स्कुले जीवनबाटै अरविन राई जिमका सौखिन थिए। उनी त्यो बेलादेखि नै स्वस्थ जीवनशैली चाहन्थे। खानपानमा पनि उत्तिकै सचेत थिए। कसरी स्वस्थ र तन्दुरुस्त भइन्छ भनेर घण्टौँ गुगलमा खोजी गर्थे।
विश्वभरका प्रसिद्ध जिम ट्रेनरका बारेमा उनी जानकारी राख्थे। १६ वर्षबाटै उनले जिम गर्न थाले। उमेर बढ्दै जाँदा सँगै शारिरीक बनावट र स्वस्थ जीवनशैलीप्रतिको उनको लगाव बढ्दै गयो। सन् २०१० देखि भने गम्भीर भएरै उनी जिम गर्न थाले।
कक्षा १२ सम्म नेपालमै पढेका काठमाडौं गोल्फुटारका राई स्नातक पढ्न अमेरिका गए। त्यहाँ उनले बडिबिल्डङबारे अझै बढी बुझ्ने मौका पाए।
अमेरिका र नेपालको जिममा आकास–पातालको फरक उनी देख्छन्। उनले सानैबाट आफ्नो एउटा छुट्टै खालको जिम होस् भन्ने सपना देखेका थिए। जब राई अमेरिकी जिममा जान थाले, तब उनले नेपालमा पनि यस्तै सफा र राम्रो वातावरणमा जिम खोल्ने अठोट लिए।
आफूले देखेको सपना पुरा गर्न सक्ने अवस्थामा उनी पुगिसकेका थिए। नेपालमा जिम खोल्दा आफ्नै देशमा मानिसलाई अभिप्रेरित पनि गर्न सकिन्छ भन्ने सोच उनलाई आउँछ।
तर, त्यस्तो जिम अरुको भन्दा फरक होस् र त्यसले मानिसलाई स्वस्थ जीवनशैलीका बारेमा सचेत बनाउन मद्दत गरोस् भन्ने उनको सोच थियो। अमेरिकामा बस्दा पनि उनी बेलाबेला नेपाल आइरहन्थे। नेपालका प्रायः जिममा सामान्य मापदण्ड पनि पालना नभएको उनी देख्थे।
‘नेपालका जिमहरुमा वर्कआउट गर्ने मानिसहरुलाई सामान्य कुराहरु पनि थाहा नहुने, जिम सफा नराख्ने, इक्विपमेन्ट कति राख्ने, कहिले मेन्टेन गर्ने भन्ने पनि थाहा नभएको देख्थेँ,’ अरविन राईले सुनाए।
वर्षौंसम्म त्यो स्थिति नबदलिएको देखेपछि अमेरिकाबाटै कुनै ब्रान्डको फ्रेन्चाइज ल्याउने सोच उनी बनाउँछन्। त्यसपछि उनी अमेरिकामा १९६५ मा स्थापना भएको र विश्वभर सात सय भन्दा बढी ठाउँमा खोलिएको गोल्ड्स जिमको फ्रेन्चाइज ल्याउने प्रयासमा लाग्छन्।
नेपालमा गोल्ड्सको फ्रेन्चाइज नभएकाले उनले नै पहिलो पटक ल्याउनु पर्ने थियो, जुन पक्कै सहज थिएन। तैपनि उनले आवेदन दिए। गोल्ड्स जिमले राईको सबै पृष्ठभूमि हेरेर केही समयपछि उनलाई जिम खोल्ने अनुमति दिन्छ।
त्यसपछि उनले गोल्ड्स जिमको फ्रेन्चाइज पहिलो पटक नेपाल भित्र्याए र ललितपुरको भैँसेपाटीमा जिम खोले।
‘यसको राम्रो इतिहास छ। फ्रेन्चजाइजका लागि अप्लाइ गरेँ र उहाँहरुले मलाई छान्नु पनि भयो। सायद उहाँहरुले मेरो पृष्ठभूमि हेर्दा लामो समय जिम गरेको र अनुभवी मानेर दिनुभयो होला,’ अरविन नेपालखबरसँग भन्छन्, ‘किनभने कुनै पनि फ्रेन्चाइज सुरुमा ल्याउन अलि गाह्रै हुन्छ।’
संसारभर नै गोल्ड्स जिम एक नम्बरको फ्रेन्चाइज रहेको र आफू अमेरिकामा छँदा गोल्ड्स जिम नै गइरहने भएकाले पनि नेपालमा त्यो फ्रेन्चाइज खोल्ने हौसला जागेको उनी बताउँछन्।
‘नेपालका लोकल जिममा खाली तौल उठाएर शरीर बनाउने र तौल घटाउने क्षेत्रका रुपमा लिएको देखेँ। यस्तो देखेपछि अन्तर्राष्ट्रिय स्तरकै स्ट्यान्डर्ड कायम राखेर नेपालमै जिम खोलिहाल्नुपर्छ भन्ने लाग्यो,’ राईले सुनाए।
लोकल जिम र गोल्ड्स फ्रेन्चाइजमा फरक
लोकल जिम र गोल्ड्स फ्रेन्चाइजमा निकै फरक रहेको राईले बताए।
‘लोकल भन्नेबित्तिकै आफ्नै तरिकाले चलाउने भन्ने हुन्छ तर फ्रेन्चाइजमा त्यसको आफ्नो छुट्टै स्ट्यान्डर्ड हुन्छ। इक्विपमेन्ट, सरसफाइ सबै कुरा अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ,’ उनी भन्छन्, ‘कसरी सञ्चालन गरेको छ भनेर फ्रेन्चाइज निरीक्षण गर्न बेलाबेलामा अमेरिकाबाटै टोली नेपाल आउने गर्छ। विश्वमा जहाँ भए पनि उनीहरुले जाँच गरिराख्नु पर्छ।’
‘भोलि गएर कुनै एउटा देशको फ्रेन्चाइजले नराम्रो गर्यो र स्ट्यान्डर्ड मेन्टेन गर्न सकेन भने त्यो फ्रेन्चाइजको नाम बद्नाम हुन्छ। त्यसैले पनि उनीहरुले निगरानी गरिराख्छन्,’ उनले थपे।
त्यसैले अन्तर्राष्ट्रिय स्तर कायम राख्न जिम निकै सफा राखिएको र आवश्यक इक्विपमेन्ट बाहिरैबाट ल्याइएको उनले बताए। गोल्ड्स जिम नेपालमा विदेशी प्रशिक्षक राख्न नमिल्ने भएकाले नेपाली नै राखिएको उनको भनाइ छ। तर, उनीहरुले अन्तर्राष्ट्रिय स्तरको तालिम लिएको राईले बताए।
गोल्ड्स जिम नेपालका म्यानेजर तथा पर्सनल ट्रेनर अधीश अमात्यका अनुसार भैँसेपाटीको जिममा जुम्बा, एरोबिक्स, टु–फिट्नेस, स्टिम, साउनाको सुविधा उपलब्ध छ र तालिमहरु पनि दिइन्छ।
भैँसेपाटीमा गोल्ड्स जिम। भिडिओः विशाल कार्की
‘बिहान ६ देखि ९ बजेसम्मको समयलाई गोल्ड्स समय र त्योभन्दा अन्य समयलाई सिल्भर भनेर तोकिएको छ। गोल्ड्स समयमा जिम गर्नका लागि वर्षमा एक लाख १७ हजार पर्छ। महिनाको हिसाब गर्दा १० हजार पर्छ,’ राईले भने।
अन्तर्राष्ट्रियस्तरको जिममा यति शुल्कमा निकै राम्रो सेवा दिएको उनी बताउँछन्। पैसाभन्दा पनि कस्तो ठाउँमा सेवा लिएको छ, सेवा कस्तो पाएको छ, जिम गर्ने ठाउँ कस्तो छ भन्ने कुरा बढी प्राथमिकतामा पर्ने उनले बताए।
‘मेसिनहरु तीनतीन महिनामा मर्मतसम्भार गर्नु पर्छ र त्यसका लागि पनि बाहिरबाटै टोली आउँछ,’ उनले भने।
भैँसेपाटी नै किन?
नेपालमा गोल्ड्स फ्रेन्चाइज खोल्ने अनुमति पाएसँगै राईलाई जिम खोल्ने ठाउँ पनि छान्ने चुनौती थपियो। लोकल जिमभन्दा फरक शैलीमा हुने भएकाले ठाउँ पनि त्यही अनुसार अलि फरक खोज्न समय लागेको उनले सुनाए।
‘ठाउँ धेरै खोजियो, खोज्दै जाँदा ललितपुरको भैँसेपाटी ठिक लाग्यो। त्योभन्दा पहिला मलाई त्यो क्षेत्रका बारेमा त्यति थाहा थिएन,’ राई भन्छन् ‘भैँसेपाटी क्षेत्र अहिले तीव्र गतिमा विकास भइरहेको र नजिकै अन्तर्राष्ट्रिय अस्पताल र मन्त्रीहरु बस्ने निवास पनि खुल्दै रहेछ। यहाँ बस्नेहरुको जीवनस्तर पनि अलि उच्च देखियो। अरु क्षेत्रको भन्दा भविष्य राम्रो रहेछ भन्ने लागेर पनि यहाँ खोलिएको हो।’
‘मेरो सपना थियो, जिम खोलेपछि चार वटा पर्खालभित्र मात्र सीमित नहोस्। ठूलो क्षेत्र होस्। जिमबाट सबैतिरको दृश्य देख्न पाइयोस्। जुन भैँसेपाटी आवास क्षेत्रमा रहेको भैँसेपाटी कम्प्लेक्समा पाएँ। पार्किङको पनि राम्रो सुविधा थियो,’ उनले थपे।
भनेजस्तो ठाउँ पाएपछि योजनाभन्दा ६ महिनाअघि नै जिम खोलिएको उनको भनाइ छ।
‘नेपालको मेम्बरसिपले विश्वभर जिम गर्न मिल्छ’
अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएकाले वार्षिकरुपमा मेम्बर बने जिमको ट्राभल पासपोर्ट दिइने र त्यसले विश्वभरका गोल्ड्स जिममा १५ दिन जिम गर्न पाइने उनले जानकारी दिए। ठाउँ परिर्वतन गरेपछि अर्को गोल्ड्स जिममा थप १५ दिन गर्न मिल्ने समेत उनले जानकारी दिए।
जुन देशमा गए पनि जिम गर्नका लागि भने छुट्टै प्याकेज रहेको उनले बताए।
जिमको ओपनिङ र मार्केटिङ नगर्दै ८० जनाभन्दा बढी मेम्बर बनिसकेको गोल्ड्स जिम नेपालका म्यानेजर अमात्यले बताए।
‘ओपनिङ र मार्केटिङ नगर्दा पनि ६ महिनामा ८० भन्दा बढी मेम्बर बन्नुभएको छ,’ उनले भने।
गोल्ड्स फ्रेन्चाइजको १० वर्षको शुल्क तिरिसकेको राईले बताए। फ्रेन्चाइजले तौल घटाउने, तालिम दिनेजस्ता फरकफरक कार्यक्रमहरु बनाउन सहयोग गर्ने उनले जानकारी दिए।
‘फ्रेन्चाइजले लोकल मार्केटिङका लागि पनि सहयोग त गर्छ तर हामी आफैँ नै यहाँको मार्केटिङ हेर्छौं। मुख्यतया उनीहरुले बिजनेस कसरी राम्रो बनाउने भनेर सहयोग गर्ने हो,’ उनले भने।
भैँसेपाटीको गोल्ड्स जिममा हालसम्म करिब नौ करोड रुपैयाँ खर्च भइसकेको उनी बताउँछन्।
‘धेरैले बिजनेसमा लगानी गरिसकेपछि तत्कालै लगानी उठाउने सोच्छन् तर हामीले अहिलेभन्दा पनि भविष्यका लागि सोचेका छौँ,’ उनले भने ‘जिम चल्नका लागि नेपालको राजनीति, काठमाडौं अझै कत्तिको विकसित हुन्छ र नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्नेमा भर पर्छ। अहिलेको सबै कारक तत्वलाई हेरेर हिसाब गर्दा चार पाँच वर्षमा लगानी उठ्ला।’
विलासिता होइन, जीवनशैली
अरुभन्दा गोल्ड्स जिम केही महंगो भए पनि उपलब्ध सुविधाका हिसाबले खासै महंगो नभएको उनले दाबी गरे।
‘मानिसहरु नचाहिने कुरामा पैसा खर्च गरिहेका हुन्छन्। तर आफ्नो स्वास्थ्यको लागि पैसा खर्च गर्दा बेकार हो भन्छन्,’ अरविन राईले भने, ‘कतिपयले जिम विलासिता हो भन्छन्। तर त्यो होइन, जिम एउटा नसा हो। यो एउटा स्वस्थ जीवनशैली हो।’
राईको अध्ययनले भन्छ– नेपालमा एउटा समूह मज्जाले काम गर्छ, ठुल्ठूला रेस्टुरेन्ट जान्छ र नाइट लाइफ बिताउने गर्छ तर स्वस्थ जीवनशैलीका लागि खासै केही गर्दैन।
‘जसले गर्दा पछि गएर विभिन्न रोगहरुले गाँज्दै लैजान सक्छ। त्यसैले अहिले नै स्वास्थ्यलाई ध्यानमा राखेर जिम वा कसरत गर्न आवश्यक छ,’ राई भन्छन्।
पछि गएर अन्य फिटनेस, स्वस्थ जीवनशैली र पोषणका क्षेत्रमा पनि आफू जोडिने उनले बताए।
८० वर्षसम्म स्वस्थ रहन जिम
जिम भन्नेबित्तिकै धेरैले तौल घटाउने र शरीर बनाउने बुझ्छन्, राईको भनाइमा त्यो सोच गलत हो।
‘जिमको एउटा पाटो सिक्स प्याक बानाउने र तौल घटाउने पनि हो तर जिम त्यसमा मात्र सीमित हुँदैन किनभने जिमसँगै स्वस्थ जीवशैलीमा बढी ध्यान दिनु आवश्यक छ। जसमा हामी केन्द्रित भएर लागिरहेका छौँ,’ उनको भनाइ छ।
जिमसँगै खानापानमा पनि विशेष ध्यान दिए मात्र मानसिक र शारीरिक रुपमा स्वस्थ भइने म्यानेजर अमात्यले बताए।
‘तपाईं बाहिरबाट कस्तो देखिनुहुन्छ भन्दा पनि तपाईं भित्रबाट कति स्वस्थ र फिट हुनुहुन्छ भन्ने कुराले बढी महत्व राख्छ,’ अमात्यले भने, ‘म पर्सनल ट्रेनर भएकाले जिम ८० वर्षसम्म स्वस्थ हुनका लागि गर्नुहोस् भन्छु। जसरी हामी दैनिक दाँत माझ्छौँ, त्यसरी नै दैनिक केही न केही जिम गर्नु पर्छ। सय केजीको मान्छेले तौल घटाउँछु भनेर जिम गर्नु भन्दा पनि स्वस्थ हुन्छु भनेर गर्नु पर्छ। जबसम्म शरीरले साथ दिन्छ तबसम्म जिम गर्छु भनेर सोच्नु पर्छ।’
मुख्य गरेर जिम गर्नेले खानपिनमा बिशेष ध्यान दिनु पर्ने कुरामा उनले जोड दिए।
६ महिनाअघि खोलेको गोल्ड्स जिम नेपालमा एक महिनाका लागि मेम्बर बनेकाले पनि वर्षदिनको प्याकेज लिएको र प्रायः राम्रो प्रतिक्रिया दिइरहेको समेत उनले सुनाए।
‘लामो समय नेपालमै बस्ने विदेशी नागरिकहरु धेरै आउने गर्छन्,’ उनले भने ‘र, उनीहरुले सरसफाइदेखि धेरै कुराको तारिफ गर्छन्।’
गोल्ड्स जिममा ज्येष्ठ नागरिक र विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ।
तस्बिरहरु : सरोज नेपाल
प्रतिक्रिया