शाही शासनको बेला थियो। कडा सेन्सरसीप। आफू संलग्न कान्तिपुर दैनिकको लागि पठाएका कार्टुनहरु छापिँदैनथे। परिस्थिति बुझेका बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ फुर्सदिला बनेका थिए।
एक साँझ काठमाडौं पोष्टका सम्पादक प्रतिक प्रधानले टेलिफोनमा आग्रह गरे, ‘शाही शासनलाई दनक दिने गरी एउटा गज्जबको कार्टुन बनाएर पठाइदिनुहोस्।’
गणतन्त्रको नारा लागेको बेला देशको प्रमुख दल नेपाली कांग्रेस राजतन्त्रको मोहबाट मुक्त भएकै थिएन।
दुर्गा बराल ‘वात्स्यायन’ को मनमा कार्टुन फु¥यो। उनले शाही फोहर मैलाको डुंगुरबाट राजतन्त्ररुपी सिनो उठाएर हिँड्दै गरेका गिरिजाप्रसाद कोइरालाको कार्टुन बनाए। गिरिजाले काँधमा बोकेको सिनोमा लेखिएको थियो, ‘संवैधानिक राजतन्त्र’ अनि उनको हातमा थियो कुहिएर छिनेको त्यही सिनोको पुच्छर!
कार्टुन कान्तिपुर र काठमाडौं पोष्ट दुबैको पहिलो पृष्ठमा छापियो। कार्टुन छापिएको के थियो ! त्यसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय चर्चा बटुल्यो। वात्स्यायनका अनुसार नेपाली कांग्रेसको नीतिलाई व्यङ्ग्य गरेको कार्टुनको झटारो दरबारतिर सोझिएछ। शाही शासनका भजनमण्डलीहरुले कार्टुनिष्ट बराललाई जेल कोच्नु पर्ने अभिव्यक्ति दिन थाले।
यो श्रृंखला यति उग्ररुपले अगाडि बढ्यो कि, एक दिन कान्तिपुरका सम्पादक नारायण वाग्लेले बराललाई टेलिफोन गरेर भने, ‘कार्टुनका कारण कान्तिपुरका प्रकाशक, सम्पादक र कार्टुनिष्टलाई गिरफ्तार गर्ने कुरा विश्वस्त स्रोतबाट जानकारीमा आएको छ, तपाईं तयार भएर बस्नुहोला।’
भिडिओः विशाल कार्की
पोखरामा सामान्य जीवन जिउँदै आएका वात्स्यायनले घर परिवारलाई परिस्थितिबारे जानकारी गराए। गिरफ्तारी दिन मानशिक रुपमा तयार भए।
‘तर किन हो कुन्नी, गिरफ्तारीमा भने परिएन’, बोल्दा हल्का मुस्कुराउने आफ्नै शैलीमा बरालले नेपालखबरसँग भने, ‘प्रेसर प¥यो कि के भयो, थाहा भएन।’
दासढुंगा दुर्घटनापछि तत्कालीन एमालेले सडक र सदन तताएको बेला थियो। वात्स्यायनले तताइरहेको दासढुङ्गाको सुप बाँडेर खाएको कार्टुन बनाए। कार्टुनमा मनमोहन अधिकारीको ‘यो अहिल्यै सक्नुहुन्न, यो सुप पछिसम्म पनि काम लाग्छ’ भन्ने अभिव्यक्ति सामेल थियो।
उनी एमालेको तारो बने। कार्टुनले विवाद निम्त्याएपछि बात्सायनले स्पष्टीकरणसमेत दिए।
कार्टुन यात्राको क्रमका वात्स्यायनले यी दुई प्रतिनिधि घटना हुन्। एउटामा वात्यासयन राज्यबाट र अर्कोमा विपक्षी दलको आँखाको तारो बने।
‘म सृजनामा मात्र ध्यान दिन्छु, कार्टुन बनाउने क्रममा मलाई थुन्छ कि, के हुन्छ भन्ने म कहिल्यै सोच्दिनँ’, उनले प्रश्न मिश्रित अभिव्यक्ति दिए, ‘राजनीतिक चेतले बनाइएका कार्टुनको पक्ष र विपक्षमा आवाज आउनु स्वभाविक हो, सत्ता र शक्तिको भजन गाएर अनि आफूले देखेको कुरा नबनाए (कार्टुन) के बनाउने?’
भिडिओः विशाल कार्की
२०२२ सालतिर दुर्गा बराल राजधानी हानिए। पढ्नु थियो। पढाइ खर्च जुटाउने हुटहुटीकै बीच न्यूरोडमा रहेको डाँफे रेष्टुरेण्टमा रमेशनाथ पाण्डे भेटिए। नयाँ सन्देश साप्ताहिक निकाल्ने पाण्डेले कलाकारितामा रस भएका बराललाई कार्टुन बनाउन आग्रह गरे। बराललाई कार्टुनबारे थाहै थिएन।
त्यसो त उनले छिमेकीको आग्रहमा २०१५ सालतिर संयुक्त प्रजातन्त्र पार्टीको ‘संयुक्त प्रयास’ भन्ने पत्रिकाको लागि नेपाली कांग्रेसको रुख लडेको चित्र भने बनाइदिएका थिए। त्यो कार्टुन थियो कि थिएन भन्नेमा चाहिँ उनी अझै पनि ‘कन्फूज्ड’ छन्।
रमेशनाथले भारतीय पत्रिकाको कार्टुन देखाए। त्यो बेला टाइम्स अफ इण्डियाको लागि आर के लक्ष्मणले कार्टुन बनाउँथे।
‘सुरुमा मैले लक्ष्मणले बनाएका कार्टुनको भाव त बुझिनँ तर उनको कलाकारिताले भने मलाई प्रभावित ग¥यो’, बरालले सुनाए, ‘मैले कार्टुन यात्रा त्यहीँबाट सुरु गरेँ, पत्रिका कहिले छापिन्थ्यो, कहिले सेन्सरमा पथ्र्यो, पैसा पाउने त कुरै भएन।’
उनी जनक शिक्षा सामाग्री केन्द्रको जागिरे बने। जापान गए। फर्केर आएपछि कलाकारितामा रस भएका बराललाई जागिर जँचेन। २०२६ सालतिर पोखरा फर्किए। नालामुखमा ‘इगल आइ आर्ट स्टुडियो’ चलाएर चित्र बेच्न थाले।
पोखराबाटै ‘प्राङ्गण’ पत्रिका निस्क्यो। साथीभाईले कार्टुन बनाइदिन आग्रह गरे। चौमासिक पत्रिकामा छापिएका कार्टुनहरु चर्चित बने। पृथ्वीनारायण क्याम्पसमा ललितकलाको प्राध्यापकको जिम्मेवारी। त्यस्तैमा नयाँ सन्देशका सहकर्मी होमनाथ दाहालले राष्ट्रपुकार निकाले। कार्टुन बनाएर सहयोग गरिदिन आग्रह गरे। पञ्चायतको जमाना। सत्ताको बिरोध गरिएका कार्टुृनहरु लोकप्रिय हुने नै भए। दुर्गा बरालले कोपभाजनबाट बँच्न छद्म नाम रोजे, ‘वात्स्यायन !’
पैसा आउने कुरै थिएन। समयचेतका कारण कार्टुनले चर्चा भने खुब कमाउँथ्यो। निस्कने र बन्द हुने त्यो बेलाको पत्रिकाको नियति थियो।
‘पत्रिकामा काम गर्दा राजनीतिक चेतना बढ्दै गयो अनि बोल्ने लेख्ने अधिकारको लागि लड्नुपर्छ भन्ने भावना दह्रो भयो’, वात्स्यायनले भने, ‘त्यो बेला मिसन पत्रकारितालाई नै सहयोग गरियो।’
उनको कार्टुन यात्रा मातृभूमि, देशान्तर, सुरुचि हुँदै प्रजातन्त्र प्राप्तिपछि गोर्खापत्रसँग जोडियो। गोर्खापत्रले उनको कार्टुन पहिलो पृष्ठमा छाप्न थाल्यो। छापिनु के थियो, विवादले उनलाई छाडेन।
मनमोहन अधिकारीले सरकारविरुद्ध संसदमा पेश गरेको अविश्वासको प्रस्ताव फेल भएको थियो। वात्स्यायनको अविश्वासरुपी भाँच्चिएको तरबार लिएर हिँडेको मनमोहनको कार्टुन गोर्खापत्रमा छापियो। विपक्षीले सरकारी संचारमाध्यमको दुरुपयोग गरेको आरोप लगाए। पछि त्यो विषयमा तत्कालीन संचारमन्त्री जेपी गुप्ताले सदनमै जवाफसमेत दिनुप¥यो। फुक्काफाल सृजना चाहने वात्स्यायनले गोर्खापत्र छाडे।
निजी क्षेत्रबाट कान्तिपुर दैनिकको जन्म भयो। तत्कालीन सम्पादक अखिलेश उपाध्यायले बात्सायनलाई कान्तिपुरको लागि कार्टुन बनाउन आग्रह गरे। पोखरा बसेर वात्स्यायनले कान्तिपुरको लागि कार्टुन बनाउन थाले।
‘म कार्टुन फ्याक्स गर्थेँ, त्यहाँ विषयबस्तुमा कुनै रोकतोक थिएन’, उनले पुराना कुरा सम्झँदै भने, ‘आइतबारको लागि कार्टुन पठाउनै पथ्र्यो, म दुई तीन दिन अगाडि नै मनमा कार्टुनको स्केच कोरिसक्थेँ।’
नियमितजसो कार्टुन कर्ममा पनि उनले कार्टुनकै लागि समय भने छुट्याएनन्। साथीभाईसँग गफ गर्दा, पत्रपत्रिका पढ्दा अनि हिँड्दा–हिँड्दै पनि कार्टुनको विषय फुर्छ रे, उनलाई। दिमागमा ‘क्लिक’ भएको आइडियालाई पहिला स्केच गर्ने अनि त्यसलाई अन्तिम रुप दिने उनको पुरानो बानी अद्यावधि कायमै छ।
चित्रकलामा रुची भएका वात्स्यायनलाई समयक्रमले ‘कार्टुनका बादशाह’को पगरी गुथाइदियो। भला, यो उनको चाहना भने हैन।
‘हो मैले चित्रभन्दा बढी कार्टुन नै बनाएँ’, उनले स्वीकार्दै भने, ‘तर एक कोलमको कार्टुनतिर भने मेरो मन गएन।’
समय फेरिएको छ। संसारभरका कार्टुनिष्टले उपयोग गर्ने प्रविधि नेपालमै उपलब्ध छ। फ्याक्स गर्ने वात्स्यायन यतिबेला इमेलबाट कार्टुन पठाउँछन्। तर, नेपाली कार्टुनको सोचेजस्तो विकास भने नभएको उनको ठम्याइ छ।
आखिर किन त?
‘कार्टुनमा टेक्निक मात्र हुँदैन, वैचारिक पक्ष पनि हुन्छ, गहिरो व्यङ्ग्यको धरातल समात्ने प्रवृत्तिमा हामी पछि नै छौँ’, उनी भन्छन्।
कला मिसिएको कार्टुनले व्यङ्ग्य गर्ने कि चुट्किलाले भन्ने द्धिविधाले पनि कार्टुनको सोचेजस्तो विकास नभएको उनको भनाइ छ।
उनी भन्छन्, ‘कार्टुन र चुट्किला फरक विषय हुन्, कसैले कार्टुन जानेका छन्, चुट्किला जान्दैनन्, कोही चु्ट्किला भन्न सिपालु, कार्टुन हुँदैन।’
सामयिक नेपाली कार्टुनबारे उनको टिप्पणी हो यो।
व्यक्तिको निजी जीवनको रक्षाको नाममा सार्वजनिक व्यक्तित्व र आम नागरिकलाई एउटै दर्जामा राख्न नमिल्ने उनको बुझाइ छ।
उनी भन्छन्, ‘सार्वजनिक पदमा बसेको मान्छेको जीवन गोप्य हुँदैन, उसका गतिविधीको अनुकरण हुन्छ, नराम्रा कामको आलोचना पनि हुन्छ।’
अहिलेको कानूनले सार्वजनिक पद धारण गरेको व्यक्तिलाई बढी स्वेच्छाचारी बनाउन मद्धत पुग्न सक्ने आशंकाबीच पुनः उनले थपे, ‘पहिलाजस्तो त छैन, मान्छेले धेरै स्वतन्त्रताको उपभोग गरिहेका छन्, सचेत नागरिकको मुख थुन्न गाह्रो हुन्छ।’
वात्स्यायनका प्रायः कार्टुनहरुमा चनाखो ‘काग’ छुट्दैन। कागले समाचार सुनाउँछ। कागको बिम्व प्रयोग गरेर वात्स्यायन समाजलाई समाचार सुनाउँछन्। शुभ, अशुभ उनको मतलव हैन तर हरेक मान्छेलाई कसैले हेरिरहेको छ, नियालिरहेको छ भन्नेमा भने विश्वास गर्छन्।
पोखरामा नागरिक अभिनन्दन
वात्स्यायन ८१ वर्षमा टेक्दैछन्। १९९९ चैत ५ गते साविक आर्बा र हाल पोखरा महानगरपालिका वडा नम्बर १३ मा जन्मेका बरालले तीन वर्षमै आमा गुमाए। आमा कलावतीको निधनपछि बुबा हरिवंश बराल भारततिर लागे। बराल फुपूको रेखदेखमा हुर्किए। ८ वर्ष हुँदा उनी नदीपुरको मावलीमा सरे। फुफूकहाँ बस्दा नै उनको मन कलाप्रति मोडिएको थियो। तत्कालीन नेसनल मल्टीप्रपोज हाइस्कूल भर्ना भएपछि पनि उनले कलाप्रतिको मोह छाडेनन्।
खासमा उनी पानी रङ खेलाउनसक्ने गजबका कलाकार हुन् तर कालान्तरमा पेण्टिङभन्दा कार्टुनले बढी चर्चित बने। बराल कुनैबेला शारीरिक सुगठनप्रति पनि आकर्षित भएका थिए। फोटोग्राफी उनको अर्को शोख हो। बराल आफूलाई आममान्छे ठान्छन्। घमण्ड नदेखाउने, सदा मुस्कुराउने र समयचेत बोकेर हिँड्ने उनै बराल शनिबार पोखरामा अभिनन्दित भएका छन्। पोखरेली युवा सांस्कृतिक परिवारले उनलाई अभिनन्दन गरेको हो।
‘पोखरेली युवा सांस्कृतिक परिवारले आफ्ना सम्मानित आजीवन सदस्य एवम् सल्लाहकार दुर्गा बराल वात्स्यानलाई रथारोहण तथा अभिनन्दन गरेको हो’, आयोजक संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले भने, ‘उहाँजस्ता अमूल्य निधिलाई सम्मान गर्न पाउनु हाम्रो सौभाग्य हो।’
आँखा कमजोर भएकाले यतिबेला वात्स्यायन विश्राममा छन्। उनले केही समयअघि एउटा आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको छ। अर्को आँखाको शल्यक्रियापछि उनी पुरानै अवस्थामा फर्कनेछन्। पुनः चित्र र कार्टुन कोर्नेछन्।
वात्स्यायनलाई जन्मदिनको हार्दिक शुभकामना !
प्रतिक्रिया