शुक्रबार राति ४ घण्टाभन्दा बढी चन्द्रग्रहण लागेको छ। राति २ बजेर ५६ मिनेटसम्म लागेको चन्द्रग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हो।
राति १० बजेर ५२ मिनेटमा सुरु भई चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य भएको थियो।
शुक्रबार लागेको चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
‘सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ,’ उनले भने, ‘तर यो पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नांगो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिँदैन।’ यो खबर आजको राजधानी दैनिकले छापेको छ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो। यस्तो छाया दुई प्रकारको हुन्छ, सघन र विरल। यदि चन्द्रमामा पृथ्वीको सघन छाया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने विरल छाया पर्दा पेनम्ब्रल चन्द्रद्रग्रहण हुन्छ। यो ग्रहण नांगो आँखाले छुट्याउन नसक्ने हुनाले पात्रोमा उल्लेख गरिएको छैन।
पात्रोमा प्रायजसो नांगो आँखाले देख्न सकिने ग्रहण मात्रै उल्लेख गरिएको भट्टराईले बताए। वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकोले महŒवपूर्ण रहने उनले बताए। पेनम्ब्रल ग्रहणलाई यसअघि नेपालीकरण गर्न खोजिए पनि चलनचल्तीमा आएको पाइँदैन। एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘विरल छायानजिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो। तर, त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो।

प्रतिक्रिया