छापा खबर


कुनै बलिया कुनै कमजोर, यी हुन् नेकपाभित्रका गुट र उपगुट

कुनै बलिया कुनै कमजोर, यी हुन् नेकपाभित्रका गुट र उपगुट

नेपालखबर
पुस १, २०७६ मंगलबार ३:२०,

‘पार्टी संस्थागत भएन, बरु गुटहरू झाँगिँदै गएको छ’ एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष हो यो ।

११ पृष्ठ लामो प्रतिवेदनले गुट झाँगिनुको कारण खोलेको त छैन नै, गुटबन्दीका ‘नेतृत्वकर्ता’ बारे पनि मौनता साधेको छ । किनकि गुटबन्दीको कारण र यसको नेतृत्वकर्ताबारे बोल्यो भने औंला नौ सदस्यीय सचिवालयतर्फ नै सोझिन्छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

नेकपाभित्र सचिवालय तहका मुख्य नेताहरू नै गुटबन्दीको लगाम समाउने सारथि हुन् । गत वर्षकै स्थायी समिति बैठकमा गुटबन्दी बढेको कुरा अध्यक्षहरूले प्रतिवेदनमा ल्याएका थिए । स्थायी कमिटी सदस्यहरूले मुख्य नेतृत्वकर्ताबाटै सच्चिनुपर्ने सुझाव पनि दिएका थिए ।

एक वर्षपछि बसेको बैठकमा फेरि त्यस्तै भाषाको प्रतिवेदन आयो । यो अवधिमा गुटबन्दी रोकिएन, झनै बढ्यो । यतिसम्म कि शीर्ष नेताहरूबीच सचिवालय बैठक नै ‘तँ तँ म म’ को स्तरमा झर्‍यो । सचिवालय तहमा हुने यो स्तरका विवादका बाछिटाले गुटबन्दीलाई संस्थागत बनाउँदै लगेको नेताहरूकै बुझाइ छ ।

‘प्रतिवेदनमा रोग लागेको भन्ने कुरा मात्र आयो तर किन लागेको छ भन्ने खुलाइएको छैन । गुटबन्दी कार्यकर्ताले बढाइदिएको होइन, यसमा प्रमुख नेताहरू नै संलग्न देखिन्छन्,’ नेकपाको आन्तरिक मामिलालाई नजिकबाट नियाल्ने विश्लेषक खगेन्द्र प्रसाईंले भने, ‘नेतृत्वको कार्यशैलीकै कारण गुट बढेको छ, एकता प्रक्रियाले पूर्णता नपाएको भन्ने कारण दिएर नेतृत्वले उम्किन खोजेजस्तो देखिन्छ।’

एकीकरण प्रक्रियाबाट पार्टी बनेकाले नेकपाभित्र मुख्य रूपमा पूर्वएमाले र पूर्वमाओवादी धार छ । यी दुई धारभित्र पस्ने हो भने मुख्य नेतैपिच्छेले गुट र उपगुट बनाएका छन्।

पूर्वएमाले समूहमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको मुख्य गुट छ । तत्कालीन एमालेको नवौं महाधिवेशनमा ओली र नेपालले प्यानल त बनाए नै, छुट्टै मतपत्र नै छापेर चुनावी प्रतिस्पर्धामा उत्रिए ।

त्यहीबेलादेखि गुटबन्दीले झन् मलजल पायो र अझै संस्थागत हुने ढोका खुल्यो । दुई पार्टी मिलेर एक भइसक्दा पनि ओली र नेपालको गुटबन्दीको ग्राफ घटेको छैन । ओली र नेपालबीच गत भदौको सचिवालय बैठकसम्म आइपुग्दा व्यक्तिगत सम्बन्धमै दरार आयो । एकअर्कालाई लाञ्छित गर्ने तहमा उत्रिए ।

पूर्वएमालेभित्रका मुख्य यी दुई गुटबाहेक अन्य नेताका उपगुटहरू पनि छन् । पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि अर्का नेता हुन् । विगतको लिगेसीका कारण पार्टीभित्र उनका वरिपरि लाग्ने समूह छ । उनको समूहमा रहेका धेरै नेताहरू नेता नेपालसँगको पनि समदूरीमा छन् ।

सचिवालयकै अर्का नेता वामदेव गौतमको पनि सानो उपगुट छ । तत्कालीन एमालेको नवौं महाधिवेशनमा ओलीसँग जोडिए पनि गौतमको आफ्नै अस्तित्व छ । त्यसैले बेलाबखत उनी आफ्नो छुट्टै अस्तित्व देखाउन समूहलाई सक्रिय तुल्याउँछन् । तत्कालीन एमाले फुटाएर माले पार्टी बनाउँदै पुनः एमालेमा जोडिएका गौतमको वरिपरि लाग्ने त्यही बेलादेखिको समूह छ ।

आफ्नो अनुकूलता हुँदा उनी अहिले ओली समूहकै निकट देखिन्छन् । तर प्रतिकूलता उनको आफ्नै समूह पनि पार्टीभित्र देखा पर्छ । गत वर्षको स्थायी समिति बैठकमा नेता गौतमले आफ्नो छुट्टै १६ पृष्ठको प्रतिवेदनसमेत पार्टीमा पेस गरेका थिए ।

त्यसबेला उनले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना मात्र गरेका थिएनन्, अध्यक्ष ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पद मात्र लिनुपर्ने धारणा बैठकमा दर्ज गराएका थिए । अहिले गौतमलाई उपाध्यक्ष पद दिने निर्णय ओली र दाहालले गरेका छन् ।

नेकपामा ओली समूहभित्रै नेता ईश्वर पोखरेल छन् । ओली समूहमै रहे पनि विगतमा दुईपटकसम्म महासचिव भएकाले उनको वरिपरि लाग्ने सानो समूह छ । नेता नेपाल समूहभित्र पनि केही नेताहरूको स–सानो घेरा छ । स्थायी समिति सदस्य घनश्याम भुसाल, योगेश भट्टराईहरूको उपसमूह नेपाल समूहभित्रै पनि छ ।

पूर्वमाओवादी धारभित्र अध्यक्ष पुष्पकमल दाहाल नै मुख्य नेता हुन् । तर यो धारभित्र दाहालको मात्र होइन, अन्य नेताका पनि समूह छन् । तत्कालीन माओवादीसँग एकता प्रक्रियामा जोडिएका पूर्वएकता केन्द्रका नारायणकाजी श्रेष्ठको समूह छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि एकता भएकाले श्रेष्ठको छुट्टै पहिचान पार्टीभित्र छ । त्यसैले आन्तरिक लेखाजोखामा श्रेष्ठको उपसमूह पनि देखिन्छ । माओवादीबाट फुटेर गएको मोहन वैद्य समूहबाट रामबहादुर थापा नेतृत्वको समूह फर्कियो ।

फर्किएर आएपछि उक्त समूहको पनि छुट्टै अस्तित्व छ । त्यसैले माओवादी धारभित्र दाहाल, श्रेष्ठ र थापाका उपसमूह छन् । नेकपा संयुक्तबाट माओवादीमा जोडिन आइपुगेका गणेश साहलगायत पनि छन् । तर पार्टीभित्र बार्गेनिङ र आफ्नो समूह संस्थागत गर्ने तहको भूमिकामा छैनन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad