छापा खबर


शैक्षिक प्रमाणपत्र छानबिन हुन थालेपछि यी एसपीले दिए राजीनामा

शैक्षिक प्रमाणपत्र छानबिन हुन थालेपछि यी एसपीले दिए राजीनामा

नेपालखबर
पुस २०, २०७६ आइतबार १:४९,

शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएका छन्। घरायसी कारण देखाउँदै तीन दिनअघि उनले पदबाट राजीनामा दिएका हुन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले एसपी गुरुङले राजीनामा दिएको पुष्टि गरे। ‘एसपी राजेन्द्र गुरुङले पदबाट राजीनामा दिएका हुन्। पत्रमा घरायसी कारण भन्ने उल्लेख छ,’ उनले भने। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

प्रहरी स्रोतका अनुसार गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरी सइबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए। उनले कुनै एकेडेमिक अध्ययन गरेका भने होइनन्। नेपालकै एक निजी संगीत कला केन्द्रमा केही समय संगीत सिकेका गुरुङले सोही संस्थाको प्रमाणपत्रलाई आइएसरह भन्दै जागिर प्रवेश गर्दा बुझाएका थिए।

सो प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट ‘इक्विभ्यालेन्ट’ भएको भन्दै उनले प्रहरी प्रधान कार्यालयमा पेस गरेका थिए । प्रहरीमा सेवा सुरु गर्दा उनको उमेर ३५ वर्ष थियो । सोही प्रमाणपत्रका आधारमा उनी इन्स्पेक्टर, डिएसपी हुँदै एसपीसम्म भए । अहिले उनी विद्यालयको एसएसपी पदमा एक्ला प्रतिस्पर्धी थिए। नेपाल प्रहरीले उनैका लागि विद्यालयमा एसएसपी पदको नयाँ दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

त्रिविको पत्रपछि नैतिक संकटमा गुरुङ
गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रविरुद्ध उजुरी परेपछि प्रहरीले आन्तरिक रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा नेपाल प्रहरीले उनले बुझाएको प्रमाणपत्र ‘इक्विभ्यालेन्ट’ भए/नभएकोबारे त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेको थियो ।

त्रिविले प्रमाणपत्र विश्वविद्यालयबाट ‘इक्विभ्यालेन्ट’ नभएको पत्र पठाएपछि उनी नैतिक संकटमा परेका थिए । प्रहरी स्रोतका अनुसार उनको शैक्षिक प्रमाणपत्रमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि गृह मन्त्रालयमा समेत उजुरी परेको थियो । दबाबमा रहेका उनले सोही कारण पदबाट राजीनामा दिएको प्रहरी स्रोतको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad