समाज


चीनले एक करोड १० लाख मानिसको कोरोना परीक्षण दश दिनमा गर्ला?

चीनले एक करोड १० लाख मानिसको कोरोना परीक्षण दश दिनमा गर्ला?

नेपालखबर
जेठ ३, २०७७ शनिबार ९:४४,

कोरोना संक्रमण दर शुन्यमा झरेसँगै गत अप्रिलबाट नै वुहानमा लागू गरिएको कोरोनाविरुद्धका उपायहरु हटाइएको छ।

यसबीचमा चिनियाँ विज्ञहरुले कोरोनाको दोस्रो लहर खतरनाक हुनसक्ने अनुमान लगाएसँगै चीनले वुहानमा फेरि कोरोना भाइरसको परीक्षण गर्ने भएको छ।

केहीदिन अगाडि लामो समयपछि ६ जनामा कोरोना देखिएपछि वुहानमा पुनः परीक्षणको योजना बनाइएको हो।

वुहान शहरमा एक करोड १० लाख ८० हजार मानिस बसोबास गर्दछन्। चीन सरकारले वुहानका सबै नागरिकको कोरोना परीक्षण दश दिनमै गरिसक्ने घोषणा गरेको छ।

यसबीचमा के चीनले दश दिनमा यी सबै मानिसको कोरोना परीक्षण गरिसक्ला त भनेर विश्वभर प्रश्न उठ्न थालेको छ।

हूबे डेली पत्रिकाका अनुसार वुहान शहरमा ६० भन्दा बढी कोरोना परीक्षण केन्द्र छन्। यी सबैले कोरोना परीक्षण गर्दा पनि एक दिनमा एक लाख परीक्षण मात्र गर्न सक्छन्।

यसको मतलब चीनले एक करोड १० लाख ८० हजारको कोरोना परीक्षण दशै दिनमा गर्नु चुनौतीपूर्ण विषय हो। स्थानीय प्रशासनले पनि दश दिनमा सबैको कोरोना परीक्षण गर्न नसकिने संकेत दिएको छ।

वुहानको रोग नियन्त्रक केन्द्र यस विषयमा भन्छ,‘शहरको केही जिल्लामा मे १२ बाट परीक्षण सुरु भइसकेको छ। मे १७ बाट अन्य स्थानमा पनि कोरोनाको जाँच सुरु हुन्छ। सबै जिल्लाले दश–दश दिनमा आफ्नो कोरोना परीक्षणको काम समाप्त गर्नेछ।’

तर १३ मे मा समाचार संस्था रोयटर्सले वुहान शहरको कुल १३ जिल्लामा मात्र दुई जिल्लाले कोरोना परीक्षणको तयारी सुरु गरेको जनाएको थियो। चीन सरकारले पनि वास्तविकतालाई मध्यनजर गर्दै आफ्नो भनाइ परिवर्तन ल्याएको छ।

अहिलेसम्म कतिको परीक्षण भयो?

स्थानीय संचारमाध्यमका अनुसार १४ मेसम्म वुहान शहरमा २७ लाखभन्दा बढीको कोरोना परीक्षण भइसकेको थियो।

तर वुहान विश्वविद्यालयमा बायोलोजी विभागका निर्देशक याङ जुहानकीले चीनको ग्लोबल टाइम्स पत्रिकासँग भनेका छन्,‘जब वुहानमा संक्रमणको सुरुवात भएको थियो। तबदेखि अहिलेसम्म करिब ४० देखि ५० लाखको परीक्षण भएको छ।’

स्थानीय संचारमाध्यम र त्यहाँका अधिकारीहरुको भनाइ पनि बाँझिएको देखिएको हो।

सरकारी तथ्यांकका अनुसार वुहानमा एक करोड १० लाख ८० हजार मानिस बस्छन्। तर महामारीको बेला जनसंख्यामा तलमाथि भएको थियो।

स्थानीय प्रशासनका अनुसार जब २३ जनवरीमा वुहानमा लकडाउन सुरु भयो तब करिब ५० लाख मानिस चिनियाँ नयाँ वर्ष मनाउन शहरबाट बाहिर गएका थिए।

चीन सरकारका अनुसार वहुानमा २३ जनवरीबाट कलडाउन सुरु भएर ८ अप्रिलमा अन्त्य भयो। त्यसैले हालसम्म कति मानिस वुहान फेरि फर्किए त्यसको स्पष्ट जानकारी छैन।

के सबैको परीक्षण हुनुपर्छ?

वुहान विश्वविद्यालयका याङ जुहानकीका अनुसार वुहानका जुन क्षेत्रमा कोरोनाको असर छैन र जहाँ नयाँ संक्रमित भेटिएका छैनन् त्यहाँ कोरोना परीक्षणको कुनै अर्थ छैन।

वुहान शहरका स्थानीय प्रशासनले कोरोनाविरुद्ध नयाँ रणनीति बनाएका छन्। रणनीतिअनुसार जोखिममा रहेका मानिसमा कोरोना परीक्षण हुनेछ। यसमा वृद्धवृद्धा, बाक्लोबस्तीमा बस्ने गरिब मानिसहरु र स्वास्थ्यकर्मी पर्छन्।

गएको ७ दिनयता कोरोना परीक्षण गरिएका मानिसमा पुनः परीक्षण नहुने पनि यस रणनीतिमा उल्लेख गरिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad