म्यागेजिन


६४ वर्षअघि हाङ्जाओमै भएको थियो बीपी र माओबीच त्यो ‘सरप्राइज’ भेट

६४ वर्षअघि हाङ्जाओमै भएको थियो बीपी र माओबीच त्यो ‘सरप्राइज’ भेट

माओ–बीपी भेट र नेपाली भ्रमण दल


सीताराम बराल
असोज ६, २०८० शनिबार १९:१, काठमाडौँ

यसअघिका भ्रमणमा चिनियाँ राष्ट्रपतिलाई राजधानी बेइजिङमा भेट गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक चीनको समृद्ध सहर हाङ्जाओमा भेट गरे। शनिबार (६ असोज) देखि सुरु भएको उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको उद्घाटनका लागि हाङ्जाओमा रहेका राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता भएको हो। 

पहिलो पटक प्रधानमन्त्री बनेका बेला २०६५ तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओ र दोस्रो पटक प्रधानमन्त्री बनेका बेला २०७२ मा वर्तमान राष्ट्रपति सी चिनफिङसँग प्रचण्डको राजधानी बेइजिङमा भेटवार्ता भएको थियो। यसपटक पनि राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँग ‘राजधानी’ मै भेट गरे। तर, बेइजिङमा होइन, झेझियाङ प्रान्तको राजधानी हाङ्जाओमा।  
 

हाङ्जाओ त्यही सहर हो, जहाँ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङबीच पनि भेटवार्ता भएको थियो। चीन भ्रमणको क्रममा हाङ्जाओ पुगेका प्रधानमन्त्री बीपी र उनको भ्रमण दलका सदस्यहरु सुत्ने तरखरमा रहेका बेला अध्यक्ष माओत्सेतुङसँग आकस्मिक भेटवार्ता गराइएको थियो। 

राष्ट्रपति ल्यु शाओची र प्रधानमन्त्री चाउ एनलाइभन्दा पनि शक्तिशाली भएकाले बीपीलाई माओसँग भेटघाट, कुराकानी र नेपाल–चीन सम्बन्धबारे कुराकानी गर्ने चाहना थियो। हाङ्जाओ प्रस्थान गर्नुअघि प्रधानमन्त्री चाउ एनलाइसँग पटक–पटक भएका भेटवार्तामा उनले यस्तो चाहना उल्लेख गरेका थिए, जुन कुरा बीपीले आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन्। 

‘मैले नै एकचोटि माओत्सेतुङसँग भेट्ने इच्छा व्यक्त गरेको थिएँ,’ आफ्नो यो चाहनाबारे चिनियाँ समकक्षी चाउ एनलाइको जवाफ उल्लेख गर्दै बीपीले भनेका छन्, ‘त्यो त हुन्छ, तर कहिले हुन्छ, हेरौँ! उनलाई खबर गरेपछि भनौँला भने।’ 

बेइजिङमा रहँदासम्म बीपी–माओत्सेतुङबीच भेटवार्ता भएन। त्यो भेटवार्ता त्यही हाङ्जाओमा जुर्न पुग्यो, जहाँ यसपटक प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन्।

त्यो ‘सरप्राइज’ भेट 
भ्रमणको क्रममा बीपीलाई चीनको औद्योगिक राजधानी साङ्घाइपनि लगिएको थियो। साङ्घाइको भ्रमणअघि उनीहरु अर्को सहर पुगे। बीपीले आत्मवृत्तान्तमा त्यो सहरको नाम ‘हेन चाउ’ उल्लेख गरेका छन्। उनले ‘हेन चाउ’ त्यही सहर नै अहिलेको हाङ्जाओ हो। 

बीपीलाई हाङ्जाओ खुब मन परेको रहेछ भन्ने कुरा आत्मवृत्तान्तबाट जानकारी पाउन सकिन्छ। 

‘एउटा गाउँ छ हेन चाउ भन्ने– सुन्दर दर्शनीय ठाउँ। पहिलेका बादशाहहरु त्यहाँ गएर आफ्नो गर्मीका दिनहरु बिताउँदा रहेछन्। (त्यहाँ) टापु पनि छ, समुन्द्र पनि छ, बगैँचा पनि छ। असाध्दे राम्रो ठाउँ छ,’ आत्मवृत्तान्तमा बीपी भन्छन्, ‘त्यहाँ सायद पर्यटकहरु पनि जाँदा रहेछन्। त्यस दर्शनीय ठाउँमा हामीलाई लगेका थिए।’

हाङ्जाओको चिनचिआओ पिपुल्स कम्युनमा धान रोप्ने मेसिन हेर्दै बीपी 

भ्रमण तालिका हेर्दा बीपीले हाङ्जाओमा दुई दिन बिताएको देखिन्छ। पहिलो दिन (४ चैत २०१६) उनले हाङ्जाओ सहर घुमे। त्यहाँ उनको सम्मानमा स्वागत कार्यक्रम आयोजना भयो। साँझपख त्यहाँका मेयरले बीपीको सम्मानमा रात्रिभोज आयोजना गरे। दिनभरिको घुमाइले थाकेका बीपीले रात्रिभोजमा मदिरापान पनि गरे। 

बीपीलाई जुन ‘गेस्ट हाउस’ मा राखिएको थियो, दरबार शैलीको त्यो गेस्ट हाउसअघिल्तिर एउटा सुन्दर ताल थियो। बीपीपत्नी सुशीला त्यो ताल देखेर मोहित भइन् र बीपीलाई त्यहाँ घुम्न जान आग्रह गरिन्। सुशीलाको आग्रह बीपीले टारेनन्। भ्रमण दलमा रहेका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई साथमा लिएर उनी तलाउ घुम्न निस्के। 

त्यसक्रममा गाडीहरुको एउटा ठूलो लस्कर उनीहरु बसेको गेस्टहाउसतर्फ लाग्यो। गाडीको लस्कर देखेर गृहमन्त्री उपाध्यायलाई आश्चर्य लाग्यो। यो कुरा उनले बीपीलाई सुनाए। ‘यसमा (ताँती) मा त ठूलो मान्छे आएको छ, हाम्रो होटलमा,’ उपाध्यायले बीपीलाई सुनाए, ‘हाम्रै मोटरहरुको ताँतीजस्तै ताँती आइरहेको छ।’  

त्यो केको ताँती रहेछ भन्ने कुरा बीपीले रात सुत्ने तर्खर गर्दै गर्दामात्र चाल पाए। 

‘राति खाना खाई सबै आफ्नो कोठामा सुत्न गइसकेका थियौँ,’ भ्रमण दलमा रहेका बीपीका स्वकीय सचिव कुमारमणि आचार्य दीक्षितले त्यसपछिको आफ्नो संस्मरणात्मक पुस्तक ‘फाटफुट सम्झना’ मा त्यस साँझको घटनाबारे भनेका छन्, ‘राति नौ बजेतिर चिफ अफ प्रोटोकल (चिनियाँ) ले आई प्रधानमन्त्रीलाई चेयरम्यान माओसँग भेट मिलाएको छ, ९ः३० बजे सबैलाई उहाँले भेट गर्न खोज्नु भएको छ भने।’ 

बीपीको भनाइमा चाहिँ त्यतिबेला रातको ११ बजिसकेको थियो। उनी लुगा फुकालेर सुत्ने तरखरमा थिए। बीपी पत्नी सुशीला सुतिसकेकी थिइन्। 

बीपी पनि सुत्ने तर्खर गर्दैगर्दा कसैले कोठाको ढोकामा ढ्याकढ्याक गर्यो। बीपीले ढोका खोले। 

‘हेर्दा त माओत्सेतुङले भेट्न खोजेका छन् भनेर मानिस खबर लिएर आएको छ,’ बीपी आत्मवृत्तान्तमा भन्छन्, ‘म थाकेको छु, अलिकति ड्रिङ्क्स पनि गरेको छु। अब त भेट्नै पर्यो भनेर मैले लुगा लगाएँ। ओभरकोट लगाउँदा पर्दैन, यही होटलको अर्को खण्ड (भाग) मा उनी बसेका छन् भने।’ 

बीपीले दौरा–सुरुवाल लगाए। त्यसमाथि कालो कोट थपे। कांग्रेसीहरुले लगाउने स्टाइलमा कालो टोपी लगाए। हतार–हतार गर्दै उनी कोठाबाट निस्के। 

जो बीपीको कोठा ढकढक गर्न पुगेका थिए, ती व्यक्तिले ‘के श्रीमती कोइरालाले उहाँ (माओ) लाई भेट्न इच्छा गर्नुहुने छैन?’ भनेर सोधे। 

बीपी पनि माओसँग सुशीलालाई भेट गराउने अवसर गुमाउन चाहँदैनथे। त्यसो भनेपछि बीपीले सुतिसकेकी सुशीलालाई पनि उठाए। 

‘उसले पनि धोती लगाएर एउटा ओढ्ने ओढी,’ बीपी भन्छन्, ‘अनि, हामी माओलाई भेट्न गयौँ।’ बीपीले भनेजस्तै माओसँगको तस्वीरमा सुशीला बर्काे ओढेकी देखिन्छिन्। 

बीपीका स्वकीय सचिव दीक्षितका भनाइमा माओसँग भेट हुने भएपछि बीपीले उनलाई भ्रमण दलका अन्य सदस्यहरु पनि भेटवार्तामा सहभागी हुने गरी तयार रहन अह्राएका थिए। 

बीपीलाई समेत थाहा थिएन, माओसँग भेटघाट हुने स्थल कहाँ हो! त्यहाँबाट अर्को कुनै गेस्ट हाउस वा निवासमा लगिने उनीहरुको अनुमान थियो। 

त्यसैले, हाङ्जाओमा अझै जाडो रहेकाले भ्रमण दलका सदस्यहरुले ओभरकोट पनि लगाउन खोजे। 

तर, उनीहरुलाई ओभरकोट लगाउन जरुरी नभएको बताइयो। किनभने, माओ त्यहीँ नजिकै कतै थिए। खासमा माओ अपरान्हदेखि नै त्यही गेस्ट हाउसमा आएर बसेका थिए, जहाँ बीपीलाई राखिएको थियो। 

अपरान्ह तलाउ घुम्न जाँदा गाडीको लस्कर देखेपछि सूर्यप्रसादले ‘कुनै ठूलो मान्छे आएका हुनसक्छन्’ भन्ने अनुमान बीपीलाई सुनाएका थिए। उनको अनुमान त्यस राति साबित भयो। 

किनभने, माओत्सेतुङ बीपीसँगको भेटका लागि त्यही गेस्ट हाउसको अर्को लङमा उभिएका थिए। 

बीपी र माओ

‘त्यसको अर्को लङमा उभिइरहेको रहेछ माओत्सेतुङ, आएर बडो स्नेहपूर्ण तरिकाले भेट्यो, अनि तस्बिरवालाहरुलाई बोलायो, तस्बिर खिच्न भन्यो,’ आत्मवृत्तान्तमा बीपी भन्छन्, ‘सुशीलालाई सोध्यो– ‘कति रमाइलो मान्यौ!’ भनेर। एउटा सभ्य र शिष्ट व्यवहार जति हुन्थ्यो, त्यो गर्यो।’ 

पश्चिमा सञ्चारमाध्यमहरुले त्यतिबेला कहिले माओ बिरामी भएको समाचार प्रकाशित गर्थे, कतिले मृत्यु भइसकेको समाचार पनि दिन्थे। बीपी–माओबीचको त्यो भेटले पश्चिमा सञ्चारमाध्यमहरुले दिने समाचारलाई फेरि ‘उडन्ते’ सावित गरिदिएको थियो। किनकि, माओ सकुशलै थिए। र, बीपीसँग भेट्नुअघि आफू याङ्त्से नदीमा पौडी खेलेर आएको बताएका थिए। 

‘अरुहरु जान्न खोजिरहेका थिए, कस्तो छ उनको (माओ) को स्वास्थ्य वा हामीले भेटेकै हो वा होइन भनेर बुझ्न,’ बीपीले भनेका छन्, ‘मैले देख्दा उनी ज्यादै स्वस्थ देखिन्थे, त्यहाँका धेरै तस्बिरहरु हाम्रा मान्छेहरुले हङकङमा आएर टाइम इत्यादिलाई बेचेको सुनियो।’

दीक्षितका भनाइमा हङकङ हुँदै स्वदेश फर्कंदा त्यहाँका सञ्चारकर्मीहरुले बीपीसँग माओको स्वास्थ्यबारे प्रश्न सोधेका थिए। ‘प्रधानमन्त्रीबाट माओलाई भेटेको र उहाँ स्वस्थ रहेको जानकारी दिइयो,’ उनले भनेका छन्, ‘हामीसँग गएका पाँच नेपाली अखबारका प्रतिनिधिमध्ये एकजनाले कपी निकाली माओसँगको भेटको तस्बिर निकै राम्रो रकममा त्यहाँका अखवारलाई बिक्री गरे रे भन्ने सुनियो। कतिसम्म साँचो हो कुन्नि!’

बीपीसँगै चीन भ्रमणमा जाने पत्रकारको टोलीमा ‘नयाँ समाज’ का सम्पादक पशुपतिदेव पाण्डे (पत्रकार टोलीका नेता), किशोरीरमण राणा, जयेन्द्रबहादुर थपलिया, मदन शर्मा र दाताराम शर्मा थिए। (गोर्खापत्र, २४ फागुन २०१६)

बीपी–माओ वार्ता
चीन–भारतबीच युद्ध सुरु भइसकेको थिएन। तर, दुई मुलुकबीच सीमा सम्बन्धी तनाव भने देखा पर्न थालिसकेको थियो। सीमा विवादका कारण चीन–भारतबीच अहिले जस्तो स्थिति छ, बीपीको चीन भ्रमणताका पनि करिब त्यस्तै स्थिति थियो। बीपी–माओ कुराकानीको सुरुवात यसै विषयबाट सुरु भयो।

सन् १९९० को दशकको अन्त्यताका चीनको परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको ‘माओत्सेतुङ अन डिप्लोमेसी’ मा माओ र बीपीबीचको त्यो भेटवार्ताको टिपोटलाई पनि समेटिएको छ। कुराकानीको सुरुवात चीन–भारतबीचको सीमा विवादबाटै सुरु भएको त्यो टिपोटबाट देखिन्छ। 

त्यसमा माओले चीनका कारण नभई भारतका कारण विवाद सिर्जना भएको दाबी गरेका छन्।  

त्यो भेटवार्ताबारे ‘माओत्सेतुङ अन डिप्लोमेसी’ मा उल्लेख नभएका कतिपय कुराहरु बीपीले आत्मवृत्तान्तमा उल्लेख छन्। चीन–भारतबीच  द्वन्द्व हुँदा नेपाल   अप्ठेरोमा पर्ने गरेको बीपीले माओलाई बताएका रहेछन्।  

‘हामी दुई ठूला राष्ट्रको बीचमा बसेका छौँ, यसले गर्दा हामीलाई जहिले पनि अप्ठेरो भइराख्छ,’ बीपीको भनाइ थियो, ‘ठूला राष्ट्रका बीचमा हुने कचमच सानो राष्ट्रको लागि बडो दुर्भाग्यजनक स्थिति हुँदो रहेछ।’ 

माओको जवाफ थियो, ‘चिन्ता नगर्नुस्, चाँडै (चीन–भारत विवाद) यो समाप्त हुनेछ, किनकि हामी दुवैको साझा स्वार्थ छ। हामी दुवै अविकसित राष्ट्र हौँ।’ 

यसै सन्दर्भमा माओले दिएको अर्को जवाफ पनि ‘माओत्सेतुङ अन डिप्लोमेसी’ को बीपी–माओबीचको संवादमा समावेश छैन। चीन–भारत सम्बन्धमा तनाव देखिँदा नेपाल अप्ठेरोमा परेको बताउँदा माओले दिएको जवाफ बीपीले आत्मवृत्तान्तमा  उल्लेख गरेका छन्। 

‘हामीहरुलाई पो त तिमीहरु तर्साउँछौ, हामीले केही नगर्दा पनि ‘मार्यो, मार्यो’ भनेर कराइदिँदा ‘हामीले केही पनि गरेका थिएनौँ’ भनेर कसैले पनि पत्याउँदैन, सबैले तिमीहरुलाई नै विश्वास गर्छन्’ माओले बीपीलाई भनेका रहेछन्, ‘त्यसो हुनाले आजकल साना राष्ट्रहरुकै दबदबा छ।’ 

आफ्नो मुलुकलाई आत्मनिर्भर बनाउने सिद्धान्त अपनाउन पनि माओले बीपीलाई सुझाव दिए। विदेशी सहायता लिँदा निकै कुरामा ख्याल राख्न पनि भने। हरेक मुलुकले अर्को देशको सबल पक्षबाट पाठ सिक्नुपर्ने सुझाव उनको थियो। पूर्वीय मुलुकहरुमा हीनताभाव अत्यधिक रहेको र त्यो तोड्नसके उनीहरु पनि पश्चिमाहरु जस्तै अघि बढ्नसक्ने विश्लेषण पनि माओले सुनाए।   

बीपी र माओबीच हाङ्जाओमा नेपाल–चीन सीमाङ्कन र विश्वको सर्वोच्च शिखर सगरमाथाको स्वामित्वबारे पनि छलफल भएको थियो। 

माओसँग हात मिलाउँदै बीपीपत्नी सुशीला 

प्रधानमन्त्री चाउ एनलाइसँग बेइजिङमा भएका वार्ताहरुमा नेपाल–चीनबीच सीमाङ्कन सम्बन्धी विषयहरुमा पूर्णतः सहमति जुटेको थिएन। त्यसैले, उनले चिनियाँ समकक्षीसँग असहज मनस्थितिका साथ आफू हाङ्जाओ प्रस्थान गरेको उल्लेख गरेका थिए। 

बीपीको भनाइ सुनेपछि चाउ एनलाइले भनेका रहेछन्, ‘तपाईंले चिन्ता लिनुपर्दैन, पूर्णरुपमा सहज महसुस गरेर हाङ्जाओ जानुहोस्।’ माओसँग कुराकानी गरेपछि असझदारीको अन्त्य हुन्छ भन्ने चाउ एनलाइको संकेत थियो। 

त्यो बेला चीन र बर्माबीच पनि सीमा वार्ता हुँदै थियो। र, बीपी बर्मा हुँदै चीन पुगेका थिए। नेपाल–चीनबीचको सीमा विषयमा बर्माका प्रधानमन्त्री ने विनसँग पनि उनको कुरा भएको रहेछ, जुन कुरा उनले माओलाई जानकारी गराएको ‘माओत्सेतुङ अन डिप्लोमेसी’ मा समावेश त्यो टिपोटबाट देखिन्छ। 

माओले चीन–बर्मा सीमा समस्या सौहार्द्ररपूर्ण रुपमा समाधान हुन लागेको जानकारी बीपीलाई गराएका थिए। त्यसपछि बीपीले नेपाल–चीन सीमाबारे ने विनसँग भएको कुराकानीको सन्दर्भ माओलाई जानकारी गराएका हुन्।  

‘सिमानाबारे हामीसँगको कुराकानीमा तपाईंले सहज महसुस गर्नुपर्छ, सुरुमा बर्मा पनि हामीसँग डराएको थियो,’ माओको भनाइ थियो, ‘अहिले हामीले उनीहरुको चित्त शान्त पारिदिएका छौँ। हाम्रो मुटु कति ठूलो छ भन्ने बर्मेलीहरुलाई अहिले थाहा भयो।’ 

बीपीको जवाफ थियो, ‘हो, यहाँ आउनुअघि मैले प्रधानमन्त्री ने विनलाई भेटेको थिएँ। उहाँ (ने विन) ले अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एनलाइसँग स्पष्टसँग कुरा गर्न भन्नु भएको थियो। त्यसैले, मैले यी सबै कुराबारे खुलेर बोलेको छु।’ 

हाङ्जाओमा भएको त्यो भेटवार्तामा माओले नेपाल–चीन जोड्ने सीमा सडकमार्गको प्रस्ताव पनि गरेका थिए। तर, बीपीले तत्काल यो सम्भव नरहेको जवाफ थिए। उनले खर्चको समस्या देखाए।  

दीक्षितका अनुमानमा नेपाल भ्रमणमा आउने इच्छाका कारण माओले नेपाल–चीन जोड्ने सडकमार्गको प्रस्ताव गरेका थिए। हाङ्जाओको त्यो भेटमा माओलाई नेपाल भ्रमणको निम्तो दिएपछि माओले चीन–नेपाल जोड्ने सीधा सडक मार्ग निर्माणको प्रसङ्ग निकालेका थिए।   

‘प्रधानमन्त्रीले नेपाल आउन निमन्त्रणा गर्दा भारतको बाटो नआउने र चीनबाटै जान सकिने भएपछि जरुर आउँछु भन्नु भएको थियो,’ दीक्षितले ‘फाटफुट सम्झना’ लेखेका छन्, ‘यो तिब्बत क्षेत्रसँग सम्पर्क राख्ने सडक निर्माणबारे चीन तर्फबाट दिइएको सूक्ष्म इसारा थियो जस्तो लाग्छ। पछि पेकिङ फर्केपछि चाउ एनलाइले पनि सडक बनाउने कुरा गरेका रहेछन्।’ 

माओ र बीपीजस्ता शीर्ष नेताहरुबीच भेटवार्ता भएको त्यही ऐतिहासिक सहरमा  ६४ वर्षपछि फेरि चीन र नेपालका शीर्ष नेताहरुबीच भेटवार्ताको अवसर जुरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .