विष्णादेवी धामीलाई आफ्नो उमेर थाहा छैन । हेर्दा सात दशक काटेकी जस्ती देखिन्छन्। बैतडीको प्रख्यात त्रिपुरासुन्दरी मन्दिरछेउको घरमा एक्लै बस्छिन्।
मन्दिरमा हुने पूजाआजा र उत्सवका समय पाइने धेरथोर रकमबाट गुजारा गर्छिन्। बिहान उज्यालो नहुँदै उठ्नु, मन्दिरको सरसफाइ र लिपपोत गर्नु उनको नित्यकर्म हो।
उनी ८ वर्षको उमेरदेखि यही मन्दिरमा छिन्। ‘युवावस्थाका केही वर्षबाहेक बाल्यकालदेखि निरन्तर मन्दिरको सेवकका रूपमा बस्दै आएकी छु।’ उनका आमाबुबा सानै छँदा बितेका हुन्। ‘दुई बहिनी र एक भाइ हौं,’ उनले भनिन्, ‘अहिले घरबार, आफन्त जे भने पनि यही मन्दिर हो।’
विष्णाजस्तै निधारभरि अबिर, त्यसमाथि सेतो चन्दन र चामलको सेतो टीका लगाएका केही वृद्धा अहिले पनि बैतडी र डडेलधुराका भगवती मन्दिरमा लिपपोत वा अन्य काम गरिरहेका हुन्छन्। कुनै समय देउकीका रूपमा चढाइएका उनीहरूमध्ये अधिकांशको जीवन कठिन छ।
०४२ सालअघिसम्म रजस्वला नहुँदै विभिन्न भाकल गरेर बालिकालाई मन्दिरमा चढाउने कुप्रथा थियो।
‘मन्दिरमा चढाइँदा मलाई केही थाहा थिएन,’ विष्णाले भनिन्, ‘केही वर्ष काकासँगै बम्बई बसें, घर फर्किएपछि मात्र थाहा पाएँ म देवकन्या भइसकेकी रहेछु।’ आफन्तहरू टाढिन थाले । देउकीका रूपमा समाजले नराम्रो दृष्टिकोणले हेर्न थाल्यो। देउकीले विवाह गर्न नपाउने भए पनि उनले यौवन छोप्न सकिनन्।
‘भन्सारमा जागिरे दार्चुलाका एक जना चन्दले विवाह गरेर लगे,’ विष्णाले विगत सम्झिइन्, ‘श्रीमान्को जागिर गयो, देवकन्या बिहे गरेका कारण जागिर गएको भन्दै उनले पनि छाडे। त्यसयता मन्दिरमै गुजारा गरेर बसिरहेकी छु।’ यो खबर आजको कान्तिपुरमा तृप्ति शाहीले लेखेकी छन्।
शारदा चन्दको पीडा विष्णाको भन्दा पीडादायी छ। उनी १४ वर्षको उमेरमा मन्दिरमा चढाइएकी । मन्दिरको कामसँगै उनी यौनहिंसाको सिकार बन्नुपर्यो। ‘मन्दिर आसपासका पुरुष मन लागेका बेला आउँथे, आफ्नो भाग्य सम्झिएर उनीहरूका सामु तयार हुनुपर्थ्यो,’ उनले भनिन्।
देउकीको उमेर छउन्जेल मन्दिरमा पुरुषहरू बाक्लै आउजाउ गरिरहन्थे। ‘मन्दिरमा चढाइएका हौ भन्थे, नाइँ भन्न सक्ने अवस्था थिएन,’ उनले थपिन्, ‘ती दिन सम्झँदा मन दुख्छ।’
दशरथचन्द नगरपालिकाकी भावना थापालाई ६ वर्षकै उमेरमा देवकन्याका रूपमा मन्दिरमा चढाइएको हो। युवावस्थामा उनले पनि अस्थायी विवाह गरिन्। ‘अस्थायी विवाह नै हो, समाजले मान्यता दिँदैनथ्यो, लुकिछिपी विवाह भएको हो,’ उनले भनिन्, ‘मन्दिरमा चढाउँदा भगवान्सँग बिहे गरेर सिन्दुर हालिदिने भएकाले देवकन्याले विवाह गर्न पाउँदैनन्। आफन्तबाट टाढा भए पनि तीन सन्तान हुर्काएर जीवनका ५० वर्ष कसरी काटें आफैं अचम्ममा पर्छु।’
वृद्धभत्ता पाउने उमेरमा औषधिका लागि भिख माग्नुपरेको विष्णा बताउँछिन्। ‘दुई छाक खान मुस्किल छ, औषधि कहाँबाट ल्याउनु रु’ उनले भनिन्, ‘औषधिका लागि मात्रै दिनको ५० रुपैयाँभन्दा बढी जुटाउनुपर्छ ।’ उनका अनुसार मन्दिरमा पूजाआजा गर्न आउनेले दया गरेर दिए भने गुजारा हुन्छ, नत्र भोकै बस्नुपर्छ।
‘मन्दिरनजिकै स्थानीयको खाली रहेको घरमा बस्दै आएकी छु, आफ्नो भन्नु केही छैन। देवकन्याका रूपमा मन्दिरमा चढाइएका प्रायः सबैको अवस्था उस्तै हो,’ उनले पीडा पोखिन्, ‘अरूका लागि सरकार भयो, हाम्रा लागि कोही भएन।’
यो कुप्रथाको सिकार भएका कति महिला जीवित छन् ? देवकन्याबाट जन्मिएका सन्तान कति छन्? यिनको अवस्था के छ? यस विषयमा यकिन तथ्यांक छैन।
‘हलिया, कमैया, दास, राउटे सबैलाई राज्यले पुनःस्थापना गर्यो तर देउकीजस्तो जघन्य प्रथाको सिकार भएकाका लागि भने राज्यले प्रयाससम्म गरेन,’ देउकी प्रथाका विषयमा अध्ययन गरिरहेका राजेन्द्रप्रसाद पन्तले भने, ‘यो प्रथालाई लिएर धेरैले अनुसन्धान गरे, चर्चा कमाए, यो कुप्रथाका कारण पूरै क्षेत्र लज्जित बन्यो तर यसबाट प्रभावितको पुनःस्थापनाका लागि केही पनि हुन सकेन।’
उनका अनुसार देउकीहरूको संख्या दर्जन हाराहारी छ तर उनीहरूबाट जन्मेका सन्तान धेरै छन्। उनीहरू अहिले पनि समाजमा अपहेलित र आर्थिक रूपमा दयनीय जीवन बिताउन बाध्य छन्,’ पन्तले भने, ‘यस विषयमा राज्य गम्भीर हुन आवश्यक छ।’ बैतडीमा मात्रै करिब एक हजार देवकन्या भएको अनुमान छ।
Shares

प्रतिक्रिया