‘यो रेडियो नेपाल हो, अब गोपाल बस्न्यातबाट समाचार सुन्नुहोस्।’
रेडियो नेपाल सुन्ने सायदै कोही स्रोता होलान्, जसले गोपाल बस्न्यातको यो आवाजमा समाचार सुनेनन्। ‘रेडियो युग’मा हुर्किएका हरेकको मन/मस्तिष्कमा अझै पनि उनको आवाज गुञ्जिरहन्छ।
२०३६ सालमा खेलकुदको कार्यक्रम चलाउनेगरी रेडियो नेपाल प्रवेश गरेका गोपालले तीन दशक सशक्त आवाजमा स्रोतालाई देश–विदेशका खबर सुनाए।
उतिबेला सूचनाको एकमात्रै माध्यम रेडियो थियो। धेरै नबुझे पनि गोपाल स्कुल पढ्दादेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सुन्थे। चासो राख्थे।
२०२८ सालमा एसएलसी दिएपछि उनले अर्थशास्त्र विषय लिएर आईए पढे। कलेज पढ्दा त उनले पत्रपत्रिकामा लेख्न थालिसकेका थिए। गोपाल कलेज पढ्दा गोरखापत्र र राइजिङ नेपालमा लेख्थे। उनको सबैभन्दा रुचिको विषय खेलकुद र अर्थतन्त्र थियो। यी दुई विषयमा रुचि हुनुको पनि खास कारण थियो।
गोपाल भन्छन्, ‘खेलकुद चाहिँ म आफैँ खेलाडी भएर यो बारेमा जानकारी भयो। अनि अर्थशास्त्र चाहिँ आफूले पढेको विषय।’
गोपाल ब्याडमिन्टन खेलाडी थिए। गोरखापत्रमा खेलकुद विषयमा लेखिरहन्थे। राष्ट्रिय खेलकुद परिषदले निकाल्ने खेल र खेलाडी भन्ने खेलकुद पत्रिकामा पनि उनले केही समय काम गरे। तर त्यो जागिर थिएन। खेलाडीको नाताले गरेको स्वयंसेवा थियो।

पछि एमए पढ्दा पनि गाउँमा गएर १० महिना सेवा गरे। सुरुको ६ महिना पढ्ने, एक वर्ष गाउँमा गएर सेवा गर्ने अनि फेरि आएर डेढ वर्ष पढ्ने। राष्ट्रिय विकास स्वयंसेवक सेवा भन्ने कार्यक्रम अन्तरगत एमएका विद्यार्थीहरू सेवाका लागि त्यसरी गाउँगाउँ पुग्थे।
२०१२ सालमा रामेछापमा कृषक परिवारमा जन्मिएका गोपालले पद्मोदय हाइस्कुल, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालय हुँदै पछि जर्मनीमा गएर डामस्टार्ड विश्वविद्यालयमा पत्रकारिताको अध्ययन गरे।
अनि थाले समाचार कक्षमा काम
२०३६ सालमा रेडियो नेपालले खेलकुद कार्यक्रम सुरु गर्ने भयो। खेलाडी र खेल विषयमा दक्षता राख्ने गोपाललाई कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आयो। त्यो प्रस्ताव स्वीकार गर्दै उनी खेलकुद कार्यक्रम सञ्चालन गर्ने टिममा जोडिए र काम गर्न थाले।
कार्यक्रमसँगै रेडियो नेपालबाट खेलकुद सम्बन्धी प्रत्यक्ष प्रसारण पनि हुन्थ्यो त्यो बेला। उनले रेडियो नेपालबाट खेलकुदका थुप्रै प्रत्यक्ष प्रसारणहरू गरे।
२०४१ सालमा नेपाल टेलिभिजन सुरु भयो। रेडियोमा खेलकुद कार्यक्रम निर्माण गर्ने टिमले रेडियोसँगै टेलिभिजनमा पनि खेलकुद कार्यक्रम गर्न थाल्यो। यो २०४४ सालतिरको कुरा हो। गोपालले टेलिभिजन खेलकुद कार्यक्रमका लागि पनि काम गरे। २०४६ सालमा रेडियो नेपालले खेलकुदको कार्यक्रमसँगै समाचारमा पनि काम सुरु गर्न अनुरोध गर्यो। त्यसपछि उनले खेलकुदको कार्यक्रमसँगै समाचार कक्षमा काम थाले। गोपालले रेडियो नेपालमा करिब ३० वर्ष (२९ वर्ष ८ महिना) समाचार लेखन, सम्पादन र वाचनको काम गरे।

त्यो समयमा रेडियोमा बोल्ने, समाचारमा काम गर्ने कुरा निकै आकर्षण र प्रतिष्ठाको विषय थियो।
‘कतिपय सञ्चार संस्थामा अरूले समाचार तयार गरिदिएपछि प्रस्तोताले वाचनको काम मात्रै गर्ने हुन्छ तर रेडियोमा त्यस्तो होइन। आफैँ समाचार लेख्ने, आफैँ पढ्ने, कुन समाचार दिने भन्ने निर्धारण गर्ने त्यो सबै हाम्रो टिमले नै गर्थ्यो,’ गोपालले ३५ वर्षअगाडिको समाचार कक्ष सम्झिए।
उनले रेडियोमा काम गरेको ३० वर्षको अवधिमा नेपालमा आमूल परिवर्तन भयो। व्यवस्था परिवर्तनका लागि ठुल्ठूला आन्दोलनहरू भए। २०४६ सालको परिवर्तन। २०५२ मा माओवादी जनयुद्ध सुरु भयो। २०६२/०६३ को आन्दोलनपछि मुलुक लोकतान्त्रिक व्यवस्थामा प्रवेश गर्यो। २०६४ मा संविधान सभाको निर्वाचन भयो। २०६५ जेठ १५ मा गणतन्त्रको घोषणा भयो। पहिलो संविधान सभाबाट संविधान जारी हुन सकेन। ६ वर्षपछि २०७० मा दोस्रो संविधान सभाको निर्वाचन भयो र २०७२ मा नयाँ संविधान जारी भयो।
संविधानको व्यवस्था अनुसार मूलुक संघीयतामा गयो। २०७४ सालमा तीन तह (संघ, प्रदेश र स्थानीय तह) को निर्वाचन भयो। संघमा संघीय सरकार, सात प्रदेशमा प्रदेश सरकार र ७ सय ५३ वटा स्थानीय सरकारहरू बने। २० वर्षपछि नागरिकले घर नजिकै सरकार पाए।
यी सबै आन्दोलन र परिवर्तनहरू गोपालले समाचार कक्षमा रहँदै देखे। भोगे।

फागुन ५ को त्यो समाचार
रेडियो नेपालको ३० वर्षे सेवा अवधिमा गोपालले देशमा भएका निकै महत्त्वपूर्ण घटना र सन्दर्भहरूको समाचार बनाए, पढे।
त्यसमध्ये पनि २०५८ सालमा उनले पढेको एउटा समाचार, जुन अहिले पनि इन्टरनेटमा चर्चित छ।
देशमा सशस्त्र युद्ध चलिरहेको थियो। २०५८ साल फागुन ४ गते राति। तत्कालीन विद्रोही माओवादीले सेती अञ्चलको अछाम जिल्लामा ठूलो आक्रमण गर्यो। सशस्त्र माओवादी द्वन्द्वका बेलामा अछाममा भएको त्यो सबैभन्दा ठूलो आक्रमण थियो। जिल्ला सदरमुकाम मंगलसेन र मुख्य व्यापारिक केन्द्र साँफेबगरमा एकैपटक आक्रमण भएको थियो। अछाम आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित सेना, प्रहरी, निजामती कर्मचारी र सर्वाधारण गरी १२२ जनाले ज्यान गुमाए।
त्यसै राति साँफेबगरमा पनि आक्रमण भएको थियो। साँफेबगरमा भएको घटनामा विमानस्थलमा सुरक्षामा खटिएका २७ जना प्रहरीको ज्यान गएको थियो।
२०५८ फागुन ५ गते बिहान गोपालले समाचार पढे :
‘यो रेडियो नेपाल हो। अब गोपाल बस्न्यातबाट समाचार सुन्नुहोस्। सेती अञ्चलको अछाम जिल्लाको सदरमुकाम मंगलसेनको सुरक्षार्थ तैनाथ सुरक्षा फौजको टोलीमाथि सशस्त्र माओवादी आतकंकारीहरूको ठूलो जत्थाले हिजो राति गरेको आक्रमणमा सुरक्षा फौजतर्फका ४८ सैनिक जवानहरू तथा प्रहरी सुरक्षाकर्मीहरूतर्फ ४९ जना समेत प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र उहाँकी श्रीमती र एकजना हुलाकका कर्मचारी र एकजना स्थानीय व्यक्ति गरी जम्मा एकसय २ जनाको दुःखद् निधन भएको छ। सुरक्षाफौजको थप मद्दती टोली घटनास्थलमा परिचालन भइसकेको र घटनास्थललाई चारैतर्फबाट सुरक्षा घेराबन्दी गरी आतकंकारीहरूको व्यापक रुपमा खोजतलास गर्ने कारबाही भइरहेको कुरा पनि रक्षा मन्त्रालयले जनाएको छ।’
‘माओवादीको युद्धको बेलामा, संकटकाल लागेपछि हामीले दिने समाचार भनेको रक्षा मन्त्रालयले पठाउने समाचार पढ्ने हो। हाम्रो रिपोर्टरको होइन, रक्षा मन्त्रालयले पठाउने समाचार,’ गोपाल संकटकालको समय सम्झन्छन्।
युद्धको बेलामा हरेक दिन आक्रमण र मृत्युका घटनाका समाचार आइरहन्थे। प्रायः राति घटना हुन्थ्यो, बिहान कार्यालय जाँदा आज कहाँको दुःखद् समाचार पढ्नु पर्ने हो/कति नेपालीको ज्यान गयो होला भन्ने शंका र त्रासले सताउँथ्यो। त्यो दिन बिहान पनि त्यस्तै चिन्ता थियो। कार्यालय पुग्दा त्यो भयावह दुर्घटनाको समाचार आएको थियो। सधैँ बोल्ड आवाजमा समाचार पढ्ने गोपाल त्यो दिन वैरागिएर समाचार पढे।
२०५८ फागुन ५ को त्यो बिहानी सम्झँदै गोपालले भने, ‘समाचार पढ्ने मेरो आफ्नो छुट्टै एउटा शैली छ। आवाज बोल्ड भएकोले स्ट्रेस आउँछ, पञ्च आउँछ। त्यस्तो समाचार आउँदा चाहिँ वैराग लाग्छ। त्यो समाचार पनि तपाईंले सुन्नुभयो भने मलाई वैराग लागेर पढिरहेको छु। त्यो समाचारलाई जति दिनुपर्ने पञ्च, स्ट्रेसहरू त्यहाँ सुन्नुहुन्न। त्यो अप्ठ्यारै बेला थियो।’

सरकारी सञ्चारमाध्यम भएकाले सरकारका समाचारमा बढी प्राथमिकता हुन्थ्यो। तर, गोपालको अनुभवमा सरकारी सञ्चारमाध्यम भए पनि समाचार टिमले त्यतिधेरै दबाब खेप्नु परेन।
‘सरकारका समाचारहरू अलि बढी प्राथमिकता, तर विपक्षीहरू, विपक्षी दलहरूका समाचार पनि यथाशक्य समान रुपमा दिने चलन छ। खासै त्यस्तो दबाब, अप्ठ्यारो भएन,’ गोपालले भने।
तर सरकारको मात्रै धेरै समाचार आउँदा विपक्षीको चित्त बुझ्दैन थियो। सत्तापक्षको मात्रै समाचार आयो भनेर कहिलेकाँही विपक्षी दलहरूको भनाइ आउँथ्यो। रेडियो नेपाल एकतर्फी मात्रै भयो भनेर संसदमा समेत कुरा उठ्थ्यो। त्यस्तो बेला समाचार टिमले कतिवटा समाचार दिँदा सरकारको कति, विपक्षीको कति गयो भनेर तथ्यहरू राखेर छलफल गर्थ्यो। आवश्यक परे तथ्यांक दिन्थ्यो।
समाचारमा के विषयवस्तु दिने/नदिने भन्ने भन्नेबारे निर्णय गर्ने धेरैजसो अधिकार त समाचारको टिमलाई नै हुन्थ्यो। कहिलेकाही शंका लागेको खण्डमा भने सोधेर मात्रै प्रसारण गर्नुपर्ने हुन्थ्यो। २०६२/०६३ को आन्दोलनपछि भने समाचार कक्षले आफ्नो अधिकारलाई खुलेर प्रयोग गर्न पायो। समाचारमा माओवादी नेताहरूको लाइभ अन्तर्वार्ता बाक्लै प्रसारण भयो। प्रधानमन्त्रीले बोलेका बेलामा ‘प्रधानमन्त्रीले यस्तो कुरा बोल्नुभएको छ, यसमा तपाईहरूको धारणा के हो?’ भनेर डाक्टर बाबुराम भट्टराई लगायतका नेतासँग प्रतिक्रिया लिने गर्थ्यो।
‘तर एकपटक त्यसबारेमा प्रश्न आएपछि भने अलि कम गर्यौँ, त्यस्तोचाहिँ भएको छ,’ बस्नेतले भने, ‘सबै पक्षको भनाइलाई सरोबर गरेर एउटा जिस्ट निकाल्ने जस्तोमा चाहिँ बेला बेलामा समस्या भएको थियो।’
समाचारमा ‘बोल्ड आवाज’को पहिचान बनाएका गोपालले मुख्यतः बिहान ७ र ९ बजेका लामा समाचार बुलेटिन, खेलकुद कार्यक्रम, निर्वाचन कार्यक्रम, र अन्तर्संवाद सञ्चालन गर्नुका साथै राजनीतिक, खेल र अर्थतन्त्रसँग सम्बन्धी देशमा भएका ठूला इभेन्टहरूको प्रत्यक्ष प्रसारण गरे। व्यवस्था परिवर्तनपछि देशमा भएका ठूला राजनीतिक (राजाले संसदको पुनस्र्थापना गर्दाको संसदको पहिलो बैठक, शान्ति सम्झौता आदी) र आर्थिक (बजेट भाषण) घटनाको प्रत्यक्ष प्रसारण गरे।
गोपालले त्यसबेलाका वरिष्ठ पत्रकारहरू कमल प्रधान, ध्रुव थापा, प्रवीण गिरी, ललित क्षेत्रीजस्ता व्यक्तिहरूसँग समाचार कक्षमा रहेर काम गर्ने अवसर पाए। तीर्थ भण्डारी, हरिशरण लामिछाने, खेलकुदमा दिल्ली बस्न्यात थिए। अंग्रेजी विभागतर्फ माइकल चन्द, मञ्जु कार्की, भारती सिलवाल गिरी लगायतले काम गर्थे

अन्तरसंवादमा जब प्रधानमन्त्री र सभामुखले फोन नै उठाएनन्
समाचार र रेडियो कार्यक्रम सञ्चालनका क्रममा गोपालले धेरै खालका अनुभवहरू सङ्गाले। तर, ती अनुभवहरू सधैँ सकारात्मक मात्रै छैनन्। संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग जोडिएको एउटा त्यस्तै घटना छ।
नेम्बाङ सभामुख थिए। हरेक बिहान ६ः३० बजे रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम प्रसारण हुन्थ्यो। अन्तरसंवादमा समसामयिक विषयमा कुराकानी हुनेगर्थ्यो। त्यो दिन अन्तरसंवादमा सभामुखसँग कुराकानी गर्ने तय भएको थियो। अन्तर्वार्ता गोपालले लिँदै थिए।
सामान्यतया रेडियोमा प्रत्यक्ष अन्तर्वार्ताका लागि पहिले नै फोन गरेर कुराकानी गर्ने विषयवस्तु र समयका बारेमा जानकारी गराइन्छ। कार्यक्रम सुरु हुनुभन्दा पहिला पनि फेरि एकपटक फोन गरेर अबको केहीबेरमै अन्तरवार्ता सुरु हुन्छ है भनिन्छ। गोपालले पनि नेम्बाङलाई अघिल्लै दिन भोलि बिहान ६ः३० बजे प्रत्यक्ष कुराकानी गरिने जानकारी गराए र समय पक्का गरे। भोलिपल्ट बिहान ६ः३० मा कार्यक्रम सुरु भयो, गोपाल स्टुडियो छिरे। स्रोतालाई स्वागत गरे र त्यसदिनको अंकमा सभामुखसँग यो यो विषयमा कुराकानी हुनेछ भन्ने जानकारी गराए।
प्रविधि कक्षबाट फोन डायल भयो। तर नेम्बाङको फोन उठेन। नउठेपछि प्राविधिकले फेरि दोहोर्याएर कल गरे। फेरि पनि फोन उठेन। फोन नउठेपछि गोपालले मोबाइलमा गर्न भने। तर, मोबाइल अफ थियो।
रेकर्डेड कार्यक्रमभन्दा प्रत्यक्ष कार्यक्रम गर्न जोखिम धेरै लिनुपर्छ। आफूले बोल्ने विषयवस्तुदेखि अतिथिले बोल्ने विषयवस्तुसम्ममा सचेत हुनुपर्ने हुन्छ। किनकि प्रत्यक्ष कार्यक्रममा सम्पादनको मौका हुँदैन। त्यसमा पनि कुराकानीका लागि तय भएका अतिथिको फोन उठिदिएन भने त्यो झन् ठूलो समस्याको विषय हुन्छ, सञ्चालकलाई। सामान्यतया रेडियो नेपालले अन्तरसंवादमा अतिथिहरूको फोन उठेन र कुराकानी हुन सकेन भने फोन नउठेर अतिथिसँग कुराकानी हुन नसकेको जानकारी गराउँदै कार्यक्रम समयमा राष्ट्रिय गीत बजाउने गर्छ। धेरै प्रयास गर्दा पनि कुरा हुन नसकेपछि त्यो दिनपनि त्यसै गरियो।

‘स्रोता, आजको कार्यक्रमका लागि सभामुख सुवास नेम्बाङसँग कुराकानी गर्ने तय भएको थियो, उहाँले हामीसँग कुराकानी गर्नका लागि हिजै सहमति जनाउनुभएको थियो तर निकै प्रयासका बाबजुद उहाँसँग सम्पर्क हुन सकेन,’ कार्यक्रम मार्फत् यसरी नै जानकारी गराइयो।
‘अन्तरवार्ता दिन डराएर सुवासले फोन उठाएन भन्ने हल्ला चलेको छ, रेडियोमा त तिमी बोल्नै डरायौ रे नि,’ कसैले नेम्बाङलाई कुरा लगाएछन्।
त्यस्तो हल्ला सुनेपछि ‘उहाँ त तयार नै हुनुहन्थ्यो, किन यस्तो कुरा आयो?’ भनेर बोलावट आयो। बोलावट आएपछि गोपालले व्यवस्थापनलाई ‘भएको यस्तो हो, तपाईंहरूले गएर जानकारी गराउँदा उपयुक्त हुन्छ’ भन्ने सुझाव दिए र सम्पूर्ण जानकारी गराए। तर, हैन तपाईं पनि जानुपर्छ भन्ने कुरा भएपछि कार्यकारी निर्देशक, समाचार प्रमुखसँगै गोपाल पनि पुगे।
‘हामी पुग्यौँ, उहाँ पनि आउनुभयो। मान्छे एकदमै शालीन, नेम्बाङसँगको त्यो भेट सम्झिँदै गोपालले भने, ‘उहाँले आएर के भन्नुभयो ‘साथीहरू, तपाईंहरूलाई स्पष्टीकरण दिन बोलाएकै होइन। तपाईंहरूसँग बसेर, गोपालजीहरूसँग बसेर चिया नखाएको पनि धेरै भयो, चिया सँगै खाऊँ अनि के भएको रहेछ भनेर यसो जानकारी पनि लिऊँ भनेर। मलाई त अन्तर्वार्ता दिन डराउनुभयो क्यो हो, भने’ भन्नुभयो। त्यसपछि मैले नै तपाईंसँग समय लिने म नै हुँ, त्यसपछि बिहान फोन नउठेपछि कुराकानी हुन सकेन भनेर भन्ने पनि म नै हुँ, तपाईंले मोबाइल चाहिँ किन बन्द गरेको भनेर सोधेँ।’
ल्यान्डलाइनबाट कार्यक्रममा कुराकानी गर्नुपर्छ, त्यो समयमा मोबाइलमा अरू कुनै कल आएर डिस्टर्ब नहोस् भनेर नेम्बाङले मोबाइल अफ गरेछन्। तर, न ल्यान्डलाइनमा कुरा हुन सक्यो, न मोबाइलमा। चिया खाँदै सामान्य गफगाफ भयो। सभामुखज्यू, त्यसो भए भोलि अन्तर्वार्ता दिनुस् न त भन्ने रेडियो नेपाल टिमको प्रस्तावमा नेम्बाङले सहमति जनाए। र, त्यसको भोलिपल्ट कार्यक्रममा उनीसँग कुराकानी भयो।

एउटा यस्तै घटना तत्कालीन प्रधानमन्त्री झलनाथ खनालसँग पनि भएको थियो। २०६७/०६८ सालतिरको कुरा हो। प्रधानमन्त्री झलनाथ खनालसँग अन्तर्वार्ता तय भएको थियो। गोपाल आफैँले समय लिएका थिए। भोलिपल्ट बिहान कार्यक्रमका लागि फोनै उठेन। फोन नउठिसकेपछि गोपालले कार्यक्रम मार्फत् नै प्रधानमन्त्रीको फोन नउठेका कारण कुराकानी गर्न नसकिएको जानकारी गराउँदै स्रोतासँग माफी मागे।
‘स्रोता, प्रधानमन्त्रीले हामीसँग कुराकानी गर्न सहमति जनाउनु भएको थियो, तर उहाँसँग सम्पर्क हुन सकेन, हामी क्षमाप्रार्थी छौँ र यो गीत बजाइरहेका छौँ।’
पछि खनालसँगको एक भेटमा गोपालले गुनासो गरे, ‘प्रधानमन्त्रीज्यू, हजुरले गर्दा कार्यक्रम नै बिग्रियो। हामीले यसो भन्नुपर्यो।’
प्रधानमन्त्री खनालले बिहान अन्तर्वार्ताको लागि समय दिएको कुरा बिर्सिएछन् र व्यायामतिर लागेछन्।
‘म एक्सरसाइजतिर लागेँ, बिर्सेछु। मोबाइल पनि साइलेन्समा भएछ। सरी है सरी!’ गोपालले उनको भनाइ उधृत गरे।

‘भिजन भएको नेता नै भएनन्’
उमेरले झन्डै ७० पुग्न लागेका गोपालले धेरै नेताहरूको अन्तरवार्ता गरे। प्रधानमन्त्री, मन्त्री र सांसदहरूले गरेको भाषण सुने, समाचार बनाए र पढे। धेरै नेताले काम गर्छु भने तर काम गर्ने नेता खासै देखिएनन्।
‘कयौ नेता आए, गए तर, हामीले दीर्घकालीन सोच र नागरिकप्रतिको जिम्मेवारीबोध भएको खास नेता पाउनै सकेनौँ,’ – गोपाल अलि निराश सुनिए।
‘अबको बीस वर्षमा हाम्रो देश यो अवस्थामा पुग्छ, नागरिकको जीवनस्तर यो तहमा पुर्याउँछौँ भनेर खै नेताहरूले छलफल गरेको? कुनै नेताको त्यस्तो योजना देख्नुहुन्छ? त्यस्तो योजना बनाएर काम गरेको देख्नुहुन्छ?’ अर्थशास्त्रका विद्यार्थी समेत रहेका गोपाल प्रश्न गर्छन्, ‘न राम्रो आर्थिक योजना, न त विकासका योजनाहरू छन्। खालि को सरकारमा जाने, को मन्त्री बन्ने भन्ने सोच मात्रै देखियो। नागरिकप्रति इमानदार र नैतिक राजनीतिज्ञ भेट्नै मुस्किल भयो हाम्रोमा।’
एउटै व्यक्ति पटकपटक कुर्सीमा पुग्ने, असफल हुँदा पनि लज्जाबोध नगर्ने चलन भएकाले नागरिकमा निराशा छाएको उनको भनाइ छ।
‘युवाहरू देशमा बस्नै चाहँदैनन्। राजनीतिप्रति नयाँ पुस्ताको सकारात्मक धारणा छैन। नेपालीले अध्ययनशील, इमानदार र दीर्घकालीन योजना भएको नेता कहिले पाउने होलान्?’ उनी भन्छन्।

पत्रकारितामा नयाँ पुस्तालाई सुझाव
२०७६ सालमा रेडियो नेपाल छोडेपछि गोपालले टेलिभिजन कार्यक्रम सञ्चालन गरे। रेडियो नछोड्दै उनी टेलिभिजनमा जोडिइसकेका थिए। लामो समय रेडियो र त्यसपछि टेलिभिजनमा काम गरेका गोपाल नयाँ पुस्तालाई सोचेर मात्रै यस पेसामा लाग्न सुझाव दिन्छन्।
‘पत्रकारिता कठिन पेसा हो, यसमा अध्ययन र मेहनत धेरै चाहिन्छ। हाम्रो समयमा सूचनाको एक मात्रै माध्यम रेडियो थियो, हजारौँ मान्छेले चिन्ने, सुन्ने र सम्मान पनि त्यस्तै हुन्थ्यो। सञ्चारमाध्यममा काम गर्नु निकै प्रतिष्ठाको विषय थियो। तर, अहिले त सूचनाको माध्यमहरू धेरै छन्। इन्टरनेट र सामाजिक सञ्जालका कारण गलत सूचनाको जोखिम पनि उस्तै छ। छिटो र सत्य सूचना दिनुपर्ने चुनौती छ अहिले। गहिरो अध्ययन बिना गाह्रो छ काम गर्न,’ उनी भन्छन्।
२०६२/०६३ पछि सयौँ रेडियोहरू खुले। पत्रपत्रिका, टेलिभिजन र अनलाइनको संख्या पनि ह्वात्तै बढ्यो। तर सञ्जारमाध्यमले दिने विषयवस्तुको गुणस्तर भने खस्किँदै गएकोमा उनी चिन्तित छन्। त्यसैले अध्ययनमा रुचि र जोखिम मोल्ने साहस भए मात्रै यो पेसा रोज्न उनी सल्लाह दिन्छन्।
‘यसमा अध्ययनसँगै त्याग पनि चाहिन्छ। यो दुःखको काम हो। जस्तोसुकै दुःख गरेर भए पनि फरक खालको कन्टेन्ट दिन्छु, बदलिँदो समय अनुसार स्रोताका रुचि र आवश्यकता अनुसारको विषयवस्तु पस्किन्छु भन्ने हो भने मात्रै यसमा लाग्दा हुन्छ,’ उनी भन्छन्, ‘आर्थिक रुपमा यो पेसा त्यति सकारात्मक छैन। यो कुराहरू बुझेर मात्रै प्रवेश गर्नुहोला भन्छु। तर, मेहनत गर्नेलाई यसमा अवसर पनि छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनिएर काम गर्न सकिन्छ।’
Shares

प्रतिक्रिया