छापा खबर


आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण

आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण

नेपालखबर
असार ६, २०७६ शुक्रबार ३:४७,

सरकारले बालबालिकामा हुने कुपोषण रोक्न ठूलो लगानी गरेको छ तर सम्बद्ध व्यक्तिमा त्यो पुग्न नसक्दा लगानी प्रभावकारी बन्न सकेको छैन।

वीरगन्ज महानगर २३ प्रसौनीकी डेढ वर्षीया बालिका कुपोषित भेटिनु त्यसैको उदाहरण हो।

आमा गुमाएकी सुन्दरमाला दासमा चरम कुपोषण रहेको पाइएको छ। यो खबर आजको कान्तिपुरमा शंकर आचार्यले लेखेका छन्।

बुबाले आमाको हत्या गरेर फरार भएपछि दासले पोसिलो आहार पाइनन्। सुन्दरमालाका ३३ वर्षीय बुबा पन्नालालले ३० वर्षीया पत्नी अञ्जुलाई वैशाख ६ गते कुटपिट गरी हत्या गरेका थिए।

घटनापछि फरार उनी प्रहरीको खोजी सूचीमा छन्। ७० वर्षीया हजुरआमा शोशिला दासको पालनपोषणमा हुर्किरहेकी सुन्दरमालाको तौल साढे ५ किलो मात्र छ।

औसतमा डेढवर्षका बालबालिकाको तौल ११ किलो वा त्यसभन्दा बढी हुन्छ। अति कमजोर सुन्दरमाला हिँडडुल परको कुरा, राम्ररी बस्नसमेत सक्दिनन्। उनको टाउको ठूलो छ भने शरीर पातलो छ। करङ र शरीरका अन्य हड्डी प्रस्ट देखिन्छन्।

दासका बाबु बेपत्ता भएपछि परिवारको बिजोग छ। पन्नालालका सुन्दरमालाबाहेक थप ३ छोराछोरी छन्।

१० वर्षीय छोरा रञ्जन, पाँच वर्षीया छोरी रुक्मिणी र ३ वर्षीय छोरा साजनसहितको परिवारको बोझ एकल तथा वृद्धा शोशिलाका काँधमा छ।

खेतीपाती नभएको तथा आम्दानीका स्रोत पनि नभएकाले उनलाई घर चलाउन धौधौ छ। छुट्टिई बसेका जेठा छोरा देवशरणले केही मद्दत गरे पनि उनकै ९ जनाको ठूलो परिवार छ।

ज्यालामजदुरी गर्दै आएका उनलाई पनि दुई घर एकसाथ चलाउन हम्मेहम्मे छ। नातिनीले पोसिलो खाना र आमाको दूध खान नपाएकाले कुपोषित भएको शोशिलाले बताइन्।

बजारबाट पोसिलो खानेकुरा किनेर खुवाउने क्षमताआफ्नो नभएको उनको भनाइ छ। नातिनी आमा सम्झिई रुने र सुत्न नमानेपछि शोशिला आफैंले स्तनपान गराउँछिन् तर उनका स्तनबाट दूध आउँदैन।

‘नातिनीले आमाको काख र दूध चुस्न खोज्छे,’ उनी भन्छिन्, ‘भुल्याउन भए पनि दूध चुसाउँछु।’

सुन्दरमालालाई कडा खालको कुपोषण लागेको लालपर्सा स्वास्थ्यचौकीका इन्चार्ज अनिशकान्त कुशवाहाले बताए। ‘यसले बालबालिकाको शरीरको इम्युनिटी पावर कम हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा कुनै पनि रोगले च्याप्दा कुपोषित बालबालिको मृत्यु हुन सक्छ।’

बालिकाको कुपोषण समस्याबारे जानकारी पाएपछि उनलाई नारायणी अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना गर्न प्रयासरत रहेको सामाजिक अभियन्ता प्रकाश थारूले बताए। शोशिलाका अन्य नातिनातिना पनि दुब्ला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad