सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ।
बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
सरकारले निःशुल्क वितरण गर्ने आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको पाइएको छ। तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् ।
अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । उनले भने, ‘रिपोर्टमा गम्भीर विषय उल्लेख छन् । कारबाही प्रतिबद्धताविना रिपोर्ट सार्वजनिक गर्दा कमजोर हुन्छ । त्यसैले हामीले केही समय कुरेका हौँ ।’
सरकारले हरेक वर्ष दुई अर्ब मूल्यबराबरको निःशुल्क औषधि खरिद गर्दै आएको छ । तर, ती औषधिको गुणस्तरमा ध्यान नदिँदा माटोसरह बनेका छन् ।
यस्ता औषधि सेवनले कति बिरामीको मृत्यु भइसकेको हुन सक्छ । कतिको महत्वपूर्ण अंगहरूमा असर गरेको होला ।
उनले यी औषधि कतिजनाले सेवन गरेका छन्, सरकारले खोज्नुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फेल भएका औषधि निकै गम्भीर प्रकृतिका भएको बताए ।

प्रतिक्रिया