छापा खबर


बलात्कार मुद्दामा भाजपाका पूर्वसांसदलाई जन्मकैद

बलात्कार मुद्दामा भाजपाका पूर्वसांसदलाई जन्मकैद

नेपालखबर
पुस ५, २०७६ शनिबार ०:२९,

भारतको दिल्लीस्थित एक अदालतले भारतीय सत्तारूढ दल भाजपाका एक पूर्वसांसदलाई बलात्कारसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ।

दिल्लीको तीस हजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई शुक्रबार जन्मकैदको सजाय सुनाएको हो। त्यसका साथै अदालतले सेंगरले क्षतिपूर्तिस्वरुप २५ लाख भारतीय रुपैयाँ तिर्नुपर्ने फैसलासमेत गरेको छ।

सेंगरलाई १७ वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा बालबालिका संरक्षणसम्बन्धी कानुनअनुसार मुद्दा दायर गरिएको थियो । गत वर्ष प्रहरीले आफ्नो उजुरीलाई गम्भीरतापूर्वक नलिएको भन्दै पीडितले आत्मदाहको प्रयास गरेपछि यो घटनाले विश्व समुदायको ध्यान तानेको थियो।

सेंगरलाई यसै सातको शुरुमा दिल्लीस्थित अदालतले दोषी ठहर गरेको थियो। भारतीय कानुनअनुसार नाम सार्वजनिक गर्न नमिल्ने ती महिला गत जुलाईमा एउटा शंकास्पद कार दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। दुर्घटनामा उनका वकिल गम्भीर घाइते भएका थिए भने सँगै यात्रा गरिरहेका दुईजना आफन्तको ज्यान गएको थियो। यो खबर आजको कान्तिपुरले छापेको छ।

पीडितकी आमाले सेंगरले षड्यन्त्रपूर्वक घटना गराएको बताएकी थिइन्। तर सेंगरले भने ती आरोप अस्वीकार गर्दै आएका छन्। उक्त घटनाबारे संघीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। पीडित महिलाले यसअघि सन् २०१७ मा आफूले जागिरका लागि सेंगरसँग भेटेको तर आफूलाई अपहरण गरी सेंगरसहितका व्यक्तिले एक साताभन्दा बढी समय बलात्कार गरेको बताएकी थिइन्।

आफूले उजुरी दिएपनि सेंगरको नाम आरोपीका रूपमा राख्न प्रहरीले निकै आनाकानी गरेको गरेको उनले बताएकी छन्। गम्भीर आरोपपछि पनि सेंगरलाई पार्टीले निस्कासन नगरेको भन्दै भारतीय जनता पार्टीको चर्को आलोचना भएको थियो । कार दुर्घटनाको योजना रचेको आरोप लागेपछि मात्रै भाजपाले सेंगरलाई गत अगस्टमा पार्टीबाट बर्खास्त गरेको हो।

सन् २०१८ मा सेंगरका भाई अतुल सेंगरले ती महिलाका बुवालाई आक्रमण गरेको पीडित परिवारको आरोप छ। प्रहरीले उक्त आक्रमणको आरोपमा पक्राउ गरे पनि गैरकानुनी हतियार राखेको भन्दै महिलाका बाबुमाथि उल्टै मुद्दा चलाएको थियो । महिलाका बाबुको थुनामै मृत्यु भएको थियो।

त्यसको केही दिनपछि ती महिलाले न्याय प्राप्तिको प्रयासलाई बारम्बार असफल गराइएको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको घरबाहिर आफूलाई आत्मदाह गर्ने प्रयास गरेकी थिइन्।

घटनापछि भारतको संघीय अनुसन्धान निकायले उक्त मुद्दा आफ्नो क्षेत्राधिकार भित्रको भएको भन्दै अतुल सेंगरसहित १० जनालाई हत्याको अभियोगमा पक्राउ गरेको थियो । यद्यपि, उक्त मुद्दा अझै चलिरहेको छ । अतुलले आफूविरुद्ध लगाइएको मुद्दाबारे भने केही बोलेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad