विसं २०२५ असोजको ‘रमझम’ पत्रिकामा एम.बी.बी. शाहको नाममा ‘यौटा मेशीन’ शीर्षकको कविता प्रकाशित भयो। कवि थिए राजा महेन्द्र। कविता लेख्दा उनी आफ्नो छोटकरी नाम एम.बी.बी. शाह वा म.वि.वि. शाह प्रयोग गर्न रुचाउँथे।
कवितामा एउटा पुरानो नेपाली मेशीनलाई बिम्ब बनाएर अन्दाजी आधा शताब्दी उमेरको व्यक्ति देश र समाजका लागि निरन्तर खटिएको उल्लेख थियो।
पार्टपुर्जा बिग्रेर मेशीन काम नलाग्ने भएजस्तै शरीरका अंग–प्रत्यङ्गले काम गर्न छाडेपछि मानिस पनि काम गर्न नसक्ने हालतमा पुग्ने सन्देश कविताको थियो।
राजा महेन्द्र आफैँ ४८ वर्ष नाघिसकेका थिए। अर्थात् उनको उमेर पनि आधा शताब्दी पुग्न लागेको थियो।
खासमा त्यो कवितामा महेन्द्रले पुरानो मेशीनलाई बिम्ब बनाएर स्वास्थ्य अवस्थाका कारण आफ्नो शरीर पनि पुरानो मेशीनजस्तै हुन थालेको सन्देश दिन खोजेका थिए।
अघिल्लो वर्ष (विसं २०२४) कैलाली–कञ्चनपुरमा सिकारमा गएका बेला उनलाई हृदयाघात समेत भइसकेको थियो।
‘यौटा मेशीन’ कवितामा उनले हृदयाघात र आफ्नो अवस्थालाई सांकेतिक रुपमा उल्लेख गरेका थिए :
अन्दाजी अर्धशताब्दी पुरानो यौटा नेपाली मेशीन थियो
पूरै काम दिने बलियो मानो (नौँ) इस्पातको थियो
हुन्थ्यो चालू निकै घण्टा, प्राय प्रति दिन नै
विकास, उद्योग, उत्पादन सक्दो गर्थ्यो सधैँ सधैँ
एवं प्रकार मेहनतले, धेरै वर्ष त्यो यन्त्र चल्यो
ओभर टाइम विना मर्मत पनि त्यो चल्दै रह्यो
अकस्मात एक दिन त्यसले थाकी थामिने सुर गर्यो
सन्ध्याभन्दा अघिबाटै पुर्जा यौटा फेल गर्यो
बिग्रन सुरु गरेको पुरानो मेशीनसँग आफ्नो मुटुलाई दाँजेर राजा महेन्द्रले लेखेको कविता आफैँमा रोचक थियो।
तर कविताभन्दा पनि रोचक थिए, ‘रमझम’ पत्रिका र यसका सम्पादक।
पत्रिकाका सम्पादक (सम्पादक मण्डलका अध्यक्ष) थिए, तत्कालीन युवराज वीरेन्द्र। प्रकाशक भने ‘श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरबार’ थियो।
यो पत्रिका खासमा ‘हुनेवाला राजा’ अर्थात् युवराज वीरेन्द्रको नेपाली भाषा निकै कमजोर भएपछि भाषा सुधार्न नारायणहिटी राजदरबारले प्रकाशन गरेको थियो।
साहित्यिक पत्रिकाको सम्पादक बनाइदिएपछि युवराज वीरेन्द्रको नेपाली भाषा सुधार हुन्छ भन्ने राजा महेन्द्रको सोचाइ थियो।
विदेशको पढाइ : नेपालीमा कमजोर
जानकारहरुका भनाइमा महेन्द्रकालीन राजदरबारमा मूलतः चार भाषाको प्रयोग हुन्थ्यो– नेपाली, नेवारी, हिन्दी र अंग्रेजी।
राजधानी काठमाडौँमा नेवारी समुदायको बाहुल्य थियो। राजदरबारको उच्च प्रशासनिक पदमा पनि राजधानीका नेवार समुदायका व्यक्तिहरु थिए।
खासमा पृथ्वीनारायण शाहको पालादेखि नै राजदरबारभित्र नेवारी भाषाको प्रचलन सुरु भइसकेको थियो। राजा महेन्द्रको पालासम्म पनि दरबारमा नेवारी भाषा बोलिन्थ्यो।
राजा त्रिभुवनको पालादेखि दरबारभित्र अंग्रेजी भाषाको पनि प्रचलन सुरु भयो। राजा त्रिभुवन आफै पनि राम्रो अंग्रेजी बोल्न सक्थे। राजाले नै अंग्रेजी बोल्ने भएपछि राजपरिवारका अन्य सदस्यहरुले पनि अंग्रेजी भाषा सिक्न र बोल्न थाले।
दरबारमा हिन्दी भाषाको प्रयोग किन हुन्थ्यो भने राजपरिवारको बिहेबारी भारतमा हुन थालेको थियो। राजा त्रिभुवनले पनि भारत–उत्तर प्रदेशका दुई राजपुत कन्याहरु कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मीसँग बिहे गरेका थिए।
राजा त्रिभुवनकी अविवाहित छोरी विजयाबाहेक वैध–रानीहरुबाट जन्मेका सबैजसो राजकुमारीहरुको बिहे पनि भारतका राजा–राजकुमारहरुसँग भएको थियो।
त्यसैले पनि राजपरिवारका सदस्यहरुका लागि हिन्दी भाषा अनिवार्यजस्तै हुन गएको थियो।
मातृभाषा भएकाले राजदरबारभित्र नेपाली भाषाको प्रयोग हुने भइहाल्यो।
तर, राजा महेन्द्रपछि राजगद्दीका उत्तराधिकारी युवराज वीरेन्द्रको भने उमेर चढेसँगै नेपाली भाषा कमजोर हुन थाल्यो। खासमा नेपाली भाषाको प्रयोग र अभ्यासबाट बञ्चित भएकाले यस्तो हुन गएको थियो। भाषाको अभ्यास नगरेपछि त्यसमा कमजोर हुनु स्वाभाविक हो।
युवराज वीरेन्द्रले नेपाली भाषाको अभ्यास नगर्नुको मुख्य कारण किशोरावस्था सुरु भएपछि पढ्नका लागि विदेश पठाइनु थियो।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले राजा वीरेन्द्रको स्मृतिमा प्रकाशन गरेको ‘श्रद्धाका केन्द्र : श्री ५ वीरेन्द्र’ पुस्तकमा उल्लेख भए अनुसार राजा वीरेन्द्रले विसं २०१२ देखि २०१६ सम्म दार्जिलिङ (भारत) को सेन्ट जोसेफ स्कुलमा अध्ययन गरेका थिए।
यो स्कुलमा अंग्रेजी भाषामा पढाइ हुन्थ्यो। विद्यार्थीहरुबीच बातचित पनि अंग्रेजीमा नै हुन्थ्यो। चार वर्ष त्यहाँ अध्ययन गर्दा उनले नेपाली भाषाको प्रयोग र अभ्यास खासै गर्न पाएनन्।
उनले विसं २०१६ मा दार्जिलिङबाट स्कुले शिक्षा पूरा गरे। त्यसपछि उच्च शिक्षाका लागि बेलायत गए। बेलायतको प्रख्यात इटन कलेजमा भर्ना भए।
बेलायतमा त झन् नेपाली भाषाको अभ्यास हुने कुरै भएन।
दार्जिलिङमा अध्ययन गर्दा नै युवराज वीरेन्द्र नेपालीमा राम्रोसँग बोल्न सक्दैनथे। यो कुरा उनी आफैले विसं २०१५ चैतमा काठमाडौँमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा स्वीकार गरेका थिए।
२७ चैत (२०१५) मा जुद्धोदय पब्लिक स्कुलको २१ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो। वार्षिकोत्सव कार्यक्रमको सभापति मन्त्रिपरिषदको अध्यक्ष सुवर्ण शमशेर थिए।
प्रमुख अतिथिका हैसियतमा युवराज वीरेन्द्र कार्यक्रममा उपस्थित थिए। उनी त्यो बेला भर्खर १३ वर्ष (जन्म : १४ पुस २००२) पूरा गरी १४ वर्षमा प्रवेश गरेका थिए।
१४ वर्षीय वीरेन्द्रले वार्षिकोत्सव कार्यक्रममा उनले गरेको सम्बोधन २८ कात्तिक (२०१५) को ‘गोरखापत्र’ ले प्रकाशित गर्यो।
‘गोरखापत्र’ मा प्रकाशित सम्बोधन अनुसार सम्बोधनका क्रममा उनले कार्यक्रममा उपस्थित अन्य विद्यार्थीजस्तै आफू पनि विद्यार्थी भएकाले उनीहरुबाट आफू टाढा नभएको उल्लेख गरेका थिए।
‘अहिले म तपाईंहरुको बीचमा छु, आपसको हेलमेल कुराकानीबाट हाम्रो खुसी बढ्छ,’ उनले भनेका थिए, ‘हाम्रो यो भेटघाट मेरो सम्झनामा सधैँ ताजा रहिरहनेछ।’
विद्यार्थीहरुले गुरुहरुको आज्ञापालन र सम्मान गर्नुपर्ने र गुरुहरुबाट आज्ञाकारिता, अनुशासन, कर्तव्यपरायणता र आत्मसंयमका पाठहरु सिक्न सकिने उनको भनाइ थियो।
‘मलाई यही लाग्दछ कि अध्ययन नै हाम्रो पहिलो र सबभन्दा मुख्य कर्तव्य हो,’ उनको थप भनाइ थियो, ‘यसबाट नै हामीलाई आफ्नो मुलुकमा सेवा गर्नमा योग्य र लायक बनाउँछ।’
समाचारमा गोरखापत्रले उल्लेख गरेअनुसार युवराज वीरेन्द्रले त्यो भाषण अंग्रेजीमा गरेका थिए।
‘मौसुफबाट हुकुम भयो कि तपाईंहरुलाई थाहै छ, म अंग्रेजी स्कुलमा पढ्दैछु। त्यसैले, अहिले म नेपालीमा राम्रो छैन,’ गोरखापत्रले लेखेको थियो, ‘मौसुफबाट अंग्रेजीमा बोलिबक्सेकोमा कसैले केही ठान्ने छैनन् भन्ने आशा प्रकट गरिबक्स्यो।’
दार्जिलिङमा चार वर्ष पढ्दा नेपाली भाषामा निकै कमजोर बनिसकेका युवराज वीरेन्द्रले बेलायतमा पाँच वर्ष बिताए। यसले गर्दा उनी नेपालीमा थप कमजोर बने।
तर, उनी थिए– नेपालका हुनेवाला राजा। नेपाली भाषा नै कमजोर भएपछि प्रशासन कसरी चलाउने!
त्यसैले, इटनबाट फर्केलगत्तै युवराज वीरेन्द्रको नेपाली भाषा सुधारमा राजा महेन्द्रले नै ध्यान दिए। त्यसै अन्तर्गत राजदरबारबाट ‘रमझम’ पत्रिका निकाल्ने निधो भयो।
पत्रिकाको चरित्र साहित्यिक थियो। साहित्यिक पत्रिका प्रकाशन गरेपछि साहित्यिक व्यक्तिहरुसँग घुलमिल हुन्छ, साहित्यिक व्यक्तिहरुसँगको घुलमिलले युवराज वीरेन्द्रको नेपाली भाषा सुधार हुँदै जान्छ भन्ने राजा महेन्द्रको सोचाइ हुँदो हो।
नेपाली सिकाउन सम्पादक
‘श्रद्धाका केन्द्र : श्री ५ वीरेन्द्र’ मा उल्लेख भए अनुसार युवराज वीरेन्द्रले ७ फागुन २०२१ मा राजदरबारबाट प्रकाशित ‘रमझम’ पत्रिकाको सम्पादक मण्डलको अध्यक्षता ग्रहण गरेका थिए।
दरबारका पूर्वसचिव (स्व.) रेवतीरमण खनालको आत्मकथा ‘अनुभूति र अभिव्यक्ति’ मा उल्लेख भएअनुसार विसं २०२१ मा इटन कलेजबाट पढाइ सिध्याएर नेपाल फर्केलगत्तै युवराज वीरेन्द्रलाई राजा महेन्द्रले राजकाज सिकाउन थालेका थिए।
बेलायतबाट पढेर फर्केका वीरेन्द्र राजा महेन्द्रले सिकाएका कतिपय कुरा बुझ्थे, कतिपय कुरा बुझ्दैनथे। सबैभन्दा ठूलो समस्या भाषाकै पर्यो।
‘युवराज वीरेन्द्र नेपाली भाषामा पढ्न, लेख्न र बोल्न कमजोर थिए,’ खनालले आत्मकथामा लेखेका छन्, ‘सो (नेपाली भाषा) सिकाउन दरबारबाट निस्कने रमझम पत्रिकाको सम्पादक युवराज वीरेन्द्रलाई बनाइएको थियो।’
जतिबेला युवराज वीरेन्द्र सम्पादक मण्डलको अध्यक्ष बनाइए, उनी नेतृत्वको सम्पादक मण्डलको सदस्य तीनजना थिए।
तिनमा श्री ५ ज्येठा शाहज्यादी शान्ति राज्यलक्ष्मी सिंह, श्री ५ माहिला शाहज्यादी शारदा राज्यलक्ष्मी देवी शाह र श्री ५ माहिला अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाह देव थिए।
अर्थात्, राजा महेन्द्रका ६ सन्तानमध्ये कान्छी छोरी शोभा र कान्छा छोरा धीरेन्द्रबाहेक बाँकी ४ जना सो पत्रिकाको सम्पादक मण्डलमा राखिए।
‘रमझम’ प्रकाशनको जिम्मा युवराज वीरेन्द्रको थाप्लोमा परेको दोस्रो वर्ष (विसं २०२२) सम्ममात्र शान्ति र शारदा त्यसको सम्पादक मण्डलमा रहे। शान्ति र शारदा हटेपछि सम्पादन मण्डलमा युवराज वीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र मात्र रहे।
सम्पादक मण्डलको सचिवको जिम्मेवारी राजा महेन्द्रका प्रेस सचिव रेणुलाल सिंहलाई थियो। सहायक सचिवको जिम्मेवारी साहित्यकार नीरविक्रम ‘प्यासी’ लाई थियो।
नेपाली सेनाको सेनानी (मेजर) रहेका साहित्यकार ‘प्यासी’ राजप्रासाद सेवाका कर्मचारी थिए।
यो पत्रिकाको मुखपृष्ठ (कभर पेज) मा नारायणहिटी दरबार अघिल्तिरको नारायणहिटीको मन्दिरको चित्र प्रयोग गरिएको थियो। पछिसम्म पत्रिकाको मुखपृष्ठमा नारायणहिटी मन्दिर नै रह्यो।
तर, विसं २०२४ देखि थोरै संशोधन गरियो।
पहिले मुखपृष्ठको दायाँतर्फ नारायणहिटी मन्दिर र बायाँतर्फ एउटा आँखा मात्र राखिएको थियो। नयाँ मुखपृष्ठमा मन्दिरका साथ त्यसमा उक्लिने भर्याङ, मन्दिरमा राखिएको घण्ट, नारायण्हिटी परिसर भित्रबाटै बग्ने इच्छुमती नदी (टुकुचा खोला) र पश्चिम नागार्जुनमाथिको जामाचो डाँडो थपियो।
पत्रिका वर्षमा तीन अंक निस्कन्थ्यो– प्रजातन्त्र दिवसको अवसर पारेर ७ फागुनमा, राजा महेन्द्रको जन्मदिन अर्थात् ३० जेठमा र विजया दशमीमा।
यसको एक अंकको मूल्य ३ रुपियाँ राखिएको थियो। वार्षिक ग्राहक बन्न चाहनेलाई १ रुपियाँ छुट थियो। अर्थात् वार्षिक ग्राहक बन्नेले ८ रुपियाँ तिरेपछि तीन अंक प्राप्त गर्थ्यो।
पत्रिकामा राजा, युवराजहरुले गर्ने सम्बोधनका अलावा विभिन्न विषय प्रकाशित हुन्थे। राजा–रानी सहभागी कार्यक्रमका तस्बिरहरुले पत्रिकामा प्राथमिकता पाउँथे।
‘रमझम’ को ३० जेठ २०२६ को अंकमा भने अकस्मात सम्पादक मण्डलको अध्यक्षमा अधिराजकुमार ज्ञानेन्द्र देखिए। अर्थात् युवराज वीरेन्द्रले पत्रिका छाडे।
वीरेन्द्रले पत्रिका छाडेपछि सम्पादक मण्डलको सदस्यमा राजपरिवारका नयाँ सदस्य थपिए। ती थिए, अधिराजकुमार धीरेन्द्र, जो नातामा युवराज वीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रका कान्छा भाइ थिए।
‘सम्पादकीय’ का रुपमा छापिने ‘सम्पादक मण्डलको भनाइ’ स्तम्भमा सम्पादक मण्डलको अध्यक्ष परिवर्तन हुनुको कारण युवराज वीरेन्द्रको ऐश्वर्यसँग हुन लागेको बिहेलाई संकेत गरिएको थियो।
‘नेपाल अधिराज्यको राजगद्दीका उत्तराधिकारी तथा ‘रमझम’ का संस्थापक एवं सम्पादक–मण्डलका प्रथम अध्यक्ष श्री ५ युवराजधिराज सरकारको शुभ–विवाह यसै वर्षभित्र (वीरेन्द्र–ऐश्वर्यको बिहे १५ फागुन २०२६ मा भएको थियो) सुसम्पन्न हुने भएकोमा हामी हर्षित छौँ,’ ३० जेठ (२०२७) को अंकमा भनिएको थियो, ‘श्री ५ युवराजधिराजबाट ४ वर्षभन्दा बढी अवधिसम्म यस पत्रिकाको शुभारम्भ गर्नुको साथै कुशलतापूर्वक चलाइबक्सेकोमा हामी मौसुफमा हार्दिक कृतज्ञता अर्पण गर्दछौँ।’
त्यसमा थप भनिएको थियो, ‘मौसूफबाट विश्वाससाथ हामीलाई यस पत्रिकाको अभिभारा सुम्पिबक्सेकोमा पनि हामी आभार व्यक्त गर्न चाहन्छौँ र मौसुफको यस साहित्यिक सिर्जनाको निरन्तर सफलताको लागि मौसूफको आशीर्वाद माग्दछौँ।’
नेपालमै बस्न थालेपछि युवराज वीरेन्द्रको नेपाली भाषामा क्रमशः सुधार आउन थाल्यो। विदेश भ्रमणमा जाँदा राजा महेन्द्रले युवराज वीरेन्द्रलाई नै राजप्रतिनिधि परिषदको अध्यक्षको जिम्मेवारी दिन्थे। यही हैसियतमा वीरेन्द्रले पिताको अनुपस्थितिमा शासन सञ्चालन गर्थे। त्यस हैसियत उनी सम्बोधनहरु नेपालीमै गर्थे।
विसं २०२८ माघमा राजा महेन्द्रको निधन भयो। उनी राजगद्दीमा बसे।
युवराज वीरेन्द्रलाई नेपाली सिकाउन सुरु गरिएको ‘रमझम’ उनी राजगद्दीमा बसेपछि पनि प्रकाशित भइरह्यो। तर, सम्पादक मण्डलका नयाँ अध्यक्ष (सम्पादक) अधिराजकुमार ज्ञानेन्द्रले त्यसमा केही भाषिक परिवर्तन गरे।
जस्तो कि, पहिले ‘रमझम’ नेपाली भाषामा मात्र प्रकाशित हुन्थ्यो। वीरेन्द्र राजा भएपछि अधिराजकुमार ज्ञानेन्द्रले यसमा अंग्रेजी खण्ड पनि थप गरे।
सम्भवतः वीरेन्द्रलाई नेपाली सिकाउने प्रयोजन समाप्त भइसकेकाले अंग्रेजी खण्ड थप गरिएको थियो।
Shares
प्रतिक्रिया