तीनवटा विषयलाई ध्यान दिँदै नेकपाले संविधान संशोधनका लागि आन्तरिक गृहकार्य थालेको छ।
चुनाव प्रणाली, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र मधेसवादी दलका मागसमेत सम्बोधन गर्ने गरी संविधान संशोधनका लागि नेकपाले गृहकार्य थालेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा नेत्र पन्थीले लेखेको समाचार अनुसार तर, यो नेकपाको बिल्कुलै रणनीतिक कदम हो।
संविधान संशोधनकै विषयमा कुरा नमिलेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको दुई महिनापछि नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाउने गरी छलफल सुरु गरेको हो। पार्टी महासचिव विष्णु पौडेलका अनुसार कार्यदल बनाउने विषय र पात्रबारे छलफल भए पनि औपचारिक निर्णय भने भएको छैन।
राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी वामदेव गौतमलाई आश्वस्त पार्ने, केन्द्रीय कमिटीको निर्णयलाई कार्यान्वयनमा लैजान खोजेको सन्देश दिने र मधेसवादी दल राजपालाई सरकारमा सहभागिताका लागि ढोका खुला राख्ने, यी तीन रणनीतिमा नेकपाले संविधान संशोधनको गृहकार्य अगाडि बढाएको छ।
‘औपचारिक निर्णय भएको छैन । छलफल भएको हो,’ महासचिव पौडेलले भने, ‘कार्यदल बन्यो भने यसले अहिले बहसमा आएका संविधान संशोधनसम्बन्धी सबै विषयमा अध्ययन गर्छ।’
उनका अनुसार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहने गरी कार्यदल बनाउने छलफल भएको थियो । नेता नेम्वाङले पनि कार्यदल गठनबारे आफूलाई केही जानकारी नआएको बताए।
शनिबार बसेको नेकपाको सचिवालय बैठकले ‘उपयुक्त समयमा संविधान संशोधन गर्ने आश्वासन’सहित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । यो निर्णयसँगै नेपाल नेतृत्वको कार्यदल बन्नुले संविधान संशोधनमा नेकपाको चासो देखाएको हो ।
‘कार्यदल गठन गर्ने र संविधान संशोधनका सबै विकल्पबारे सुझाब लिने गरी छलफल भएको हो । यसमा वामदेव कमरेडको चासो पनि जोडिएको छ,’ नेकपा सचिवालयका एक सदस्यले कार्यदल गठनको उद्देश्य प्रस्टाए, ‘कार्यदल गठन भए यसले संविधान संशोधनका सबै विकल्प खुला राख्छ।’
संविधानअनुसार राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न पाउनेछैनन् । कार्यदल गठनको चर्चाले गौतमलाई राष्ट्रिय सभा पठाउने नेकपाको कोसिसलाई पूर्णता दिनेछ । यस हिसाबले कार्यदल गठनको चर्चा नेकपाको रणनीतिक कदमका रूपमा पनि हेर्न सकिन्छ।

प्रतिक्रिया