको माया लाग्यो। काठमाडौं आउने निधो गरिन्। 

सजिलो थिएन झट्ट उठेर काठमाडौं आउन। उनको सानो किराना पसल थियो। निरक्षर उनकी आमाले चलाउन सक्ने अवस्था थिएन। अर्कातिर आमालाई सम्झाउन पनि सजिलो थिएन। बिस्तारै पसल हटाइन्।

आमालाई भनिन्, ‘आमा म अब मेरो सपनाका लागि संघर्ष गर्न निस्कन्छु। म राम्रो कलाकार बन्छु। मेरो राम्रो भएपछि आमालाई खुसी यसै पनि दिइहाल्छु।’

आमा राजी भइन्, टीका ३ महिनाकी छोरी च्यापेर श्रीमानसहित काठमाडौं आइन्। 

काठमाडौंमा उनका दाजु अर्जुन सुनाम गीत/संगीतमै संघर्ष गर्दै थिए। टीकालाई बस्ने ठाउँको समस्या भएन। समस्या थियो– रोजगारीको, रोजिरोटीको। कामको खोजीमा जावलाखेलको एक दोहोरी साँझमा पुगिन्। उनलाई दोहोरी गाउन आउँदैनथ्यो। दोहोरी साँझमा काम गर्न थालेपछि नै जोडिएको हो– टीका र दोहोरीको साइनो। यही साइनो अन्ततः उनको जीवनको सारथि बनिदियो। 

छोरी सम्झेर दोहोरीमा आँसु
गायनमा भविष्य खोज्न आएकी टीकालाई दोहोरी साँझमा गाउनुपर्ने बाध्यता थियो। तर घरमा ३ महिनाकी छोरी छाडेर हिँड्नुपर्दाको घाउ नमीठोसँग दुखिरहन्थ्यो। लामो समय छोरीलाई दूध ख्वाउन नपाउँदा उनका स्तन गानिन्थे। शौचालयमा पसेर कपडामा दूध दुहेर फाल्थिन्। स्तनबाट दूधका धारा र आँखाबाट आँसुका धारा बराबरी बग्थे। कहिलेकाहीँ गीत गाउँदा गाउँदै छोरी रोएको तर्कना आउँथ्यो। अर्को साथीलाई गीत गाउन लाएर मोटरसाइकल भएका साथीलाई भन्थिन्, ‘दाइ! मेरी छोरी धेरै रोई कि क्या हो? एकछिन पुर्याइदिनून।’

बबरमहलको कोठामा आउँथिन् र छोरीलाई दूध ख्वाएर फर्किन्थिन्। 

अरू भालेको डाँकमा ओछ्यानबाट उठ्थे। टीका दोहोरीबाट निस्कन्थिन्। घर आइपुग्दा बिहान ४ बज्थ्यो। थुप्रैपटक दोहोरीबाट फर्किंदै गर्दा परैसम्म सुनिन्थ्यो– छोरी रोएको। उनको मुटु गाँठो पथ्र्यो। सोच्थिन्, ‘मैले काम भनेर छोरीलाई अन्याय पो गरेँ कि?’ फेरि आफैंलाई सम्झाउँथिन्, ‘मैले यो दुःख उसैका लागि गरेकी हुँ।’

छोरी आफ्नै हिसाबले हुर्कंदै गइन्। टीकाले केही गीत रेकर्ड पनि गराइन्। गायनका सिलसिलामा थुप्रै प्रकारका वचन सुन्नुपर्यो। कतिपटक सुर्खेतको मान्छेले लोकगीत गाउन सक्दैन भनेर आवाज नै नसुनी फर्काईदिए। तर उनलाई एकदिन सफल हुन्छु भन्ने आत्मविश्वास थियो। त्यही समय उनले गाएको ‘सलल बहेको भेरी नदी’ बोलको गीत सुर्खेततिर चर्चित भयो। तथापि रेकर्ड गरेका गीत राम्रोसँग चलेनन्। टीकाको आत्मविश्वास एकदिन धर्मरायो। गीत/संगीतमा सफलता नमिल्दा उनी निरुत्साहित भइन्। विदेश जाने योजना बनाइन्। विदेश जानकै लागि स्वास्थ्य परीक्षण गर्ने क्रममा थाहा भयो– आफू गर्भवती रहेछु। त्यतिबेला उनकी छोरी ३ वर्षकी थिइन्। 

सानी छोरी, कमजोर आर्थिक अवस्था, लय समात्न नसकेको सांगीतिक यात्रा। यी सबै कुराले गर्दा विदेश जान बुनेको सपना पनि गर्भको बच्चाका कारण पूरा हुन सकेन। उनको परिवारले भनेको थियो, ‘भर्खरको गर्भ त हो विचार गर्ने कि!’ उनको मनले विचार गर्न मानेन। दोस्रोपटक आमा बन्ने निर्णय गरिन्। 

पहिलो छोरी भएकाले टीकालाई छोराको रहर हुनु स्वाभाविकै थियो। तर उनका आफन्त उनको पेट हेरेर लख काट्थे, ‘तेरो त फेरि छोरी हुन्छे।’ उनकी बालख छोरीलाई सोध्थे, ‘नानी तिम्रो आमाले भाइ पाउँछे कि बहिनी?’ उनकी छोरी भन्थिन्, ‘बहिनी।’ 

आफ्नाहरू नाक खुम्चाउँदै भन्थे, ‘बच्चाको बोली पुग्छ, फेरि टीकाको छोरी नै हुन्छ।’ टीकाको मन अमिलो हुन्थ्यो। उनले भाकल गरिन्, ‘हे मनकामना माई! मेरो छोरा होस्, म छोरो लिएर तपाईंको दर्शन गर्न आउँछु।’

उनले दोस्रोपटक थापाथली अस्पतालमा छोरा जन्माइन्। 

माया मारेको जीवन
छोरो पेटमा आएपछि टीकाले ‘जलेसी जमुना’बोलको गीत गाइन्। गीत चल्यो। टीकाले छोरो जन्माएर थापाथली अस्पतालको बेडमै भएका बेला म्युजिक कम्पनी क्यासेट बोकेर आउँथ्यो। टीका ‘सिग्नेचर’ गरेर पठाउँथिन्। उनी खुसी थिइन्। तर अस्पतालबाट डिस्चार्ज गर्ने बेला उनलाई एक्कासि १०४ डिग्री ज्वरो आयो। उनी अस्पतालमै थन्किइन्। त्यसपछि उनलाई लगातार ज्वरो आयो। उनी झण्डै अचेत अवस्थामा थिइन्। छोरालाई दूध ख्वाउन सकिनन्। अस्पतालमा रहेका अन्य आमाले उनका छोरालाई दूध खान दिए। उनका आँखाले यो दृश्य पनि हेर्न सकेनन्। उनी रुँदै भन्थिन्, ‘नाइँ मेरो बाबुलाई दूध नदिनू, म आफ्नै दूध दिन्छु।’ अस्पतालमै उनले आफ्नो दूध। दूधदानीमा दुहेर ख्वाइन्। 

उनी झण्डै डेढ महिना अस्पताल बसिन्। रोग पत्ता लागेन। काठमाडौंका धेरै अस्पतालका डाक्टर उनको जाँच गर्न थापाथली अस्पताल आउँथे। रोग पत्तो नलगाई फर्किन्थे। दिनको पाँच पटकसम्म उनको शरीरबाट रगत निकाल्नुपथ्र्यो। अस्पतालको बेडमै टीकाले आफ्नो जीवनको माया मारिन्। डाक्टरलाई भनिन्, ‘मलाई यो सब सहन गाह्रो भयो, मलाई मार्दिनुहोस्।’ 

बिरामी आमा अस्पतालको एउटा कुनामा बसेर उनलाई कुरिरहेकी हुन्थिन्। आमाका आँखा कहिले ओभाना हुन्थेनन्। घरमा रहेकी सानी छोरी सम्झिन्थिन्, काखमा बोक्न नसकेको छोराको मायाले हुरुक्क हुन्थ्यो उनको मन। सोच्थिन्, ‘म मरेँ भने श्रीमानले अर्की ल्याउनुहुन्छ, मेरा छोराछोरीले कति दुःख पाउलान्।’

कहाली लाग्थ्यो, छोराछोरीको भविष्य सम्झिएर। 

एकदिन वीर अस्पतालबाट एकजना डाक्टर स्वास्थ्य परीक्षण गर्न आए। उनले सोधे, ‘बहिनी बस्ने कहाँ हो?’ उनले भनिन्, ‘बबरमहल।’ डाक्टरले फेरि प्रश्न गरे, ‘कोठाबाट अस्पताल आइपुग्न कति समय लाग्छ?’ उनले भनिन्, ‘५ मिनेट।’ त्यसपछि डाक्टरले भने, ‘तपाईं घर जानूस्।’

डाक्टरले एकपटक हेराउन सुझाव दिए। उनी घर फर्किन्। मातालाई देखाइन्। माताले बुटी बाँध्न लगाइन्। उनलाई सञ्चो भयो। तर यसप्रति सानैदेखि उनलाई विश्वास लाग्दैनथ्यो। यसपछि भने उनी अध्यात्ममा विश्वास गर्न थालिन्।

छोरो नबोल्दाको पीडा
१३ महिनाको छोरो छाडेर टीका पुनः गायनमा फर्किन्। टीकाका गीत चल्न थाले। ‘क्षितिज पारि उनको बस्तीमा, लालुपाते नुह्यो भुइँतिर’ लगायतका गीत लोकप्रिय भए। देश तथा विदेशमा कार्यक्रम पर्न थाले। टीकाको खुसीको दायरा फराकिलो बन्दै थियो। तर उनका छोरा सामान्य रूपमा बच्चाहरू बोल्ने समयमा बोलेनन्। ढिला होला, बोल्लान् भन्ने भयो। तर उनका छोराले आमा, बाबाबाहेक केही बोल्न सकेनन्। उनी अस्पताल, धामीझाँक्री सबैतिर धाइन्। धेरैले उनलाई भने, ‘तेरो छोरा मामा गोता गयो, अब बोल्न सक्दैन।’ छोराको नफुटेको बोलीले टीकाका आँसु कहाँ झरेनन् होला। घरपरिवारले फालेर विदेश जा भनेको छोरो, त्यसमाथि बोल्दैन, उनको छातीमा बारम्बार गाँठो पथ्र्यो। पिरैपिरमा डुबेकी टीकालाई आफन्तले भन्दिए, ‘मनकामना बक्केश्वरी लगेपछि तिम्रो छोरो बोल्छ।’

अहिलेजस्तो केबलकार थिएन। उनी छोरो बोकेर खाली खुट्टा बक्केश्वरी पुगिन्। त्यसपछि विस्तार विस्तार उनका छोरा बोल्न थाले। उनी अचम्ममा परिन्। त्यतिबेला उनका छोरा ४ वर्षका भएका थिए। 

छोरो बोलेपछि टीकाको मनमा के आयो थाहा छैन। उनले घरमा राखेको मन्दिरमा गएर टाउको ठोकेर निकै बेर रोइन्। भगवानलाई धन्यवाद दिइन्। त्यसयता टीकाले गायनमा पनि पछाडि फर्किएर हेर्नुपरेको छैन। 

छोराछोरी हुर्किने क्रममा टीकाले निकै संघर्ष गरेकी छन्। छोराका साना रहर पूरा गर्न नसकेर थुप्रैपटक आँसु खसालेकी छन्। देशका थुप्रै मेला–महोत्सवमा पिँठ्युमा छोरी, काखमा छोरा बोकेर हिँडेकी छन्। उनले छोराछोरी बोकेर महोत्सवमा हिँडेको देख्दा त्यहाँ महिला उनलाई हरेर रुन्थे। भन्थे, ‘आफैं त बच्चाजस्ती छ, दुईवटा बच्चा बोकेर गीत गाउन आएकी छ, कस्तो संघर्ष गर्न सकेको!’

अहिले उनका छोराछोरी हुर्किए। छोरीले १२ पास गरिन्। गीत/संगीतमा रुचि राख्छिन्। दुईवटा कभर सङ पनि गाएकी छन्। टीकाले छोरीसँग वाचा गरेकी थिइन्, ‘तिमीले १२ पास गरेपछि तिम्रो आफ्नै गीत रेकर्ड गराइदिने छु।’

उनी आफ्नो वााचा पूरा गर्ने तयारीमा छिन्। छोरा ८ कक्षामा पढ्छन्। किबोर्ड बजाउन रुचि राख्छन्, खेलकुदमा सपना देख्छन्। टीकालाई छोराछोरीको सपनाको सारथि बन्दै जीवन बिताउनु छ। उनलाई आफूले जीवनमा खाएका थुप्रै हण्डरका कारण एउटाले सरकारी जागिर खाइदिए हुन्थ्यो भन्ने त लागिरहन्छ। तर आफ्नै कैयौं सपना छाडेर हिँडेकी टीका छोराछोरीका सपनामा सँगसँगै हिँड्न चाहन्छिन्। नेपाली लोकगायनका क्षेत्रमा टीकाको बेग्लै पहिचान छ। टीका जिन्दगीसँग सन्तुष्ट छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .