‘जिन्दगी सकियो।’
अफगान युद्धमा दुवै खुट्टा गुमाउँदा बेलायती गोर्खा सैनिक हरिबहादुर बुढामगरले यही ठानेका थिए, ‘कुनै जन्ममा मैले गल्ती गरेको हुनुपर्छ। त्यसैको सजाय पाएँ।’
केही समय मन बरालियो। आफन्तले पनि उनलाई असहायलाई जस्तो व्यवहार गर्न थाले। उनी बदलिएका थिएनन्, मात्र गोडा गुमाएका थिए। तर, मानिसहरूबाट उनले फरक व्यवहार महसुस गरे।
तर, विस्तारै उनले आत्मबल बढाए। कृत्रिम खुट्टाले पनि केही गर्न सकिन्छ भन्ने लाग्यो। साहसिक खेलकुद सुरु गरे। स्कि खेल्ने, साना हिमाल आरोहण गर्न थाले।
‘अपाङ्गता एउटा प्राकृतिक कुरा रहेछ। लुकाएर हुँदैन,’ हरिकै सोचमा परिवर्तन हुँदै आयो, ‘अपाङ्गतालाई लुकाएर राख्ने कि सिर्जनात्मक जीवन बिताउने?’
सन् १९७९ मा रोल्पामा जन्मिएका बुढा धौलागिरि र माउन्ट साइन आरोहण गर्ने सपना बुन्थे। बाल्यकालमा त उनको त्यो सपना पूरा भएन। तर, अहिले उनले विश्वको सर्वोच्च शिखर चुमेका छन्। कृत्रिम खुट्टाको सहायताले बालापनको सपना पूरा गर्दै हिमाल चढ्ने आँट गरे।
***
सगरमाथा आधारशिविरमा पुग्दा बुढामगरको जोश चरमचुलीमा थियो। उनलाई आफ्नो क्षमतामा पूर्ण विश्वास थियो– चुचुरोमा अवश्य पुगिन्छ। तर, टिम र परिस्थिति नमिले असफल हुन सक्नेप्रति सचेत थिए।
तर, मौसम खराब भइदियो। १८ दिन आधारशिविरमै बिताउनु पर्यो। मनमा छटपटी हुन्थ्यो।
उनी आधार शिविरबाट अग्ला पहाड हेर्थे र शिखरमा पुग्ने कल्पना गर्थे।
विवश नजरले प्रकृतिको कठोरता हेर्थे, जीवनको क्षणभंगुरताप्रति चुकचुकाउँथे।
‘हामी प्रकृतिका अघि केही पनि रहेनछौँ,’ उनी सुनाउँछन्, ‘एउटा ढुंगाले टाउकोमा लागे जीवन सकियो।’
अन्ततः आरोहण सुरु गर्ने समय आयो। आधारशिविरबाट उनी अघि बढे। क्याम्प १ मा पुग्न उनलाई ११ घण्टा लाग्यो। यो समय चुनौतीपूर्ण र खतरनाक थियो। जतिबेला पनि ‘आइसफल’ हुनसक्थ्यो।
आरोहण गर्नेलाई सहज बनाउन डोरी टाँग्न जाँदा मृत्यु भएकाहरूको शव बाटोमै थियो।
यो सब देखेर पनि बिचलित भएनन्। ‘मैले गर्नै पर्छ’ भन्ने साहस छाडेनन्। र, आरोहण जारी राखे।
शिखरको जति नजिक पुग्थे, उति आफ्नो सफलतामा विश्वस्त हुँदै गए।
‘ठूलो गगल्स लगाएको थिएँ, भित्रभित्रै रोएको थिएँ,’ चुचुरो चुम्दाको क्षण उनले सम्झिए, ‘आँसु जमेर आइस भएको थियो।’
शिखरमा पुग्न सहयोग गर्ने शेर्पासँग अँगालो मारे, धन्यवाद दिए।
‘बच्चा जस्तै रोएँ,’ त्यसबेलाको अनुभूति वर्णन गर्दा उनी अझै भावुक हुन्छन्, ‘नेपाल र नेपालीको नाम राखियो। परिवारले गर्व गर्ने भए भन्ने सोचेँ।’
उनले ७–८ मिनेट चुचुरोमा बिताए। सर्वोच्च शिखरमा आरोहण गरेको फोटो खिच्न खोजे। मोबाइल निकाल्दा स्विच अफ। दुई वटा गोप्रो क्यामरा लगेका थिए। एउटा चलेन।
‘रेकर्ड बनाएको फोटो धन्न एउटा गोप्रोबाट खिच्न पायौँ,’ ८ हजार ८४८.८६ मिटरको उचाईमा रहँदाको अनुभव सुनाए, ‘सर्वोच्च शिखरमा पुगेको प्रमाणका लागि भाग्यले एउटा फोटो खिच्न पाइयो भन्ने लाग्यो।’
सर्वोच्च शिखरमा आफ्नो खुसी साट्न उनीसँगै भाइ नन्द पनि थिए। चुचरोबाटै सफलता हासिल गरेको खबर पहिला श्रीमतीलाई सुनाउन चाहे। स्याटलाइट फोनबाट श्रीमतीलाई सम्पर्क गरे। विडम्बना, फोन उठेन। त्यसपछि क्याम्प म्यानेजरलाई कल गरी सफलता हासिल गरेको सुनाए।
सफल आरोहणपछि फटाफट झर्ने प्रयास गरे। उनको अक्सिजन सकियो। ८ पटक सगरमाथा आरोहण गरिसकेका मिङ्मा शेर्पाले केही समय पुग्ने अक्सिजन दिए। म्यानेजरले अक्सिजन पुर्याएपछि बेसक्याम्प झरे।
अपाङ्गता भएका व्यक्तिलाई प्रेरणा
आफ्नो सफलताले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरणा दिने उनको विश्वास छ।
‘शिखर चुम्न हरि बुढामगरले मात्रै होइन, अपाङ्गता भएकाले गर्न सक्छन् भन्ने सोचले भावुक बनेँ,’ उनी सुनाउँछन्, ‘दुःखमा रुन्नँ। तर खुसी हुँदा धेरै रोए।’
परिवार र देशको कुरा आउँदा सधैँ भावुक हुन्छन् उनी। हरिले सगरमाथा चढ्न सक्नेमा उनकी पत्नीको विश्वास थियो। तर, उनलाई केही होला कि भनेर उनी चिन्तित थिइन्। तीन छोरामध्ये कान्छो बढी चिन्तित हुन्थे। छोराका लागि पनि बाँच्नुपर्छ। फर्किएर घर जानुपर्छ भन्ने मनमा थियो।
दुई दिनपछि बल्ल श्रीमतीसँग बल्ल उनको कुरा हुनसक्यो।
‘म त पुगेर झरेँ नि!,’ उनले सुनाए।
श्रीमतीले पहिला नै जानकारी पाइसकेको सुनाइन्। हरि भन्छन्, ‘म हिजो कति दिनपछि बल्ल आनन्दले सुतेँ।’
‘आरोहणमा प्रतिबन्ध लागेको व्यक्तिलाई असफल हुने छुट थिएन’
उनलाई कुनै रेकर्ड राख्नु थिएन। उनलाई अपाङ्गतासम्बन्धी जनजागरण गर्नुपर्छ भन्ने मात्र थियो। हिमाल आरोहण गर्छु भन्दा सहयोग गर्ने कोही थिएनन्। साना हिमाल आरोहण गर्दै जाँदा प्रायोजक बढ्दै गएका छन्।
‘जिन्दगीमा जे पनि सम्भव छ। खुट्टा हुँदा गर्ने तरिका र नहुँदाको तरिका फरक भएको मात्रै हो,’ अपाङ्गता भएका व्यक्तिलाई हौसला बढाउँदै उनी भन्छन्, ‘अरुभन्दा ढिला भइएला। तर सम्भव छ, गर्न सकिन्छ।’
सगरमाथा आरोहण गर्दा पनि उनलाई चीनतर्फबाट गर्न पश्चिमा साथीहरूले सुझाएका थिए। त्यहाँबाट सजिलो हुने सुझाव दिन्थे। तर उनी नेपाली हुँ, नेपालमा जन्मिएको, नेपालबाटै चढ्नुपर्छ भन्नेमा दृढ थिए।
सगरमाथा आरोहण अभियान उनले २०१८ मै सुरु गरेका थिए। तर, नेपालको पर्वातारोहणसम्बन्धी कानुनले रोक्यो। दुवै खुट्टा नभएका व्यक्तिलाई हिमाल आरोहणमा प्रतिबन्ध थियो। धेरै पटक मन्त्रालय धाए। समस्या समाधान भएन।
अदालतमा मुद्दा हाले। अपाङ्गता भएका व्यक्तिलाई विभेद नगर्न अदालतले आदेश दिएपछि आरोहणको बाटो खुल्यो। अहिले आरोहणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री सुदन किराँती स्वागत गर्न पुगे।
प्रधानमन्त्रीले कार्यालयमै बोलाएर सम्मान गरे। राष्ट्रियसभा अध्यक्षले सम्मान गरे। राष्ट्रपति रामचन्द्र पौडेलले बुढामगरलाई बधाई दिए। पहिला प्रतिबन्ध लगाएको सरकारले अहिले सम्मान गर्दा उनको मन गदगद छ।
‘तँ अपाङ्ग छस्, हिमाल चढ्न सक्दैनस् भन्ने थियो,’ उनी सुनाउँछन्, ‘आरोहण गर्दा असफल भए खुट्टा नभएको मानिस सकेन भन्थे। कानुन ठीक थियो भन्थे होला। त्यसैले असफल हुने छुट थिएन।’
कुनै रेकर्ड बनाउनेभन्दा पनि जीवनभर अपाङ्गता भएका व्यक्तिलाई कसरी सक्षम बनाउन सकिन्छ भन्नेमा लाग्ने उनको चाहना छ। साहसिक कामलाई भने निरन्तरता दिने उनको सोच छ।
Shares
प्रतिक्रिया