गणतन्त्र हो यो गणतन्त्र
सक्छौ समृद्धिको कविता लेख
सक्दैनौ कलम भाँचेर डस्टबिनमा मिल्काइदेऊ
तिमीलाई क्रान्तिकारी कविता लेख्ने छुट छैन कवि,
तिमीलाई छुट छैन
मजदुरका गीत लेख्न,
तिमीलाई अधिकार छैन
मजदुरका फोटो खिच्न
खबरदार !
कोही नझर्लास् थानकोटबाट
क्यामेरा बोकेर मोटरसाइकलमा हुत्तिँदै
गणतन्त्र हो यो गणतन्त्र
बयलगाडा चढेर ल्याएको गणतन्त्र
गणतन्त्रमा दुःखदर्दका कुरा लेख्न मनाही छ
मनाही छ, सर्वहाराका सुस्केरा लेख्न
होइन, को भोको देख्यौ?
को नांगो देख्यौ?
मेरो देशमा चराहरू पनि मस्त अघाएका छन्
अघाएका छन् मृग र बाघहरू पनि
अझै पनि लाज लाग्दैन तिमीहरूलाई, भोकको कविता लेख्न?
ओ कविहरू !
कहीँ देखेका छौ
खान नपाएर चराले आत्महत्या गरेको?
अझै पनि
केही नपाएर
मेरो स्वतन्त्रता भन्दै कविता लेख्छौ?
तिमीलाई नांगै हिँड्न लाज लाग्दैन?
ओ कवि !
म तिमीहरूलाई
कविता लेख्न सिकाउँछु
ओ पत्रकार !
म तिमीलाई
समाचार लेख्न सिकाउँछु
सिकाउँछु फोटो खिच्न र कथा बनाउन
आऊ एकचोटि बालुवाटार आऊ
थानका थान समृद्धिका कविता लिएर जाऊ
थानका थान सुशासनका कविता लिएर जाऊ
लिएर जाऊ सुकिला फोटाहरू
तिनै फोटाहरू राखेर
‘समृद्ध नेपाल, सुखी नेपाली’को समाचार बनाऊ।

प्रतिक्रिया