म्यागेजिन


काठमाडौँमा कीर्तिमानी जित निकाल्ने पद्मरत्नको त्यो विस्फोटक भाषण

काठमाडौँमा कीर्तिमानी जित निकाल्ने पद्मरत्नको त्यो विस्फोटक भाषण

तस्बिरः पद्मरत्न तुलाधरको फेशबुक पेजबाट


सीताराम बराल
कात्तिक ६ , काठमाडौँ

त्यो चुनावमा काठमाडौँ सहरको मात्र होइन, काँठका इलाकाको मत पनि उत्तिकै निर्णायक हुने समय थियो। तर, उनले चुनाव जित्न ‘तपाईंहरुका घर–घरमा पानी, बाटो र बिजुली पुर्याइदिन्छु’ भन्ने धूर्त आश्वासन मतदाताहरुलाई दिएनन्।  

अंग्रेजी साहित्यमा डिग्री हासिल गरेकाले उनी अंग्रेजी भाषामा पोख्त थिए। तर, जागिरका लागि उनले अन्तर्राष्ट्रिय संघ–संस्था रोजेनन्। बरु आफ्नो मातृभाषा ‘नेपाल भाषा’ लगायत देशभरका जाति–जनजातिले बोल्ने भाषाको उत्थानमा सदैव सक्रिय रहे। 

तर, उनले नेवार जाति र नेपाल भाषाका नाममा आफ्नो समुदायसँग भोट मागेनन्। जाति र भाषाका आधारमा दिइने भोटको आवश्यकता आफूलाई नभएको सार्वजनिक उद्घोष नै उनले गरे। 

आफूले आफैँलाई ‘लोकतन्त्रका मसिहा’ दाबी गर्ने प्रचलन विपरीत जनतासँग आफूलाई त्यसरी प्रस्तुत गरेनन्, जबकि लोकतन्त्रका लागि भएको संघर्षमा उनी सधैँ अग्रमोर्चामा थिए, पटक–पटक जेल परेका थिए। 

निर्वाचनमा आफ्नो विजयबाट प्रजातन्त्र स्थापना हुने र क्रान्ति सम्पन्न हुने हावादारी दाबी पनि उनले गरेनन्। आफूले जित्दैमा जनताका दुःखका दिन सकिने भ्रम पनि मतदाताहरुसमक्ष बाँडेनन्।  

देशका लागि बलिदानको आवश्यकता छ भने बलिदान दिन तयार पात्र ठानेर मतदान गरिदिन मात्र उनले काठमाडौँका जनतासँग आग्रह गरे। 

उनको यो आग्रहलाई निर्वाचनमा काठमाडौँका जनताले भव्य अनुमोदन गरे। उनी थिए पद्मरत्न तुलाधर, जो २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौँबाट ८६ हजार मतका साथ विजयी भएका थिए। 

त्यो चुनावमा उनले प्राप्त गरेको यति ठूलो मत काठमाडौँको हकमा ‘भूतो न भविष्यति’ बनेको छ। 

आफूले प्राप्त गरेको यो मतको सम्मान उनले सदैव गरिरहे। चुनावमा जनतासँग गरेको बाचाअनुसार राष्ट्रिय पञ्चायतबाटै उनले बहुदलीय व्यवस्थाको माग पनि गरे। प्रजातन्त्र र बहुदलीय व्यवस्था पुनर्स्थापनाको मागका साथ २०४३ को आम निर्वाचनमा विजयी भएका तुलाधरले यो आवाज सधैँ राष्ट्रिय पञ्चायतमा घन्काइरहे।

तुलाधरको छनोट
राष्ट्रिय पञ्चायत सदस्य बनेर सत्तासुख प्राप्त गर्ने उदेश्य तुलाधरको थिएन। खासमा लोकतन्त्रवादी समुदायको आग्रह स्वीकार गर्दै उनी त्यो पञ्चायती चुनावमा प्रतिस्पर्धा गर्न राजी भएका थिए। 

राष्ट्रिय पञ्चायतमा पुगेर बहुदल र लोकतन्त्रको माग गर्ने उनको उम्मेदवारीको मुख्य उदेश्य थियो। 

पञ्चायतभित्रै पसेर त्यो व्यवस्थालाई खोक्रो पार्ने नीति प्रतिबन्धित नेकपा (माले) ले लिएको थियो। यसैअनुरुप उसले जिल्ला–जिल्लामा जनपक्षीय उम्मेदवारहरु खडा गरेको थियो। यही नीतिअनुरुप काठमाडौँका लागि तुलाधर छानिएका थिए। 

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पोखरामा माले महासचिव मदन भण्डारी लगायतका नेताहरुसँग तुलाधर

कम्युनिस्ट–प्रगतिशील विचारधाराका उनी मालेको पार्टी सदस्य भने थिएनन्।  

‘तुलाधरलाई उम्मेदवार बन्ने पहिलो प्रस्ताव कवि दुर्गालालले राख्नु भएको थियो,’ तुलाधरको जीवनी लेखक एवं पत्रकार सुरेश किरणले नेपालखबरसँग भने, ‘दुर्गालालले आग्रह गरेपछि तुलाधर उम्मेदवार बन्न तयार हुनुभयो।’ 

मालेले जनपक्षीय उम्मेदवारका रुपमा तुलाधरलाई छान्नुका थुप्रै कारण थिए।  

उनी सिद्धहस्त लेखक–साहित्यकार थिए। काठमाडौँवासी माझ उनको परिचय लोकतन्त्र र न्यायका पक्षमा कलम चलाउने लेखक–पत्रकारका रुपमा स्थापित भइसकेको थियो।    

काठमाडौँको नेवार समुदायमाझ ‘नेपाल भाषा’ नामको पत्रिका निकै लोकप्रिय थियो। तुलाधर त्यसको सम्पादक थिए। राजमति साप्ताहिकका सम्पादकसमेत रहेका उनी रातो युगधारा साप्ताहिकका वरिष्ठ सम्पादकको जिम्मेवारीमा पनि थिए।

काठमाडौँका आदिवासी नेवाः समुदायको भाषा–संस्कृति जगेर्नाका लागि स्थापित ‘नेपाल भाषा मंका खल’ का संस्थापक अध्यक्ष पनि उनै थिए। तुलाधरकै अगुवाइमा मंका खलले २०३६ देखि नेपाल सम्वतलाई मान्यता प्रदान गर्न अभियान–आन्दोलनसमेत गरेको थियो।  

काठमाडौँको सामाजिक–सांस्कृतिक–साहित्यिक–राजनीतिक क्षेत्रका अगुवा मल्ल के. सुन्दरका भनाइमा नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा मान्यता दिलाउन गरेको संघर्षका कारण तुलाधर काठमाडौँवासीमाझ सुपरिचित र लोकप्रिय भइसकेका थिए। 

वैचारिक दृष्टिले प्रगतिशील (कम्युनिस्ट) विचारधाराप्रति आकर्षित तुलाधरले नेपाली कांग्रेस समर्थकहरुबाट समेत मत प्राप्त गर्न सक्छन् भन्ने विश्लेषण पनि उनलाई उम्मेदवार बनाइनुको अर्काे कारण थियो। किनभने, जेलमा रहेका आस्थाका बन्दीहरुको पक्षमा तुलाधरले निर्वाह गरेको भूमिकाका कारण नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु तुलाधरप्रति सकारात्मक थिए।   

‘तुलाधर राजनीतिक बन्दी विमोचन समिति नामक संस्थाको अध्यक्ष हुनुहुन्थ्यो, यो संस्थाले जेलमा रहेका राजनीतिक बन्दीहरुलाई परेका अप्ठेरा फुकाउनेदेखि रिहाइको वातावरण बनाउनेसम्मका काम गथ्र्याे,’ विमर्श साप्ताहिकका तत्कालीन सम्पादक हरिहर विरहीले भने, ‘राजबन्दीहरुलाई परेको अप्ठेरो फुकाउने क्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्तासँग उहाँको राम्रो सम्बन्ध स्थापित भएको थियो।’ 

‘अर्काे कुरा, त्यो चुनावमा तुलाधरले पञ्चायतको विरोध र बहुदलको मागलाई चुनावी एजेन्डा बनाउनु भएको थियो, त्यही कारण उहाँले लौहपुरुष गणेशमान सिंहको समेत सहानुभूति प्राप्त गर्नसक्ने स्थिति थियो,’ विरहीले भने, ‘पञ्चायतको विरोध र बहुदलको माग गर्ने कांग्रेस समर्थक बुद्धिजीवीहरुले चुनाव लड्ने आँट नगरेको स्थितिमा तुलाधरजी यही नाराका साथ उम्मेदवार बनेपछि कांग्रेस समर्थकहरुको मत प्राप्त गर्ने स्थिति बनिहाल्यो।’  

मानवअधिकार दिवसमा दमननाथ ढुंगाना, डा. मथुराप्रसाद श्रेष्ठलगायतसँग तुलाधर (बायाँ)  

कांग्रेसप्रति सहानुभूतिशील जमातको समर्थन तुलाधरले प्राप्त गरेका थिए भन्ने कुरा उनको चुनाव प्रचारका लागि गठन भएको प्रचार–प्रसार समितिले पनि देखाउँछ। तुलाधरको चुनाव प्रचार–प्रसार समितिको संयोजक हृषिकेश शाहलाई बनाइएको थियो।

विरहीका भनाइमा यो समिति निर्माणका लागि ढोकाबहालमा भएको बुद्धिजीवीहरुको भेलामा शाहका अलावा मार्शलजुलुम शाक्य, सूर्यबहादुर शाक्य, कपिल श्रेष्ठ लगायत ठूलो संख्यामा कांग्रेसप्रति सहानुभूति राख्ने बुद्धिजीवी उपस्थित थिए। त्यो भेलाले हृषिकेश शाह संयोजक रहेको चुनाव प्रचार समिति निर्माण गरेको थियो। 

तुलाधरले मूलतः सहरी क्षेत्रको मत प्राप्त गर्नसक्ने भएकाले उनलाई उम्मेदवारका रुपमा अघि सारिएको थियो। तर, चुनाव प्रचार अभियान सुरु भएपछि ग्रामीण क्षेत्रका मतदाताको समेत उनीप्रति आकर्षण देखिन थाल्यो।

काठमाडौँको उत्तरक्षेत्रमा तुलाधरको प्रचारमा संलग्न पूर्वसांसद एवं साहित्यकार नारायण ढकालका भनाइमा जनतासँग भेटघाटका बेला तुलाधरको सरल व्यवहार र भावुक सम्बोधन शैलीले मतदाताहरुलाई आकर्षित गरेको थियो।

६ वैशाख (२०४३) मा काठमाडौँमा भएको सभा तुलाधरको विजयमा निर्णायक सावित भयो। 

‘त्यो सभामा तुलाधरले गरेको भाषणको टेप काठमाडौँका गल्ली–गल्ली र काँठ क्षेत्रका गाउँ–गाउँमा पुग्यो,’ ढकालले भने, ‘त्यसपछि चुनावी परिदृश्य नै फेरियो, उहाँ ठूलो मतका साथ राष्ट्रिय पञ्चायतमा विजयी बन्नुभयो।’

चुनाव प्रचारको सिलसिलामा बसन्तपुरको सभामा तुलाधर, ६ वैशाख २०४३

विस्फोटक सम्बोधन
त्यो सभा काठमाडौँको मुटु मानिने बसन्तपुर दरबारको दक्षिणतर्फको खुला भागमा भएको थियो। त्यसअघि नै मत माग्ने सिलसिलामा काठमाडौँको गाउँ–गाउँ र सहरका टोल–टोल छिचोलिसकेका तुलाधरको भाषण सुन्न हजारौँ काठमाडौँवासी त्यसदिन बसन्तपुर ओइरिएका थिए। 

सभाको उद्घोषक कवि दुर्गालाल थिए। सम्बोधनका लागि माइकमा बोलाउनुअघि दुर्गालालले ‘प्रजातन्त्र र न्यायका लागि समर्पित सेनानी’ का रुपमा तुलाधरको परिचय दिएका थिए।  

सम्बोधनका क्रममा तुलाधर पञ्चायत र भ्रष्ट पञ्चहरुविरुद्ध विस्फोटक रुपमा प्रस्तुत भए। 

पञ्चायतलाई उनले ‘व्यवस्था’ को साटो ‘अव्यवस्था’ को रुपमा परिभाषित गरे। र, यो अव्यवस्थाको अन्त्य र भ्रष्ट पञ्चहरुलाई किनारा लगाउन सम्पूर्ण बहुदलवादी र इमान्दार पञ्चहरु एकजुट हुन आह्वान गरे।   

‘म यहाँ पद्मरत्नलाई भोट दिनुस् भन्न उपस्थित भएको होइन,’ उनले भने ‘जनताका शत्रुहरुलाई हराऊँ, जनताका मित्रहरुलाई जिताऊँ भन्ने अभियानमा भाग लिइदिनुस् भन्नका लागि तपाईंहरु समक्ष उपस्थित भएको हुँ।’ 

‘नेता बन्न होइन, भ्रष्ट शासकहरुविरुद्ध जनतालाई आन्दोलित बनाउन उम्मेदवार बनेको हुँ,’ गडगडाहट तालीका बीच उनी थप आक्रामक बन्दै थिए, ‘पञ्चहरुले भ्रष्टाचार गरे गरुन्, मूर्ति चोरे चोरुन्, राष्ट्रिय पञ्चायतका सदस्यहरुले लाखौँ–करौडौँ तस्करी गरे गरुन् भनेर हामी चुप लागेर बस्यौँ भने फेरि पनि उनीहरुले हामीमाथि अन्याय गर्नेछन्।’  

यही स्थिति नआओस् भनेर आफूले उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी प्रजातन्त्र र बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि संघर्षको माहोल सिर्जना गर्न भएको उनको कथन थियो। 

आफ्नो उम्मेदवारी यथास्थितिविरुद्ध मुक्काका लागि भएको दाबी गरेका उनले जनतालाई पनि पञ्चायतविरुद्ध मुक्का हान्न आग्रह गरे। 

‘म एक्लैले हान्दा यो यथास्थिति तोडिने छैन,’ उनले थपे, ‘तपाईंहरु सबै मिलेर यसलाई मुक्का हिर्काइदिनुस्। यही आह्वानका लागि मैले चुनावी अभियान उपयोग गरेको हुँ, तपाईंहरुलाई धोका दिन मैले चुनाव लडेको होइन।’ 

राष्ट्रिय पञ्चायतमा निर्वाचित भएपछि पनि आफू बहुदलवादी नै रहने विश्वास दिलाउने प्रयास पनि उनले बसन्तपुर सभाबाट गरेका थिए। 

‘म अहिले पनि बहुदलवादी हुँ, नेपाली जनताले आफ्नो राजनीतिक आस्था र विश्वास अनुसार संगठन गर्न पाउनुपर्दछ भनेर २० लाख जनताले बहुदलको पक्षमा मत दिएका हुन्,’ उनले भनेका थिए, ‘त्यो सिद्धान्तप्रति म प्रतिबद्ध छु। यो आवाज म माथि (राष्ट्रिय पञ्चायत) मा पनि बुलन्द गर्नेछु।’ 

त्यो निर्वाचनमा काठमाडौँबाट जोगमेहर श्रेष्ठ पनि खडा भएका थिए। उनी काठमाडौँमा पञ्चायती व्यवस्थाका खम्बा मानिन्थे। दरबारको आशीर्वादमा उनी पटक–पटक मन्त्री भइसकेका थिए। 

यहीकारण दरबारले तुलाधरलाई हराउने र जोगमेहरलाई जिताउने खेल खेल्छ भन्ने चर्चा काठमाडौँमा व्याप्त थियो। यस्तो चर्चाले लोकतन्त्रवादी जनमतलाई हतोत्साही र पञ्चायत पक्षधरलाई उत्साहित बनाउन सक्ने तुलाधरको मान्यता थियो। 

त्यसैले, बसन्तपुर सभामार्फत् उनले लोकतन्त्रवादी पक्षको मनोबल उचो बनाउने प्रयास गरे।  

‘फिलिपिन्समा २० वर्ष शासन गरेका मार्काेससमेत जनसंघर्षका कारण अमेरिका भाग्नुपर्यो, फिलिपिन्सका जनता बहादुर–साहसी हुन सक्छन् भने नेपाली जनता किन बहादुर हुन सक्दैनन्?’ उनले भनेका थिए, ‘म यो विश्वास लिएर चुनावमा उठ्दैछु कि जनताले चाहेको खण्डमा कुनै पनि हालतमा आफ्नो मान्छेलाई जिताउन सक्छन्।’ 

बसन्तपुर सभामार्फत् उभिएको जनलहर, पञ्चायत र पञ्चविरुद्ध आक्रामकता, पञ्चायती मञ्चलाई उपयोग गरेर बहुदल र प्रजातन्त्रको माग गर्ने एजेन्डा र जनबलमा दरबारिया षडयन्त्रलाई निस्तेज पार्ने उद्घोषपछि तुलाधरको पक्षमा थप माहोल सिर्जना हुन पुग्यो। 

‘मालेका भूमिगत कमिटीहरु तुलाधरलाई जिताउन लागिरहेकै थिए, प्रजातन्त्रवादी स्वतन्त्र बुद्धिजीवीहरुको समर्थन पनि उहाँले हासिल गरिसक्नु भएको थियो,’ ढकालले भने, ‘आफ्नो उम्मेदवारीलाई पञ्चायत विरोधी संघर्षका रुपमा परिभाषित गरेपछि उहाँको चुनावी अभियानले एक्कासि ‘गियर’ लिन थालिहाल्यो।’ 

तुलाधरको त्यो भाषण यति चर्चित भयो कि त्यसको क्यासेट गाउँ–गाउँमा पुग्यो। बसन्तपुर सभामा नपुगेका काठमाडौँको ग्रामीण भेगका जनताले त्यसैमा उनको सम्बोधन सुन्न पाए। 

‘उहाँको भाषणको रेकर्ड पनि जनताले किने, भोट पनि दिए,’ विरहीले भने, ‘मलाई लाग्छ, बसन्तपुर सभामा आक्रामक सम्बोधन तुलाधरको विजयको निर्णायक कारण बन्यो।’

नतोडिएको रेकर्ड
२०३० को दशकदेखि काठमाडौँबाट पञ्चायती पक्षको नेतृत्व जोगमेहर श्रेष्ठले गर्दै आएका थिए। काठमाडौँबाट दुई जना रापंस चयन हुने व्यवस्था अनुरुप २०३८ को निर्वाचनमा नानीमैयाँ दाहालसँगै श्रेष्ठ पनि राष्ट्रिय पञ्चायतमा विजयी भएका थिए। 

जोगमेहर यसपटक पनि राष्ट्रिय पञ्चायत निर्वाचनका प्रत्यासी थिए। र, दुईमध्ये एक सिटमा उनी विजयी हुने धेरैको अनुमान थियो। २०३८ की चर्चित विजेता नानीमैयाँ दाहालले पनि यो निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन्।  

लौहपुरुष गणेशमान सिंहका भतिजा विमलमान सिंहले पनि राष्ट्रिय पञ्चायत सदस्यका लागि उम्मेदवारी दिएका थिए। गणेशमानका भतिज भएकाले विमलमानलाई चाक्सीबारी (गणेशमान निवास) समर्थक उम्मेदवार मानिन्थ्यो। यहीकारण प्रजातन्त्रवादी बुद्धिजीवीहरुले तुलाधरका साथ–साथ सिंहको पनि प्रचार गरेका थिए।  

त्यो प्रतिस्पर्धाको रोचक पक्ष चाहिँ के थियो भने, तुलाधरले ‘सूर्य’ चिन्ह रोजेका थिए भने सिंहले ‘रुख।’ त्यही रुख– जुन २०१५ को पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह थियो। तुलाधरले शानदार विजय हासिल गरेको चिन्ह भएकाले एमालेले पनि २०४८ को निर्वाचनमा सूर्य चिन्ह छनोट गर्यो। 

जानकारहरुका भनाइमा, बसन्तपुर सभापछि तुलाधरको विजय निश्चित जस्तै देखिन थाल्यो। बाँकी एउटा सिटमा भने २०३८ का विजेताद्वय नानीमैयाँ दाहाल र जोगमेहर श्रेष्ठमध्ये एकले बाजी मार्लान् भन्ने धेरैको अनुमान थियो। 

७ वर्षअघि आफ्नो ७५ औँ जन्मदिनमा तुलाधर 

चुनावको निर्धारित मिति २९ वैशाख (२०४३) मा देशभर मतदान सम्पन्न भयो। ३० वैशाखदेखि काठमाडौँको मतगणना सुरु भयो। तर, सुरुवाती मतगणनाको रुझानले धेरै मानिसहरुलाई झस्कायो। सुरुवाती रुझान आमअनुमान विपरीत थियो। 

३१ वैशाख (२०४३) को गोर्खापत्रमा प्रकाशित मतगणना परिणाम अनुसार पहिलो दिन (३० वैशाख) को गणनामा राजभाइ श्रेष्ठ अग्रस्थानमा थिए। उनले १ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए। १ हजार ८ सय ७ मतका साथ जोगमेहरले राजभाइलाई पछ्याएका थिए। 

तुलाधर तेस्रो स्थानमा थिए। श्रेष्ठद्वयसँग उनी तेब्बर बढी मतले पछाडि थिए। उनलाई जम्मा ५ सय ४७ मत मिलेको थियो। 

२०३८ की चर्चित विजेता नानीमैयाँ दाहाल भने ‘सिन’ मै देखिइनन्। चौथो नम्बरमा मोतिमान शाक्य थिए, जसलाई पहिलो दिनको गणनामा २ सय ५६ मत प्राप्त भएको थियो। 

चुनावअघि तुलाधरको पक्षमा देखिएको जनलहरको प्रभाव दोस्रो दिनको गणनाबाट देखिन थाल्यो। भलै उनी दोस्रो दिन पनि पहिलो नम्बरमा उक्लेनन्। 

बरु पहलो दिनको मतगणनामा ‘सिन’ मै नरहेका विमलमान सिंह दोस्रो दिन (३१ वैशाख) ११ हजार ९ सय ११ मतका साथ अग्रस्थानमा पुगे। तुलाधर ९ हजार २ सय ४४ मतका साथ दोस्रो स्थानमा उक्लिए। जोगमेहर भने ८ हजार ८ सय २२ मतका साथ तेस्रो स्थानमा रहे। 

तेस्रो दिन (१ जेठ) को मतगणनामा पनि तुलाधरसँगको मतान्तरलाई फराकिलो बनाउँदै सिंह अघि बढिरहेका थिए।   

त्यस दिनसम्मको गणनामा सिंहले २१ हजार ५ सय ६८ मत प्राप्त गर्दा तुलाधरले १८ हजार ६५ मत पाएका थिए। १५ हजार ३ सय २ मतका साथ श्रेष्ठ तेस्रो स्थानमै थिए।  

निर्वाचनअघि तुलाधरको पक्षमा देखिएको जनलहरको परिणाम चौथो दिन (२ जेठ) को गणनाबाट देखिन थाल्यो। अब उनले सिंहलाई उछिन्न थाले। त्यसअघि ३ हजार मतअन्तरका साथ उनी सिंहभन्दा पछाडि थिए। २ जेठको गणनामा अघि बढेका तुलाधरले झण्डै ४ हजार मतअन्तरका सिंहलाई पछि पारे। 

त्यसदिनसम्मको गणनामा तुलाधरको खातामा ३८ हजार ३ सय १९ मत जम्मा भएको थियो। दोस्रो स्थानमा झरेका सिंहले ३४ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए। जोगमेहर श्रेष्ठ २३ हजार ३ सय ९९ मतका साथ तेस्रो स्थानमै घिस्रिरहे। 

यतिन्जेलसम्मको रुझानले काठमाडौँबाट सिंह र तुलाधर विजयी हुन्छन् भन्ने पक्का भइसकेको थियो। तर, रुझानले के पनि संकेत गरिरहेको थियो भने, यी दुई विजेताबीचको मतान्तर भने त्यति फराकिलो हुनेछैन। 

तर, पाचौँ अर्थात् अन्तिम दिन (३ जेठ) को गणनाले भने यसलाई पनि गलत सावित गरिदियो। त्यसदिनको गणनामा ठूलो मतान्तरका साथ सिंहलाई दोस्रो स्थानमा छाडेर तुलाधर अघि बढे।

अर्थात् तुलाधरले ८६ हजार १ सय ५५ मत प्राप्त गर्दा सिंहले ५५ हजार १ सय ५ मत मात्र प्राप्त गरे। तुलाधर र सिंहबीचको मतान्तर २१ हजार भन्दा बढी थियो। जोगमेहर २९ हजार ८ सय १२ मतका साथ तेस्रो स्थानमा नै थिए। 

र, यो नै निर्वाचनको अन्तिम मतपरिणाम थियो। तुलाधर विजयी घोषित भए।

त्यो निर्वाचनमा धनुषाबाट हेमबहादुर मल्ल ९३ हजार १ सय ४९ मत सहित विजयी भएका थिए। नेपालको इतिहासमा यो नै विजयी उम्मेदवारले पाएको सर्वाधिक मत हो। 

तर, सत्ता–शक्तिको दुरुपयोगका कारण मल्लले पाएको मत विवादमुक्त भएन। धाँधली गरी मल्ल निर्वाचित भएको आरोप पञ्चहरुले मात्र लगाएनन्, उनकै नातेदार एवं प्रतिस्पर्धी कृष्णप्रताप मल्लले समेत लगाए।  
  
त्यसैले, विनाविवाद अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरेर विजयी हुने उम्मेदवार तुलाधर नै हुन्। काठमाडौँका हकमा त यो नै विजयी उम्मेदवारले प्राप्त गरेको अहिलेसम्मकै सर्वाधिक मत हो।

इमान्दार बचनबद्धता
राष्ट्रिय पञ्चायतमा विजयी भए पनि आफू पाँच वर्ष त्यहाँ नबस्ने उद्घोष बसन्तपुर सभामै तुलाधरले गरिसकेका थिए। यो उद्घोषमा जनतासँगको उनको अपेक्षा लुकेको थियो। पञ्चायत व्यवस्थाविरुद्ध जनता आन्दोलित भइदिऊन्, ताकि छिटोभन्दा छिटो पञ्चायती व्यवस्थाको अन्त्य होस्, बहुदलीय व्यवस्थाको पुनर्वहाली होओस्। 

अर्थात्, राष्ट्रिय पञ्चायतमा आफ्ना कुरा राखेपछि पञ्चायती व्यवस्थाको अन्त्य भएर त्यहाँबाट मुक्त हुन पाइयोस् भन्ने उनको चाहना थियो। 

बसन्तपुर सभामा सम्बोधन गर्दै तुलाधर

‘पाँच वर्षका लागि राष्ट्रिय पञ्चायतमा बस्छु भनेर मैले यो चुनावमा भाग लिएको होइन। जतिसक्दो चाँडो संघर्ष उठाइदिनुस्, जतिसक्दो चाँडो यो देशमा प्रजातन्त्र ल्याइदिनुस,’ तालीको गडगडाहटबीच बसन्तपुरमा उनले भनेका पनि थिए, ‘र, मलाई छिटोभन्दा छिटो त्यहाँबाट फर्काइदिनुस्।’ 

चुनावी मञ्चहरुमा आफ्नो उम्मेदवारीलाई बहुदलका लागि संघर्षका रुपमा अर्थ्याएका तुलाधरले साँच्चिकै राष्ट्रिय पञ्चायतभित्र बहुदलीय व्यवस्थाको माग गर्न थाले। पञ्चायती निरंकुशताका बेला पञ्चायती संसद् भित्रैबाट बहुदलको माग गर्नु चानचुने कुरा थिएन। 

उनले राष्ट्रिय पञ्चायतमा आफ्नो सम्बोधनको पहिलो दिन त्यहाँबाट बहुदलको माग गरे। 

रेकर्ड हेर्दा के देखिन्छ भने २६ जेठ (२०४३) देखि सुरु भएको राष्ट्रिय पञ्चायतको अधिवेशन (३७ औँ) मा तुलाधरले १६ असारमा पहिलो पटक बोल्ने अवसर प्राप्त गरेका थिए।  

‘त्यो दिन उहाँले करिब एक घण्टा राष्ट्रिय पञ्चायतमा बोल्नु भएको थियो,’ तुलाधरको जीवनी–लेखक सुरेश किरणले भने, ‘त्यसक्रममा उहाँले पञ्चायतको आलोचना गर्नुभयो र बहुदलीय व्यवस्थाको माग गर्नुभएको थियो।’  

तुलाधर थिए, व्यवस्थाविरोधी। राष्ट्रिय पञ्चायतमा उनले गरेको सम्बोधन सरकारी सञ्चारमाध्यमहरुले जस्ताको तस्तै दिन सम्भावना थिएन।   

यति हुँदाहुँदै पनि राष्ट्रिय पञ्चायतमा उनले गरेको पहिलो सम्बोधनबारे भोलिपल्ट (१७ असार) को गोर्खापत्रले यस्तो समाचार दिएको थियो, ‘काठमाडौँका पद्मरत्न तुलाधरले खुलामञ्चलाई बन्दमञ्च बनाउन र होटलहरुमा पत्रकार सम्मेलन गर्न स्थानीय प्रशासनको अनुमति चाहिने व्यवस्था पनि गर्न भएन भन्नुभयो।’ 

सरकारी मुखपत्र गोर्खापत्रले तुलाधरको सम्बोधनबारे यति समाचार दिनुको अर्थ हो, उनी पञ्चायती प्रशासनविरुद्ध निकै कठोर रुपमा प्रस्तुत भएका रहेछन्। 

पञ्चायतविरुद्ध ७ फागुन २०४६ देखि नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त आन्दोलन सुरु भयो। तुलाधर आन्दोलनको अग्रमोर्चामा थिए। तुलाधर ७ कम्युनिस्ट समूहलाई मिलाएर बनाइएको संयुक्त वाममोर्चामा स्वतन्त्र वामपन्थीका हैसियतमा केन्द्रीय सदस्य थिए। 

आन्दोलनको सुरुवातपछि पञ्चायतविरुद्ध जुलुसको नेतृत्व गर्दागर्दै उनी १४ फागुन २०४६ मा पक्राउ परे। २६ चैत्र २०४६ मा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि मात्र उनी रिहा भए। 

२०४६ को आन्दोलनमा तुलाधरलाई १४ फागुनमा पक्राउ गर्दै प्रहरी 

चुनाव प्रचारको सिलसिलामा तुलाधरले जे प्रतिबद्धता र अपेक्षा गरेका थिए, २०४६ मा ती दुवै पुरा भए। 

जनतासँग उनको प्रतिबद्धता थियो– म राष्ट्रिय पञ्चायतको पुरा अवधि (पाँच वर्ष) त्यहाँ बिताउने छैन। 

अपेक्षा चाहिँ ‘पञ्चायतविरुद्ध संघर्षका लागि जनता आइदिऊन्’ भन्ने थियो। 

आन्दोलनका बलमा पाँच वर्ष नपुग्दै ३ वैशाख २०४७ मा राष्ट्रिय पञ्चायत विघटन भयो। यसरी तुलाधरको प्रतिबद्धता पुरा भयो। 

जनआन्दोलनको बलमा बहुदलीय व्यवस्था पुनर्स्थापना गर्न जनता आफैँ संघर्षमा आइदिऊन् भन्ने तुलाधरको अपेक्षा पनि पुरा भयो। 

अर्थात्, चुनावमा जनताले तुलाधरलाई भोट पनि दिए, सघर्षंमा साथ पनि।  

कात्तिक ६, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.