छापा खबर


साहुकार सन्त्रास : पीडितका उजुरी पनि लेख्न मान्दैनन् सर्लाहीका वकिल

साहुकार सन्त्रास : पीडितका उजुरी पनि लेख्न मान्दैनन् सर्लाहीका वकिल

नेपालखबर
पुस २६, २०७६ शनिबार ३:५४,

राजपाका केन्द्रीय सदस्य तथा खुंखार साहुकार रामबाबु राय यादव र तत्कालीन नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार सञ्जय रौनियारबाट चरम शोषणमा परेका सर्लाही र आसपासका पीडितहरूले प्रहरीमा जाहेरी लेखिदिने वकिलसमेत पाएका छैनन्।

यादव पक्राउ परेपछि पीडितहरू न्याय पाउने आससहित उजुरी दिन मलंगवास्थित जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । तर, सर्लाहीका वकिलहरू यादव र रौनियारविरुद्ध पीडितको उजुरी लेखिदिन तयार छैनन्, बहाना बनाएर पन्छिरहेका छन्।

‘हामीले जिल्लाका धेरै वकिलसँग सम्पर्क गर्‍यौँ । कसैले व्यस्त छु भ्याउँदिनँ भन्नुहुन्छ। कोही भने बुढो भइयो, सल्लाह सुझाबसम्म दिन सकिन्छ, लेख्न त गाह्रो हुन्छ भन्नुहुन्छ,’ सर्लाहीका पीडित रवीन्द्र कुशवाहले भने, ‘जाहेरी लेखाउने वकिल नपाउँदा प्रहरीमा उजुरी दर्ता हुन सकेको छैन ।’ बिहीबार जिल्ला प्रहरी कार्यालयबाट घर फर्काइएका पीडितहरू शुक्रबार पनि उजुरी दर्ता नभएपछि निराश भएर फर्किएका छन्। यो खबर आजको नयाँ पत्रिकामा वीरेन्द्र ओलीले लेखेका छन्।

लाख ऋण दिएर करोडको कपाली तमसुक बनाउँदै ऋणीको जग्गा आफ्नो नाममा गराउने यादव र रौनियार विरुद्ध जाहेरी दिन शुक्रबार दुई सय १० पीडित जिल्ला प्रहरी कार्यालय पुगेका थिए। रामबाबुपीडित एक सय ५० र सञ्जयपीडित ६० जना थिए।

अर्का पीडित रामबहादुर घिसिङले पनि जाहेरी लेखिदिने वकिल नपाउँदा उजुरी दर्ता गर्न नपाएको बताए । ‘साहुकारविरुद्ध जाहेरी लेखिदिनुपर्‍यो भन्दा कतिपय वकिलले कानुनी व्यवसाय नै छाडिसकेको जवाफ दिनुहुन्छ,’ उनले भने, ‘प्रहरी प्रशासनबाट सहयोग भए पनि वकिल नपाउँदा समस्यामा परेका छौँ ।’

बिहीबार प्रहरीले वकिलबाट जाहेरी लेखाई प्रक्रिया पुर्‍याएर आउन पीडितहरूलाई भनेको थियो। जाहेरीमा वकिलको नाम र दर्ता नम्बरसमेत उल्लेख गर्नुपर्छ। नाम र दर्ता नम्बर सार्वजनिक हुँदा साहुकारको निशानामा पर्ने डरले वकिलहरू हच्किएका हुन्।

केही पीडितले बार एसोसिएसन सर्लाहीका अध्यक्ष दिलीप झालाई नै उजुरी लेखिदिन अनुरोध गरेका थिए । तर, उनले पनि व्यस्त भएकाले लेख्न नभ्याउने भन्दै पन्छिएका थिए । तर, आफूले पीडितलाई पछि आउन भने पनि दोस्रोपटक फोन नआएको झाले बताएका छन्।

‘जाहेरी लेखिदिन भन्दै मलाई पनि भनिएको थियो । मैले व्यस्त छु, समय मिलाएर आउनुस् भनेको थिएँ । तर, दोहोर्‍याएर फोन आएन,’ झाले भने, ‘पीडितले आग्रह गरिसकेपछि वकिलले जाहेरी लेख्दिन भन्ने नै हुँदैन । सर्लाही बारमा ४५ सदस्य हुनुहुन्छ । पेसा नै त्यही भएपछि जाहेरी लेख्दिन भन्न पाउनुहुन्न।’ पीडितले नै आवश्यक कागजात नपुर्‍याएकाले कम उजुरी परेको हुन सक्ने उनले बताए।

दिनमा एउटा मात्रै जाहेरी दर्ता
साहुकार रामबाबु र सञ्जयबाट सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, बारा र पर्सालगायत जिल्लाका एक हजार पाँच सय पीडित छन्। तर, उनीहरूविरुद्ध उजुरी दिन दिनमै दुई सयको डफ्फा जिल्ला प्रहरी कार्यालय पुग्दा एउटा मात्रै जाहेरी दर्ता भएको छ।

शुक्रबार रामबाबुविरुद्ध सर्लाहीका एक पीडितको मात्रै जाहेरी दर्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए। सुरक्षाका कारण उजुरीकर्ताको नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए । यसअघि बिहीबार पनि एकजनाको जाहेरी दर्ता भएको थियो । बुधबार गृह मन्त्रालयमै जाहेरी दर्ता गराएका सर्लाही बरहथवा–१ हजारियाका ६७ वर्षीय मिरुगन राय यादवको जाहेरी बिहीबार दर्ता भएको थियो। 

आइतबारसम्म ५०-६० जनाको जाहेरी दर्ता हुन सक्ने एसपी पोखरेलले बताए। ‘रामबाबु र सञ्जयविरुद्ध उजुरी दिन आज धेरै आउनुभएको थियो । कतिपयको कागजपत्र पुगेको थियो, तर बलियो प्रमाण नपुगेकाले जाहेरी कम पर्‍यो। आइतबारसम्म ५०र६० जनाले जाहेरी दिन सक्छन्,’ उनले भने । आफूहरूले सबै पीडितलाई जाहेरी दिन भनेको र सबै संकलन भएपछि अध्ययन गरेर कारबाही अघि बढाउने बताए । रामबाबु र सञ्जयविरुद्ध सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि छानबिन बढाउने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad