एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ।
तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिस्टका घरमा पिलपिले टुकी मात्रै बल्छन् । ०७३ अघिका पाँच वर्षको अवस्था ठीक उल्टो थियो । कम्युनिस्टका घर झिलिमिली हुन्थे, कांग्रेसका अन्धकार।
जुम्लाकोटमा सशस्त्र द्वन्द्वकालमा समेत नदेखिएको वैचारिक मतभेद ०६७ पछि ‘बिजुली राजनीति’सँगै सुरु भयो।
तत्कालीन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोट साना जलविद्युत् आयोजना निर्माण भएको थियो।
२७ लाख लागतमा निर्माण भई ०६७ साउनदेखि सञ्चालनमा आएको २५ किलोवाटको बिजुली कम्युनिस्ट–कांग्रेस सबैले बाले । दुई वर्षसम्म सबै घर झिलिमिली भए ।
तर, ०६७ मै कांग्रेसका स्थानीय नेता प्रेम बस्नेत माओवादीमा प्रवेशसँगै सुरु भएको तिक्तता ०६९ सम्म पुग्दा बिजुली नै नबाल्ने निर्णयसम्म पुग्यो।
माओवादी पक्षको सक्रियतामा उनीहरूकै जग्गामा उत्पादित बिजुली भन्दै कांग्रेस पक्षले बहिष्कार गर्यो।
‘०६९ सम्म सबैले बालेको हो । तर, माओवादी पक्षधरले मेरा पार्टीले बनाएको बिजुली भन्नेजस्तो व्यवहार देखाए । अनि हाम्रो पार्टीका सबै घरधुरीले बिजुली बाल्ने वातावरण बनेन,’ कांग्रेसबाट विजयी तिला–८ की वडासदस्य रत्ना बस्नेतको आरोप छ।
दुई वर्षपछि ०७१ मा सुशील कोइराला नेतृत्वको सरकारसँग लबिङ गरेर कांग्रेस पक्षधरले अर्को जलविद्युत् आयोजना सञ्चालनको बजेट पारे।
३० लाख बजेटमा पातालामा नौ किलोवाट विद्युत् उत्पादन भयो । ०७३ देखि कांग्रेस पक्षधर सबै ४० घरमा पनि पुनः बिजुली बल्न थाल्यो।
कांग्रेसका घरमा बिजुली बल्न थालेको एक वर्ष नपुग्दै फेरि कम्युनिस्टका घर अन्धकार भए । कारण थियो, जुम्लाकोट जलविद्युत् आयोजना बिग्रिनु। यो खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले लेखेका छन्।
०७४ मा बिग्रिएको आयोजना अहिलेसम्म बनेको छैन । कांग्रेस पक्षले उत्पादन गरेको बिजुली कम्युनिस्ट पक्षधर एक सय ३७ घरमै जोडिएको छैन ।
‘विद्युत्गृह निर्माण कांग्रेस पक्षले आफ्नै जग्गामा बनाए, कामदार पनि आफ्नै पार्टीका कार्यकर्ता मात्रै खटाए । हामीलाई कुनै वास्तै गरेनन्,’ नेकपाका धनलाल बस्नेतले भने, ‘सुरुदेखि नै पार्टीगत बनाएपछि हामी गएनौँ । पछि हामीले माग्ने कुरा भएन, उनीहरूले लैजानुस् पनि भनेनन्।’
उनले बिग्रिएको जुम्लाकोट विद्युत्गृह ३८ लाख लागतमा मर्मत भइरहेको बताए ।
अभिभावकहरू पार्टीगत रूपमा विभाजित हुँदा जुम्लाकोटका बालबालिकामा भने गलत असर परिरहेको छ । जुम्लाकोटको देउराली माध्यमिक विद्यालयमा अध्ययनरत पाँच सय ५० बालबालिका पनि जबर्जस्त कांग्रेस र नेकपामा विभाजित बनेका छन्।
‘यो कांग्रेसको बिजुली हो, हाम्रो घरमा छैन,’ १२ वर्षीय मिलन बस्नेतले भने, ‘दियालोको भरमा पढ्नुपरेको छ । हाम्रो बिजुली पनि बनिरहेको छ रे। त्यसपछि सहज होला।’
Shares

प्रतिक्रिया