छापा खबर


राजपा उपाध्यक्ष रामनारायण यादव फरार सूचीमा

राजपा उपाध्यक्ष रामनारायण यादव फरार सूचीमा

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार २३:४४,

राजपाका केन्द्रीय उपाध्यक्ष रामनारायण यादव प्रहरीको फरार सूचीमा रहेको खुलेको छ।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका उनी खुलेआम राजनैतिक गतिविधिमा सहभागी हुने गरेका छन्। उनी सप्तरीको छिन्नमस्ता गाउँपालिका सखडाका हुन्।

यो खबर आजको कान्तिपुर दैनिकमा सप्तरीबाट अबधेशकुमार झाले लेखेका छन्।

कर्तव्य ज्यान, आगलागी र डाँका मुद्दामा २०६९ मंसिर २६ गते पक्राउ परेका सप्तरीको साबिक रम्पुरा मल्हनिया गाविसका कमलेश यादव भनिने किसन यादवको बयानका आधारमा सप्तरी प्रहरीले रणवीर सिंह भनिने रामनारायणको खोजी थालेको थियो।

रामनारायण त्यतिबेला तराईमा भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा रणवीर सिंह समूहका केन्द्रीय अध्यक्ष थिए। रणवीर सिंह उनकै भूमिगत संगठनभित्रको नाम थियो।

कमलेशले रामनारायणलगायतसँग सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी हनुमाननगर–कुनौली सडक खण्डभन्दा १ किलोमिटरपूर्व पुलनजिक सडकमा बम गाडेको बयान दिएका थिए। त्यसपछि प्रहरीले कमलेशले भनेको ठाउँमा उत्खनन गर्दा बम फेला परेको थियो।

कमलेशको बयानपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा रामनारायणलाई समेत विपक्षी बनाउँदै पक्राउ गर्न मातहतको इलाका प्रहरी कार्यालय सखडालाई २०६९ पुस ३ गते पत्राचार गरेको थियो।

तर रामनारायणलाई प्रहरीले पक्राउ गर्न सकेन। लगत्तै जिल्ला अदालत सप्तरीले उनको नाममा म्याद जारी गरेको थियो। तर जारी भएको म्याद २०७० जेठ १ गते तामेली भए पनि रामनारायण अदालतमा उपस्थित नभएको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाले बताए।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रामनारायणमाथि विस्फोटक पदार्थसम्बन्धी ऐन २०१८ को दफा ४ (१) बमोजिमको अभियोग लगाउँदै सजायको मागदाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो।

उक्त मुद्दामा २०७१ वैशाख १७ गते जिल्ला अदालत सप्तरीका तात्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले रामनारायण र कमलेश दुवैलाई जनही १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो।

कमलेश अर्के मुद्दामा कारागारभित्रै थिए भने रामनारायण फैसला हुँदासम्म फरार थिए।

पुनरावेदन गर्नुपर्ने म्यादभित्र कमलेशले उच्च अदालत राजविराज इजलासमा फैसलाप्रति असहमति जनाउँदै रिट दायर गरेका थिए।

२०७५ माघ ९ गते उच्च अदालत राजविराज इजलासका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको इजलासले २०७४ माघ १६ गते नै कमलेशको मृत्यु भइसकेकाले उनीमाथिको सजाय मिनाहा गर्ने फैसला गरेको थियो।

रामनारायणले भने म्यादभित्र पुनरावेदनसमेत नगरेकाले उनीमाथि जिल्ला अदालत सप्तरीले गरेको १ वर्ष ६ महिना कैदसम्बन्धी फैसला नै अन्तिम भएको स्रेस्तेदार बर्देवाले बताए। ‘रामनारायण अदालतबाट सजाय तोकिएर फरार भएका व्यक्ति हुन्,’ बर्देवाले भने।

रामनारायण अनिलकुमार झा नेतृत्वको तात्कालीन नेपाल सद्भावना पार्टीको केन्द्रीय उपाध्यक्ष हुँदै अहिले ६ पार्टीबीच एकता भएपछि निर्माण भएको राजपाको केन्द्रीय उपाध्यक्ष छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad