समय आफ्नो अनुकूल बनाएर बच्चा जन्माउने जमाना थिएन। थोरै चेतना गाउँ पसेको भए पनि महिलाहरु जन्मेजति सन्तानलाई ‘ईश्वरको वरदान’ भन्दै हात थाप्न बाध्य थिए। चर्चित अभिनेत्री ऋचा शर्माकी आमाले पनि आधा दर्जन सन्तान जन्माइन्। ऋचा र उनका जेठा दाजुको उमेरको अन्तर २० वर्ष थियो। ५ दिदी र दाजुकी सबैभन्दा कान्छी बहिनी ऋचा सबैको लाडप्यारमा हुर्किन्।
कैलालीमा ऋचाका बुबा काठको ठेक्कापट्टाको काम गर्थे। पछि उनले काठकै मिल खोले। फर्निचर कारखाना सञ्चालन गरे। बुबाको आम्दानी राम्रो थियो। आमा गृहणी। उनकी मावली हजुरआमाले उतिबेला पनि पढेकी थिइन्। तर ऋचाकी आमाले पढ्न मन गरिनन्। १५ वर्षको उमेरबाट बच्चा जन्माउन थालेकी उनकी आमाले ३५ वर्षको उमेरमा ऋचालाई जन्मदिएकी हुन्।
ऋचा पछाडि फर्किएर हेर्छिन्, ‘आमाले आफ्नो जीवनको सम्पूर्ण उर्जावान् समय बच्चा जन्माउन र हुर्काउनमै बिताउनु भएछ।’
हुर्कंदै गर्दा ऋचाले आफ्नो वरिवरि बुबालाई देखिनन्। उनका बुबा बिहान उनी उठ्दा काममा निस्किसक्थे। फर्किंदा अबेर भइसक्थ्यो। बुबासँग बसेर आफ्ना कुरा भन्न ऋचाले जवान हुनु पर्यो, बुबाले वृद्ध। तर बुबाले छोराछोरीको लालनपालन र शिक्षामा कुनै सम्झौता गरेनन्।
उनका बुबा भन्थे, ‘छोराछोरीलाई दिने सबैभन्दा ठूलो कुरा शिक्षा नै हो।’
बुबाको छोरीलाई शिक्षित बनाउने यही चाहनाका कारण ऋचा ४ कक्षाको अध्ययन कैलालीमा सकेर बाँकी पढाइका लागि काठमाडौं आइन्।
बुबा–आमाको प्रेम
ऋचाकी आमा काठमाडौंकी रैथाने। बुबा कैलालीबाट ठेक्कापट्काको कामले काठमाडौं आइरहन्थे। ऋचाकी हजुरआमा त्यो समय नेपाल टेलिकमकी जागिरे थिइन्। जागिरे हजुरआमाको चाहना आफ्नी छोरीलाई पनि शिक्षित बनाउने थियो। यही चाहनाले उनले हरेक साल छोरीलाई स्कुल परिवर्तन गर्दै भर्ना गरिरहिन्। तर ऋचाकी आमाले पढ्न मन गरिनन्। त्यो समय नै त्यस्तै थियो, स्कुल जाने छोरीको संख्या नै कम हुन्थ्यो। छोरीलाई शिक्षाको महत्व बुझाउँदै हुर्काउने चलन थिएन।
त्यही बेला बुबा र आमाको बाटोमा केही पटक जम्काभेट भयो। बुबालाई उनकी आमा असाध्यै मन पर्यो। त्यसपछि उनी ऋचाकी आमाको हात माग्न पुगे। ऋचाका आमाबुबाको उमेर अन्तर १९ वर्षको थियो। ऋचा सम्झिन्छिन्, ‘समझदारी र प्रेम अथाह थियो।’
ऋचाले सानैबाट बच्चासँग घुलमिल हुँदै हुर्कने मौका पाइन्। उनी ७ वर्षकी हुँदा उनका भदाभदै जन्मिसकेका थिए। अलिपछि दिदीका छोराछोरी जन्मिए। उनलाई बच्चा काखमा बसुञ्जेल मन पर्थ्यो। काखबाट निस्किएर चकचक गर्ने भएपछि उनी बच्चासँग रमाउन सक्दिनथिन्। बच्चाहरु पनि उनीसँग डराउँथे, उनी बच्चालाई अनुशासनमा राख्न खोज्थिन्।
दिदीहरुले भन्थे, ‘हेरौँला तेरो छोराछोरी जन्मिएपछि के गर्छेस्।’
अहिले ऋचा आफ्नो छोरी हुर्काइरहेकी छिन्, दिदीहरु भन्छन् ‘हाम्रा छोराछोरीलाई कति गर्थिस्, अहिले आफ्नो छोरालाई चाहिँ बाबा... भनेर चेपारो घस्छेस्।’
ऋचा प्रतिक्रियाविहीन हाँस्छिन्। उनलाई लाग्छ, ‘त्यो समय र अहिलेका बच्चाको हुर्काई फरक छ र हुर्काउने आमाबाबुको शैली र जीवनशैली फरक छ।’
फिल्मको सपनासँगै हुर्किएको उमेर
ऋचालाई आफ्नो जीवनको बितेको समय फर्किएर हेर्दा लाग्छ, ‘म सानैदेखि अलि नाटकबाज रहेछु।’
उनलाई हरेक कुरामा नाटक गर्न मन पर्थ्यो। हिन्दी फिल्म हेर्नुपर्थ्यो। सिनेमाका डाइलग कण्ठस्थ पार्नु, हिरोहिरोइनको ठाउँमा आफूलाई राखेर हेर्नु र सोही अनुसारको नक्कल गर्नु, रेडियोसँगै गीत गाउनु, नाटक सुन्नु र त्यही अनुसार नक्कल गर्नु, सम्झिँदा त्यो समय ऋचालाई निकै प्रिय लाग्छ। रेडियो कार्यक्रम ‘डियर कल्याण’ ऋचाको प्रिय थियो।
ऋचा सम्झिन्छिन्, ‘रेडियो, टीभी, फिल्मप्रति मेरो गहिरो लगाव थियो।’
त्यही लगावले ऋचाको सपना नै अभिनय बनायो।
छोरीको सपनामा उनका बुबाको साथ थियो। उनी आफ्ना छोरीहरु अगाडि बढेको हेर्न चाहन्थे। हुन त ऋचाले भन्दा पहिला उनकी माइली दिदीले पनि अभिनेत्री बन्ने सपना देखेकी थिइन्। उनलाई निर्देशक तुलसी घिमिरेले एउटा फिल्मका लागि अफर पनि गरेका थिए। बुबाले अनुमति दिएनन्। पछि त्यो फिल्ममा निरुता सिंहले काम गरिन्।
त्यसको १० वर्षपछि बुबाले ऋचालाई भने फिल्ममा अभिनय गर्ने अनुमति दिए।
ऋचा भन्छिन्, ‘धेरै कुरा चाहिँ छोराछोरीले कसरी कन्भिन्स गराउँछन् भन्ने कुरामा भर पर्ने रहेछ। मेरो कन्भिन्सिङ शैली राम्रो थियो। दिदीले हुँदैन भनेपछि आफ्नो रहर चटक्कै छोड्नु भयो। मैले बुबाले हुँदैन भन्दा त्यस्तो होइन बुबा, २/४ वटामा काम गर्छु सफल भइनँ र राम्रो महसुस भएन भने छोड्दिन्छु भने। बुबाले सहमति जनाउनुभयो।’
ऋचाका बुबा चाहन्थे, कान्छी छोरी मेडिकल लाइनमा जाओस्। ऋचालाई औषधि, बिरामी, सुइ, रगत सबै कुरासँग एलर्जी जस्तै थियो। उनको अर्को इच्छा व्यवसायी बन्नु थियो।
ऋचाले आलोक नेम्वाङले निर्देशन गरेको म्युजिक भिडिओबाट रंगीन दुनियाँको यात्रा सुरु गरिन्। त्यसपछि उनले पछाडि फर्किएर हेर्नु परेन। कामसँगै पैसा कमाउन थालिन्। बुबालाई मानिसहरुले ऋचाको बुबा भनेर चिन्न थाले। उनी खुसी थिए। तर ऋचाले आफ्नो जीवनको धेरै खुसी र सफलताका कथा बुबालाई सुानाउन पाइनन्। असफल भएको दिन बुबाको काँधमा टाउको बिसाउन पाइनन्। उनको पहिलो ठूलो सिनेमा ‘फस्ट लभ’ रिलिजअघि नै हृदयाघात भएर बुबाको निधन भयो।
त्यसपछि ऋचाले फिल्म उद्योगमा मिठा नमिठा दुवै समय बाँचेर हेरिन्। भर्सटाइल अभिनेत्रीको छवि बनाएकी ऋचाले सफलता, असफलता दुवै राम्ररी चाखेकी छन्। बुबा हुन्थे त छोरीका सफलताका कथा गर्वका साथ सुनाउँदै हिँड्थे। ऋचा आफैँ पनि आफ्ना फिल्मका प्रिमियरहरुमा बुबाआमालाई सँगै राखेर फिल्म देखाउनेथिन्। उनको मनमा बुबालाई देखाउन नपाएको खुसी खट्किरहने पाटो हो।
अनि विवाह
सन् २०१३/१४ तिरै ऋचाको दीपेक्षविक्रम राणासँग चिनजान थियो। तर मित्रता थिएन्। पछि ऋचाले ‘सुनकेसरी’ फिल्म बनाइन्। यही फिल्म प्रमोशनको समयमा दीपेक्ष र ऋचाको बाक्लो भेटघाट र मित्रता भयो। फोन नम्बर साटासाट गरे। दुवैको मन मिल्यो। प्रेममा परे। केही समयको कुराकानीपछि ऋचाले आफ्नो प्रेम आमालाई सुनाइन्। आमा खुसी भइन्। दीपेक्षले आफ्नो परिवारसँग भेटाउने भए।
‘तिमी प्रेममा रहेको केटाले जब तिमीलाई आफ्नो परिवारसँग भेटाउँछ, तिमीले सोच्नु ऊ सिरियस छ,’ उनकी आमाले भनेको सम्झिन्।
दिपेक्षप्रति ऋचा झन् आकर्षित भइन्।
ऋचालाई विवाह गर्नुपर्छ, बच्चा जन्माउनु पर्छ, पारिवारिक जीवन बाँच्नु पर्छ भन्ने सानैबाट मनमा थियो। उनलाई विवाह एउटा केटासँग मात्रै गर्ने हो भन्ने कहिले लागेन।
उनलाई लाग्थ्यो, ‘मैले विवाह एउटा परिवारसँग गर्ने हो। विवाहपछि मेरो सम्बोधन फेरिन्छ, सम्बोधन अनुसार मैले निर्वाह गर्ने भूमिका फेरिन्छ।’
ऋचालाई दीपेक्षको परिवार पनि मन पर्यो।
विवाहअघि दीपेक्षले सोधेका थिए, ‘तिमी परिवारसँग बस्न सक्छौ? सक्दैनौ भने हामी छुट्टै बस्न पनि सक्छौँ।’
सानैबाट ठूलो परिवारमा हुर्किएकी ऋचाको रोजाइ परिवारसँगै बस्ने थियो।
ऋचा र दीपेक्षको प्रेम झाङ्गिने क्रममा थियो, यता ऋचाकी आमा बिरामी परिन्। आमाको अवस्था बिग्रँदै गएपछि उनीहरु विवाहका लागि अन्यौलमा थिए। नजिकै मंसिर थियो।
ऋचाकी सासू भन्थिन्, ‘मंसिर रामसीता छुट्टिएको महिना हो, माघमा बिहे गरौंला।’
तर ऋचाकी आमाको अवस्था झन बिग्रँदै गयो। उनीहरुको विवाह त्यही मंसिरमा भयो।
आमाको मृत्यु
प्रेम गरेको मान्छे श्रीमान्, बुझ्ने परिवार, ऋचा निकै खुसी थिइन्। तर, विवाह गरेको २२ दिनको दिन आमाको मृत्यु भयो। आमाको मृत्युले ऋचा नराम्रोसँग टुटिन्। हुन त उनकी आमाले एउटा पूर्ण जीवन बाँचेर गइन्।
‘लामो समय थलिनुभएन। आमाले चोला फेरेर सुख पाउनुभयो। तर छोराछोरीलाई त आफ्नी आमा सधैं भैदिए हुन्थ्योजस्तो लाग्ने रहेछ,’ ऋचा भावुक भइन्।
ऋचाले परिपक्व उमेरमा विवाह गरेकी हुन्। विवाहपछि आमा बनिहाल्ने योजना थियो। तर आमाको मृत्युपछि ऋचाले १ वर्षसम्म केही सोच्न सकिनन्। दिदीहरु बाहिर थिए। ऋचाकी जेठी दिदी र उनले आमाको बर्खान्तसम्मका सबै कर्म गरे। त्यतिबेला घर, परिवार, सिनेमा सबै कुराले दिने खुसीभन्दा आमाको मृत्युले दिएको पीडा ठूलो भयो।
ऋचा भन्छिन् ‘ममी गएपछि मेरो सासूममी र श्रीमानले मलाई भावनात्मक रुपमा निकै सपोर्ट गर्नु भयो।’
कोभिडको समय थियो। आमाको वार्षिकीको काम सकेपछि ऋचाले आमा बन्ने निधो गरिन्। त्यसको एक महिनामा उनी गर्भवती भइन्। गर्भवती भएको थाहा पाउँदाको क्षण फरक थियो। तर त्यो फरक ऋचा महसुस मात्रै गर्न सक्छिन्। यस्तै महसुस भएको थियो भनेर बताउन सक्दिनन्।
गर्भावस्था सुन्दर
गर्भावस्थामा ऋचाले सुन्दर समय बाँचिन्। उनलाई श्रीमान र सासूले राम्रो साथ दिए। उनकी सासू स्वास्थ्यप्रति अत्यन्त सचेत थिइन् र कडिकडाउ गर्थिन्।
तर भन्थिन्, ‘आफूले सकेको काम गर बाबु।’
ऋचाले गर्भावस्थाको अन्तिम समयसम्म पनि कमेडी च्याम्पियनमा जजका रुपमा काम गरिन्।
भन्छिन्, ‘मेरो गर्भावस्था यति ब्लेसफुल थियो, त्यो सम्झिँदा त म ५ वटा बच्चा पाउन सक्छु जस्तो लाग्छ।’
शरीरको आकार परिवर्तन हुँदै गयो। मानसिक अवस्था पनि पहिलाजस्तो रहेन। पेटमा बच्चा चल्न थाल्यो। यो समय धेरै आमाहरुले पीर गरेको ऋचाले थाहा पाएकी छिन्। ऋचा भने यसैमा रमाउँथिन्। कोभिडको समय थियो, सबै घरमा थिए, सबैको साथ र माया पाएकाले पनि आफ्नो गर्भावस्था निकै सुन्दर रह्यो भन्ने ऋचालाई लाग्छ।
ऋचालाई आफ्नो गर्भको बच्चा के छ भनेर थाहा पाउन मन थियो। आफ्नो गर्भको बच्चा छोरी होस् भन्ने लाग्थ्यो। उनी आफ्नो कोखमार्फत आमा फर्काउन चाहन्थिन्। उनले कयौं पटक डाक्टरलाई सोधिन् पनि। गर्भ आठ महिनाको भएपछि अल्ट्रासाउन्डको बेला ऋचाले पुनः डाक्टरलाई सोधिन्।
डाक्टरको प्रश्न थियो, ‘तिमी के चाहन्छौ?’
उनले भनिन्, ‘म त छोरी होस् भन्ने चाहन्छु। मेरो आमा भर्खरै बित्नु भएको छ। पुनर्जन्म हुन्छ भन्छन्, म मेरै कोखबाट आमालाई फर्काउन चाहन्छु।’
डाक्टरले भने, ‘नेक्स्ट टाइम।’
ऋचाको मन एकैछिन खिन्न भयो।
उनकी सासूले भनिन्, ‘लिङ्गसँग के मतलब भयो र, चोला फेरेपछि फेरि छोरी नै हुन्छन् भन्ने छैन। शरीर रहँदा त हो छोरा र छोरी, प्राण त छोराछोरी दुवैको एकै हो। छोराकै रुपमा आमा फर्किनु भएको पनि त हुन सक्छ।’
ऋचा गर्भावस्थाको समय निकै सपना देख्थिन्। सबै सपना सासूलाई सुनाउँथिन्।
सासू भन्थिन्, ‘तिम्रा सबै सपनाले छोरा आगमनको संकेत गर्छ।’
उनको पेट हेरेर धेरैले लख पनि काटे। त्यो मिथ्यालाई लिएर ऋचाले आफ्नो युट्युब च्यानलमा केही कार्यक्रम नै बनाएकी छिन्। फुर्सदको समय थियो। गर्भावस्थाको समय ऋचा परिवारसँग घरमै तास खेलेर बस्थिन्।
ऋचाकी सासू हाँस्दै भन्थिन्, ‘मेरो नाति जुवाडे हुन्छ कि क्या हो!’
श्रीमानसँग दिनको झण्डै हजार पाइला हिँड्थिन्। दीपेक्ष ऋचालाई लिएर सजग थिए। ऋचालाई मनमा, पेटमा, दिमागमा भएका हरेक मुभमेन्ट श्रीमानलाई भन्नु पर्थ्यो। दीपेक्ष हरेक कुरा सुन्थे र त्यही अनुसारको व्यवहार गर्थे।
छोराको जन्म
ऋचालाई नर्मल रुपमा बच्चा जन्माउन मन थियो। तर ऋचाको अवस्थाले नर्मल डेलिभरी हुन सकेन। बच्चाको तलपट्टि रगतको फोका बनेर बसेको थियो। उक्त रगतको फोका फुटेको खण्डमा ऋचालाई बाँच्न मुस्किल थियो। सुरक्षित अवस्थामा बच्चा निकाल्न डाक्टरले सल्लाह दिएका थिए। पेट बढ्दै जाँदा डाक्टरले उनलाई रेस्ट गर्न भने। सासूले आवश्यक सबै सामान प्याक गरेर तयारी अवस्थामा राखिन्। ऋचालाई भने पटक्कै डर थिएन।
तिजको समय थियो।
डाक्टरले भने, ‘अब बच्चा निकाल्नु पर्छ। अप्रेसन नै गर्ने भएपछि तपाईंहरु डेट फिक्स गर्नुस्।’
ऋचाको परिवारले तिजको दिन बच्चा निकाल्ने निर्णय गर्यो। तर बच्चा जन्मने आफ्नै साइत लिएर गर्भमा आएको हुन्छ भन्ने ऋचाले यही बेला महसुस गरिन्। उनका गुरुले बुधबार राम्रो छ भनेका थिए। उनले तिजको पूजा गरेर अस्पताल भर्ना हुने र त्यही दिन बच्चा निकाल्ने बताइन्। त्यो दिन शुक्रबार थियो। आफू शुक्रबार जन्मिएको भएर पनि होला ऋचालाई यो बारसँग बेग्लै लगाव छ। तर लगाव भएर मात्रै पनि नहुने। आइतबार नै ऋचाको बच्चा चलेन। ३ घण्टासम्म बच्चा नचलेपछि उनले डाक्टर अचला वैद्यलाई फोन गरिन्।
उनले भनिन्, ‘चकलेट खानु, चिसो पानी खानु, चिसो पानीले नुहाउनु।’
ऋचाले सबै गरिन्। तर बच्चा चलेन। त्यसपछि अस्पताल आउन भनियो।
घरमा सबै सामान तयार थियो। अस्पतालमा डा. अचला वैद्यले सबै कुराको चाजोपाँजो मिलाइन्। ऋचा अस्पताल आइन्। जब उनी अस्पतालको लिफ्टमा चढिन्, उनको बच्चा ‘भुक्क’ गरेर चल्यो। ऋचाले लामो सास फेरिन्। तर डाक्टरले उनलाई घर फर्काउन मानिनन्। ऋचा अस्पताल भर्ना भइन्। उनको सुर शुक्रबार नै बच्चा निकाल्ने थियो। तर डाक्टरले सोमबार बेलुका उनलाई जोखिम नमोल्न भन्दै मंगलबार बच्चा निकाल्ने निधो सुनाइन्। मंगलबार खरो बार, त्यसमाथि औँस भनेर ऋचा मानिनन्। बुधबार उनको अप्रेसन भयो।
अप्रेसन थिएटरमा पस्दै गर्दा ऋचा नर्भस थिइन्।
उनले डाक्टरलाई भनेकी थिइन्, ‘मेरो बच्चा निकाल्दै गरेको भिडिओ बनाइदिनु है।’
एनेस्थेसियाले लट्टिएको शरीर, डाक्टरले छोरो निकालेर उनलाई देखाए। ऋचाले बच्चाको अवस्था सोधिन्, वजन सोधिन्। डाक्टरले सबै ठिक छ भनिन्। ऋचाले बच्चा ममीलाई देखाइदिनु भनिन्, त्यसपछि उनी बेहोस् भइन्।
होसमा आएपछि दीपेक्षले भने, ‘यति राम्रो बाबु दिएकोमा धन्यवाद।’
सासू मेरो साथी आयो भनेर खुसी भइन्। ऋचाको यहाँसम्मको यात्रा निकै सुन्दर थियो। छोरी, प्रेमिका, श्रीमती, बुहारी र आमा यी सबै साइनोमा ऋचाले आफूलाई भाग्यमानी ठानेकी थिइन्। तर बच्चा जन्मिएपछिको यात्रा भने सहज भएन।
कहालीलाग्दो कथा
ऋचालाई लाग्थ्यो बच्चा जन्मिएपछि दूधको धारा बग्छ। बच्चाले घटघट दूध खान्छ। सजिलोसँग दूध खुवाउँछु। तर सोचेको जस्ता सजिलो कहाँ हुन्थ्यो! मसाज गरेर बल्ल केही थोपा दूध निस्कियो। ऋचालाई बिगौती दूध निकाल्ने बेला ज्वरो नै आयो। भित्र गडेको सानो निप्पल, बच्चाले दूध चुस्न सकेन। सुरुमै दूध दुहेर खुवाउनु पर्यो। पछि निप्पल सिल्ड लगाएर बच्चालाई दूध ख्वाइन्। बिस्तारै बाबुले दूध तान्न थालेपछि ऋचालाई सजिलो हुँदै गयो।
ऋचा भन्छिन्, ‘बच्चालाई दूध ख्वाउनु भनेको आफैंमा एउटा युद्ध रहेछ।’
ऋचाको एउटा स्तनबाट दूध धेरै आउँथ्यो, एउटाबाट कम। उनलाई लाग्थ्यो बच्चालाई दूध पुगेको छैन। उनका छोरा पनि रोइरहन्थे। बच्चा १/१ घण्टाको फरकमा उठ्थ्यो। ऋचाको दिमाग ठेगानमै हुन्थेन्।
भन्छिन्, ‘सुत्केरी समयमा मान्छेलाई एन्जाइटी, डिप्रेसन कहाँबाट आउँछ भन्ने लाग्थ्यो मैले त्यो समय बुझेँ।’
निद्रा, खाना केही कुरामा ध्यान जाँदैनथ्यो। जतिबेला बच्चा मात्रै दिमागमा आउँथ्यो।
छोरा जन्मिएको ११ दिनमा ऋचाको ब्लड प्रेसर ह्वात्तै बढ्यो। अस्पताल भर्ना भइन्। ५ दिन ऋचाले औषधि खाइन्। उनलाई कम भयो। ठिकठाकसँग २ महिना बिते। त्यसपछि एकाएक ऋचाको स्तन गानिएर आयो। बच्चालाई ‘मिक्स फिडिङ’ गराउन थालेपछि उनको दूध कम खान थाले। बट्टाको दूध खाँदा बच्चालाई सजिलो हुन्थ्यो, आमाको दूध खान मेहनत गर्नु पर्थ्यो। छोराले आमाको दूध खान अल्छी गर्न थाले, आमाको दूध उत्पादनको परिणाम बढेर गयो। ऋचाले दूध फालिन। तर, उनको स्तनको अप्रेसन गर्नु पर्यो। उनको स्तनमा ६ सय एमएल पिप जमेको थियो। स्तन काटेर फालियो। त्यसको दुई हप्तामा अर्को स्तनको अप्रेसन गर्नु पर्यो। ऋचाले छोरालाई दूध खुवाउन पाइनन्। अहिलेसम्म नभएको मानसिक विक्षिप्तता ऋचामा देखियो। आफ्नाहरुसँग नजिकिन मन हुन छोड्यो। कसैसँग बोल्न मन लाग्दैनथ्यो। त्यो समयको पीडा अभिव्यक्त गर्ने शब्द छैनन्, दुखाइ अझै छ ऋचाको छातीमा।
ऋचालाई गर्भावस्था सम्झिँदा अर्को बच्चा जन्माउन सक्छु भन्ने लाग्छ। तर ब्रेस्ट अप्रेसनको समय सम्झिँदा सक्दिन भन्ने लाग्छ। ऋचालाई परीजस्तै छोरीको चाहना अझै छँदैछ। ऋचा आफूले पाएको दुःख सम्झिएर गर्भावस्थाको समयबाटै सचेतना दिन्छिन्। पहिला नै मसाज गरेर आफ्नो स्तनको निप्पल निकाल्न सुझाव दिन्छिन्।
भन्छिन्, ‘समयले मान्छेलाई घाउ मात्रै दिँदैन पाठ पनि त सिकाउँदो रहेछ।’
ऋचाका छोरा भर्खर हिँड्न सिक्दैछन्। सहयोगी श्रीमान्, मायालु सासू–ससुरा ऋचा आफूलाई भाग्यमानी श्रीमती, बुहारी र आमा सम्झिन्छिन्। सबै कुराले आमाको अभाव भने मेटाउन सक्दो रहेनछ। उनलाई आमाको अभाव महसुस हुन्छ। आफू आमा बन्दाको खुसी आफ्नी आमालाई सुनाएर खुसी साट्न पाइनन्। छोराले मामाघर भनेर जान पाएनन्। ऋचाले अभाव मानेको यो खाली ठाउँ पुर्ने केही छैन। तर ऋचा छोरा, श्रीमान् र परिवारसँग खुसीको जीवन बाँचिरहेकी छिन्।
प्रतिक्रिया